बाजी

शरदऋतुको रात अँध्यारो थियो । पन्ध्र वर्षअघि शरदऋतुकै साँझ आफूले कसरी एउटा रात्रिभोजको आयोजना गरेको थिएँ भन्नेबारे स्मरण र पुनरावलोकन गर्दै बृद्ध बैकपति एउटा कुनोबाट अर्को कुनोमा ओहोर-दोहोर गरिरहेको थियो ।

त्यो भोजमा थुप्रै टाठाबाठा मानिसहरूको उपस्थिति थियो र बडो चाखलाग्दा विषयहरूमा छलफल र वादविवाद भएको थियो । विविध विवादास्पद विषयहरूमध्ये मृत्युदण्डबारे विशेष बहस भएको थियो । बहुसंख्यक पाहुनाहरूमध्ये धेरैजसो पत्रकार र बुद्धिजीवीहरू थिए, तिनले मृत्युदण्डविरुद्ध आफ्नो मत व्यक्त गरेका थिए ।

उनीहरूको बिचारमा मृत्युदण्ड पुरातन, असामयिक र अनैतिक चलन थियो, ख्रिस्तान राज्यको निम्ति असुहाउँदो थियो । कतिपयले मृत्युदण्डको सट्टा आजीवन कारावास हुनुपर्छ भन्ने मत व्यक्त गरेका थिए । रात्रिभोजको आयोजक वैंकपतिले भनेको थियो, “यो कुरोमा म तपाईंहरूसित सहमत छैन ।

हुन त मैले न मृत्युदण्ड भोगेको छु, न त आजीवन-कारावास नै, तर यदि कसैले गहिरो सोचविचार गरेर न्याय दिनुपर्थ्यो भने आजीवन कारावासको तुलनामा मृत्युदण्ड धेरै नैतिक र मानवीय हुन्थ्यो किनभने मृत्युदण्डले मान्छेको सिङ्गो जीवन एकैचोटि क्षणभरमै मार्छ, जब कि आजीवन कारावासले सिलसिलाबद्ध ढङ्गले अंश-अंश मार्दैजान्छ। कुनचाहिँ जल्लाद बढी मानवतावादी हुन सक्ला- एउटाले तपाईंलाई क्षणभरमै मार्छ तर अर्कोले तपाईंको जीवन तपाईंबाट कैयौँ वर्षसम्म विस्तारै-विस्तारै बिच्छेद गर्दैजान्छ ?”

एकजना पाहुनाले भनेको थियो, “दुबै दण्ड उत्तिकै विवेकहीन हुन् किनभने ती दुबैको उद्देश्य एउटै हो, जीवनलाई समाप्त पार्नु । राज्यसत्ता देवता होइन … चाहेको बेला फिर्ता गर्न नसकिने कुरोलाई हरण गर्न पाइन्न।”

पाहुनाहरूमध्ये एकजना करिव पच्चीस वर्षे युवा-अधिवक्ता थियो । उसको अभिमतबारे प्रश्न गर्दा उसले यसो भनेको थियो, “मृत्युदण्ड र आजीवन-कारावास दुबै उत्तिकै विवेकहीन दण्ड हुन्, तर यदि मैले यी दुईमध्ये एउटा रोझ्नैपर्ने अवस्था आउँथ्यो भने निश्चय पनि म आजीवनकारावास रोझ्थेँ किनभने जीवनलाई समाप्तै गरिहाल्नुभन्दा त जसरीतसरी जिउनु बेस हुन्थ्यो ।”

जीवन्त छलफल चलेको थियो। वैकपति उसबखत जवान र अलिक अधैर्य थियो … ऊ अचानक निकै उत्तेजित भई टेबुलमा मुड्की बजार्दै त्यो युवा अघिल्तिर फर्केर चिच्याएर भनेको थियो, “तपाईंको कुरोमा सत्यता छैन ! तपाईं पाँच वर्ष पनि एक्लो बन्दीजीवन बिताउन सक्नुहुन्न। म तपाईंसित बीसलाख रुबल बाजी थाप्न तयार छु।”

“तपाईं यदि यो कुरो गम्भीरतापूर्वक भन्दै हुनुहुन्छ भने म पनि तपाईंसित बाजी ठोक्न तयार छु, तर म पाँच वर्ष होइन, पन्ध्र वर्ष बन्दीजीवन बिताउन तयार छु।” अधिवक्ताले भनेको थियो ।

“पन्ध्र वर्ष ? लौ, बाजी भयो !” वैकपतिले चिच्याउँदै भनेको थियो, “लौ भलादमी, तपाईंसित मेरो बीसलाखको बाजी भयो !”

“मलाई मञ्जुर छ ! तपाईंले बीसलाख बाजी थाप्नुभयो, मैले मेरो स्वतन्त्रता बाजीमा राखेँ”, अधिवक्ताले भनेको थियो ।

यसरी त्यो आवेगपूर्ण अनौठो बाजी पक्का गरिएको थियो ।

उसबखत करोडौँको कारोबार गरिरहेको वैंकपतिले लहडमा बाजी थापेर आनन्द लिँदै थियो र भोज चलिरहेकै बेला उसले युवकलाई खिसी गर्दै भनेको थियो , “समय अझै बाँकी छ, पट्ठो ! यस विषयमा पुनः सोचविचार गर्नु बेस हुनेछ । मेरो निम्ति बीसलाख केही पनि होइन, तर तपाईं आफ्नो जीवनको सबभन्दा महत्वपूर्ण तीन-चार वर्षको समय खेर फाल्दै हुनुहुन्छ । म किन तीन-चार वर्ष भन्दैछु भने तपाईं त्योभन्दा लामो समय बन्दीजीवन बिताउनै सक्नुहुन्न । दुःखी युवक, तपाईंले अझै यो कुरो पनि हेक्का राख्नुस्, बाध्यताको कैदभन्दा ऐच्छिक कैद काट्नु अझ कठिन हुन्छ । कुनै पनि क्षण बन्दीगृहबाट बाहिर निस्कने स्वतन्त्रता आफूमा छ भन्ने सोचले तपाईंको सिङ्गो जेलजीवनमा विष घोल्ने छ । म तपाईंप्रति दया प्रकट गर्दछु ।”

विगतका यी सबै कुराहरू स्मरण गर्दै एउटा कुनोबाट अर्को कुनोमा ओहोरदोहोर गरिरहेको वैंकपतिले आफैँलाई प्रश्न गरयो, “आखिर, यो बाजीको उद्देश्य के थियो ? त्यो युवकले बन्दी बनेर जीवनको पन्ध्र वर्ष खेर फाल्नु र मैले बीस लाख रकम बेफ्वाँकमा फुक्नुको असल पक्ष के हुनसक्छ ? के यसले आजीवन कारावासभन्दा मृत्युदण्ड खराब अथवा बेस हो भन्ने कुरोमा जनमानसलाई आस्वस्थ गराउन सक्छ? अहँ, त्यसो गर्न सक्तैन । यो सब मूर्खतापूर्ण र वाहियात बहस थियो । मेरोतर्फबाट यो बाजी एउटा अघाएको मान्छेको लहडबाजी थियो र त्यो अधिवक्ताको निम्ति धनप्रतिको पवित्र प्रलोभन थियो … ।”

रात्रिभोजपछि केके भएको थियो भन्ने कुरो उसले स्मरण गरयो- निर्णय के गरिएको थियो भने त्यो युवकले उसको बन्दीजीवन वैंकपतिको बगैँचाभित्रको एउटा आवासगृहमा कडा निगरानीमा बिताउनुपर्ने थियो र के कुरो मञ्जुर गरिएको थियो भने उसले पन्ध्र वर्षसम्म त्यो आवासको संघार कट्नु निषिद्ध हुन्थ्यो; मानिसहरूलाई देख्न-भेट्न, कसैको कुरो सुन्न र कसैबाट चिठीपत्र र पत्रपत्रिका लिन उसको निम्ति वर्जित् गरिएको थियो । उसको निम्ति बाजागाजा र पुस्तकहरू प्राप्त गर्ने अनुमति भने थियो । त्यसको अतिरिक्त उसलाई चिठी लेख्ने, जाँडरक्सी पिउने, चुरोट खाने स्वतन्त्रता पनि प्रदान गरिएको थियो । सम्झौताअनुसार उसको लागि बाहिरी संसारसँग सम्पर्क राख्न त्यही उद्देश्यले बनाइएको एउटा सानो झ्याल मात्र थियो । उसको इच्छाबमोजिम लिखित मागअनुसार उसले जतिसुकै परिमाणमा पुस्तक, गाजाबाजा, रक्सीचुरोट आदि चीजहरू त्यही झ्यालबाट प्राप्त गर्न सक्थ्यो । सम्झौतापत्रमा ती सबै साना ठूला कुरा विस्तृत रुपमा उल्लेख गरिएका थिए, जसअनुसार उसको पन्ध्रवर्षे एक्लो बन्दीजीवन एकदमै कडा निग्रानीपूर्वक सन् १८७० को नोभेम्बर १४ तारिख मध्याह्न बाह्र बजे सुरु भएर १८८५ नोभेम्बर १४ मध्याह्न बाह्र बजे पूरा हुन्थ्यो । कथङ्कदाचित् कारावासको समय पूरा हुनुभन्दा दुई मिनेटअगाडि मात्र पनि यदि बन्दीयुवकले कुनै शर्त भङ्ग गरेमा वैंकपतिले बाजीको बीस लाख दिनुपर्दैनथ्यो।

बन्दीले तयार पारेको सङ्क्षिप्त टिपोटअनुसार के बुझ्न सकिन्थ्यो भने उसले कैदको पहिलो एक वर्ष अत्यन्तै एक्लोपन र हतोत्साहमा बिताएको थियो । बन्दीहाताभित्र रातोदिन एकनासले पियानो बजिरहेको सुनिन्थ्यो । उसले रक्सी र चुरोटलाई तिरस्कार गरेको थियो । उसको टिपोटमा लेखिएको थियो, “रक्सीले मान्छेमा उत्तेजना उत्पन्न गराउँछ र चाहनाहरू बढाउँछ … बन्दीको निम्ति इच्छा र चाहनाहरू तुच्छ शत्रु हुन्। त्यसमाथि एक्लै चुपचाप लागेर असल रक्सी पिउनुभन्दा बढी उच्चाटिलो अरु केही हुँदैन । सिगरेटले कोठाको वातावरणलाई प्रदूषित तुल्याउँछ ।”

पहिलो वर्ष उसले मगाएका प्रायः पुस्तकहरू हल्काफुल्का खालकै थिए; अलिक जटिल मायाप्रीति भएका उपन्यासहरू पनि थिए … अनि, उत्तेजक स्वैरकाल्पनिक आख्यान र ठटेउलो-हाँस्य आदि पनि थिए। दोस्रो वर्ष पियानो बजेको धुन पटक्कै सुनिएन । उसले केवल उत्कृष्ट कला र साहित्यका पुस्तकहरू मगाएको थियो । पाँचौँ वर्ष फेरि संगीतको धुन सुनियो र उसले रक्सी मगायो । उसलाई झ्यालबाट चियाएर हेर्नेले भनेअनुसार त्यो सिङ्गो वर्षभरि उसले केही पनि गरेन ! केवल खायो, पियो र प्रायः बिछ्यौनामा पल्टेर हाई काढ्यो अनि क्रुद्ध हुँदै मनोवाद गरयो । उसले पुस्तक पटक्कै पढेन । कहिलेकहीं रातमा लेख्न बस्थ्यो ऊ, घण्टौँसम्म लेखिरहन्थ्यो र भोलिपल्ट बिहान आफूले लेखेका सबै कागज च्यातचुत पार्थ्यो । एक-दुईपल्ट ऊ रोएको पनि सुनिएको थियो ।

छैटौँ वर्षको उत्तरार्धमा त्यो बन्दी निकै ठूलो जिज्ञासा र अनुरागले व्याकुल भई विविध भाषा, दर्शनशास्त्र र इतिहासको गहिरो अध्ययनमा तल्लिन भएको थियो । ऊ अध्यवसायमा कतिसम्म डुबेको थियो भने उसले मगाएका सम्पूर्ण पुस्तक पुरयाउन वैंकपतिलाई हम्मे-हम्मे परेको थियो । उसको मागअनुसार चार वर्षको अबधिमा लगभग ६०० पुस्तकग्रन्थर आपूर्ति गरिएका थिए र त्यही अबधिमा बन्दीद्वारा वैंकपतिलाई यो पत्र लेखिएको थियो, “मेरा प्यारा जेलर, म यी हरफहरू ६ वटा भाषामा लेख्दै छु । यिनलाई सम्बन्धित भाषाविज्ञकहाँ पुरयाइदिनुहोला र तिनलाई पढ्न लगाउनुहोला । मेरो लेखनमा यदि उनीहरूले कुनै गल्ती फेला पारेनन् भने कृपापूर्वक बगैँचामा एकपल्ट बन्दूक पड्काउने व्यवस्था गरिदिनुहोला, जसको कारण मेरो मेहनत खेर गएको छैन भन्ने कुरो म बुझ्ने छु । प्रत्येक युगका प्रत्येक मुलुकका प्रकाण्ड विद्वानहरू विविध भाषामा बोल्छन् तर ती सबैको अभिव्यक्तिमा उस्तै खाले आगोको फिलिङ्गो बलेको हुन्छ। आहा … अहिले म ती भाषाहरू बुझ्न समर्थ भएको छु र मेरो आत्माले अलौकिक सुखानुभूति गरिरहेको छ भन्ने कुरो तपाईंले बुझिदिनुभए !”

बन्दीको इच्छा पूरा गरिएको थियो- वैंकपतिको आदेसअनुसार बगैँचामा दुईपल्ट बढाइँ हानिएको थियो।

दसौँ वर्षपछि बन्दी-अधिबक्ता मेचमा ढसमस्स बसेर केवल ‘ख्रिस्तान-धर्मोपाख्यान’ मात्र अध्ययन गरिरहेको थियो। त्यो कुरो वैंकपतिलाई ज्यादै आश्चर्य लागिरहेको थियो, ‘चार वर्षमा ६०० गहन ग्रन्थहरू अध्ययन गर्न समर्थ व्यक्तिको निम्ति एउटा स्यानो सरल पुस्तक ‘गोस्पेल’ पढ्न झन्डै वर्षदिन समय किन लागेको होला ?’

‘गोस्पेल्स’मा धर्म र धार्मिक इतिहासबारे व्याख्या विवेचना गरिएका छन्।

त्यो बन्दीले पछिल्लो दुई वर्ष छनोट नगरिएका थुप्रै पुस्तकहरू पढेको थियो । कुनै समय ऊ प्रकृतिविज्ञानमा लिन भएको थियो भने त्यसपछि उसले बैरोन र शेक्सपीयर मगाएको थियो । यसैबीच उसले रसायनशास्त्र, औषधीविज्ञानको सङ्क्षिप्त ग्रन्थ, एउटा उपन्यास र दर्शनशास्त्र वा धर्मशास्त्रबारे बहसका केही पुस्तकहरू मगाइएका टिपोटहरू थिए त्यहाँ । उसले ती पुस्तकहरू यसरी पढेको थियो- मानौँ ऊ दुर्घटनाग्रस्त पानीजहाजको भग्नावशेषबीच सागरमा पौडँदै थियो; जिजीविषाको कारण ऊ व्याकुल हुँदै एकपछि अर्को गर्दै जहाजका टुक्राहरू पक्रँदै थियो र ती पुस्तकहरू जहाजका टुक्रा थिए।

वैंकपतिले यी सब घटनाहरू स्मरण गरयो र बिचार गरयो, “भोलि मध्याह्न बाह्र बजे त्यो युवक मुक्त हुनेछ । त्यसपछि, सम्झौताअनुसार मैले उसलाई बीस लाख नगद दिनुपर्ने छ । यदि मैले त्यो रकम दिएँ भने मेरो भएभरको सम्पत्ति स्वाहा हुनेछ। म टाट उल्टिनेछु ।”

पन्ध्र वर्षअघि त्यो वैकपतिसित कराडौँको धनराशी थियो, तर अहिले ऊ आफूलाई प्रश्न गर्न समेत डराउँदै थियो- उसले तिर्नुपर्ने ऋण धेरै छ कि उसको श्रीसम्पत्ति धेरै छ । सट्टाबजारमा खेलिने जोखिमपूर्ण जुवाको गैरजिम्मेवार जोशबाट उसले आफूलाई अझै यो बूढो उमेरमा पनि मुक्त गर्न सकेको थिएन, फलतः उसको व्यापार झनझन खस्कँदै थियो= निर्भयी आत्मविश्वासी गौरवशाली ब्यापारी यतिखेर सामान्य वैकपतिमा झरेको थियो । शेयरबजारको प्रत्येक उतारचढाबमा ऊ थुरथुर काँपिरहेको हुन्थ्यो ।

“धिक्कार छ बाजीलाई !” बूढो वैंकपति निराशापूर्वक पुर्पुरो समाउँदै भुत्भुतायो, “त्यो बन्दी किन मरेन ! अहिले उसको उमेर भर्खर चालीस वर्ष पुगेको छ । अब उसले मसित अन्तिम कोपेक धरि असुल्ने छ । उसले विहे गर्नेछ; जीवनको मजा लुट्ने छ । ऊ शेयरबजारको खेलाडी बन्नेछ । त्यति बेला मचाहिँ भिखारीझैँ ईर्ष्यालु आँखाले उसलाई हेरिरहेको हुनेछु अनि हरेक दिन मैले उसको मुखबाट एउटै संवाद सुन्नुपर्ने छ, “मेरो सुखमय जीवनको निम्ति म तपाईंप्रति ऋृणी छु । तपाईंलाई मद्दत गर्ने अनुमति मलाई दिनुहोस् ।”

“अहँ, यो त अति हुनेछ! दिवालियापन र अपमानबाट कोही उद्धार गरिन्छ भने त्यो नै उसको मृत्यु हो ।”

भित्तेघडीमा टङ् … टङ् … टङ् … तीनपल्ट घण्टी बजेको वैंकपतिले सुन्यो । घरमा सबै निदाइरहेका थिए । बाहिर सुनसान थियो, केवल रुखहरू सुसाइरहेको आवाज सुनिन्थ्यो । वैंकपतिले अग्निप्रतिरोधक सेफबाट बन्दीगृहको ढोकाको साँचो सुटुक्क झिक्यो जुन ढोका पन्ध्र वर्षदेखि खोलिएको थिएन । उसले लम्बुकोट लगायो र घरबाट बाहिर निस्क्यो । बगैँचा अँध्यारो र चिसो थियो । पानी दर्किरहेको थियो । बर्फिलो बतास सुइँसुइँ गर्दै बगैँचातर्फ हुनहुनाउँदै बृक्षहरूलाई हल्लाइरहेको थियो । वैकपतिले आँखा तन्काएर हेरयो, तर उसले न भुइँ देख्यो न त सेता सालिक नै देख्यो, न बन्दीआवास देख्यो, न त रुखहरू नै पहिल्यायो । बन्दीगृहको अघिल्तिर गएर उसले चौकिदारलाई दुईपल्ट बोलायो । कुनै जवाफ आएन । यस्तो लाग्थ्यो, खराब मौसमबाट जोगिन चौकिदार ओत खोज्दै कतै गएको हुनुपर्थ्यो । ऊ भान्सामा या हरितगृहभित्र कतै निदाइरहेको हुन सक्थ्यो।

बूढो वैंकपतिले विचार गरयो, यदि मसँग आफ्नो अभिप्रायः पूरा गर्ने हिम्मत छ भने सर्वप्रथम चौकीदारमाथि सन्देह उत्पन्न त हुन्छ नै।

अन्धकारबीच ऊ अन्दाजको भरमा सिंढी चढेर ढोकामा पुग्यो । त्यसपछि ऊ साँघुरो मटान भई अघि बढ्यो र एक काँटी सलाई कोरयो । त्यहाँ कुनै जिवात्मा थिएन । त्यहाँ बिछ्यौनाविनाको एउटा खाट थियो र एउटा घुरमैलो फलामे स्टोभ कुनोपट्टि थियो । बन्दीकोठाको प्रवेशद्वारको सिलबन्द जस्ताको तस्तै थियो ।

सलाई निभेपछि वैंकपति उत्तेजनाले काँप्दै झ्यालबाट भित्र चिहायो । बन्दीकोठामा एउटा स्यानु मोमबत्ती धमिलो बलिरहेको थियो । टेबुलअघि मेचमा बन्दी बसिरहेका थियो । त्यहाँ अरु थोक केही देखिएको थिएन, केवल उसको पिठ्यूँ र कपाल देखिएको थियो, अनि उसका दुई हातहरू देखिएका थिए। टेबुलमाथि, टेबुलछेउको गलैँचामाथि र दुइटा आरामकुर्सीमा पृष्ठ पल्टिएका पुस्तकहरू त्यत्तिकै पडेका थिए !

पाँच मिनेट बितिसक्दा पनि बन्दी चलमलाएन । पन्ध्र वर्षको कारावासले उसलाई निश्चल रहन सिकाएको थियो । वैंकपतिका औंलाले झ्यालमा विस्तारै थपथपायो, तर बन्दीले कुनै किसिमको प्रतिक्रिया जनाएन । त्यसपछि, उसले निकै होसियारीपूर्वक ढोकाको सिलबन्द खोलेर तालामा साँचो घुसारयो। खिया परेको तालाबाट कर्कश ध्वनि निस्कियो । ढोका चुइँकियो । वैंकपतिले ठानेको थियो, तुरुन्तै पाइला चालेको आवाज आउने छ र आश्र्चर्यको चिच्याहट सुन्नुपर्ने छ, तर तीन मिनेट बितिसक्दा पनि कोठा उस्तै सुनसान रह्यो । उसले कोठाभित्र पस्ने बिचार गरयो ।

सामान्य मान्छेभन्दा भिन्न एउटा विशिष्ट मनुष्य टेबुलअघि मेचमा निश्चल बसिरहेको थियो। तन्केको छालाले हड्डी मोहोरेको अस्थिपञ्जरजस्तो देखिएको थियो त्यो मान्छे, आइमाईको जस्तो लामो घुम्रिएको कपाल, खस्रा दाह्री … । उसको चेहरा फिक्का-पहेँलो माटोजस्तो देखिएको थियो, गाला ख्याउटे थिए, पिठिउँ लाम्चो र साँघुरो थियो । उसको टाउको थामिराखेको उसका हातहरू कति सुकुमार थिए भने देख्दैमा मनै खिन्न हुन्थ्यो । उसका कपालहरू तिलचामले भइसकेका थिए । उसको दुब्लो बूढ्यौली पाराको अनुहार हेर्दा कसैले पनि ऊ मात्र चालीस वर्षको मान्छे हो भनेर पत्याउँदैनथे होलान् । ऊ निदाइरहेको थियो … उसको झुकेको टाउकोअघि टेबुलमा एक टुक्रा कागज थियो, त्यसमा अत्यन्तै सुन्दर हस्तलिपिद्वारा केही कुरा लेखिएको थियो ।

वैंकपतिले बिचार गरयो, “बिचरो ! मस्त निदाइरहेको छ । सम्भवतः बीस लाखको सपना देखिरहेको हुनसक्छ । अब मैले यो अर्धमृत जन्तुलाई ओछ्यानमा हुत्याउनु छ र त्यसपछि सिरानीले अलिकता अँचेट्नु छ । त्यति भएपछि जस्तोसुकै नामी विशेषज्ञले पनि यस घटनामा हत्याको कुनै निसान फेला पार्ने छैन तर सबभन्दा पहिले त्यो कागजमा के लेखेको रहेछ, हेरौँ … ।” वैंकपतिले टेबुलबाट कागज टिपेर पढ्यो, ”भोलि मध्यान्न बाह्र बजे मैले मेरो स्वतन्त्रता पुनः प्राप्त गर्नेछु र अन्य मानिसहरूसित घुलमिल हुने अधिकार प्राप्त गर्ने छु, तर यो बन्दकोठा त्याग्नुअघि, झलमल्ल घाम लागेको देख्नुअघि तपाईंलाई मैले केही कुरा भन्नु आवश्यक ठानेको छु । म तपाईंलाई विल्कुल विवेकपूर्वक भन्दैछु … द्यौतालाई साक्षी राखेर भन्दैछु- जीवन, स्वास्थ्य, स्वतन्त्रता र ती कुराहरूलाई म तिरस्कार गर्दछु जुन कुरालाई तपाईंका पुस्तकग्रन्थहरूले संसारको बरदान ठानेका छन्।

पन्ध्र वर्षदेखि मानवजीवनबारे अध्ययनमा म साधनारत छु । यो सत्य हो- यो अबधिमा मैले धर्ती देखेको छैन, न त कुनै मानिस नै भेटेको छु, तर मैले तपाईंका पुस्तकग्रन्थहरूभित्र बास्नादार सोमरस पिएको छु; मैले थुप्रैथुप्रै गीतहरू गाएको छु; घनघोर जङ्गलभित्र हरिण र बँदेलको सिकार गरेको छु । स्त्रीहरूसित मायाप्रीति गाँसेको छु … तपाईंका महान् प्रतिभावान् कवि, स्रस्टाका जादुले सृजित अलौकिक अस्पृश्य सौन्दर्यहरूले मलाई रातमा भेटेर साउती मार्दै उत्कृष्ट आख्यानहरू सुनाएका छन्; ती सब मेरो मथिङ्गलमा फनफनी घुमिरहेका छन् ।

तपाईंका पुस्तकहरूभित्रै मैले एल्बुर्ज र मोन्ट-ब्लाङ्क आरोहण गरेको छु । त्यहीँबाट मैले अनुपम सूर्योदय दृश्यावलोकन गरेको छु र साँझपख त्यसले सगरमा, सागरमा र शिखरहरूमा सुनौला र गाढा रातो बाढी ल्याएको देखेको छु । त्यहीँबाट मैले मेरो शिरमाथि विद्युल्लता चम्किरहेको र त्यसले आँधीमय मेघमालालाई चिर्दै गरेको दृश्य पनि अवलोकन गरेको छु । मैले हरिया जङ्गल, खेतबारी, नदीनाला, तालतलैया, नगर र मानववस्तीहरू देखेको छु। मत्स्यकन्याहरूले गाउँदै गरेको गीत र भेडागोठालाहरूले बजाउँदै गरेको बाँसुरीका सङ्गीत मैले सुनेको छु । मैले आसुरी परीहरूका पखेटा स्पर्श गरेको छु जो देवताबारे मसित वार्तालाप गर्न धर्तीमा अवतरण गरेका थिए ।

… तपाईंका पुस्तकहरूभित्रै मैले आफूलाई पीँधविनाको पातालमा हुत्याएको छु । मैले अनेक चमत्कार देखाएको छु; जानेरबुझेर हत्या गरेको छु; सहरमा आगो लगाएको छु; नौलो धर्मको उपदेश दिएको छु र सम्पूर्ण अधिराज्यमाथि विजय हासिल गरेको छु । तपाईंका पुस्तकहरूले मलाई प्रज्ञा प्रदान गरेका छन् । युगयुगमा सृजित ती सबै बेचैन मानव बिचारहरू मेरो मस्तिष्कको सूक्ष्म दिग्दर्शकयन्त्रभित्र खाँदिएका छन् । मलाई थाहा छ, तपाईंहरूभन्दा म विवेकशील छु।

“अनि तपाईंका पुस्तकग्रन्थहरूलाई म उपेक्षा गर्छु। संसारका बुद्धितत्व र बरदानहरूलाई म तिरस्कारको आँखाले हेर्छु। यी सब अर्थहीन हुन् । सबै क्षणभङ्गुर हुन् । सबका सब भ्रामक हुन्, छली हुन्- जलभ्रमजस्तै, मृगमरीचिकाजस्तै। तपाईं गौरवशाली हुनुहोला, तपाईं बौद्धिक हुनुहोला, तपाईं गुणवेत्ता हुनुहोला, तर तपाईंलाई मृत्युले यो धर्तीबाट यसरी मेटाइदिनेछ, मानौँ तपाईं भुइँ खोतलिरहेको मूसोभन्दा बढी केही पनि होइन अनि तपाईंका भावी पुस्ताहरू, तपाईंको इतिहास, तपाईंका अमर प्रतीभाहरू सबै यो पार्थिव पृथ्वीसँगै जल्नेछन् वा जम्नेछन् ।

“तपाईं तर्कमा हार्नुभएको कारण गलत बाटो हिँड्नुभएको छ। तपाईंले सत्यलाई छोडेर झूटलाई अँगाल्नुभएको छ; सौन्दर्यको सट्टा कुरुपता रोज्नुभएको छ। यदि स्याउ र सुन्तलाको बोटमा स्याउ र सुन्तलाको नफलेर भ्यागुता र छेपारो फल्यो भने अथवा यदि गुलाबको फूलमा घोडाको पसिना गनायो भने जसरी तपाईं आश्चर्यचकित हुनुहुनेछ, त्यसरी नै तपाईं देखेर म आश्चर्यचकित भएको छु, तपाईं देखेर, जसले धरतीसित स्वर्ग साटेको छ! म तपाईंजस्तो बन्न चाहन्नँ।”

“जुन धनसम्पत्तिमा तपाईं अहिले ऐसआराम गरिहनुभएको छ, त्यसलाई मैले कसरी घृणापूर्वक हेरिरहेको छु भन्ने कुरो व्यवहारमा देखाउन त्यो बाजीको बीस लाखलाई म तिरस्कार गर्दछु; जुन धन कुनै बखत मेरो स्वर्गीय सपना बनेको थियो, त्यसलाई अब म उपेक्षा गर्छु । त्यो बाजीको धनबाट आफूलाई बञ्चित गराउन तोकिएको समयभन्दा पाँच घण्टापहिल्यै म यो बन्दीगृहबाट बाहिर निस्कने छु र त्यस कार्यले हाम्रो सम्झौता उल्लङ्घन गर्ने छ।”

वैंकपतिले पत्र पढिसकेपछि त्यसलाई टेबुलमाथि राख्यो, अनि त्यो विचित्र मानिसको निधारमा चुम्यो र रुँदै बन्दीगृहबाट बाहिर निस्क्यो। शेयरबजारमा निकै ठूल्ठूला घाटा बेहोर्नुपरेको बखत पनि उसले आफूप्रति यतिविधि उपेक्षित र घृणित अनुभूत गरेको थिएन । ऊ घर पुगेर बिछ्यौनामा पल्ट्यो तर आँसु र उत्तेजनाले उसलाई घण्टौँसम्म निदाउन दिएन।

बिहानपख चौकीदारहरू अँध्यारो मुख लाएर दौडँदै गए र वैंकपतिलाई भने, “त्यो बन्दी झ्यालबाट निस्केर बगैँचामा पस्यो र मूलद्वारमा पुगेपछि बेपत्ता भयो।”

वैंकपति आफ्ना नोकरहरूसँग तुरुन्तै बन्दीगृहमा गयो र बन्दी त्यहाँबाट भागेको कुरोमा पक्कापक्की भयो । अनावश्यक विवादबाट जोगिन उसले टेबुलको टिपोट लियो, जसमा बाजीको बीस लाख तिरस्कार गरेको कुरो लेखिएको थियो । घर पुगेपछि उसले त्यो टिपोट अग्निप्रतिरोधक सेफमा राख्यो ।

प्रतिक्रिया