डा.बाबुराम भट्टराई
माक्र्सवाद भनेको संसारलाई बुझ्ने र व्याख्या गर्ने दर्शन मात्र नभएर संसार बदल्ने एउटा बिज्ञाण पनि हो । अरु दर्शन र माक्र्सवादी दर्शनको मुख्य भिन्नता पनि यही हो । यही दर्शनअनुरुप संसार बदल्नका निम्ति सर्वहारा वर्गको नेतृत्वमा श्रमजीवी एवम् प्रगतिशील चिन्तन राख्ने जनतालाई संगठित गरेर वर्गसंघर्षमा उतार्नुपर्दछ । त्यसकारण कम्युनिस्टहरुले संसार बदल्नका लागि सर्वहारा वर्ग र यही वर्गको नेतृत्वमा समाजका विभिन्न प्रगतिशील शक्तिहरुलाई संगठित गरेर अगाडि बढाउने नीति अँगाल्छन् । यसै सिलसिलामा माक्र्स–एंगेल्सको पालामा कम्युनिस्ट पार्टीको प्रारम्भीक अवधारणा अगाडि आयो भने मुख्य रुपमा लेनिनको पालामा संसार बदल्ने आन्दोलनको नेतृत्व गर्ने कम्युनिस्ट पार्टीको स्वरुप कस्तो हुने भन्ने विषयमा ठूलो बहस चल्यो । त्यसक्रममा लेनिनले कम्युनिस्ट पार्टीलाई सर्वहारा वर्गको अग्रदस्ता (ख्बल न्गबचम) भनेर परिभाषा गर्दै सर्वहारा वर्गको सबभन्दा सचेत तप्काले आफूलाई अगुवाको रुपमा संगठित गर्नुपर्दछ र अन्य जनसमुहलाई पनि साथमा लिएर क्रान्तिको नेतृत्व गर्नुपर्छ भन्ने अवधारणा अगाडि सार्नुभयो । त्यो सर्वहारावर्गको अग्रदस्ताको स्वरुप कस्तो हुने भन्ने विषयमा त्यतिबेला पनि बहस नभएको होइन । खासगरी रोजा लक्जेमवर्गहरुले सर्वहारावर्गको अग्रदस्ता अर्थात् कम्युनिस्ट पार्टीलाई असाध्यै यान्त्रिक ढंगले लिँदा त्यो अलि नोकरशाही प्रकृतिको हुनु सक्ने खतरा औंल्याउदै त्यो संगठनको ढाँचामा सुरुदेखि नै विभिन्न प्रवृत्तिहरुको बीचमा चलखेल गर्ने र द्वन्द्व व्यवस्थापन गर्ने विधि विकास गर्नुपर्छ भन्ने मान्यता अघि सार्नुभएको थियो । र, अर्कोतिर दक्षिणपन्थी संशोधनवादी कोणबाट मेन्सेभिकहरुले कम्युनिस्ट पार्टीलाई सर्वहारा वर्गको अनुशासित अग्रदस्ता भन्दा पनि अत्यन्तै खुला संगठनको रुपमा सञ्चालन गर्ने कुरा पनि उठाएका थिए । तर, पछि मुख्य रुपले लेनिनले गरेको अग्रदस्ताको परिभाषा नै स्थापित भयो र लेनिनले आफ्नो जीवनकालमा यही मान्यतालाई सिर्जनशील ढंगले विकसित र प्रयोग गर्नुभयो ।
लेनिनको मृत्यपछि कमरेड स्टालिनको पालामा कम्युनिस्ट पार्टी सञ्चालन गर्दा सर्वहारा वर्गको अग्रदस्ताको मान्यतालाई असाध्यै यान्त्रिक रुपमा लिने कमजोरी भयो । कम्युनिस्ट पार्टीको मूल नेतृत्वले नै चेतनाको परिभाषा गरिदिने र अग्रदस्ताको रुपमा केही गिने–चुनेका मान्छेहरु नै निर्णायक हुने र आम जनताको आफ्नो प्रतिनिधिहरुको चयनमा खासै भूमिका नरहने स्थिति भयो । यस्तो प्रकारको प्रवृत्ति बढ्दै जाँदा पार्टीभित्र विभिन्न प्रवृत्तिका बीचमा निरन्तर द्वन्द्व चलिराख्यो । कम्युनिस्ट पार्टीभित्र पनि दुईलाइन संघर्ष चल्छ र त्यसले गति दिन्छ, पार्टी भनेको एउटा निर्जीव वस्तु नभएर एउटा सजीव गतिशील हो भन्ने कुरालाई व्यवहारमा बिर्सने काम भयो । कम्युनिस्ट पार्टीलाई एकमनावादी भीमकाय संरचनाको रुपमा मात्र बुझ्ने प्रयत्न भयो । फलस्वरुप पछि त्यो एउटा नोकरशाही संयन्त्रमा विकसित हुन पुग्यो र त्यसभित्रैबाट नयाँ ढंगको पुँजीवादी वर्गको सिर्जना भयो । यही कमजोरीको गर्भबाट खु्रश्चोभलगायतका संशोधनवादीहरु जन्मन पुगे र अन्ततः विश्वको पहिलो सर्वहारा सत्ता चलाएको सशक्त कम्युनिस्ट पार्टी नै एउटा बिसर्जनको स्थितिमा पुग्यो । यही कमजोरीबाट शिक्षा लिएर माओले कम्युनिस्ट पार्टीलाई मूल रुपमा सर्वहारा वर्गको अग्रदस्ताको साथमा विपरितहरुको एकत्वको रुपमा पनि परिभाषित गर्नुभयो । पार्टीभित्र विभिन्न प्रवृत्तिहरुका बीचमा निरन्तर संघर्ष चलिरहन्छ र त्यो विपरीत प्रवृत्तिहरुको बीचमा चलेको संघर्षलाई संस्थागत गरेर जाने एउटा परिपाटी बसाल्नुपर्छ भन्ने मान्यता उहाँले अघि सार्नुभयो ।
यसका साथै उहाँले पार्टीमाथि आम जनसमुदायको निगरानी र नियन्त्रणको अवधारणा पनि अघि सार्नुभयो । सर्वहारा सांस्कृतिक क्रान्तिको समयमा यससम्बन्धी केही अभ्यासहरु भए । कम्युनिस्ट पार्टीलाई आमजनसमुहसँग जोडेर लैजानुपर्छ भन्ने सोचलाई व्यवहारमा उतार्न अनेकौ प्रयत्नहरु भए । यस दौरान पार्टीका नेताहरुलाई जनतासँग जोड्नका निमित्त जनताले नै विद्रोह गरेर उनीहरुमाथि नियन्त्रण गर्ने कामहरु पनि गरिए । बुर्जुवा हेडक्वार्टरमाथि बम बर्षाऊ भनेर जनताबाटै विद्रोह गराउने ढंगका कामहरु पनि भए । तर त्यो एउटा क्षणिक विद्रोहजस्तो मात्र भयो । त्यसले संस्थागत स्वरुप लिन सकेन् र अन्ततः त्यो प्रत्यत्न पनि सफल हुन सकेन ।
माओको मृत्युपछि फेरि नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माणको बहस चल्यो । माथि उल्लेख गरिएझैं यो बहस लेनिन र माओको पालामा पनि गम्भीरतापूर्वक चलेको थियो । तर, खासगरी माओको मृत्युपछि उहाँहरुको अनुभवहरुबाट समेत सिकेर नयाँ ढंगको कम्युनिस्ट पार्टी कसरी निर्माण गर्ने भन्ने बहस अझ गम्भीर रुपले चल्यो । यसै क्रममा संसारभरी विभिन्न माओवादी पार्टीहरुको जन्म भयो र यी पार्टीहरुले संघर्षकै क्रममा विभिन्न प्रयोगहरु पनि गर्दै गए । यसै क्रममा पछिल्लो चोटि नेपालमा तात्कालीन नेकपा (माओवादी) को नेतृत्वमा महान् जनयुद्धको सुरुआत भयो । यही जनयुद्धको क्रममा हामीले नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माण गर्ने प्रश्नलाई गम्भीर ढंगले उठायौं । पार्टी निर्माणसम्बन्धी बहस छलफल चलाउँदै जाँदा ०५७ सालमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनमा स्टालिनको एकमनावादी पार्टीको अवधारणालाई सच्चाउँदै कम्युनिस्ट पार्टीको सांगठनिक संरचनालाई समयनुकुल विकास गर्दै रुपान्तरण गर्नुपर्छ भन्ने मान्यताको विकास ग¥यौं । पार्टी भनेको विपरीतहरुको एकत्व भएकोले त्यो निरन्तर चल्ने दुईलाइन संघर्षलाई द्वन्द्वात्मक तरिकाले ग्रहण गरेर पार्टीलाई निरन्तर गतिशील बनाउन सकिन्छ भन्ने मान्यता पनि अघि सा¥यौं । र त्यसैको निरन्तरतामा ०६० सालमा सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले एक्काइसौं शताब्दीको जनवाद भन्ने प्रस्तावना अगाडि सा¥यो । त्यो प्रस्तावनामा अन्य कुराहरुको अतिरिक्त नयाँ ढंगको पार्टी निर्माणको कुरालाई केन्द्रमा राख्यो । आम जनसमुदायको निगरानी, नियन्त्रण र हस्तक्षेप सुनिश्चित गर्ने विधिको विकास गर्न सकियो भने मात्र पार्टीलाई नोकरशाहीकरण हुनबाट बचाउन सकिन्छ । सर्वहारा वर्गको पार्टीले रङ्गरुप फे¥यो र आफूलाई बदल्यो भने फेरि अर्को पार्टी निर्माण गरेर जानसक्ने वातावरण पनि हामीले निर्माण गरेर जानु पर्छ । सर्वहारावर्गले सचेत ढंगले कम्युनिस्ट पार्टीमाथि वर्गको नियन्त्रण, निगरानी र हस्तक्षेपको विधिको विकास गर्नुपर्छ । पार्टीभित्र प्रतिस्पर्धी ढंगले अगाडि बढ्नसक्ने वातावरण हुनुपर्दछ । एउटा पार्टी एकचोटी अस्तित्वमा आइसकेपछि र त्यसले सत्ता प्राप्त गरेपछि निरन्तर अनन्तकालसम्म सत्तामाथि नियन्त्रण जमाइराख्ने तरिकाले पार्टीलाई जनताको पंक्तिबाट अलग्याउने खतरा रहन्छ । प्रतिस्पर्धात्मक ढंगले अगाडि बढदा मात्र हामीले विकास गरेको पार्टीमाथि जनताको नियन्त्रणको मर्मलाई ठीक ढंगले सम्बोधन गर्न सकिन्छ । यो मर्मलाई हामीले बाहिर बिरोधी राजनैतिक दलहरुसँग मात्र नभएर आफ्नै पंक्तिभित्र पनि लागू गर्नुपर्दछ । त्यसका लागि कम्युनिस्ट पार्टीभित्र प्रतिस्पर्धामा खारिएर आफ्नो श्रेष्ठता हासिल गर्नुपर्ने मान्यता पनि हामीले अगाडि सारेका छौं ।
चुनबाङ बैठकदेखि यहाँसम्म आइपुग्दा हाम्रो पार्टीले नितान्त नयाँ ढंगको कार्यदिशाको प्रयोग गरिरहेको छ । यही नयाँ कार्यदिशाको आधारमा पार्टीलाई बदल्ने नयाँ अवधारणाको विकास गर्न आज झनै जरुरी भएको छ । निकट भविष्यमा हुन गइरहेको पार्टीको महाधिवेशनमा विकसित कार्यदिशाअनुरुप पार्टीको संगठनात्मक ढाँचा पनि विकास गर्न सक्नुपर्छ ।
कम्युनिस्ट पार्टी भनेको एउटा विचारमा आधारित पार्टी हो । यो विचारमा आधारित संगठन हो । अहिलेसम्म विभिन्न कालखण्डमा हाम्रो संगठनभित्र जुन ढंगले टुटफुट र विभाजन भए त्यसको हामीले बस्तुनिष्ठ भएर समीक्षा गर्नुपर्दछ । अहिले पनि हाम्रो पार्टी विभिन्न गुटउपगुटमा विभाजित भएका पूर्व विचार समूहहरुको जमघट भएको जस्तो अवस्थामा छ । यस्तो अवस्थामा पार्टीभित्र रहेको विभिन्न प्रवृत्ति र समूहलाई समेटेर विकसित विचार र राजनीतिक कार्यदिशाको आधारमा पार्टी र संगठनलाई रुपान्तरण गर्नु हाम्रो पहिलो प्रयत्न हुनेछ । झण्डैजस्तो अहिले पनि हाम्रो पार्टी विकसित विचार र राजनीतिक कार्यशिाभन्दा पनि पुरानै मान्यता र ढाँचामा सञ्चालित छन् । हाम्रा अधिकांश नेता–कार्यकर्ताहरु पुरानै विचारबाट दीक्षित थिए र छन् । त्यसैले नयाँ विकसित भएको वैचारिक–राजनीतिक कार्यदिशाअनुरुपको संगठन निर्माण गर्न सकेनौं भने हाम्रो विकसित राजनीतिक कार्यदिशालाई नै पुरानो शैलीको संगठनले खाइदिने र असफल पारिदिने खतरा रहिरहन्छ । त्यसैले हाम्रो पहिलो प्रयत्न भनेको विकसित वैचारिक, राजनीतिक कार्यदिशाको आधारमा नयाँ ढंगको पार्टी निर्माण गर्नु हो । त्यसका लागि पुरानो पार्टीलाई रुपान्तरण गरेर हिजोको सबै गुटउपगुट र विचार समूहहरुभन्दा माथि उठेको र अहिलेको नयाँ विकसित वैचारिक–राजनीतिक कार्यदिशामा आधारित नयाँ संगठन निर्माण गर्न अत्यन्त जरुरी छ ।
यसो गर्दा हामीले पार्टी निर्माणसम्बन्धी माकर््सवादी दृष्टिकोणलाई बेवास्ता गर्नु हँुदैन । कम्युनिस्ट पार्टी सर्वहारा वर्गको अग्रदस्ता हो भन्ने सैद्धान्तिक मान्यतालाई पक्रदै नयाँ ढंगको पार्टी निर्माणको दिशामा अघि बढ्नुपर्छ । तर, अग्रदस्ताको मान्यतालाई यान्त्रिक रुपमा बुझ्ने कमजोरीबाट चाहिँ हामी जोगिनु पर्दछ । सर्वहारा वर्गको अग्रदस्तालाई विचार राजनीतिमाथि एकाधिकार जमाएर अर्कोसँग कहिल्यै पनि प्रतिस्पर्धा गर्नु नपर्ने, आफ्नै वर्ग र जनतासँग पनि अनमोदित हुनु नपर्नेजस्ता अर्थमा बुझ्नु हुँदैन । अग्रदस्ता भनेको सबभन्दा विकसित चेतले लैस भएको समूह हो भन्ने अर्थमा हामीले बुझ्नुपर्दछ । फेरिएको परिस्थितिअनुसार सांगठनिक संरचनालाई व्यवस्थित गर्न सकिएन भने जतिसुकै बल गरे पनि, नियत जतिसुकै असल भएपनि आजको क्रान्तिलाई अगाडि बढाउन सकिदैन । यो सच्चाइलाई आत्मासात गर्दै आजको बदलिएको सन्दर्भमा विगतका क्रान्ति र प्रतिक्रान्तिकारी आन्दोलनको अनुभवबाट शिक्षा लिएर हामी नयाँ ढंगको पार्टी निर्माणमा जुटेका छौं । अहिले नेपालमा पुँजीवादी जनवादी क्रान्तिको बाँकी कार्यभारलाई शान्तिपूर्ण ढंगले अगाडि बढाउँदै एउटा निश्चित विन्दुमा पुगेर गुणात्मक फड्कोमार्फत समाजवादमा जाने हाम्रो पार्टीको राजनीतिक कार्यदिशाले कम्युनिस्ट पार्टीलाई आमजनसमुदायसँग अभिन्न रुपले जोडिएको संयन्त्रको रुपमा परिकल्पना गरेको छ । यस्तो प्रकारको सांगठनिक संरचनाको विकास नैं नयाँ ढंगको पार्टी निर्माणको लागि एउटा कोसेढुंगा हुनेछ । शान्तिपूर्ण प्रतिस्पर्धामार्फत लाखौं–करोडौं जनताको मन जितेर अगाडि बढ्नुपर्ने आजको माओवादी पार्टी सैद्धन्तिक दृष्टिले संकीर्ण भयो भने जनताको विश्वास जितेर अगाडि बढ्न सक्दैन । त्यसैले हामीले सर्वहारा वर्गको हितलाई ध्यानमा राख्दै परम्परागत अग्रदस्ताको अवधारणालाई बदलिएको परिस्थितिअनुरुप लागू गरी जननीतिमा आधारित संगठनको रुपमा पार्टीलाई रुपान्तरण गर्नु पर्दछ । अर्थात्, सर्वहारा वर्गको आधारभूत चरित्रसहित अग्रदस्ताको सार बोकेको र आजको सन्र्दभमा लाखौ–करोडौ जनसमूहलाई एकसाथ जनपरिचालन गर्न सक्ने जनआधारित संरचनाको विकास गरेर नैं नयाँ ढंगको पार्टी निर्माण गर्न सकिन्छ । पुरानै मान्यताको अग्रदस्ताको रुपमा कम्युनिस्ट पार्टीलाई बुझ्ने वा ठूलो बनाउने नाममा वर्ग चेतना नभएको असंगठित जमातजस्तो भीमकाय संरचना निर्माण गर्ने दुवै दृष्टिकोणबाट नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माण हुन सक्दैन । त्यसैले माक्र्सवादी मान्यताअनुरुपको अग्रदस्ताको सार बोकेको र जनसमुदायसँग घनिष्ट रुपले जोडिएको, जनसमूहबाट अनुमोदित र विश्वास आर्जन गरेको अग्रदस्ताको पुरकको रुपमा पार्टी–संरचनाको विकास गर्न जरुरी छ । यो नै हाम्रो सन्दर्भमा पार्टी निर्माणको सबैभन्दा महत्वपूर्ण प्रश्न हो । यो सन्दर्भमा व्यापक ढंगले छलफल गरेर समयनुकुल संगठनको ढाँचा फेर्नु पर्दछ ।
यो सँगै जोडिएको अर्को महत्वपूर्ण कुरा परम्परागत ढंगले अग्रदस्तालाई सर्वहारा वर्गको मात्र अग्रदस्ता भनिएको छ । नेपालजस्तो बहुवर्गीय समाज र प्राक पुँजीवादी अवस्था रहेको मुलुकमा पुँजीपति र सर्वहारा वर्ग भनेर स्पष्ट छुट्टिएको छैन । हाम्रो समाजमा विभिन्न मध्यवर्ति तप्काहरु पनि छन् । यो सँगसँगै जातीय, क्षेत्रीय, लैङ्गिक, दलितजस्ताको रुपमा पनि वर्गीय उत्पीडनहरु भइरहेका छन् । यस्तो अवस्थामा कम्युनिस्ट पार्टीमा हामीले सर्वहारा वर्गको मात्र प्रतिनिधि भन्दा पनि महिला, दलित, जनजाति र क्षेत्रीय जस्ता उत्पीडनमा परेका विभिन्न समूहहरुको प्रतिनिधित्व हुने ढंगको कम्युनिस्ट पार्टीको निर्माणबारे सोच्नु पर्दछ । यसरी हेर्दा अग्रदस्ता भनेको वर्गको मात्र अग्रदस्ता नभएर एउटा लैंगिक रुपको उत्पीडनको पनि अग्रदस्ता, जातीय रुपको उत्पीडनको पनि अग्रदस्ता दलित वा क्षेत्रीय रुपको उत्पीडनको पनि अग्रदस्ताको रुपमा बुझ्नु पर्दछ । मूल रुपमा कम्युनिस्ट पार्टी वर्गीय अग्रदस्ता हुँदाहुँदै पनि जातीय, क्षेत्रीय, दलित र लैंगिक उत्पीडितहरुको पनि अग्रदस्ता हुनुपर्दछ । त्यसकारण हामीले अग्रदस्तालाई केवल वर्गको अग्रदस्ताको रुपमा मात्र बुझेर होइन, समाजमा रहेको अन्य रुपको उत्पीडितहरुको अग्रदस्ताको रुपमा लिएर नयाँ ढंगको पार्टी निर्माण गर्नुपर्दछ । यसरी मात्र नेपालमा नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सकिन्छ ।
कम्युनिस्ट पार्टी भनेको विचार राजनीतिसँग अभिन्न रुपमा गाँसिएको पार्टी हो । कम्युनिस्ट पार्टीको लक्ष्य प्राप्त गर्ने मुख्य हतियार विचार हो र पार्टीलाई विचारबाट अलग गर्न सकिँदैन । यी सबै कोणबाट हामीले नयाँ ढंगको पार्टी निर्माणको महत्वपूर्ण विषयलाई सम्बोधन गर्न सक्नुपर्छ । यो अभिभारा पूरा गर्न आगामी महाधिवेशनले एउटा विहङ्गम छलफल गरेर सकारात्मक परिणाम निकाल्ने छ । विगतका क्रान्तिका सकारात्मक र नकारात्मक अनुभवहरुबाट सिक्दै एक्काइसौं शताब्दीमा क्रान्तिका चुनौतीहरुको सामना गर्ने र नेपालको पुँजीवादी जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरी समाजवाद र साम्यवादको दिशामा लैजाने नयाँ ढंगको पार्टी निर्माण गर्न हामी सबै सफल हुनेछौं । यसो गर्न सकियो भने विश्वमा फेरि एकपटक कम्युनिस्टहरुले श्रेष्ठता हासिल गरेर नयाँ दिशा दिन सक्छौं । त्यो जिम्मेवारी यतिबेला हाम्रो पार्टी एनेकपा माओवादीको काँधमा आएको छ । त्यही कुरालाई आत्मासात गर्दै हामी सबैले आलोचनात्मक चेतसहित गहन विषयामा गम्भीर बहस र छलफल गरेर मात्रै त्यो जिम्मेवारी पूरा गर्न सकिन्छ ।
नयाँ ढंगको पार्टी निर्माणको प्रक्रियासँगै पार्टीका नेता तथा कार्यकर्ताहरुको कार्यशैली पनि फेरिन आवश्यक छ । हामीले सांगठनिक ढाँचा बदले पनि हाम्रा कार्यशैलीहरु फेरिएन भने नयाँ ढंगको पार्टी निर्माणको प्रक्रिया पूरा हुँदैन । त्यसकारण हामीले नयाँ प्रकारको संगठनसँगै जनताबाट लिएर जनतालाई दिने जननीतिमा आधारित माओवादी कार्यशैली अवलम्बन गर्नुपर्दछ । यसो गर्न सकिएन भने पार्टी जनताबाट अलग हुने खतरा रहन्छ । अहिलेसम्म पार्टीको संगठनात्मक सिद्धान्त लेनिनले परिभाषित गर्नुभएको जनवादी केन्द्रीयताको सिद्धान्तमा आधारित रहेको छ । त्यो भनेको जनवादको जगमा उभिएको केन्द्रीयता र केन्द्रीयताको निर्देशनमा सञ्चालन हुने जनवाद भन्ने नै हो । त्यसको प्रयोग र विकासमा या त अति जनवाद भएर अराजकतातिर जाने खतरा या त अति केन्द्रीयता भएर नोकरशाहीतिर जाने अर्को खतरा देखिदैं आएको छ । हामीले यी दुवै प्रवृत्तिबाट बच्दै जनवादी र केन्द्रीयताको सही सन्तुलन मिलाएर लैजानु जरुरी छ । यसमा पनि यतिबेला अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको आत्मगत पक्षबाट हेर्दा विगतमा सर्वहारा जनवादको अभ्यासको जुन कमीहरु रह्यो, त्यसले गर्दा नेताहरु जनताबाट कट्ने नयाँ नोकरशाही वर्गमा तथा पुँजीपति वर्गमा परिणत हुने खतरा विगतमा देखा प¥यो । यसबाट हामीले सचेत हुँदै सच्चा सर्वहारा जनवादको अभ्यास गर्न हामी सिपालु हुनुपर्दछ । नेता र कार्यकर्ता बीचमा द्वन्द्वात्मक अन्तरसम्बन्ध रहने कुरालाई हामीले स्वीकार्नु पर्ने हुन्छ । जनवाद र केन्द्रीयतालाई पनि हामीले द्वन्द्वात्मक ढंगले हेर्न सक्नुपर्दछ । केन्द्रीयताबिना संगठन चल्न सक्दैन जनवादको सही सञ्चालनबिना नेतृत्व सर्वस्वीकार्य हुँदैन । नेतृत्व भनेको संघर्ष र अन्तरसंघर्षको क्रममा स्थापित हुने एउटा प्रक्रिया हो । त्यसकारण क्रान्तिकारी पार्टीमा जनता र कार्यकर्ताबाट अनुमोदित संघर्षमा खारिएको नेतृत्व हुनुपर्दछ र सही अर्थमा त्यस्तो नेतृत्वले मात्र आजको युगको क्रान्ति हाँक्न सक्दछ । यस अर्थमा जनवाद र केन्द्रीयताको सन्तुलन मिलाएर जाने कार्यशैली र जनताबाट अनमोदित हुने कार्यशैलीको विकास गर्न नितान्त जरुरी छ । नेता र कार्यकर्ताहरुको कायशैलीबारे पनि हामीले गम्भीरतापूर्वक छलफल चलाएर यसलाई नयाँ ढंगको पार्टी निर्माणको मुख्य अभिारासँग अभिन्न रुपले जोडेर लैजानु पर्दछ । हाम्रा कार्यशैलीहरु फेरिएन भने जतिसुकै राम्रो सांगठनिक संरचना निर्माण गरे पनि त्यसको कुनै अर्थ हुने छैन ।