विवाह, प्रेम, यौन र बलात्कार

यौन, प्रेम र विवाहबारे वर्गीय र निवर्गीय दुवै दृृष्टिकोणबाट बहस भएका छन् । शोषक र शोषित दुवै पक्षबाट आ–आफ्ना कोणअनुसार यसबारे बहस भएको छ । वर्गविहिन समाजमा बस्ने कम्युनिस्टका लागि विवाह संस्था जरुरी पर्ने हो कि नपर्ने हो ? यसबारे छलफल गरिनुपर्छ । नेपालमा यस विषयमा पर्याप्त छलफल हुनसकेको छैन ।

माक्र्सले कहिल्यै द्वन्द्वात्मक भौतिकवाद भनेनन् । यो शव्दावलीको प्रयोग रसियनहरुले सुरु गरे । माक्र्सले सँधै ‘भौतिकीय द्वन्द्वात्मकता’ भने । यो दृष्टिबाट हेर्दा हरेक वस्तुका चार पक्ष हुन्छन् । राम्रो, नराम्रो र दुवै मिसिएको र देख्दै नदेखिने । माक्र्सको यही भौतीकीय द्वन्द्वात्मकताको दृष्टिकोणबाट विवाह, प्रेम, र यौनलाई हेर्नुपर्छ ।

विवाह के हो ?

विवाह एक सांस्कृतिक गतिविधि गर्ने संस्था हो । यो संस्थाको स्वरुप अहिले पनि संसारमा फरक–फरक देखिन्छ । यही पृथ्वीका मानिसहरुमध्ये कोही विगत २८ वर्षदेखि अन्तरिक्षमा बसिरहेका छन् । कोही आदिम साम्यवादी समाजमा बसिरहेका छन् । बङ्गालको खाडीबाट दक्षिण हिन्द महासागरको बीचमा अन्नामर निकोमन टापु छ । त्यहाँ ‘सेन्टेनिल’ भन्ने एकथरी जाति छ, उनीहरुलाई भेट्न पाइन्न । ‘ओङेँ’ र ‘जार्भा’ भन्ने अन्य दुई थरी जाति पनि छ, उनीहरुसँग भेट्न सकिन्छ । तान्जेनियामा ‘हत्जावे’ भन्नेहरु छन् । उनीहरु २५ देखि ३० जनाको समुहमा बस्छन् । उनीहरु अहिले १ हजार जनाको संख्यामा छन् । उनीहरु अहिले पनि ‘हन्टर एण्ड ग्यादर’ समाजमै छन् । दक्षिण अफ्रिका र नामेबियामा नेल्सन मण्डेलाको जातिलाई ‘खोइसान’ भन्छन्, जसलाई ‘सान’ पनि भनिन्छ, उनीहरुमा पनि विवाहको संस्था देखिन्न । निर्तत्वशास्त्रीहरुले त्यस्तो समाजमा बस्नेहरुलाई ‘शिकारी र संकलन समाज’ भनि नामाकरण गरेका छन् । उनीहरु विवाह त गर्छन् तर, अन्य मानिसको जस्तो यो जातिको सांस्कृतिककरण भएको छैन । उनीहरुसँग विवाहको ‘रस्म’ छैन ।

समाजमा जब वर्गको उदय भयो, सार्वजनिक सम्पत्तिको नीजिकरण सुरु भयो, त्यसैबेलादेखि राज्यसत्ता र परिवारको उदय भयो । यसबारे ‘परिवार नीजि सम्पत्ति र राज्यको उत्पत्ति’ पुस्तकमा एङ्गेल्सले प्रष्ट पारेका छन् । जब समाजमा धातुको युग सुरु ग¥यो, जसलाई हामी कास्य युग पनि भन्छौं, त्यसबेलादेखि परिवार र राज्यको उत्पत्ति भयो । त्यसपछि विवाहको रस्म देश, परिवेश, जाति अनुसार विभिन्न तरिकाले विकास हुन थाल्यो । शास्त्रका अनुसार दक्षिण एसियामा मात्रै आठ किसिमको विवाहका स्वरुपहरुको विकास भयो ।

अब कम्युनिस्टहरुले विवाह संस्थालाई कसरी बुझ्ने ? यो महत्वपूर्ण प्रश्न हो । कम्युनिस्टहरुलाई विवाह संस्थाको आवश्यकता छैन । किनकी कम्युनिष्टको आदर्शले भन्छ, ‘समाजका कुनै वर्ग रहँदैन, कुनै राज्य रहँदैन, शासन–शोषण र उत्पीडन रहँदैन । अन्याय अत्याचार, दमन र असमानता रहँदैन । यी विषय समाजबाट हटेपछि विवाह संस्थाको आवश्यकता नै रहँदैन । प्राण रक्षाको आधार ग्यारेन्टी हुन्छ । निर्णय सरोकारवालाले गर्छ । अहिलेको जस्तो विवाहको लागि सामाजिक स्वीकृति लिनुपर्ने आवश्यकता पर्दैन । यो कुरा युरोप अमेरिकातिर सुरु भइसकेको छ । पश्चिमा मुलुकहरुमा बिना कुनै रितिरिवाज केटाकेटी सँगै बस्छन् । त्यसलाई ‘लिभिङ टुगेदर’ पनि भन्न सकिन्छ । ‘लिभिङ टुगेदर’ बस्ने चलन साम्यवादी समाजको भु्रण हो । त्यो भ्रुण अहिले जन्मिएको होइन कम्युनिस्ट घोषणापत्र लेख्ने बेलामै सुरु भइसकेको छ ।
साम्यवादी तीन प्रकारका हुन्छन् । व्यक्तिगत तहका साम्यवादी, सामुहिक तहका साम्यवादी र सार्वजनिक तहका साम्यवादी । बुद्धिस्ट, जैन र महावीरका शिष्यहरु व्यक्तिगत तहका साम्यवादीहरु हुन् । सेन्ट साइमन, फुर्य र रोबट क्वीन काल्पनिक समाजवादको कुरा गर्ने सामुहिक तहको साम्यवाद हुन् । उनीहरुको साम्यवाद १९३१ मा रुसमा स्टालिनले बन्द गरे । माक्र्सले चाँहि सार्वजनिक तहको साम्यवादको कुरा गरे ।

पृथ्वीका मान्छेले आर्जन गरेको दुई लाख ५० हजार अरब डलरको सम्पत्ति ८ जना साहुको नाममा छ । त्यसको नाफा आम मान्छेमा आइनपुगेसम्म सार्वजनिक तहमा भएको वर्ग मेटाउन सकिन्न । व्यक्तिगत तह र सामुहिक तहको वर्ग हामी अहिले नै मेटाउन सक्छौं । यही सार्वजनिक तहका साम्यवादीहरुमध्ये परिस्थिति अनुसार केहीले विवाह संस्था त्यागेका छन्, धेरैले अपनाएका छन् । अरु ओशोका सन्यासीहरुले बिहे गर्दैनन् । एकधरी वौद्ध भिक्षुहरुले बिहे गर्दैनन् । नागा साधु साधीहरु, जैनहरुले २५ सय वर्षअघि नै विहेको संस्था छाडिसके । उनीहरु गैरमाक्र्सीय साम्यवादीहरु हुन् ।

इसापूर्व ४ हजार वर्ष अघिबाट यो वर्गीय दुनियाँ सुरु भयो । यो दुनियाँका मानिसहरु कोही सचेत साम्यवादी हुन्छन्, कोही अचेत साम्यवादी हुन्छन् । सबै मानिस कुनै न कुनै बेला कम्युनिस्ट नभइकन यो वर्गीय दुनियाँमा टिक्नै सक्दैन । राती सुतेको बेला, मनोरञ्जन (खेलकुद इत्यादी) गरेको बेला, सम्भोग गरेको बेला, प्रेम गरेको बेला, लागूपदार्थ÷मादकपदार्थ खाएको बेला मानिस साम्यवादी हुन्छन् । तर, त्यो अचेत साम्यवादी हो । माक्र्सले भनेको सचेत साम्यवाद हो ।

प्रेम के हो ?
यो संसार नै प्रेम र घृणामा टिकेको छ । यस्तो किन भयो भने यो भौतिक जगतका हरेक वस्तु उल्टासुल्टा छन् । सकारात्मक–नकारात्मक, राम्रो–नराम्रो, प्रेम– घृणा, आर्कषण–विकर्षण यो सबै वस्तुमा लागू हुन्छ । निर्जिव सजिव, मानिस पशु सबैमा यो नियम लागू हुन्छ । ‘लोकह विपरीत धर्मः’ यो संसार विपरीतमा छ भनेर पूर्वीय दर्शनले भन्छ ।

प्रेम वर्गीय हुन्छ । धनीले गरिवलाई हेर्दैनन् । गरिवले पनि धनीलाई हेर्दैनन् । प्रेम जगत भरी नै छ, घृणा पनि जगत भरी नै छ । प्रेमलाई पुँजीवादी दृष्टिकोण र वर्गविहिन दृष्टिकोणबाट हेर्नुपर्छ । वर्गविहिन दृष्टिकोणमा गरिने प्रेम मुक्ति आन्दोलनसँग सम्बन्धित छ । पुँजीपति वर्गले गर्ने प्रेम पनि वर्गीय दुनियालाई कायम राख्नेगरी प्रेम गर्न चाहन्छन् । यदि दुई वर्गको बीचमा प्रेमसम्बन्ध गरे पनि त्यसलाई तोडिदिन्छन् । प्रेम पनि घृणा जस्तै नैसर्गिक कुरा हो । धनीले गरिबलाई हेर्दैन । गरिबले पनि धनीलाई हेर्दैन । एकदमै अपवादमा मात्रै हेर्छन् ।

हाम्रा नियमहरु, संस्कार र संस्कृतिहरु सामन्तवादद्वारा निर्देशित छन् । हामी त्यो संस्कृतिबाट पूर्णत मुक्त भइसकेका छैनौं । त्यसैले पुँजीवादी समाजमा गरिने प्रेम पनि मुलुतः सम्पत्तिमा आधारित प्रेम हो । नीजि सम्पत्तिको प्रवद्र्धन गर्न र जोगाउन गरिने प्रेम पुँजीवादी प्रेम हो ।

हर्मोनको कारण मानिस यौन सम्बन्धतर्फ उद्दत हुन्छन् । हाम्रो शरीरबाट एकप्रकारको हर्मोन एक्टिभ भएपछि हामी एकअर्काप्रति आकर्षित हुन्छौं । काम र उत्तेजना जाग्ने हर्मोनको खेल हो । यो बाइलोजीसँगै केमिकलको पनि कुरा हो । यसबारे अनुसन्धान भएको छ संसारमा । बढी यौन सम्बन्धतर्फ उद्दत हुने हर्मोन घटाउनुपर्छ । प्रेम र यौनको विषयमा नेपालका कम्युनिस्टहरुले कारबाही गरे । यो ठीक छैन । कार्वाही गरेर समस्या समाधान हुँदैन । कामउत्तेजना बढाउने हर्मोन के कारणले बढिरहेको छ त्यसको कारण खोज्नुपर्छ ।

कम्युनिस्ट पार्टीभित्र प्रेमबारे अनुमति लिने प्रचलन छ । यस्तो किन गर्नुप¥यो ? लेनिनले १९१७ मै भनिसक्नु भएको छ, दुईजना मानिस सहमतिमा के के गर्छन् उनीहरुकै कुरा हो । यसमा अनुमति लिनुपर्ने कुुनै कारण छैन । अनुमति माग्ने भनेको दास युग, सामन्तवादी युग र पुँजीवादी युगको कुरा हो । अनुमति लिने प्रक्रियाबाटै तल र माथिको वर्ग सुरु हुन्छ । दुईजनाको सहमति भइसकेपछि उनीहरु एकदिन बसोस् कि वर्षदिन बसोस् कि जीवनभर बसोस् त्यो उनीहरुको कुरा हो । दुईजनाको मामलामा अरुले बोल्ने अधिकार नै छैन । पार्टीले कार्वाही गर्ने कुरा झन् अर्के हो । बिहे गर्न पार्टीलाई सोधिरहनु पर्दैन ।

बिहे गर्न सोध्ने, अनुमति लिने जस्ता काम कम्युनिस्टको होइन । कम्युनमा बसेका कम्युनिस्टको कुरा यो होइन । तर, वर्गीय दुनियाँमा बस्ने कम्युनिस्टको यस्तो हुन गयो । १२ वर्षसम्म बिहे नगरी सँगै बसिरहेको मान्छे मलाई अन्तिममा पार्टी कार्यालय जानै प¥यो । प्रचण्डजी, बाबुरामजी र अमिकजीलगायत आउनु भयो, मेरो बिहे गरिदिनु भयो । न उहाँहरु पुरेत, न उहाँलाई विवाहको संस्कारबारे थाहा छ । खादा ओढाइदिनु भयो । विवाह सकियो । मैले धन्यवाद दिए ।

यौन के हो ?
पशुलाई अरु बेला यौनजन्य गतिविधिबारे केही पनि मतलब हुँदैन । यसबारे उसको निश्चित समय हुन्छ । तर मानिस प्रायः सँधैजसो यसबारेमा सोच्ने गर्दछ । शरीरको हर्मोनले हामीलाई सम्भोगप्रति उन्मुख गराउँछ । त्यो सन्तान उत्पादन गर्नको लागि हो । मानिस यौन गतिविधिमा जानेबेला ‘अक्सिटोसिन’ जस्ता हर्मोनहरु सक्रिय हुन्छन् । जसले मानिसलाई आनन्दित गराउँछ । त्यसबाट आनन्द प्राप्त हुने हुनाले मानिस सम्भोगमा सहभागी हुन्छन् । मानिसहरु सन्तान उत्पादन गरी उत्तराधिकारी जन्माउन चाहन्छन् । कम्युनिस्टको उत्तराधिकारी भन्ने हुँदैन । यसबारे छुट्टै बहसको आवश्यकता छ ।

जब उमेर पुग्छ रतिक्रिडामा जानु प्राकृतिक नियम नै हो । यसको विरुद्ध पनि दक्षिण एसियामा आन्दोलन चलेको छ । बिहे नगर्ने, काम क्रिडामा नजाने, वीर्य रोकेर राख्ने जस्ता आन्दोलन पनि चलेको छ । बुद्धले महिलाहरुलाई आफ्नो संघमा आउदा संघ चिरस्थायी नहुने बताएका थिए । कामक्रियामा जान बच्चा हुने सम्भावना हुन्छ, बच्चा जन्मिएपछि ध्यान भंग हुन्छ । ज्ञानको खोजीमा हिँड्ने कि बच्चा हेरेर बस्ने ? त्यसैकारण बुद्धले महिलालाई संघमा आउन अनुमति दिएनन्, भनिन्छ ।

९८ प्रतिशत मानवीय पक्षहरु मानिसको अधिनमा छैन । मानिसको नियन्त्रणमा २ प्रतिशत मात्रै छ । सास फेर्ने, खाना पचाउने लगायतका ९८ प्रतिशत काम मानिसको नियन्त्रण भन्दा बाहिर छ । मानिसलाई समाजले प्रोगाम गरिदिएको छ । हामी सामन्तवाद पुँजीवाद सिकेर हुर्किएका छौं । कतिपय अवस्थामा हामीलाई दास युग पनि सिकाइएको छ । त्यसलाई पखाल्न बाँकी नै छ ।

अहिले प्रविधिको विकासले सामान बाहेक सेवा र सुविधामा मानिसले जेजति पनि उपभोग गर्न सक्छ । महिला र पुरुष एकैठाउँ हुनुपर्छ भन्ने पनि छैन । रतिक्रिडाको आनन्द मेसिनले दिन थालेको छ । त्यो प्रविधि सबैभन्दा पहिला बाँदरमा प्रयोग गरियो । बाँदर बरु म¥यो तर रतिक्रिडा गर्न छाडेन । परिवार नियोजनको धारणाले सजिलो भयो । यसलाई प्रतिबन्ध लगाउनुपर्ने कारण कुनै पनि छैन । मनमा काम नजागोस् भनेर हजारौं धर्मभिरुहरुले हजारौं जुक्ति गरिएको छ तर, रोकिएको छैन । लेनिनले भनेजस्तै यौनलाई दुई जनाको मामलाको रुपमा हेर्नुपर्छ । यति हो यौनको मामला पनि अन्याय, अत्याचार उत्पिडन हुनु हुँदैन । करकाप र जबरजस्ती हुनुहुँदैन । राजिखुसीले हुन्छ भने कसैको टाउको दुखाइको विषय हुनुहुँदैन । कम्युनिस्टहरु यो मामलाको स्वतन्त्रन्त्रताको पक्षपाती हुनुपर्छ ।

बलात्कार के हो ?
दास युगमा महिलाहरुलाई ‘वेश्यावृत्ति’ गर्न लगाइयो । त्यो ‘बेश्याबृत्ति’ मा महिलाहरु मात्रै होइन पुरुषहरु पनि सहभागी थिए । किनकी पुरुष ‘बेश्या’ नभई महिला ‘बेश्या’ हुनै सक्दैन । दास युगमा आइपुग्दा पुरुषको हातमा सम्पति पुगिसकेको थियो । दास युग सुरु भएसँगैै महिलाहरु बलात्कृत हुन सुरु भयो । त्यसबेला हरेक दिन महिलाहरु बलात्कृत हुन्थे । किनकी महिलाको हातमा सम्पति थिएन । अहिले पनि महिलाहरु यौनदासीको काम गर्न बाध्य छन् । जब समाजमा सम्पत्तिमा निर्भर हुनुपर्ने जमाना सकिन्छ त्यसबेला मात्रै बलात्कारको अन्त्य हुन्छ । जब प्राणरक्षाको लागि कसैमाथि आश्रित हुनुपर्दैन त्यसबेला बलात्कारको अन्त्य हुन्छ ।

पुँजीवादले नै बलात्कार र वेश्यावृत्ति जन्माएको हो । जब पुँजीवादको अन्त्य हुन्छ, त्यसबेला बलात्कार र वेश्यावृद्धिको अन्त्य हुन्छ । जतिसक्दो छिटो व्यक्तिगत, सामुहिक र सार्वजनिक तहमा यो मानवद्रोही, महिलाद्रोही, कामद्रोही, प्रेमद्रोही, विवाहद्रोही व्यवस्थालाई ध्वंश गर्नुपर्छ ।

अहिले पनि आदिम साम्यवादी समाजमा बस्ने मानिसहरुको बीचमा बलात्कार हुँदैन । मानिसहरु लुगै नलगाई बस्छन्, तर त्यहाँ बलात्कार हुँदैन । त्यसैले बलात्कार फेसनसँग जोडिएको छैन । सेक्स हर्मोन छिटोछिटो उत्पादन गर्ने पुँजीवादी व्यवस्थासँग सम्बन्धित छ बलात्कार । हामीले खाने विषादीयुक्त खानेकुराले सेक्स हर्मोनलाई छिटोछिटो बढाइरहेको छ । यो सबै बन्द गरेर अग्र्यानिक खानेकुरा खानुपर्छ । यो सबै बन्द गरे बलात्कार नियन्त्रण हुन्छ । अर्को पक्ष चाँहि इन्टरनेटको तीन चौथाइ भाग कामुक सिनेमाले भरिएको छ । एक चौथाइमात्रै अन्य पक्षका छन् । यो सबै पुँजीवादको नाटक हो । उसले आफ्नो सामान विकाउन यो सबै गरिरहेको छ ।

छोरी मान्छे नांगै हिडोस् कि लुगा लगाएर हिँडोस् त्यो उसको स्वतन्त्रताको कुरा हो । नेपालका कतिपय जनजाति समुदायका महिलाहरु आधा मात्रै कपडा लगाउथँे । काठमाडौंका ज्यापुहरु लंगौटी लगाएर हिँड्थे । त्यसबेला कोही उत्तेजित भएर हिँडेका थिएनन् । अपवाद मात्रै हुनसक्छ । बलात्कारमा पुँजीवादी समाज जिम्मेवार छ । विषादीरहित खानेकुरा खानुपर्छ । प्याकेटमा बन्द भएको खानेकुरा खानुुहुन्न । कोकोकोला फ्यान्टा जस्ता मानिसलाई रोगी बनाउने खानेकुरा बन्द गर्नुपर्छ । त्यहाँ मुटु रोग, डाइबिटेज, यौन उत्तेजना बढाउने विषादी हालेका हुन्छन् । यी सबै कुरिती, विकृति विसंगति अन्त्य गर्न पुँजीवाद फाल्नुपर्छ ।

प्रतिक्रिया