पार्टी निर्माण कसरी सम्भव छ ?

पार्टी निर्माण भन्नाले माथि केन्द्रदेखि तल तल्लो तहको पार्टी कमिटीहरुको संगठन गर्नु नै हो भन्ने आम धारणा साथीहरुमा पाइन्छ । वास्तवमा यस्तो संगठनको निर्माणको अभावमा पार्टीका सोचाइहरु व्यवहारमा परिणत हुँदैनन् । तर,पार्टी निर्माणको सम्बन्धमा यति नै मात्र सही धारणा होइन । यस्तो धारणा यान्त्रिक धारणा हो । यसमा सोच्नु पर्ने मुख्य कुरा हो पार्टी कमिटीहरुको आपसी सम्बन्ध र संचार कसरी हुन्छ र पार्टीले कसरी शक्ति संचय गर्न सक्दछ ? यसको अभावमा पार्टीमा सजीवता आउन सक्दैन । सजीवता बिनाको पार्टीको संगठन त केवल अस्थिपंजर मात्र हो । अतः पार्टी निर्माणको सम्बन्धमा त्यसकुरामा सबभन्दा बढी ध्यान पु¥याउनु पर्दछ, जसले गर्दा पार्टीमा क्रियाशीलता बढ्दछ, आपसी सम्बन्ध र संचार स्थापित हुन्छ ।

यसको निम्ति हामी माक्र्सवादी लेनिनवादीहरुले मुख्य रुपले निम्नलिखित लेनिनका चार शिक्षामा ध्यान पु¥याउन पर्दछः–

(१) कुनै पनि देशको कम्युनिस्ट पार्टीले आफ्नो कार्यक्रम निश्चित गर्दा आफ्नो देशको आर्थिक, राजनीतिक व्यवस्था, संस्कृति, चालचलन, रीतिरिवाज, परम्परा आदि राष्ट्रिय विशेषतामा ध्यान दिनु अति आवश्यक छ । यस्तो अध्ययनबिना सही कार्यक्रमको निर्माण हुन सक्दैन ।

यस शिक्षाअनुसार हामीले नयाँ जनवादी कार्यक्रम तैयार गरेका छौं । यस सम्बन्धमा अझै पनि हाम्रो अध्ययन कमै छ । अतः हाम्रो कार्यक्रमलाई देशको राष्ट्रिय विशेषताको आधारमा माझ्ने काम जारी नै राख्नुपर्दछ ।

(२) क्रान्तिको निम्त सर्वहारा वर्गको मित्र शक्तिको सवाल अति महत्वपूर्ण सवाल हो । प्रत्येक देशका कम्युनिस्ट पार्टीले सर्वहारा वर्गका मित्र तथा सहायक शक्ति चाहे ती दोधारे होउन्, अस्थिर होउन्, अविश्वासनीय तथा शर्तबन्दीमै भए तापनि लिन सक्नुपर्दछ । यस्तो नीतिको अभावमा शक्तिशाली दुश्मनको सामना गरी त्यसलाई नष्ट गर्न सक्ने छैनौं ।

यस सम्बन्धमा पनि हाम्रो पार्टीको कार्यक्रमले “क्रान्तिका मित्र तथा विरोधी शक्तिको लेखाजोखामा” सामाजिक शक्तिको लेखाजोखा गरी यो निष्कर्ष निकालेको छ । सर्वहारा वर्गका सबभन्दा भरपर्दा र विश्वासनीय मित्र शक्ति देशका सुकुम्बासी, गरिब तथा मध्यम किसान, कालिगढ न्यून–वैतनिक कर्मचारी, मध्यम वर्ग हुन् र धनी किसान र राष्ट्रिय पुँजीपति वर्ग हाम्रा दोधारे (ढुलमुले) मित्र शक्ति हुन् र सामन्त वर्ग सर्वहारा वर्गको मुख्य दुश्मन हो ।

यसरी सामाजिक शक्तिको लेखाजोखाको साथै राजनीतिक स्वरुपको पनि लेखाजोखा स्पष्ट शब्दमा गरिएको छ । यसअनुसार नेपाली कांग्रेस दोधारे मित्र शक्ति हो, कारण यसको इतिहात सामन्तवादसँग सम्झौता र संघर्षको इतिहास छ । यसको वर्गचरित्र नै त्यही हो ।

आफ्नो दुश्मन वर्गको प्रत्येक फुटको उपयोग सर्वहारा वर्गले क्रान्तिको पक्षमा गर्न सक्नुपर्दछ । अतः पञ्चायत र प्रशासनको बीचमा जुन अन्तरविरोध छ, –त्यसमा हामी निश्चित रुपबाट प्रशासनको विरुद्ध खडा हुनुपर्दछ ।

त्यसैगरी तल गाउँ–देहातमा किसान संघर्ष गर्दा पनि गाउँले सामन्ती जमातको आपसी अन्तरविरोधको उपयोग हामीले किसान संघर्षको पक्षमा काम गर्न सक्नुपर्दछ ।

प्रत्येक देशको कम्युनिस्ट पार्टीले यो राम्रोसँग बुझ्नुपर्दछ कि क्रान्तिको निमित्त प्रचार र प्रसार मात्र पर्याप्त छैन । यसमा सबभन्दा ठूलो मुख्य कुरा यो हो कि आम क्रान्तिकारी जनताको अंगलाई यस कुराको राम्रो बोध आफ्नै राजनीतिक संघर्षको अनुभवद्वारा हुनुपर्छ । अर्थात् पार्टीका राजनीतिक नीति तथा नारापट्टि जनताको विश्वास उनीहरुको राजनीतिक अनुभवद्वारा नै हुनुपर्दछ ।

यो पञ्चायती व्यवस्था सामन्ती स्वार्थ रक्षाको निम्ति ल्याइएको हो । यो हाम्रो पार्टीको समझदारी सुरुदेखि नै रहिआएको हो । यसैगरी नेपाली कांग्रेस सम्झौतापरस्त पुँजीवादी वर्गको पार्टी हो भन्ने पार्टीको विश्लेषण रहेर आएको हो तापनि राजा र कांग्रेसको विषयमा जनतामा त परै जाओस् स्वयम् पार्टीभित्र नै यो प्रश्न बराबर उठ्दछ । यसको खास माने के हो ? यसको खास माने संघर्षको दौरानमा व्यवहारमार्फत् जनतालाई उनीहरुको चरित्रको विषयमा राजनीतिक अनुभव दिलाउन नसक्दा जनतामा भ्रम छ र त्यसको प्रतिविम्ब देशको कम्युनिस्ट आन्लोलनमा बेलामौकामा प्रतिविम्बित हुन्छ । पार्टीले तय गरेको नाराको आधारमा देशका विभिन्न समस्याहरुलाई लिई आन्दोलन गर्ने पहलकदमी लिँदै गएमा जनतालाई राजनीतिक अनुभव व्यवहारद्वारा प्राप्त हुनेछ र आजका विवादहरु पन्छिई आन्दोलन झन्झन् उच्च स्तरमा उठ्ने छ ।

(४) कुनै पनि देशको कम्युनिस्ट पार्टीले कुनै र कस्तै अवस्थामा पनि पार्टी संगठनको मुख्य सिद्धान्त जनवादी केन्द्रीयताको पालना गर्नुपर्दछ । यसको अपहेलना भएको खण्डमा पार्टी तहस–नहस भएर जानेछ । पार्टीमा यदि कसैले यस सिद्धान्तलाई तिलाञ्जली दिए तापनि इमानदार साथीहरुले पार्टी पद्धतिअनुसार नै आफ्नो कार्यनीति बनाउनुपर्दछ । तेस्रो सम्मेलनको रिपोर्टमा यस विषयमा जुन कुरा उल्लेख गरिएको छ । त्यसको स्मरण गर्नु हाम्रो निम्ति फाइदाजनक हुनेछ ।

“कुनै पनि सच्चा माक्र्सवादी–लेनिनवादीले पार्टीको विधान, तौरतरिका आदिलाई मिच्नु हुँदैन । हामीले हमेशा नै पार्टीको नियम, विधिविधान तौरतरिका आदिको पालना गर्नुपर्दछ । यसै गर्नाले पार्टीको निर्माण भएर आउने छ, जो आज हुँदैछ ।

“पार्टी माथि विश्वास गर” भन्नाको मतलव यही हो । पार्टी सिंहावलोकन र माथि भनिएका कुराहरुबाट यो स्पष्ट हुन आउँछ कि अवसरवादी तथा संशोधनवादीहरुले पार्टीको सम्पूर्ण नियम, विधिविधान, परम्परा तथा फैसलाको विरुद्ध गई अमाक्र्सवादी–लेनिनवादी तौरतरिका अपनाउँदा पनि हामी पार्टीपद्धति अनुसार नै चल्यौं । यसले गर्दा उनीहरुको पोल खुल्न थाल्यो । क्रमिक रुपमा साथीहरुको बीचमा उनीहरुको भ्रम हट्न थाल्यो । हामीले प्रतिपादन गरेको सिद्धान्त, राजनीति तथा संगठनात्मक नीतिप्रति उत्तरोत्तर क्रान्तिकारी कम्युनिस्टहरुले आस्था देखाउन थाले । त्यसैको फलस्वरुप आजको ऐतिहासिक तेस्रो सम्मेलन सम्पन्न हुन गइरहेको छ ।”

(नेपाल कम्युनिस्ट पार्टी र यसको कार्यपद्धतिबाट)

प्रतिक्रिया