कसरी जन्मियो पहिलो कम्युनिस्ट संगठन ?

१८३६ मा जर्मन राजनीतिक शरणार्थीहरुले पेरिसमा न्यायी लीग (League of the Just) नाउँको एउटा संगठन बनाए । सो संगठनका सदस्यहरु मुख्य रुपले सर्वहारा थिए । १८३९ मा, जब पेरिसमा ब्लैन्कीपंथी संगठनहरुको दमन गरियो, सो संगठन लण्डनमा बनाइयो र पेरिस, स्विजरलैण्ड र जर्मनीमा त्यसका शाखाहरु फेरि बनाइए । फरवरी १८४० मा जर्मन मजदुर शिक्षण समाज (German Workers Educational Society) गठन गरियो र त्यसलाई लीगको निम्ति एक भर्तीकेन्द्रको रुपमा प्रयोग गरियो । सुरुमा सो लीग एक जर्मन संगठन रहेको थियो र पछि विस्तारविस्तार त्यो एक अन्तर्राष्ट्रिय संगठनमा परिणत हुँदै गयो । युरोपका विभिन्न मुलुकहरुमा त्यसका शाखाहरु बने । लीगका सदस्यहरुमा विभिन्न जातिका मानिसहरु थिए र त्यसले अन्तर्राष्ट्रिय चरित्र धारण गर्‍यो । त्यसो हुनुको एउटा खास कारण के थियो भन्ने क्रान्तिको प्रभावकारिता र सफलताको लागि युरोपियाली स्तरमा क्रान्ति हुनु आवश्यक छ भन्ने वास्तविक तथ्यको विस्तारै अनुभव गरिएको थियो । त्यसको सदस्यता–कार्डमा कमसेकम बीस भाषामा तलको नारा लेखिएको हुन्थ्यो– “सबै मानिसहरु दाजुभाइ हुन् ।”

मार्क्स र एन्गेल्सलाई सो लीगको अस्तित्वबारे थाहा थियो, तर विभिन्न कारणहरुले गर्दा पहिले उहाँहरु त्यसको सदस्य बन्नु भएको थिएन । एन्गेल्सले के बताउनुभएको छ भने उहाँलाई त्यसको सदस्य बन्न १८४३ मा निम्त्याइएको थियो, तर सो निमन्त्रणालाई उहाँले अस्वीकार गर्नुभयो । सदस्यता ग्रहण नगर्नुभएको भए पनि लीगसित उहाँहरुको सम्बन्ध रहेको थियो । लीगसित माक्र्सको र आफ्नो सम्बन्धबारे एन्जेल्सले लेख्नुभएको छः “हामीले लीगको आन्तरिक स्थितिबारे कपाल दुखाएनौं, तर पनि प्रत्येक महत्वपूर्ण सवालमा हामीलाई सूचित गरिएको हुन्थ्यो । मौखिक रुपमा, चिठ्ठीपत्रद्वारा, अखबारहरुमार्फत हामी त्यसका सदस्यहरुलाई आफ्नो सैद्धान्तिक दृष्टिकोणबाट अवगत गराउँथ्यौं । त्यसबाहेक, हामी विशेष अवसरहरुमा (उदाहरणार्थ, निर्माणको प्रक्रियामा रहेको कम्युनिस्ट पार्टीको आन्तरिक मामिलाको सम्बन्धमा) लिथो गरिएको परिपत्र प्रकाशित गथ्यौं र संसारभर आफ्ना साथी र संवाददाताहरुलाई हुलाकद्वारा पठाउँथ्यौं ।” (मार्क्स र एन्गेल्स, चुनिएका रचनाहरु, भाग २, पृष्ठ ३४६)

त्यसरी, केही समयको लागि माक्र्स र एन्गेल्सको लीगको आन्तरिक मामिलाबाट आफूलाई छुट्टै राखी त्यसका नेताहरुसित व्यक्तिगत सम्पर्क कायम गर्नुभयो र स्वाधीन ढंगबाट आफ्नो सैद्धान्तिक क्रियाकलापलाई अघि बढाउनुभयो । न्यायी लीगलाई कम्युनिस्ट पार्टीमा परिणत गर्नको निम्ति निकै सम्झाउने–बुझाउने काम गर्नु र ठीक ढंगबाट वैचारिक संघर्ष चलाउनु आवश्यक थियो, र त्यही काम लीगबाट बाहिर बसेर मार्क्स र एन्गेल्सले गर्नुभयो । उहाँहरुले लीगका सदस्यहरुलाई त्यसभित्र विद्यमान निम्नपुँजीवादी काल्पनिक विचारहरुलाई हटाउनमा ठूलो सहयोग गर्नुभयो । लीगलाई कम्युनिस्ट पार्टीमा रुपान्तरित गर्न चाहिने विचारधारात्मक जग बसाल्नको निम्ति उहाँहरुले निकै प्रयत्न लगाउनुभयो । त्यस अवधिमा उहाँहरुले कम्युनिस्ट पत्राचार कमिटी (Communist Correspondence Committee) गठन गर्नु भई क्रान्तिकारी कम्युनिस्ट विचारहरुको प्रचारप्रसार गर्नुभयो र सैद्धान्तिक आधारमा मजदुरहरुको अन्तर्राष्ट्रिय एकता ल्याउने काममा महत्वपूर्ण भूमिका खेल्नुभयो ।

समयको क्रममा, मार्क्सवाद–पूर्वका सैद्धान्तिक धारणा र विचारहरु अपर्याप्त तथा त्रुटिपूर्ण रहेको र मार्क्स र एन्जेल्सद्वारा प्रतिपादित सिद्धान्त सही रहेको कुराको अधिकाधिक मात्रामा अनुभव गरियो । जर्मन निम्नपुँजीवादी समाजवाद र प्रुधोंवादको विरुद्ध उहाँहरुले जुन विचारधारात्मक संघर्ष चलाउनुभएको थियो, त्यसले कम्युनिस्ट पार्टीको स्थापनाको लागि सैद्धान्तिक आधार बसाल्ने महत्वपूर्ण काम गर्‍यो । उक्त विचारधारात्मक संघर्षको एउटा ठूलो उपलब्धि के रह्यो भने लीगका सदस्यहरुले नयाँ आधारमा लीगको पुनर्गठन गर्नुपर्ने खाँचोको अनुभव गरे र सो गोप्य संगठनलाई यथासम्भव खुल्ला रुपले काम गर्ने कम्युनिस्ट पार्टीमा पुनर्गठित गर्ने फैसला गरे । अनि, मार्क्स र एन्जेल्सलाई के अनुरोध गरियो भने उहाँहरुले सो पुर्नगठनको काममा सहयोग गरुन् । उहाँहरुको निम्ति पनि एउटा कम्युनिस्ट संगठनको ठूलो आवश्यकता रहेको हुनाले उहाँहरुले सो अनुरोधलाई स्वीकार गरी लीगमा प्रवेश गर्नुभयो ।

लीगको पहिलो महाधिवेशन १८४७ को जुन महिनामा लण्डनमा भयो । उक्त महाधिवेशनमा लीगको पुनर्गठन गर्ने फैसला गरेर त्यसलाई कम्युनिस्ट लीगको नाउँ दिइयो । महाधिवेशनले एक नियमावली स्वीकृत गर्‍यो । सो नियमावलीको पहिलो धारामा सर्वहारा पार्टीका प्रमुख उद्देश्यहरुको घोषणा निम्न प्रकारले गरियोः “लीगको उद्देश्य पुँजीपतिवर्गको तख्ता पल्टाउनु, सर्वहारावर्गको शासन स्थापना गर्नु, वर्गवैरभावहरुमा आधारित पुँजीवादी सामाजिक व्यवस्थाको उन्मूलन गर्नु र वर्गहरुबिनाको तथा निजी सम्पत्तिबिनाको नयाँ सामाजिक व्यवस्था स्थापना गर्नु हो । (मार्क्स र एन्गेल्स, सङ्कलित रचनाहरु, भाग ६, पृष्ठ ६३३) त्यसरी, सो महाधिवेशनले सर्वहारावर्गको अन्तर्राष्ट्रिय संगठनको लागि जग बसाल्ने काम गर्‍यो । “सबै मानिसहरु दाजुभाइ हुन्” भन्ने पहिलेको निम्न–पुँजीवादी नारालाई हटाइयो र त्यसको ठाउँमा, सर्वहारावर्गको वर्गसंघर्षको अन्तर्राष्ट्रिय चरित्रलाई दर्शाउने “सबै मुलुकहरुका मजदुरहरु हो, एक होऊ ।” भन्ने लडाकू अन्तर्राष्ट्रियवादी नारालाई स्थापित गरियो ।

(कम्युनिस्ट घोषणापत्र परिचयात्मक र व्याख्यात्मक टिप्पणीहरुबाट अनु–कृष्णदास श्रेष्ठ ।)

प्रतिक्रिया