नयाँ ढंगको पार्टी निर्माणको आवश्यकता

 

 Friedrich Engels - Wikipedia

 

संसारमा सबैभन्दा बढी भाषामा लेखिएको, पढिएको र प्रकाशित भएको कम्युनिस्ट पार्टीको घोषणापत्रमा कम्युनिस्ट पार्टी कसरी निर्माण गर्ने भन्ने विषयमा कुनै ठोस र स्पष्ट खाका उल्लेख भएको थिएन । आजभन्दा झण्डै १७०, वर्षअघि संसार हल्लाउने विश्वविख्यात घोषणपत्र प्रकाशित हुँदा पार्टी निर्माण भन्दा विचार निर्माणले प्रमुखता पाउनु स्वभाविक थियो । माक्र्स–एंगेल्सको कठोर मेहनतद्वारा सर्वहारा वर्गले वैचारिक हतियार प्राप्त गरेपछि व्यवहारमा यसका परिणामहरु देखा पर्न सुरु भयो र श्रमिक वर्गले संघर्षका सुन्दर अध्यायहरु थालनी गरे । यद्यपि, कम्युनिस्ट घोषणापत्र प्रकाशित हुनुपूर्व पनि मजदुर आन्दोलनका केही झिल्काहरु देखापरेका थिए तर तिनीहरु सचेत र संगठित प्रकारका थिएनन् । स्वतःस्फूर्त ढंगले चलेको यसप्रकारको आन्दोलनहरुले पार्टी निर्माणको प्रश्नलाई नयाँ ढंगले बहसमा लैजान नसक्नु पनि स्वभाविकै थियो ।

तत्कालीन मजदुरहरुको भूमिगत अन्तर्राष्ट्रिय संगठनको रुपमा क्रियाशील कम्युनिस्ट लिगले माक्र्स र एंगेल्सलाई दिइएको जिम्मेवारीको परिणामस्वरुप प्रकाशित कम्युनिस्ट घोषणपत्रले सांगठानिक निर्माणको मूर्त खाका नदिए पनि एउटा नयाँ र क्रान्तिकारी पार्टी निर्माणका लागि प्रशस्त वैचारिक जग भने बसालेको थियो । घोषणापत्रमा मजदुरवर्गका पार्टीलाई अगुवा र दरिला अंगको रुपमा परिभाषित गर्दै भनिएको थियो – ‘अन्य मजदुर वर्गीय पार्टीभन्दा कम्युनिस्टहरु अघि बढेका दरिला अंग हुन र उनीहरुले अरु सबैलाई अघि बढाउँछन् । यसैगरी सैद्धान्तिक दृष्टिबाट उसले सर्वहारा आन्दोलनको दिशा, अवस्था र अन्तिम सामान्य परिणामबारे बहुसंख्यक सर्वहारा जनसाधारणले भन्दा बढी बुझेका हुन्छन् ।’ एउटा राजनीतिक पार्टीभन्दा कम्युनिस्टहरुको उद्देश्य र लक्ष्यलाई बढी प्राथमिकता दिएको घोषणापत्र प्रकासित भएपछि विभिन्न खालका अवसरवादका विरुद्ध लड्दै सर्वहारा वर्गको वैचारिक हतियार निर्माणमा जुटेका माक्र्सवादका संस्थापकहरु माक्र्स र एंगेल्सलाई ऐतिहासिक पेरिस कम्युनको असफलतापछि भने सर्वहारा वर्गको आफ्नो छुट्टै राजनीतिक पार्टी निर्माणको प्रश्नले गम्भीर बनायो । परिणामस्वरुप पेरिस कम्यूनको असफलतालगत्तै १८७२ मा अन्तर्राष्ट्रिय मजदुर संघको हेगमा सम्पन्न सम्मेलनमा माक्र्स–एंगेल्सद्वारा सर्वहारा वर्गको छुट्टै राजनीतिक पार्टीको आवश्यकतालाई जोड दिँदै गरिएको प्रस्ताव स्वीकृत भएको थियो । सो सम्मेलनमा अन्तर्राष्ट्रिय मजदुर संघको नियमावली धारा ७ को उपधारा ‘क’ मा स्पष्टसँग थप गरिएको थियो –‘सम्पत्तिधारी वर्गहरुको संयुक्त सत्ताको विरुद्ध आफ्नो संघर्षमा सर्वहाराले आफूलाई एक विशेष राजनीतिक पार्टीमा संगठित गरेर नै वर्गको रुपमा काम गर्न सक्तछन् जो सम्पत्तिधारी वर्गहरुका तमाम पुराना पार्टीहरु विरुद्ध हुन्छ । राजनीतिक पार्टीमा सर्वहाराको यो संगठित हुने काम सामाजिक क्रान्ति र त्यसको अन्तिम लक्ष्य वर्गहरुको (उन्मूलनको लक्ष्य) को विजय सुनिश्चित गर्नका लागि अपरिहार्य छ । मजदुर वर्गहरुको संयुक्त शक्ति, जो आर्थिक संघर्षद्वारा प्राप्त भएको छ, यस वर्गको हातमा आफ्ना शोषकहरुका राजनीतिक सत्ताका विरुद्ध संघर्षमा यसले उत्तोलकको काम पनि गर्नुपर्ने छ ।’ यसरी माक्र्सवादका संस्थापकहरुले सर्वहारा वर्गको पार्टी निर्माणसम्बन्धी अघि सारेको ठोस प्रस्थापनालाई अक्टुबर क्रान्तिका नायक लेनिनले व्यवहारिक रुपमा लागू मात्र गर्नु भएन अपितु यसको थप परिभाषा गर्दै विकसित पनि गर्नुभयो । जसरी माक्र्स–एंगेल्सले सर्वहारा वर्गको वैचारिक हतियार माक्र्सवाद प्राप्त गर्न भिषण संघर्ष र कठोर मेहनत गर्नुभयो, त्यसरी नै लेनिनले सर्वहारा वर्गको लक्ष्य प्राप्तिको प्रमुख साधन पार्टी निर्माणको लागि निर्मम संघर्ष र असाध्यै मेहनत गर्नुभयो । सर्वहारा वर्गको अग्रिम चौकीको रुपमा परिभाषित गर्दै लेनिनले कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी माक्र्सवादको प्रशिक्षण प्राप्त गर्ने पाठशाला बनाउनुपर्ने तर्क अगाडि सार्नुभयो । लेनिनले नयाँ ढंगको क्रान्तिकारी पार्टीको आवश्यकताबोध र ब्याख्या मात्र गर्नु भएन बरु यसको सही सञ्चालनको विधि एवम् संरचनासमेत स्पष्ट पार्नुभयो । ‘अभिव्यक्तिमा स्वतन्त्रता, कामकारबाहीमा एकरुपता, बहुमतको मातहत अल्पमत रहने र तल्ला कमिटीहरु माथिल्ला कमिटीका अधिनस्थ हुनेजस्ता संगठनात्मक पद्धतिको विकास नयाँ ढंगको पार्टी निर्माणमा एउटा नयाँ मोड थियो । आज पर्यन्त यही लेनिनवादी संगठनात्मक पद्धति नै संसारभरका कम्युनिस्ट पार्टी निर्माण र सञ्चालनका आधारहरु हुन् । पार्टी सदस्यता प्रदान गर्ने सन्दर्भमा फुट बेहोर्न तयार भएर पनि लेनिनले लिएको दृढ अडान कस्तो पार्टी निर्माण गर्ने भन्ने सवालसँग जोडिएको महत्वपूर्ण विषय थियो । जसले आज पनि संसारभरका कम्युनिस्ट पार्टीहरुलाई दिशानिर्देश गरिरहेको छ ।

त्यसैगरी लेनिनका सुयोग्य उत्तराधिकारी स्टालिनले लेनिनले अघि सार्नुभएको संगठनात्मक पद्धतिका रक्षा र विकास गर्दै लुकेका चट्टानहरुबाट जोगाएर क्रान्तिलाई अघि बढाउन सक्ने नयाँ पार्टी निर्माणका लागि अनवरत संघर्ष गरिहनु भयो । उहाँले नयाँ पार्टीका विशेषताहरुबारे सर्वहारा वर्गीय दृष्टिकोणबाट विशद व्याख्या गर्नुभएको छ । स्टालिनले कम्युनिस्ट पार्टी सर्वहारा वर्गको अगुवा दस्ता मात्र नभएर आफ्नो जीवनको सारा तन्तुहरुद्वारा वर्गसँग घनिष्ठ रुपमा गाँसिएको हुनुपर्ने मान्यता अघि सार्नुभयो । यद्यपि तात्कालीन विश्व राजनीतिक वस्तुस्थितिलाई बिर्सेर विशुद्ध आजको आँखाबाट हेर्ने हो भने संगठन सञ्चालन सम्बन्धमा स्टालिनको सीमाहरुबारे भने प्रशस्त बहस भइरहेको छ ।

चिनियाँ क्रान्तिका नेतृत्वकर्ता माओत्सेतुङले लेनिनवादी संगठनात्मक पद्धतिलाई अँगाल्दै संगठनलाई व्यवस्थित पार्न सही विचारधारात्मक प्रश्नलाई बढी प्राथमिकता दिनुभयो । उहाँले भन्नुभयो–‘पार्टीलाई संगठनको दृष्टिबाट सुव्यवस्थित पार्नु पहिले विचारधाराको दृष्टिबाट सुव्यवस्थित गर्नुपर्छ तथा सर्वहारावर्गको विचारधारामार्फत् गैरसर्वहारा विचारधाराको विरुद्ध संघर्ष चलाउनुपर्छ ।’ झन स्टालिनको निधनपश्चात विश्व विजय गर्ने सपना देख्ने हिटलरको फौजलाई पराजित गर्नसक्ने सोभियत कम्युनिस्ट पार्टीको नेतृत्व खु्रश्चोभ मण्डलीले हत्याएर सर्वहारावादी पार्टीको सारतत्वमाथि प्रहार हुनथालेपछि माओत्सेतुङले त्यसको जोडदार प्रतिवाद गर्नुभयो । खु्रश्चोभले दक्षिणपन्थी संशोधनवादी कोणबाट कम्युनिस्ट पार्टीलाई ‘सम्पूर्ण जनताको पार्टी’ को रुपमा व्याख्या गर्दै पार्टी निर्माणसम्बन्धी माक्र्सवादी मान्यतामाथि नाङ्गो र भद्दा किसिमले आक्रमण ग¥यो । उसले संसदीय बाटोबाट शान्तिपूर्ण ढंगले समाजवादमा संक्रमण हुने पक्षको वकालत गर्दै कम्युनिस्ट पार्टीलाई एउटा संसदीय पार्टीमा फेर्न खोज्यो । माओले खु्रश्चोभको यसप्रकारको गद्दारीलाई नङ्ग्याउँदै महान् बहस चलाएर भन्नुभयो–‘वर्गविहीन राजनीतिक पार्टी वा वर्गपरि राजनीतिक पार्टीजस्तो कुनै चिज छैन तथा ‘सम्पूर्ण जनताको पार्टी’ जस्तो कुनै पनि वर्गविशेषका हितहरुको प्रतिनिधित्व नगर्ने पार्टी न त कहिल्यै भएको छ न हुन सक्छ । सर्वहारा वर्गको अगुवा दस्ताको पार्टीलाई सम्पूर्ण जनताको पार्टीको रुपमा बदल्नु खोज्नु सैद्धान्तिक दृष्टिले वकबासपूर्ण तथा व्यवहारिक दृष्टिले अत्यन्त हानिकारक छ । त्यो हेरफेर ठूलो ऐतिहासिक अधोगति हो ।’ माओले पार्टी निर्माणसम्बन्धी माक्र्सवादी मान्यताको रक्षा गर्दै पार्टी सञ्चालनको लागि पनि कयौं विधिहरुको विकास गर्नुभयो । जनताबाट विचार लिएर संश्लेषित विचार जनतालाई दिनुपर्ने र पार्टी र जनतालाई पानी र माछाको तुलना गर्दै जनतासँग अभिन्न रुपले एकाकार भएको पार्टी मात्र सच्चा कम्युनिस्ट पार्टी बन्न सक्ने माओको अवधारणाले पार्टी निर्माणसम्बन्धी माक्र्सवादी मान्यतामा नयाँ इँटा थपेको छ । पार्टी कार्यकर्ता परिचालनको सन्दर्भमा उहाँले विकास गरेको तीन– आठ नियमहरु आज पनि कम्युनिस्ट कार्यकर्ताहरुको लागि उत्तिकै अनुसरणयोग्य रहेको छ । अझ महान् सर्वहारा सांस्कृतिक क्रान्तिमार्फत उहाँले अघि सार्नुभएको निरन्तर क्रान्तिको लागि पार्टीको निरन्तर क्रान्तिकारीकरण गरिरहने प्रश्नको सही सम्बोधनले मात्र २१ औं शताब्दीमा सर्वहारा क्रान्ति सम्पन्न हुने वा नहुने कुराको निर्धारण गर्ने कुरा घामजत्तिकै छर्लङ्ग छ ।

माओको निधनपश्चात लामो समयसम्म नयाँ ढंगको पार्टी निर्माणको प्रश्न झण्डै जस्तो ओझेलमा प¥यो । टुटफुट गद्दारी पराजय र आत्मसमर्पण हुँदै लगभग विसर्जनझैं अवस्थामा रहेको विश्व कम्युनिस्ट आन्दोलनमा आ–आफ्नै किसिमले सासाना माओवादी पार्टीहरु गठन भएर फरक–फरक सीमा र कमजोरीको बाबजुद आफ्नै विशेषताहरु सहित ती सञ्चालित भइरहे । यही श्रृङ्खलामा टुटफुट विचलन र अकर्मण्यताको बीच चालीसको दशकको मध्यतिर कमरेड प्रचण्डको नेतृत्वमा नेपालमा पनि नयाँ ढंगको कम्युनिस्ट पार्टी गठनको प्रक्रिया थालनी भयो । यसअघि क. पुष्पलाल र मोहनविक्रम सिंहले पार्टी निर्माणसम्बन्धी सैद्धान्तिक प्रश्न उठाए पनि व्यवहारिक रुपमा ती कार्यन्वयन हुन सकेको थिएन् । कमरेड प्रचण्ड पार्टी नेतृत्वमा आइसकेपछि उहाँले सम्पूर्ण ध्यान पार्टी निर्माणमा लगाएको देखिन्छ । परिणामस्वरुप एकताकेन्द्र हुँदै माओवादी पार्टी निर्माणको प्रक्रियासम्म एकता विभाजन र फेरि एकता–विभाजनको श्रृङ्खलालाई नयाँ ढंगको पार्टी निर्माणको पहिलो अभ्यासको रुपमा लिन सकिन्छ । अन्ततः त्यो अभ्यासले जनयुद्धको प्रारम्भ र नेतृत्व गर्न लायकको नयाँ पार्टी निर्माण ग¥यो ।

जनयुद्धकालभरि पनि पार्टी निर्माण सञ्चालन र नेतृत्वसम्बन्धी बहस कहिले मन्द र कहिले तीव्र रुपमा चलिरह्यो । ०५७ को दोस्रो राष्ट्रिय सम्मेलनमा कमरेड स्टालिनबारे गरिएको मूल्यांकन पार्टी सञ्चालन प्रक्रियासँग सैद्धान्तिक रुपले जोडिएको महत्वपूर्ण प्रश्न थियो । तर यो प्रश्नबारे पार्टीभित्र कहिल्यै गम्भीर छलफल हुन सकेन । बुर्जुवा सञ्चारमाध्यमहरुले स्टालिनलाई ‘राक्षस’जस्तो डरलाग्दो बनाएर प्रचार गरिरहँदा विश्व क्रान्तिलाई अगाडि बढाउने संकल्प बोकेको माओवादी पार्टीको नेतृत्व तह मौन जस्तो बस्नुले पार्टी कार्यकर्ताहरुको मनोविज्ञानमा परेको असरबारे अनिभिज्ञझैं देखिएको छ ।

कमरेड स्टालीनको मूल्यांकनसम्बन्धी विषय उठान गरेको बाह्र वर्ष बितिसक्दा पनि यो बारेमा गम्भीर र व्यवस्थित छलफल नहुनुले माओवादी पार्टीलाई वैचारिक बन्ध्याकरणको स्थितिमा त पु¥याउँदैन भन्ने आशंका उब्जेको छ । स्टालिनको मूल्यांकनको प्रश्न केवल अतीतको समीक्षा मात्र नभएर आजको हाम्रो सन्दर्भमा नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माण र पचिालनसम्बन्धी प्रश्न अभिन्न रुपले जोडिएको छ । यो जनयुद्धकालमा पार्टी निर्माण र सञ्चालनसम्बन्धी गरिएको महत्वपूर्ण विषयको उठान थियो ।

नयाँ ढंगको पार्टी निर्माणसम्बन्धी अर्को बहस एक्काइसौं शताब्दीको जनवादको विकासबारे पार्टीसम्बन्धी गरिएको व्याख्या थियो । अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई केन्द्रीय समितिले पारित गरेपछि यससम्बन्धी बहस नयाँ ठाउँमा पुगेको थियो । तर उक्त प्रस्ताव पारित भएको एक दशकभन्दा बढी भइसक्यो । तापनि त्यो बारेमा व्यवस्थित छलफलका लागि पार्टीले खासै रुचि देखाएको छैन । यो अरुचिको पछाडि पार्टीभित्रको अव्यवस्थामात्र जिम्मेवार छ वा अरु कुनै चिज ? इमान्दार कार्यकर्तालाई तिरझैं यो प्रश्नले घोचिरहेको छ । पार्टी विभाजन गरेर आत्मारतिमा रमाउन पछि नपर्नेहरुले क्रान्तिका यी ज्वलन्त प्रश्नहरुमाथि गम्भीरतापूर्वक छलफल गर्न नरुचाउनुलाई बौद्धिक दरिद्रता भनेर मात्र चित्त बुझाउन सकिन्छ ? वा यसलाई नेपालको वाम आन्दोलनको विरासत वा नियति भनेर मात्र बुझ्ने ? इमान्दार कार्यकर्ताहरुलाई यी प्रश्न पनि शुलझैं बिझिरहेको छ । पुरानो पार्टी मरेको र नयाँ पार्टी जन्मदै गरेको उद्घोष गर्दै रातो झण्डो च्यात्नेहरुको हिसाब एकदिन इतिहासले गर्ने नै छ । तर आजको हाम्रो सामू उभिएको सबैभन्दा महत्वपूर्ण सवाल नयाँ ढंगको पार्टी निर्माण गर्न यसबारेमा सकारात्मक बहस चलाउनु नै हो । निश्चय नै शान्तिप्रक्रियामा आइसकेपछि पार्टीभित्र अनेकौं विजातीय तत्वहरुले पनि प्रवेश पाएका छन् । तिनीहरु पार्टीभित्र नआउनु भन्दा आउनु ज्यादै राम्रो कुरा हो । तर, पार्टीभित्र तिनीहरुसँगै तिनका आनिबानी, संस्कार र विचार हावी हुनु ज्यादै नराम्रो कुरा हो । नयाँ ढंगको पार्टी निर्माणको तत्परताले नै हामीले नराम्रो कुरालाई रोक्न सक्छौं ।

आज पार्टी बिग्रियो भनेर निराशा हुनेहरु सबैभन्दा बढी भेटिन थालेका छन् । माथिदेखि तलसम्म पार्टी बिग्रियो भनेर स्वीकार्नेहरु थुप्रै छन् । तर, पार्टी कति बिग्रियो र कसरी सपार्न सकिन्छ भनेर चिन्तन गर्नेहरु कम छन् । हो, निश्चय नै आज पार्टीभित्र एकथरी युद्धमा गोली नलागेर नाफाको जिन्दगी बाँच्नेहरु साँच्चिकै भूमिकाविहीन छन्, केही युद्ध लडेको ब्याज आफू र आफ्नो परिवारको लागि चुक्ता गर्दैछन् । तर, दोस्रो थरी मान्छेहरु थोरै छन् अर्थात् हाम्रो पार्टी सप्रनै नसक्ने गरी बिग्रेको छैन, बन्नै नसक्ने गरी भत्केको छैन । पार्टीभित्रका इमान्दार नेता तथा कार्यकर्ताहरुको बुझाइमा एकरुपता कायम गरेर पार्टी बनाएरै छाड्ने सामूहिक संकल्प ग¥यौं भने नयाँ ढंगको क्रान्तिकारी पार्टी निर्माण भएरै छाड्छ र नेपाली धर्तीमा मात्र नभएर विश्वभरि नै क्रान्तिको नयाँ लहर ल्याउन सक्षम हुनेछौं । आगामी महाधिवेशनको एउटा प्रमुख मुद्धाको रुपमा रहेको पार्टी निर्माणसम्बन्धी बहसमा सहभागी भएर नयाँ संश्लेषणमा पुग्नु नैं प्रत्येक इमान्दार क्रान्तिकारीहरुको दायित्व र इतिहासको आवश्यक्ता दुबै हो ।

प्रतिक्रिया