विज्ञापनको बहुआयामिक प्रभाव

सामान्यतयाः हाम्रो समाजमा विज्ञापनलाई कुनै उत्पादित वस्तु वा सेवाको प्रवर्द्धनका लागि गरिएको सामान्य प्रचारप्रसारको रुपमा मात्र बुझ्ने गरिन्छ । नेपाली विज्ञापन बजारको बिगतको दायरा एवं अव्यवस्थित नीतिका कारण यस्तो आम बुझाई बन्न गएको हो । पछिल्लो चरण विज्ञापन बजार फराकिलो हुँदैजाँदा समाजमा यसका प्रभावहरु पनि फराकिलो हुँदै जानथालेको छ । सरकारीस्तरमा पनि यो क्षेत्रको विकास, प्रवर्द्धन र नियमनका प्रयत्नहरु सुरु भएपछि यसबारे नयाँ बहसहरु उठन सुरु गरेको हो । सूचनाप्रविधिको तीव्रतम विकासले आमसञ्चारको क्षेत्रमा आएको वदलावका कारण विज्ञापनको पहुँच र सामाजिक प्रभाव कल्पनै गर्न नसकिने गरी विस्तार भइरहेको छ ।

विज्ञापनकै कारण संसारको जुनसुकै स्थानमा उत्पादन गरिएको गुणस्तरीय बस्तु एउटा सचेत उपभोक्ताले जुनसुकै ठाउँमा बसेर सहजै जानकारी पाउने र यसको उपभोग गर्नसक्ने वातावरण बनेको छ । जीवनसँग सम्वन्धित कयौँ मानवीय सेवाहरुको जानकारी विज्ञापनकै माध्यमबाट प्राप्त भइरहेको छ । विज्ञापनसँग उपभोग्य बस्तु,मानवीय सेवा, ज्ञान र कलासँगै समाजलाई प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव पार्ने कयौँ तत्वहरु पनि सँगै भित्रिने गर्दछ । त्यसैले विज्ञापनको सिर्जना एवं प्रचारप्रसार ठीकढङ्गले हुननसक्दा यसले समाजमा केही नकरात्मक प्रभावहरु पार्ने गर्दछ । तिनै प्रभावहरुबारे यहाँ सामन्य टिप्पणी गर्ने प्रयत्न गरिएको छ ।

झूटो तथा भ्रामक विज्ञापनको प्रभाव

कुनै बस्तु वा सेवाको प्रवर्द्धनका लागि प्रचारप्रसारमार्फत प्रतिष्पर्धा गरिनु स्वभाविक पक्ष हो । तर कुनै बस्तु वा सेवाबारे अवास्तविक एवम् गलत सूचना प्रवाह गरेर बजार विस्तार गर्ने प्रतिष्पर्धाले भ्रामक विज्ञापनको उत्पादन तथा प्रचार/प्रसार भइरहेको छ । हेर्दा सामान्य लाग्ने यस्तो विज्ञापनको प्रचार/प्रसारले सिंगो समाजलाई गहिरो प्रभाव पार्ने गरेको छ । नेपालमा प्रचारित केही भ्रमपूर्ण विज्ञापनहरुको दृष्टान्तहरुबाट चर्चा सुरु गरौं ।
केही वर्षअघि यहाँको मुख्य सञ्चारमाध्यममा ‘कम्प्लान’ भन्ने पेय पदार्थको अत्याधिक प्रचार हुने गर्थ्यो । प्रचारित विज्ञापनमा बढ्दो उमेरको एउटा बच्चालाई दुई हातले डण्डी समाएर झुण्डिरहेको देखाइएको थियो । उक्त दृष्यमा सँगै भएको उसको साथीले भन्छ– ‘खाली झुण्डिएर मात्र हाइट बढ्दैन, मम्मीलाई अब ‘कम्प्लान’ दिन भन्नु । ’
यो विज्ञापनले एकसाथ समाजमा धेरै भ्रमहरु पैदा गर्छ र समाजमा दीर्घकालीन प्रभाव पार्ने कयौं मनोविज्ञानहरु जन्माउँछ । बजार विस्तारको लागि आफ्नो बस्तुको प्रचार गर्दा तथ्यपरक सामग्रीलाई कलात्मक ढंगले प्रस्तुत गर्न सकिन्छ तर यहाँ ‘कम्प्लान’ पिएर हाइट बढ्ने तथ्यहीन सन्देश प्रवाह गरेर समाजमा भ्रमपूर्ण चेतना निर्माण गरिएको छ । दोस्रो, मान्छे अग्लो वा होचो हुनु फ्राकृतिक कुरा हो । अग्लो हुँदैमा कोही शक्तिशाली वा होचो हुँदैमा कोही कमजोर हुने होइन । यो सन्देशले राम्रो र शत्तिशालीको मानक मान्छेको उचाइलाई बनाएर अर्को गलत सन्देश प्रवाह गर्न पुगेको छ । मान्छेको चेतनाभन्दा उचाइलाई राम्रो हुनुको मानक बनाउँदा बाँकी प्राकृतिक रुपमा होचा मान्छेहरुमा पैदाहुने हिनताबोध समाजका लागि हानिकारक हुन्छ । अर्कोतर्फ यो विज्ञापनमा प्रचारित सामाग्रीले सामाजिक विभाजनको सीमारेखा पनि कोरिदिएको छ । आफ्नो उचाइ बढाउनलाई ‘कम्प्लान’ पिउनु पर्ने सन्देश सुनेको एउटा अबोध बच्चालाई उनको अभिभावकसँग उक्त चिज किन्ने सामार्थ्य भए/नभएको कृुराको बोध हुन सक्दैन । उसले आफ्ना अभिभावकसँग सँधै ‘कम्प्लान’ किन्ने जिद्धी गरिरहन सक्छ । तर उनका अभिभावकाई आर्थिक अभावका कारण विज्ञापनबाट प्रभावित बच्चाको माग पूरा गर्न नसक्ने अवस्था पनि आउनसक्छ । यहीँनिर एकातिर ‘कम्प्लान’ किन्न सक्ने सामार्थ्य भएको र नभएको समाजको दुइवटा वर्गबीच द्वन्द्वको मनोविज्ञान रोपिन्छ भने अर्कोतिर सार्मथ्य नभएको पात्रले निरास भएर आफ्नो जीवनलाई अर्थहिन सम्झन सक्छ । यसरी सामान्य ढंगले हेरिएको र बुझिएको एउटा विज्ञापनको भ्रमपूर्ण सन्देशले समाजका थुप्रै अवयवहरुलाई असन्तुलित बनाउन पुग्दछ ।

यसरी नैं स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रसँग सम्बन्धित कयौं भ्रामक विज्ञापनको प्रचारप्रसारले हाम्रो समाजमा निक्कै ठूलो नकारात्मक प्रभाव पारिरहेकै छ । एउटै औषधिले सबै रोगको उपचार हुनेजस्ता भ्रमपूर्ण विज्ञापनहरु आफूलाई मूलधारको शीर्ष दाबी गर्ने सञ्चारमाध्यमहरुमा नै प्रकासन/प्रसारण भइरहनु दुःखद पक्ष हो । यौन दुर्वलतासँग जोडिएर उपचारको ग्यारेन्टी गरिएको रंगीविरंगी विज्ञापनहरु पनि तिनै सञ्चारमाध्यमहरुमा प्रकासन/प्रसारण भइरहेकै छन् । सेवनकर्तालाई थाहै नदिई जाँडरक्सी र चुरोटको लत छुटाउने वा मानिसको कुनै अंग एवम् उचाई बढाउनेजस्ता औषधी विज्ञानले प्रमाणित नगरेका सन्देशहरु छापिन छाडेको छैन । तन्त्रविद्या र ज्योतिषशास्त्रको नाममा अनेकौं भ्रमपूर्ण विज्ञापनहरु प्रकासित/प्रसारित गरेर सामाजिक अन्धविश्वासमाथि अझै मलजल हुन पनि छाडेको छैन । कथित ‘स्वामी’, ‘महाराज’हरुले हात हेरेर मान्छेको संकटहरुका पहिचान एवम् निवारण गरिदिने आशयका सन्देशहरु निर्वाध रुपमा प्रचारित भइरहेका छन् । युरोप र अमेरिकाजस्ता मुलुकहरुमा पठाउने भीषाको ग्यारेन्टी भएको झूटो विज्ञापन गर्ने र पैसा उठाएपछि सम्पर्कविहीन हुने ठगीधन्दा पनि चल्ने गरेको छ । यस्ता दर्जनौ विसंगतिहरु नेपाली विज्ञापन बजारमा चुनौती बनेर उभिएको छ ।

झूटो एवम् भ्रामक विज्ञापनले सिंगो समाजलाई यसरी प्रभावित पारेपछि यसका समाधानका प्रयत्नहरु पनि भइरहेका छन् । विज्ञापन नियमन गर्ने निकायको रुपमा विज्ञापन बोर्डको गठन भएपछि यस्तो भ्रमपूर्ण विज्ञापन रोक्न केही प्रयत्नहरु सुरु भएको छ । सरोकारवाला पक्षसँग पटकपटक सल्लाह गरेर बोर्डले विज्ञापन आचारसंहिता जारी गरिसकेको छ । विज्ञापन आचारसंहिता जारी भएपछि भ्रमपूर्ण विज्ञापनको प्रचारप्रसारमा केही नियन्त्रण निश्चय नै हुने छ । तर यसको प्रभावकारी कार्यान्वयनको लागि विज्ञापनचक्रमा सहभागी सबै पक्षको जागरुकता जरुरी छ । नेपालको सन्दर्भमा सञ्चारगृहहरुको भूमिका अझ महत्वपूर्ण हुनेछ । विज्ञापनकर्म विशुद्ध आर्थिक उपार्जनको व्यवस्थापकीय पाटोमात्रै हो भन्ने गलत बुझाई नसच्चाएसम्म भ्रामक विज्ञापन प्रचारप्रसार पूर्णरुपमा रोक्न सकिन्न । त्यसैले प्रत्येक सञ्चारगृहहरुमा विज्ञापनकर्मलाई सम्पादकीय क्षेत्रभित्र समेटिनुपर्दछ । यसमा प्रयोग हुने भाषा तथा दृश्यहरुले समाजमा कस्तो प्रभाव पार्छ भनेर सोच्ने अन्तिम ढोका सञ्चारगृहहरुको सम्पादकीय कक्ष नै हुनुपर्दछ ।
सांस्कृतिक प्रभाव
सूचना प्रविधिको तीव्रतम विकास र विभिन्न भूगोलहरुमा आ–आफ्नो सामर्थ्यअनुसार यसको व्यापक प्रयोगले सारा संसारलाई एउटा घेराभित्र कैद गरेको छ । प्रविधिले निर्माण गरेको यो अभूतपूर्व राजमार्गबाट संसारको जुनसुकै कुनामा बोलिने भाषा, जीवनशैली र संस्कृति संसारको अर्को जुनसुकै ठाउँमा सजिलै पुर्‍याउन सकिन्छ । यसरी एउटा भाषा र संस्कृतिको विश्वव्यापीकरणको लागि विज्ञापन एउटा प्रमुख माध्यम बन्ने गरेको छ ।
संसारमा चल्तीमा रहेका सबै भाषाहरु सिक्नु राम्रो कुरा हो । त्यसैले भाषालाई कुनै सीमाभित्र कैद गर्न खोज्नु एकप्रकारले मानव सभ्यतालाई पछि धकेल्नुसरह हुनजान्छ । तर कुनै एउटा स्थानीय भाषा विस्थापित हुनेगरी अर्को कुनै अमूक भाषाको प्रयोग विज्ञापनमा गर्न खोज्नु सैद्धान्तिक दृष्टिले त्यो भाषिक हस्तक्षेप हुन पुग्दछ । एउटा स्थानीय भाषा, संस्कृति र सभ्यताको चिहानमा अर्को भाषा, संस्कृति र सभ्यता स्थापित गर्न खोजिनु किमार्थ राम्रो पक्ष होइन । अहिले सांस्कृतिक श्रेष्ठता देखाउन भएको विश्वव्यापी प्रतिस्पर्धाले सांस्कृतिक हस्तक्षेपको प्रक्रिया अरु तेज बनेको छ । नेपाली समाजमा विज्ञापन एवम् बजारको विस्तारीकरणसँगै भएका सांस्कृतिक प्रभावहरुबारे केही चर्चा गरौं ।
वितेको दुईदशकदेखि नेपालमा प्रविधिको तीव्र उपयोग र यसको प्रभाव देखिन थालेको हो । र, यही अवधिमा सांस्कृतिक हस्तक्षेपको बाछिटाहरु पनि बाक्लिदै गएको छ । दुइदशक अघि नेपालमा इस्वीसम्वतको नयाँ वर्षले खासै प्रवेश पाएको थिएन । विकसित प्रविधिको प्रयोगसँगै भिक्रिएको अंग्रेजी नयाँ वर्ष एवम् त्रिसमस विज्ञापनसँग जोडिएर प्रचारप्रसार हुन थालेपछि यसको फैलावट समाजको जराहरुसम्म पुग्न थालेको छ । अन्तर्राष्ट्रिय उत्पादनहरुको विज्ञापन यही नयाँ वर्ष र क्रिस्मसलक्षित गरेर छुट अफरसहित प्रचारप्रसार हुन थालेपछि यसले सामाजिक मान्यता पाउन थालेको हो । यो प्रक्रिया बढ्दै जाँदा अंग्रेजी नयाँ वर्ष स्थापित हुँदै जाने तथा आफ्नै मौलिक संस्कृति र सभ्यतासँग जोडिएको नेपाली नयाँ वर्ष ओझेलमा पर्दैजाने अवस्था आउनसक्छ । प्रश्न नयाँ वर्षको मात्रै होइन, नेपाली मौलिक संस्कृति बोकेका विभिन्न चाडपर्वहरुको समेत रंग फेरिन थालेको छ । तीजलक्ष्यित सुनको विज्ञापनले तीजको अन्य सांस्कृतिक पक्षहरु हराउँदै जानथालेको छ । आफ्नै मौलिक संस्कृति बोकेको तिहार, दीपावली हुँदै दिवाली भनिन/ सुनिन थालिएको छ । तिहारलक्ष्यित विज्ञापनले यसको नाममात्र बदलिएको छैन, कयौं मौलिकतासमेत निल्न सुरु गरेको छ । दसैं र फागु पूर्णिमालगायतका अन्य सांस्कृतिक जीवन बोकेका चाडपर्वहरुमा जोडिएको मौलिकता आधुनिक विज्ञापन बजारले आफ्नो पोल्टाभित्र पार्दै जानथालेको छ ।

विज्ञापन उत्पादनमा प्रयोग भएका भाषा एवम् अन्तरवस्तुहरुले उपभोग गर्न प्रेरित गर्ने प्रचारशैली आक्रामक रुपमा अपनाउँदा उपभोक्तावादी संस्कृतिको जग बलियो हुँदै जानथालेको छ । हाम्रोजस्तो विकासोन्मुख राष्ट्रमा अझै केही दशक उत्पादनमुखी संस्कृतिकको विकास अपरिहार्य छ । आत्मनिर्भर र परनिर्भर भन्ने प्रश्न केवल अर्थतन्त्रको विषयमात्र नभएर सांस्कृतिक विषय पनि हो । कुनै राष्ट्र वा त्यस राष्ट्रभित्र विभिन्न समुदायबीच बाँचिरहेको संस्कृतिको रक्षा त्यो राष्ट्र वा समाजको आत्मसम्मानसँग जोडिएको हुन्छ ।
संस्कृति प्रत्येक समाजको सबभन्दा बढी संवेदनशील अवयव हो । सम्बन्धित समाजको विचार, दृष्टिकोण र अन्तर्यमा शासकीय व्यवस्थालाई समेत संस्कृतिले प्रत्यक्ष प्रभाव पारेको हुन्छ । त्यसैले हाम्रोजस्तो मुलुकले सांस्कृतिक वर्चश्व कायम गर्ने विश्वव्यापी प्रतिस्पर्धाप्रति चनाखो रहँदै एकल सांस्कृतिकरणको नियोजित अभियानप्रति सतर्क हुन सक्नुपर्दछ । समाजसँग प्रत्यक्ष संवाद गर्ने आमसञ्चारमाध्यम एवम् विज्ञापनको उत्पादन एवम् प्रचारप्रसारलाई हामीले सिर्जनात्मक र राष्ट्रको लागि रचनात्मक बनाउने संकल्पसँग जोडन् सक्नुपर्दछ । विज्ञापनमा प्रयोग गरिने भाषा र अर्न्तबस्तुलाई हामीले हाम्रो मौलिक संस्कृतिको विकास र रक्षाको लागि अधिकतम् उपयोग गर्न प्रयत्नशील हुनुपर्दछ ।
राजनीतिक प्रभाव
वस्तु वा सेवाको विस्तारीकरणका हतियार भनिएको विज्ञापन अब विस्तारै राजनीतिक हतियारको रुपमा प्रयोग हुनथालेको छ । खासगरी निर्वाचनताका जनमतलाई आफूतिर आकर्षित गर्न विज्ञापनको अनेकौं रुपहरुको प्रयोग गरिन्छ । जनताका मन छुने एजेण्डाहरुलाई कलात्मक र सरल ढंगले सम्प्रेषण गर्ने प्रयत्न सबै पक्षले गरिरहेका हुन्छन् । यस्ता एजेण्डाहरु तय गर्नुअघि जनमतलाई प्रभावित पार्नसक्ने विषयवस्तुको खोजी गर्न गहिरो अनुसन्धान र सर्भेक्षणहरु पनि गर्ने गरिन्छ । पछिल्लो समय विकसित र विकासोन्मुख राष्ट्रहरुमा विज्ञापनको राजनीतिक प्रभाव बढ्दै जान थालेको छ ।
एक तथ्यांकका अनुसार सन् २०२० मा सम्पन्न अमेरिकी निर्वाचनमा चौध अर्ब डलरभन्दा बढी खर्च विज्ञापनमा भएको अनुमान गरिएको छ । उक्त निर्वाचनमा विजयी भएका जो वाइडेनले नब्बे मिलियन डलर र उनका प्रतिस्पर्धी डोनाल्ड ट्रम्पले ४० मिलियन डलर टेलिभिजनको विज्ञापन प्रसारणमा खर्च गरेको तथ्यांक सार्वजनिक भएको थियो । ती दुवै उम्मेदवारहरुले सामाजिक सञ्जाल र अनलाइनमा गरेको खर्च ४० मिलियनको आसपास गरेको अनुमान गरिएको छ ।
छिमेकी मुलुक भारतमा केजरीवालको आमआद्मी पार्टी (आप)ले आफ्नो संगठन निर्माण र विस्तारको लागि विज्ञापनको माध्यमलाई निक्कै सशक्त ढंगले प्रयोग गरिरहेको छ । उसले ‘बदलाव’ (परिवर्तन) भन्ने आकर्षक नारालाई विज्ञापनको माध्यमबाट फराकिलो पार्दै छ । दिल्लीमा मात्र सीमित केजरीवालको पार्टीले पञ्जाव हुँदै अब त्यही नाराको फैलावटसँगै आफूलाई फराकिलो बनाउँदै छ । पञ्जावको विधानसभाको चुनावको प्रचारप्रसारमा ६.२३ करोड भारु विज्ञापनमा खर्च गरेको प्रतिवेदन निर्वाचन आयोगमा बुझाएको आमआद्मी पार्टीले विज्ञापनको भरपुर प्रयोग गरिरहेको पुष्टि हुन्छ ।
भारतमै लामो समयदेखि सत्ताको नेतृत्व गरिरहेको पार्टी भाजपाले पनि आफ्नो शक्ति सुदृढीकरण र रक्षाको लागि विज्ञापनलाई प्रमुख औजार बनाएको छ । अझ नरेन्द्र मोदीको उदय तथा मोदी युगको प्रारम्भको लागि पनि उसको आक्रामक प्रचारशैलीलाई नै मुख्य आधार ठान्ने गरिन्छ । सन् २०१४ को लोकसभा निर्वाचनमा भाजपाले पहिलोपटक विज्ञापनको परम्परागत शैली बदलेर प्रविधिको भरपुर उपयोग गर्‍यो । मोदीको व्यक्तित्वलाई स्थापित गर्नेगरी थ्री.डी. प्रविधिको प्रयोगमा मात्रै उसले झण्डै पौने अर्ब भारु खर्च गरेको अनुमान गरिन्छ । हिन्दुत्वको ‘हरहर मोदी’ जस्ता नाराहरु देशव्यापी बनाउन उसले सामाजिक सञ्जाल र त्यसमा प्रयोग गरिने भिडियोहरु निर्माण गर्न थप ३ अर्ब भन्दा बढी भारु खर्च गरेको जानकारहरु बताउँछन् ।
यता नेपालमा पनि हालै सम्पन्न तीनै तहको निर्वाचनमा प्रविधिको माध्यमबाट गरिएको विज्ञापन प्रभावकारी भएको छ । गत स्थानीय चुनावमा मुलुकको राजधानी काठमाडौं महानगरका उम्मेदवार बनेका बालेन्द्र साहले प्रविधिको उपयोगमार्फत गरिएको विज्ञापन नै उनलाई विजयी बनाउने प्रमुख आधार बन्यो । यसअघि कुनै राजनीतिक गतिविधिमा प्रत्यक्ष संलग्न नदेखिएका साहको उदय नेपाली राजनीतिमा प्रविधि र विज्ञापनको कुशल संयोजनबाट भएको पहिलो घटना हो ।

भर्खरै सम्पन्न प्रदेश र संघीय निर्वाचनमा सहभागी सबै पार्टीहरुले यसको उपयोग गर्न अधिकतम कोसिस गरे । तर उनीहरुले एजेण्डा तयदेखि प्रचारशैलीमा केही नयाँ गर्न सकेनन् । एकप्रकारले भन्ने हो भने उनीहरु आफ्नो पुरानै सीमाभित्र कैद भए । जसको कारण लगानीअनुसारको जनमत उनीहरुतर्फ तानिएन । तुलनात्मक रुपमा युवाहरुले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने यसको केही प्रतिफल प्राप्त गर्न सक्यो । ‘राष्ट्रको स्वाभिमान’ जस्ता नारा र आफू नयाँ बन्ने बाचाका साथ उसले सारेको ‘नो नट अगेन’ भन्ने अभियानले केही सार्थकता प्राप्त गर्‍यो । फलस्वरुप नेपालको राजनीतिमा ज्यादै छोटो समयमा विना कुनै संघर्ष एउटा राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भयो । सहरिया जनमतलाई आफ्नो प्रभावभित्र पार्न सफल उक्त पार्टीले संघमा पहिलो निर्वाचनमै २० सिट प्राप्त गर्‍यो भने छ महिनाअघिसम्म पूर्णकालीन पत्रकारिता गरिरहेका पार्टीका सभापति रवी लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीमा पुर्‍यायो । यो चमत्कार राजनीतिमा प्रविधि र विज्ञापनको कुशल संयोजनबाट प्राप्त भएको तथ्यलाई नेपालका सबै राजनीतिक पार्टीहरुले आत्मसात् गर्न जरुरी छ ।
मिडिया प्रभाव
डिजीटलमय हुँदैगएको आजको दुनियाँमा विज्ञापन सञ्चारमाध्यमहरुको जीवनरेखा बन्न पुगेको छ । अझ विद्युतीय सञ्चारमाध्यमको लागि त विज्ञापनबाहेक प्रत्यक्ष आयआर्जनको अन्य स्रोत हुँदैन । केही दशकअघिसम्म नेपालका छापामाध्यमहरुले आफ्नो बिक्रीबाट समेत आम्दानी गर्न सक्थे । तर यो अब एकादेशको कथा बन्ने अवस्थामा पुगेको छ । त्यसैले आम सञ्चारमाध्यमहरुको निर्भरता विज्ञापनमा नै केन्द्रित हुन थालेको छ । विज्ञापनबिना सञ्चारमाध्यम चलाउने कुरा अब कल्पनाभन्दा बाहिरको विषय बनिसकेको छ ।
विज्ञापनकर्म सोझै पुँजीसँग जोडिएको हुन्छ । पुँजी सोझै ठूलठूला उद्योग र कर्पोरेट संस्था हुँदै बहुराष्ट्रिय कम्पनीसँग जोडिन पुग्छ । यसरी विज्ञापनमा परनिर्भर मिडियाहरु प्रत्यक्ष वा अप्रत्यक्ष ढंगले तिनै उद्योग, कर्पोरेट संस्था र बहुराष्ट्रिय कम्पनीहरुसँग जोडिन पुग्छ । एकप्रकारले भन्ने हो भने तिनै व्यवसायिक संस्थाहरु मिडियाहरुको जीवनदाताको रुपमा उभिन पुग्छ । त्यसपछि मिडियाले आफ्नो स्वत्व गुमाउन थाल्छ र विज्ञापन प्रवाह गर्ने अदृश्य केन्द्रसँग सम्झौता गर्न बाध्य हुन्छ । यसपछि मिडियाहरुले प्रवाह गर्ने विषयवस्तुहरुको पहिचान तथा एजेण्डा सेटिङसमेत त्यही अदृश्य केन्द्रबाट सुरु हुन्छ । यही सेटिङको आधारमा समाचारको उत्पादन र सम्प्रेषण हुन थाल्छ । यसको गति यहीसम्म मात्र रोकिदैन, त्यो अझ गतिशील भएर मिडियाहरुको कार्यक्रम उत्पादन कक्षमा प्रवेश गर्छ र कस्तो खालको कार्यक्रम उत्पादन र प्रसारण गर्ने भन्नेसम्मको अधिकार कायम गर्ने खतरा पैदा हुनसक्छ ।

त्यतिमात्र होइन, कुनै खास शासन व्यवस्थाको लागि कुनै खास पात्रको छवी निर्माणदेखि कुनै खास शासन व्यवस्था र नेतृत्वको पतनसम्मको निर्धारण गर्न मिडियाको उपयोग हुन थाल्दछ । कस्तो समाचार र कार्यक्रम उत्पादन गर्दा अदृश्य केन्द्रको हित र वर्चश्व कायम रहन्छ त्यस्तै समाचार र कार्यक्रमहरु मिडियाबाट निर्वाध रुपमा प्रवाहित हुन थाल्छ । यसरी विज्ञापनमार्फत व्यवस्थापकीय कक्षभित्र छिरेको कर्पोरेट संस्था वा समूहले सञ्चारमाध्यमहरुलाई आफ्नो नियन्त्रणमा लिनपुग्छ । स्वार्थकेन्द्रित विचार,संस्कृति र मनोविज्ञान निर्माणको नियोजित यसप्रकारको गतिविधिले मिडियाहरुको जीवन नदीको रुपमा रहने विज्ञापन नै मिडियालाई जीवनहीन बनाउने माध्यमको रुपमा प्रयोग हुन सक्छ । तसर्थ विज्ञापनचक्रमा सहभागी सबैको यतातिर पनि ध्यान जान जरुरी छ । किनभने प्रतिस्पर्धाको स्वतन्त्रताले कुनैपनि राष्ट्रको स्वाभिमानको सीमारेखा नाघ्न नसकोस ।
आर्थिक प्रभाव
अर्थतन्त्रलाई चलायमान बनाउने मुख्य साधनको रुपमा विज्ञापनलाई लिने गरिन्छ । उत्पादित बस्तुको ब्रान्डिङ्ग र बजार विस्तारिकरणका लागि सेतुको भूमिका निर्वाह गर्ने विज्ञापन आफैमा ‘सेवा उद्योग’ पनि हो । यसरी विज्ञापनले उत्पादित बस्तु वा सेवाको प्रचारप्रसार एवम् ब्रान्डिङ्गको माध्यमबाट अर्थतन्त्रलाई अप्रत्यक्ष प्रभाव पारिरहेको छ भने प्रत्यक्षरुपमा सेवा उद्योगको आफ्नै व्यवसयिक आयतन बढाएर विश्व अर्थतन्त्रलाई प्रभाव पार्ने स्तरमा विकास गरिरहेको छ ।
मार्च ११, सन् २०१७ को वालस्ट्रिट जर्नलले सार्वजनिक गरेको तथ्यांकअनुसार त्यस वर्षमात्र उत्पादक कम्पनीहरुले झण्डै ५२९.४३ अर्व अमेरिकन डलर विज्ञापनमा खर्च गरेका थिए । सन् २०२० बाट फैलिएको कोभिड महामारीले केही सुस्ताएको विज्ञापन बजार सन् २०२४ सम्म पुग्दा ६३० अर्व अमेरिकन डलर पुग्ने अनुमान गरिएको छ । विज्ञापनको आर्थिक प्रभावको बारेमा संसारभरीका अर्थशास्त्रीहरुको फरकफरक धारणा रहेको छ । कतिले यसलाई प्रतिस्पर्धाको माध्यमबाट गुणस्तरीय र भरपर्दो अर्थतन्त्र निर्माण गर्ने क्षेत्रको रुपमा परिभाषित गरेका छन भने कतिले पूँजीको बलमा विज्ञापनको माध्यमबाट एकाधिकार कायम गर्ने असमान प्रकृत्तिको अर्थतन्त्र निर्माण गर्ने बताउँछन । जे भएपनि आजको दिनमा विज्ञापन विश्वअर्थतन्त्रको महत्वपूर्ण हिस्सा रहेको कुरामा कसैको विमति छैन् । तर, नेपालको आर्थिक क्षेत्रमा यसले पारेको प्रभावबारे मसिनोसँग अध्यन हुनसकेको कारण तथ्यसंगत हिसाबले थप व्यख्या गर्नसकने अवस्था छैन ।
यसका अलावा विज्ञापनले सामाजिक र मनोवैज्ञानिक क्षेत्रमा पनि अनेकौं प्रभाव पारेको हुन्छ । सामाजिक मनोविज्ञानदेखि विचार निर्माणसम्म विज्ञापनको भूमिका प्रभावकारी हुने गर्दछ । राष्ट्रको सांस्कृतिक पक्षदेखि वैयक्तिक जीवनसम्म यसले प्रभावित पार्ने गर्दछ । यसअर्थमा विज्ञापन कला, संस्कृति, सिर्जना, मनोविज्ञान र अर्थतन्त्र निर्माणको एउटा प्रक्रिया पनि हो । त्यसैले विज्ञापनचक्रमा सहभागी विज्ञापनदाता उत्पादनकर्ता र सम्प्रेषणमाध्यम सबैले राष्ट्र र समाजलाई केन्द्रमा राखेर जिम्मेवारी बहन गर्न जरुरी छ । हामी सबैको इमान्दार प्रयासले मात्र विज्ञापन व्यवसायलाई अन्तर्राष्टिय बजारमा प्रतिस्पर्धी बनाउँदै नेपाली अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगट्ने व्यवसायको रुपमा स्थापित गर्न सकिनेछ ।

 

प्रतिक्रिया