पार्टीभित्र सांस्कृतिक रुपान्तरण

कैंयौं मानिसहरु पार्टीको सांस्कृतिक रुपान्तरणलाई धेरै सरल ढंगले लिने गर्दछन् । उनीहरु एउटा सामान्य आचारसंहिता तयार पारेर पार्टीको सांस्कृतिक रुपान्तरण गर्न सकिने कुरा ठान्दछन् । कसै–कसैले त के पनि सोच्दछन् भने एकपटक सांस्कृतिक रुपान्तरण भएपछि त्यो काम सदाका लागि पूर्ण हुन्छ । तर वास्तवमा कुरा त्यति सजिलो छैन । जबसम्म समाजमा वर्ग हुन्छन् र वर्गसंघर्ष चल्छन्, तबसम्म पार्टीको अस्तित्व भइरहन्छ र पार्टीको अस्तित्व भइरहँदासम्म सांस्कृतिक रुपान्तरणको समस्या पनि पैदा भइरहन्छ । जब वर्ग, वर्गसंघर्ष, सर्वहारावर्गको अधिनायकत्व सबै समाप्त हुन्छन् र समाजवादले साम्यवादमा फड्को मार्छ, त्यो बेला पार्टी पनि रहन्न र त्यसैबेला मात्र पार्टीभित्र सांस्कृतिक रुपान्तरणको कुरा पनि समाप्त हुन्छ । यसरी हेर्दा पार्टीको सांस्कृतिक रुपान्तरणको प्रश्नलाई निरन्तर क्रान्तिको प्रश्नसँग अभिन्न रुपमा जोडेर ग्रहण गर्नुपर्दछ । साथै, यस प्रश्नलाई हामीले सामाजिक विकासको प्रक्रिया र क्रान्तिका ठोस चरणका अवस्थाहरुमा आधारित रही निरन्तर पैदा भइरहने जटिलताका बीचबाट हल गर्दै जानुपर्दछ । वास्तवमा पार्टीभित्रको सांस्कृतिक रुपान्तरणको प्रश्न जनयुद्ध र वर्गसंघर्षको सापेक्षतामा अन्तरसंघर्ष र दुईलाइन संघर्षका प्रक्रियाहरुसँग घनिष्ठ रुपले गाँसिएको हुन्छ ।

पार्टी सदस्यहरुको संस्कृति सम्बन्धित सामाजिक परिवेशमा आधारित हुने भए तापनि त्यो सर्वहारा संस्कृति र साम्यवादको सिद्धान्तको उचाइबाट निर्देशित हुनु आवश्यक हुन्छ । एउटा कम्युनिस्टले आफूलाई माक्र्सवाद–लेनिनबाद–माओवादको अग्रगामी चेतनाले समृद्ध पारेको हुनुपर्दछ । व्यक्तिगत सम्पत्ति र त्यसबाट पैदा हुने मानसिकताबाट ऊ मुक्त हुँदै जानुपर्दछ । सर्वहाराकरण हुँदै जानुलाई उसले गौरव ठान्नुपर्दछ । श्रम र श्रमिक जनताप्रति उसमा अगाध निष्ठा हुनुपर्दछ । व्यक्तिगत सम्पत्ति र श्रमप्रतिको यसप्रकारको दृष्टिकोणको विकासबाट एउटा कम्युनिस्टमा नयाँ वैचारिक ऊर्जा पैदा हुन्छ र त्यो उसका तमाम आचरणहरुमा अभिव्यक्ति हुन्छ । सर्वहारावर्गको वर्गसंघर्षको हितबाहेक उसको अर्को हित हुन सक्दैन र यसै हितअन्तर्गत उसका समस्त व्यक्तिगत एवम् पारिवारिक हित समाविष्ट भएका हुन्छन् । देश, जनता, सिद्धान्त र क्रान्तिप्रति अगाध निष्ठा, सर्वहारा अन्तर्राष्ट्रियवादी दृष्टिकोण, वर्गसचेत अनुशासन, पार्टी निर्णयप्रति गम्भीर जिम्मेवारीबोध, शब्द र कर्ममा एकरुपता, उच्च प्रकारको त्याग, बलिदान र जनसेवाको भावना, जनता, कार्यकर्ता र नेताहरुबीचको सजीव भावनात्मक सम्बन्ध, क्रान्तिकारी विवेक र नम्रता, दूरदृष्टि र उच्च मनोबल, दुनियाँ बुझ्दै तथा बदल्दै र कठिनाइहरुमाथि विजय प्राप्त गर्दै अघि बढ्न सक्ने उच्च क्षमताजस्ता सद्गुणहरु एउटा सच्चा कम्युनिस्टका लागि आवश्यक हुन्छन् । परन्तु, उसमा यी सद्गुणहरु बनिबनाउ रुपमा होइन, वर्गसंघर्ष र अन्तरसंघर्षका बीचबाट मात्रै विकसित हुन सक्दछन् । कम्युनिस्टहरु पुराणका अतिमानव वा दानव अवश्यै होइनन् । ती यसै धर्तीका जनताका छोराछोरी हुन् । मानिस हुनुको नाताले उनीहरुमा अनेकौं कमीकमजोरी र सीमा पनि अवश्यै हुन्छन् र सच्चा कम्युनिस्ट बन्न निकै गाह्रो हुन्छ । तर पनि ती मानिस नै सच्चा कम्युनिस्ट हुन्, जो आफ्ना कमीकमजोरीहरु सच्चाउँदै कम्युनिज्मको महान् आदर्शबाट अभिप्रेरित भएर निरन्तर क्रान्तिको पथमा दृढताका साथ अगाडि बढिरहन्छन् र खटिरहन्छन् ।

प्रतिक्रिया