बुद्धबादबाट साम्यवादीले के सिक्ने ?

बुद्धले अभौतिक संसारको कुरा गरे भने कार्ल मार्क्सले भौतिक संसारको । बुद्धले व्यक्ति असल वा खराब के हुने हो मनले नै निर्धारण गर्ने विचार दिएका छन् । उनले दुःखबाट छुट्कारा प्राप्त गर्न समाज परिवर्तनको भन्दा पनि व्यक्तिले मुक्तिको मार्गमा लाग्नुपर्ने कुरा गरेका छन् । कार्ल मार्क्सले व्यक्ति समाजभित्र हुने भएकोले दुःखबाट छुट्कारा प्राप्त गर्न शोषणमूलक समाजलाई बदल्नुपर्ने कुरा गरेका छन् ।

बुद्ध र कार्ल मार्क्स

यस वर्ष सन् २०२३ मा बुद्धवादका प्रवर्तक, शिक्षक एवं नेता सिद्धार्थ गौतम बुद्ध र साम्यवादका प्रवर्तक, शिक्षक एवं नेता कार्ल मार्क्सकाे जन्मजयन्ती इस्वी पात्रो र तिथिको संयोगले एकै दिन पर्यो । बुद्धको जन्मजयन्ती वैशाख पूर्णिमाको दिनमा पर्छ र कार्ल मार्क्सकाे मे ५ मा । यस वर्ष मे ५ वैशाख पूर्णिमाको दिनमा परेकोले बुद्ध र मार्क्सकाे जन्मजयन्ती एकै दिन परेको हो । तर, ईसापूर्व ५६३ (जन्म वर्षको सम्बन्धमा इतिहासकारहरुको एउटै निष्कर्ष छैन, तर बुद्धको जीवनकाल ५६३–४८३ ईसापूर्व रहेकोमा २० औं शताव्दीका धेरै इतिहासकारहरु सहमत छन् ) मा जन्मेका सिद्धार्थ गौतम बुद्ध र इस्वीको १८१८ मा जन्मेका कार्ल मार्क्सकाे समयान्तर २,३८१ वर्ष रहेको छ । बुद्धले बोधिज्ञान ईसापूर्व ५२८ मा ३५ वर्षको उमेरमा प्राप्त गरे र लगतै सोही वर्ष प्रथम धर्मचक्र प्रवर्तनद्वारा बुद्धवादको पहिलो सिद्धान्त चार आर्यसत्यको देशना गरे भने कार्ल मार्क्सले फ्रेडरिक एङ्गेल्ससँग मिलेर सन् १८४८ मा ३० वर्षको उमेरमा कम्युनिस्ट घोषणापत्र प्रकाशित गरी साम्यवादको पहिलो सारभूत ग्रन्थलाई सार्वजनिक गरे । चार आर्यसत्यको देशना र कम्युनिस्ट घोषणापत्रको प्रकाशनको समयान्तर २,३७८ वर्ष रहेको छ ।

सिद्धार्थ गौतम बुद्धको समय मानव समाज विकासको दास युगको चरणमा थियो भने कार्ल मार्क्सकाे पुँजीवादी युगको चरणमा थियो । प्राचीन पूर्वीय समाजमा ईश्वरीय शक्तिको आस्थामा आधारित वैदिक धर्म, संस्कृति र मूल्य–मान्यताको एकछत्र राज भएको समयमा त्यसलाई चुनौती दिँदै बुद्धले अनीश्वरवादी धर्म, संस्कृति र मूल्य–मान्यतामा आधारित बुद्धवादको प्रतिपादन गरेका थिए भने आधुनिक पश्चिमी समाजमा इसाई धर्मको बोलवाला भएको समयमा आध्यात्मवादलाई चुनौती दिँदै कार्ल मार्क्सले द्वन्द्वात्मक भौतिकवादको दर्शनमा आधारित कार्ल मार्क्सकाे प्रतिपादन गरेका थिए ।

सिद्धार्थ गौतम आधुनिक परिभाषाअनुसार राज्यको हैसियत आर्जन गर्न योग्य भइनसकेको सानो गणराज्य कपिलवस्तुका गणपति (जसलाई राजाको पदवि दिइएको थियो) सुद्धोदनका छोरा थिए । गणराज्यमा राजा (अर्थात् गणपति) गण सदस्यहरुले चुन्ने गर्दथे । सुद्धोदन पनि त्यसरी नै चुनिएका राजा थिए । राजाको पदवि पाएका शासक बाबुका छोरा भएकाले सिद्धार्थलाई राजकुमार भनिएको हो । वास्तवमा उनी राजतन्त्रात्मक राज्यको राजाका राजकुमार थिएनन् । राजकुमार सिद्धार्थले जब गरिवी, रोग, बुढ्यौली, मृत्युजस्ता अवस्था तथा घटनाले मानिसहरुलाई दुःख हुने देखे तब उनले त्यसको रहस्य र समाधानको उपायबारे सोच्न थाले । दुःखको कारण र उपचारको खोज गर्ने क्रममै उनले २९ वर्षको उमेरमा घर,गृहस्थी छाडी सन्यासी जीवन व्यतीत गरेर तत्कालीन समयमा ज्ञान प्राप्तिका लागि गरिने सबै उपायहरुमा आपूफूलाई समर्पित गरे । त्यही क्रममा उनी कपिलवस्तुबाट मगध महाजनपदको राजधानी राजगृहमा पुगे । मगध महाजनपद तत्कालीन समयमा जम्मुद्वीप (हाल पाकिस्तानदेखि बङ्गलादेश र म्यानमारसम्म फैलिएको विशाल भूमि) भित्र रहेका १६ वटा महाजनपदहरु मध्येमा पर्ने एक विशाल राजतन्त्रात्मक राज्य थियो । कपिलवस्तु गणराज्यको दक्षिणी सिमानामा जोडिएर रहेको उक्त राज्यमा त्यससमयमा थुप्रै ऋषिमुनि तथा विद्वानहरु बस्दथे । सिद्धार्थ गौतमले ज्ञानको खोजीमा राजगृह पुगी प्रसिद्ध योगगुरु आलार कलमकहाँ गएर योगदर्शन तथा अभ्यास सिके । उनलाई आलार कलमबाट सिकेका ज्ञान तथा अभ्यासले सन्तुष्टि मिलेन । त्यसपछि उनी थप ज्ञान हासिल गर्न अर्का योगगुरु उद्दक रामपुत्तकहाँ गए । तर, उनी त्यहाँबाट पनि सन्तुष्ट हुन सकेनन् ।

बुद्धको समयभन्दा केही दशक पहिले जैन दर्शनका प्रवर्तक तीर्थङ्कर बर्धमान महावीरको समय थियो । ज्ञानको भोका सिद्धार्थ गौतमले पक्कै पनि महावीरको जैन दर्शनको जानकारी हासिल गरे होलान् भनी अनुमान लगाउन सकिन्छ । महावीर पनि अनीश्वरवादी नै थिए, तर उनी बुद्धभन्दा फरक आत्मालाई मान्दथे । बुद्ध अनात्मावादी थिए । बुद्धको समयसम्ममा विकसित भई समाजमा प्रभावकारी भूमिका निर्वाह गरिसकेको अनीश्वरवादी अर्को दर्शन चार्वाक वा लोकायत थियो । यो दर्शन आर्यभन्दा पनि पुरानो सुमेरु पर्वतमा बसोवास गर्ने प्राचीन जातिको चिन्तन थियो । यसका प्रवर्तक आचार्य वृहस्पतिलाई मानिन्छ । लोकले अङ्गालेको कारणले यसलाई लोकायत दर्शन भनिएको मानिन्छ । लोकायत दर्शन पूर्ण रुपमा भौतिकवादी दर्शन थियो । बुद्धको समयमा समाजमा ख्याती कमाइसकेको अर्को दर्शन थियो– साङ्ख्य दर्शन । बुद्धभन्दा एक शताव्दी पुरानो अर्थात् ईसापूर्व सातौं शताव्दीको यो आस्तिक दर्शनका प्रवर्तक महर्षि कपिलमुनिलाई मानिन्छ । वर्तमान समयमा जस्तो बुद्धको त्यस प्राचीन समयमा अध्ययनका लागि पुस्तक र पुस्तकालयहरुको उपलब्धता पक्कै पनि थिएन । तर, संसारलाई बुझ्नका लागि आवश्यक उन्नत ज्ञान निर्माणका लागि पक्कै पनि सिद्धार्थ गौतमले आफ्नो समयमा स्थापित सबै प्रकारका दर्शन, बिचार तथा अभ्यासहरुको जानकारी लिएको अनुमान गर्न सकिन्छ । किनकि, बुद्ध दर्शनमा तत्कालीन समयमा प्रभावी भएका आस्तिक तथा नास्तिक दुबै प्रकारका दर्शनहरुको छाप देख्न सकिन्छ । उपलब्ध सबै प्रकारका दर्शन र अभ्यासहरुमा पूर्णता नदेखी तिनीहरुमा भएको रिक्ततालाई भर्नका लागि नै सायद सिद्धार्थ गौतमले अन्तिममा बोधगयामा गई सुरुमा छ वर्षसम्म भीषण योग तथा तपस्या गरे । कठोर तपस्याबाट ज्ञान प्राप्तिमा सफलता नमिलेपछि उनी स्थूल आहार ग्रहण गरी ध्यानमा लीन हुन पुगे र त्यही अभ्यासबाट उनले बोधि ज्ञान प्राप्त गरे । बोधि ज्ञान प्राप्त गरेपछि सिद्धार्थ गौतम बुद्ध बने । तसर्थ, बुद्धले प्राप्त गरेको बोधि ज्ञान तत्कालीन समयमा स्थापित र विकसित दर्शन तथा अभ्यासहरुको संश्लेषित निष्कर्ष हो भन्न सकिन्छ ।

ईसापूर्व छैठौं शताव्दीका सिद्धार्थ गौतम बुद्धले संसार त्रि–लक्षणमा रहेको अवधारणा अगाडि सारे । तिनीहरु दुःख, अनित्य र अनात्मा हुन् । दुःख लक्षण भन्नाले दुःखलाई संसारको अभिन्न पक्षको रुपमा देख्नु हो । त्यस्तै अनित्यले संसारको अनित्यतालाई बुझाउँदछ । यसको अर्थ संसारका कुनै पनि धर्म (भौतिक तथा मानसिक वस्तु) स्थिर, अपरिवर्तनीय र अविनाशी नभई अस्थिर, परिवर्तनशील र नाशवान् छ भन्नु हो । त्यस्तैगरी अनात्माले संसारमा आत्माको कुनै अस्तित्व नभएको बुझाउँदछ । उनको यो अवधारणा तत्कालीन समयमा स्थापित ज्ञान तथा अभ्यासहरुको संश्लेषित निचोड रहेको देखिन्छ । यस त्रि–लक्षणको अवधारणाले संसार दुःखमय छ, अनित्य छ र आत्मारहित छ भन्ने वकालत गर्दछ । सिद्धार्थ गौतमले बोधि ज्ञान प्राप्त गरी बुद्ध बनेपछि पहिलो धर्म (विचार) देशना पञ्चवर्गीय भिक्षुहरुको सामु सारनाथको ऋषिपतनस्थित मृगदावनमा गरेका थिए । त्यस धर्म देशनामा उनले चार आर्य सत्यबारे प्रवचन दिएका थिए । ती चारवटा आर्य (सार्वभौम वा अकाट्य) सत्यहरु दुःख सत्य, दुःख समुदय सत्य, दुःख निरोध सत्य र दुःख निरोधगामी मार्ग प्रतिपदा सत्य हुन् । पहिलो आर्य सत्यले संसार दुःखमय भएको यथार्थ बुझाउँदछ, दोश्रो आर्य सत्यले संसार दुःखमय हुनुको कारण उजागर गर्छ, तेश्रो आर्य सत्यले दुःखको उपचार हुने सन्देश दिन्छ र चौथो आर्य सत्यले दुःखको उपचारका लागि सही मार्गहरुमा हिँड्नुपर्ने उपदेश दिन्छ । बुद्धले दुःख निरोधको उपायका लागि आर्य अष्टाङ्गिक मार्गमा हिँड्न धर्म देशना गरे । अष्टाङ्गिक मार्ग भन्नाले आठवटा मार्गहरु हुन् । तिनीहरु सम्यक (सही) दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि हुन् ।

संसार त्रि–लक्षणमा रहेको अवधारणा संसारलाई हेर्ने बुद्धको विश्वदृष्टिकोण हो भने चार आर्य सत्य संसारलाई फेर्ने उनको सिद्धान्त हो । संसारको यथार्थतालाई बुझ्ने सन्दर्भमा उनको अर्को महत्वपूर्ण सिद्धान्त हो– प्रतीत्यसमुत्पाद । यस सिद्धान्तलाई बुद्धको आधारभूत दर्शनको रुपमा पनि लिन सकिन्छ । यस सिद्धान्तको महत्वलाई दर्शाउँदै बुद्ध स्वयं भन्छन्– जसले प्रतीत्यसमुत्पादलाई देख्दछ, उसले धर्म (= बुद्धको दर्शन) लाई देख्दछ, जसले धर्मलाई देख्दछ, उसले प्रतीत्यसमुत्पादलाई देख्दछ । (मझिम निकाय, १।३।८) ।
प्रतीत्यसमुत्पाद बुद्धको ‘कार्यकारण’ को सिद्धान्त हो । यस सिद्धान्तले कुनै पनि कार्यको पछाडि कारण रहेको बताउँदछ । अर्थात्, कारणले गर्दा नै कार्य हुन्छ । अकारण कुनै पनि कार्य हुन सक्दैन भन्ने मान्यता यस सिद्धान्तको रहेको छ । कारणलाई हेतु वा प्रत्यय भनिन्छ । प्रतीत्यसमुत्पाद सिद्धान्तले प्रत्ययबाट नै समुत्पाद अर्थात् कुनै एकको विनाशपछि कुनै अर्कोको उत्पन्न हुने बताउँदछ । यहाँ प्रत्ययले विशेष प्रकारको हेतु वा कारणको अर्थ दिन्छ । यानी कि “प्रत्ययबाट उत्पन्नको अर्थ हो, बितेबाट उत्पन्न– यानी एकको बित्न जाने, नष्ट भइजानेबाट दोश्रोको उत्पत्ति” ।

बुद्धले प्रतीत्यसमुत्पाद सिद्धान्तमा १२ अङ्ग सम्मिलित कार्यकारणको चक्रीय श्रृङखला प्रस्तुत गरेका छन् । त्यस सिद्धान्तले निचोडमा तृष्णा नै दुःख उत्पन्नको आधारभूत वा मुख्य कारण भएको निष्कर्ष दिन्छ । तृष्णा भन्नाले कुनैको असीमित उपभोग गर्ने चाहना हो । अर्थात् अतृप्त चाहना हो । अतृप्त चाहना नै दुःख उत्पन्नको आधारभूत कारण भएको प्रतीत्यसमुत्पादको निष्कर्ष हो ।

बुद्धले झैँ कार्ल मार्क्सले पनि संसार दुःखमय नै देखेका हुन् । तर, उनले दुःखको कारण बुद्धले भन्दा भिन्न मानव समाजमा विद्यमान वर्ग विभेदमा देखे । बुद्धले मानवको अतृप्त चाहना अर्थात् तृष्णा नै दुःखको कारण भएको निष्कर्ष निकाले भने कार्ल मार्क्सले पुँजीजीवि वर्गको धनकुवेर हुने अतृप्त चाहना (अर्थात् तृष्णा)ले श्रमिक वर्गको श्रम चोर्ने शोषणमूलक प्रवृत्ति नै दुःखको कारण भएको निष्कर्ष निकाले । अविद्याको कारण मयलयुक्त मनमा उत्पन्न हुने तृष्णा नै सम्पूर्ण गलत कर्मको स्रोत भएको र गलत कर्मको कर्मफल दुःखमय हुने बुद्धको निष्कर्ष छ । बुद्ध भन्छन् ः–

“मनोपुब्बङ्गमा धम्मा मनोसेट्ठा मनोमया ।
मनसा चे पदुट्ठेन भासति वा करोति वा ।
ततो न दुक्खमन्वेति चक्कं वा वहतो पदं ।। १ ।।”

यसको अर्थ हो– ‘सबै कार्य मनबाट शुरु हुन्छ । मन नै सर्वोपरि छ । संसार मनोमय छ । मनमा दुराशय राखेर बोल्ने वा काम गर्ने मानिसलाई दुःखले त्यसैगरी पछ्याइरहन्छ, जसरी गोरुगाडाको पाङ्ग्राले गोरुलाई पछ्याइरहन्छ’ ।

बुद्धको बुझाइमा दुःख सबैमा छ र त्यो दुःख उत्पन्नको स्रोत भनेको मन हो । जे कुरा पनि मनबाट नै शुरु हुने भएकोले दुःख निरोधको उपाय मनमा नै खोज्नुपर्छ भन्ने उनको विचार रहेको छ । तर, कार्ल मार्क्सकाे बुझाइमा भने मानव समाज वर्गीय छ र बर्चश्वशाली वर्गले आफ्नो स्वार्थका लागि कमजोर वर्गलाई थिचोमिचो र शोषण गर्नाले नै त्यो वर्गमा दुःखले कहिल्यै नछोड्ने हो । कार्ल मार्क्स भन्छन् ः–”Accumulation of wealth at one pole is at the same time accumulation of misery, agony of toil, slavery, ignorance, brutality, mental degradation, at the opposite pole.”[1]

[1] Karl Marx (2007). “Capital: A Critique of Political Economy – The Process of Capitalist Production”, p.709, Cosimo, Inc.

यसको अर्थ हो– ‘एउटै धुर्वमा धन जम्मा गर्नु भनेको विपरित धुर्वमा दुःख, परिश्रमको पीडा, दासता, अज्ञानता, त्रूmरता, मानसिक पतन, सञ्चय गर्नु हो’ ।

यहाँ धन जम्मा गर्ने धुर्व  भनेको पुँजीजीवि वर्गको समुदाय हो । तसर्थ, त्यो वर्ग समुदायले धन जम्मा गर्नका लागि गर्ने शोषणमूलक हर्कतले नै अर्को धुर्व अर्थात् श्रमिक वर्ग समुदायमा दुःख, पीडा, दासता, अज्ञानता, क्रुरता, मानसिक पतन आदि सञ्चित हुन जाने हो । यसको अर्थ श्रमिक वर्ग समुदायको दुःखको कारण भनेको पुँजीजीवि वर्ग समुदायले गर्ने उनीहरुमाथिको शोषण हो ।

सारमा भन्दा बुद्धले अभौतिक संसारको कुरा गरे भने कार्ल मार्क्सले भौतिक संसारको । बुद्धले व्यक्ति असल वा खराब के हुने हो मनले नै निर्धारण गर्ने विचार दिएका छन् । उनले दुःखबाट छुट्कारा प्राप्त गर्न समाज परिवर्तनको भन्दा पनि व्यक्तिले मुक्तिको मार्गमा लाग्नुपर्ने कुरा गरेका छन् । कार्ल मार्क्सले व्यक्ति समाजभित्र हुने भएकोले दुःखबाट छुट्कारा प्राप्त गर्न शोषणमूलक समाजलाई बदल्नुपर्ने कुरा गरेका छन् । उनले समाज वर्गीय र वर्ग विभेदयुक्त भएको उजागर गरेका छन् । वर्गविभेदले नै समाजलाई शोषणमूलक बनाएको र शोषणको प्रणालीलाई हटाई दुःखबाट छुट्कारा प्राप्त गर्न वर्गविहीन समाजको स्थापना गर्नुपर्ने आवश्यकता कार्ल मार्क्सले औंल्याएका छन् ।

बुद्धले वर्गको कुरा नगरे पनि अविद्याले उत्पन्न तृष्णाको कारण मानिस खराब हुने भएकोले समाजमा असल र खराब व्यक्तिहरु रहेको औंल्याएका छन् । उनले अविद्या हटाई तृष्णाको क्षय गर्नाले नै मानिस असल बन्दै जाने र यही मार्गबाट मान्छेले दुःखबाट छुट्कारा प्राप्त गर्न सक्ने बताए । बुद्धले हिंसाकर्मले दुःखको कर्मफल प्राप्त हुने बताएर शोषण गर्नु गलत कर्म हो भन्ने आशय व्यक्त गरे । उनको आशयमा शोषणको प्रवृत्ति मान्छेमा उसको मन मयलमय भएकोले उत्पन्न हुने हो । सामाजिक वर्गको अवधारणा बुद्धको दर्शनमा भेटिन्न । त्यसैले उनले शान्तिको मार्गबाट व्यक्तिको मयलमय मनलाई परिवर्तन गरेर दुःख हटाउने दर्शन र अभ्यासको विकास गरे ।

कार्ल मार्क्स (फ्रेडरिक एङ्गेल्ससहित) ले मानव विकासलाई ऐतिहासिक भौतिकवादको दर्शनले व्याख्या गरे । उनी भन्छन ्ः–

“The history of all hitherto existing society is the history of class struggles.

Freeman and slave, patrician and plebeian, lord and serf, guild-master and journeyman, in a word, oppressor and oppressed, stood in constant opposition to one another, carried on an uninterrupted, now hidden, now open fight, a fight that each time ended, either in a revolutionary reconstitution of society at large, or in the common ruin of the contending classes.”

अर्थात्, अहिलेसम्मका सबै समाजको इतिहास वर्गसंघर्षको इतिहास हो । यस इतिहासमा स्वतन्त्र मान्छे र दास, कुलपिता र सर्वसाधारण, मालिक र दास, गिल्ड–मास्टर (कालिगड संघका हाकिम) र दक्ष कामदार, एक शब्दमा भन्नुपर्दा उत्पीडक र उत्पीडित एकअर्काको निरन्तर विरोधमा उभिए । वर्गहरु बीचको त्यो लडाईं निर्बाध, लुकेको, खुला रुपमा भयो, जुन प्रत्येक पटक या त व्यापक रूपमा समाजको क्रान्तिकारी पुनर्संरचनामा वा प्रतिस्पर्धी वर्गहरूको साझा विनाशमा समाप्त भयो ।
यसर्थ, कार्ल मार्क्सले मान्छेले मान्छेलाई गर्ने शोषणको अन्त्य गरी वर्गविहीन समाजको स्थापना गर्नको लागि समाजको आमूल परिवर्तन अर्थात् क्रान्तिको सिद्धान्तलाई अगाडि सारे । त्यस सिद्धान्तअनुसार यो क्रान्ति उत्पीडित वर्ग समुदायले उत्पीडक वर्ग,समुदायको हातमा रहेको राजनीतिक सत्ता बलपूर्वक प्राप्त गरेर नै सम्पन्न हुने गर्दछ । कार्ल मार्क्सले आफ्नो समयमा समाजको वर्ग विश्लेषण गर्दा उत्पीडित वर्गहरुमा सर्वहारावर्ग नै क्रान्तिका लागि सबभन्दा भरपर्दो वर्ग भएको विश्लेषण गरे । सर्वहारावर्गले बुर्जुवा (पुँजीजीवि) वर्गको हातमा रहेको राज्यसत्ता बलपूर्वक आफ्नो हातमा ल्याई समाजवादी राज्य व्यवस्थाको स्थापना गर्दै अगाडि जाने र त्यसलाई वर्गविहीन एवं राज्यविहीन साम्यवादी सामाजिक व्यवस्थासम्म विकसित गरिसकेपछि नै मानव समाजमा वर्गीय शोषणको अन्त्य हुने सिद्धान्त कार्ल मार्क्स र मार्क्सवादकाे रहेको छ । वर्गीय शोषणको अन्त्य भनेको मान्छेले मान्छेलाई गर्ने शोषण हो । यसर्थ साम्यवादमा मानव समाजभित्र शोषणकै कारणले मान्छेमा दुःख उत्पन्न हुने प्रक्रिया रहन्न । तर, शोषणको अलावा अन्य कारणबाट हुने दुःखचाहिँ नरहला भन्नु सही नहुन सक्छ ।
दुःखलाई निरोध गर्ने उद्देश्य बुद्धवाद र मार्क्सवाद दुबैको हो । त्यसका लागि बुद्धले व्यक्ति र मनको परिवर्तनलाई आधार बनाए भने कार्ल मार्क्सले वर्ग समाज, वर्ग सङ्घर्ष र सर्वहारा क्रान्तिलाई आधार बनाए ।

बुद्धवाद
सामान्यतः शाक्यमुनि सिद्धार्थ गौतम बुद्ध तर्क,वितर्कलाई प्राथमिकता दिँदैनथे । उनी लोककल्याणको लागि कर्म गर्नमा जोड दिन्थे । चुलमालुंक्य सूत्र मा बुद्धले यो आशय स्पष्ट रूपमा व्यक्त गरेका छन् । त्यस सूत्रमा बुद्धले एकजना घाइते मानिसको उदाहरण प्रस्तुत गरेका छन् । उनका अनुसार तीरले घाइते भएको मानिसअगाडि तीर कसले हानेको हो ? तीर कुन दिशाबाट आएको हो ? तीरको चुच्चो हड्डीको हो कि फलामको हो ? बाण यस किसिमको काठको हो कि अर्को किसिमको हो ? भनेर जान्न चाहनु व्यर्थ छ । त्यहाँ महत्वपूर्ण कार्य भनेको वहस छलफल नभई तीर लागेको मानिसको उपचार गरी बचाउनु हो । किनकि, त्यस्तो वहस छलफल गर्दै गर्दासम्म तीर लागेका ती व्यक्ति मरिसक्छन् । यसरी नै यो संसार अनन्त छ कि सीमित छ, ? जीव शरीर एक हो ? जीव एक, शरीर अर्को हो ? मरेपछि तथागत रहन्छन् ? मरेपछि तथागत हुँदैनन् ? जस्ता प्रश्नहरुको उत्तर जे भएपनि निःसन्देह संसार दुःखमय भएको कुरा शाश्वत हो । त्यसैले त्यस्ता कुरामा वहस छलफल गरी समय बिताउनुभन्दा दुःखनिरोधको बाटो पहिल्याउनु र त्यो बाटोमा लाग्नु महत्वपूर्ण कार्य हो भन्ने उपदेश बुद्ध दिन्छन् । बुद्धले दर्शन, सिद्धान्त, विचार आदि नामबाट केही पनि कुरा दिएनन् । तर, उनको हरेक वचनले कुनै निश्चित दर्शन, सिद्धान्त र विचारको प्रतिनिधित्व गर्दथ्यो । बोधि ज्ञान प्राप्त गरेर बुद्ध बनेपछिका सिद्धार्थ गौतमका सबै वचनहरु बुद्धवचनको रुपमा छन् । बुद्धत्व प्राप्त गरेदेखि महापरिनिर्वाण हुँदासम्मका बुद्धवचनहरु ८४ हजारको सङ्ख्यामा संकलित भएका छन् । यी ८४ हजार बुद्धवचनहरुलाई धर्मस्कन्ध भनिन्छ र यसैभित्र बुद्धका सम्पूर्ण दर्शन, सिद्धान्त, विचार र अभ्यास संकलित छन् । ती बुद्धवचनहरुलाई नै वर्गीकृत गरी पछि त्रिपिटक निर्माण गरिएको हो । ८४ हजार बुद्धवचनहरु अर्थात् त्रिपिटकमा समेटिएका बुद्धका सम्पूर्ण विचार तथा अभ्यासको समष्टिलाई नै बुद्धवाद भन्न सकिन्छ, तथापि बुद्ध धर्ममा बुद्धवाद भन्ने शब्द प्रयोगमा ल्याइएको छैन । बुद्धवादमा बुद्धको महापरिनिर्वाणपछि बुद्ध धर्मले विकास गरेका विचार र अभ्यास गरेका व्यवहारहरु पर्दैनन् । त्यसैले यहाँ बुद्धवादले बुद्ध धर्मलाई जनाउँदैन ।

विचारको क्षेत्रमा बुद्धवाद र मार्क्सवाद
साम्यवादी क्रान्तिको वैचारिक आधार मार्क्सवाद हो । कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले संयुक्त रुपमा तयार पारेका दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवादको अवधारणा नै मार्क्सवादका प्रमुख स्रोत तथा संघटक अङ्गहरु हुन् । यी वैचारिक पक्षहरुको सन्दर्भमा बुद्धवादको के साइनो हुन सक्दछ ? यस सवालमा छलफल गरौं ।

बुद्धवादका आधारभूत विचारहरुको रुपमा १. अस्तित्वको त्रिलक्षण, २. चतु आर्यसत्य, ३. आर्य अष्टाङ्गिक मार्ग, ४. प्रतीत्यसमुत्पाद, ५. कर्म र कर्मफलको सिद्धान्त, र ६. पञ्चस्कन्धको अवधारणा रहेका छन् ।
१. अस्तित्वको विश्वव्यापी त्रिलक्षण (Three universal characteristics of existence) 

यहाँ अस्तित्व भनेपछि जीवन र जगतलाई बुझिन्छ । अस्तित्वलाई संसारको रुपमा पनि व्याख्या गरिन्छ । जीवन र जगत या संसारका तीन लक्षण छन् ; अनित्य, दुःख र अनात्मा ।
कुनै चिजको लक्षण भनेको त्यससँग अन्योन्याश्रित रुपमा जोडिएको गुण या विशेषता हो । यसलाई कुनै वस्तुको स्वभावको रुपमा पनि लिन सकिन्छ । बुद्धले सांसारिक वस्तुलाई संस्कृत धर्मको रुपमा लिन्छन् । यो भनेको जीवन र जगत निर्मित अर्थात् कुनै खास वस्तुहरुको संयोजन (combination) बाट बनेका हुन् भन्ने हो । निर्मित भएकै कारणले सांसारिक वस्तुहरु अनित्य छन् अर्थात् यिनीहरु उदय, विकास एवं क्षय र विनाशको प्रक्रियामा रहेका हुन्छन् । कुनै उत्पन्न वस्तुको अनिवार्य रुपमा विनाश हुन्छ भन्ने यसको तात्पर्य हो । उत्पन्न वस्तुको अनिवार्य विनाश हुने भएकोले नै दुःख हुने हो । किनकि, उत्पन्न कोहीले पनि आफ्नो विनाश चाहँदैन, तर नचाहँदा नचाहँदै पनि विनाश त अनिवार्य हुन्छ नै । यही अनिच्छित विनाशको भय र त्रासले नै उत्पन्न सँगसँगै दुःख पनि जोडिएर आउँदछ । सबै सांसारिक वस्तु अनित्य, दुःख र विपरिणाम (consequence) हुने स्वभावको भएको कारणले म, मेरो, आत्मा भनी ग्रहण गर्न लायकको सारतत्व केही रहेको हुन्न । तसर्थ, सांसारिक वस्तुहरु अनात्मा स्वभावका छन् । बुद्धले यो विचारको देशना गरी संसारलाई हेर्ने दृष्टिकोण दिएका छन् । त्यसैले त्रिलक्षण बुद्धको विश्वदृष्टिकोण हो भन्न सकिन्छ ।
विश्वदृष्टिकोण भनेको दर्शन हो । यस आधारमा बुद्धवादको प्रमुख दर्शन संसारको त्रिलक्षणको अवधारणा हो भन्न सकिन्छ । माक्र्सवादको दर्शन द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद हो । यी दुई दर्शनहरुलाई केलाएर हेर्दा यिनीहरुबीच केही समान धारणा रहेको पाइन्छ ।
अनित्यता बुद्ध दर्शनको पहिलो अवधारणा हो । यसअनुसार सबै संस्कृत धर्महरु उदय, विकास–क्षय र विनाशको प्रक्रियामा रहन्छन् । यसले स्थिर, अपरिवर्तनीय र अविनाशी धर्म (वस्तु तथा घटना) केही पनि नभएको बताउँदछ । यो अवधारणा द्वन्द्ववादसँग मेल खान्छ । तर अनित्यताको कारणबारे बुद्धवादले वस्तु तथा घटनाहरुको अन्योन्याश्रित स्वभावको रुपमा मात्र व्याख्या गर्दछ भने द्वन्द्ववादले तिनीहरुमा हुने विपरित पक्षहरु (तत्वहरु)को टकराव र एकता नै अनित्यताको कारण भएको व्याख्या गर्दछ । वस्तु भौतिक तथा मानसिक दुबै हुन्छ । अनित्यता दुबैको हुन्छ । बुद्धले बुद्धत्व प्राप्तिपूर्व बोधगयाको बोधिवृक्षमुनि बसी ध्यानमा लीन हुँदा आफ्नो मनमा उठेका कुशल–अकुशल मनोभावहरुलाई मार र मारसँगको द्वन्द्वको रुपमा व्याख्या गरेको पाइन्छ । वास्तवमा बुद्धको मनमा भएका तथा उठेका कुशल–अकुशल मनोभावहरु भनेको नै विपरित पक्षहरु हुन् । दुई विपरित कुशल र अकुशल मनोभावहरुबीचको टकराव एवं एकताले बुद्धको मनोभावलाई गति प्रदान गरेको हुन्थ्यो । त्यो मनोभाव क्षणक्षणमै परिवर्तन भई आखिरमा सम्पूर्ण अकुशल मनोभावको विनाश हुन पुग्दछ र उनी बुद्ध बन्छन् । यसरी बुद्धले बुद्धत्व पनि द्वन्द्वात्मक प्रक्रियाबाट नै पाएका हुन् । तर, बुद्धले मनोभावहरुको उदय र विलयलाई पनि मानसिक धर्मको स्वभावको रुपमा मात्र देखे ।
आजभन्दा २ हजार ५ सय वर्ष पूर्वको बुद्धको समयमा भौतिक वस्तुको उदय, विकास–क्षय र विनाशलाई नियाल्ने विज्ञानको विकास भइसकेको थिएन । त्यो समय भनेको ज्ञानको स्रोतको रुपमा मनलाई लिनुबाहेक भौतिक वस्तुको अध्ययनबाट ज्ञान प्राप्ति हुने चेतनाको विकास भइसकेको थिएन । तसर्थ, बुद्धको विचार धर्महरुको स्वभाव अनित्यता भएकोमा नै सीमित हुन पुग्यो । तर, उनको अनित्यताको सिद्धान्त द्वन्द्ववादको एक अङ्ग भएकोमा दुविधा हुनु पर्दैन । द्वन्द्ववादी विचार बौद्धहरुको पनि भएको आशय फ्रेडरिक एङ्गेल्सले आफ्नो पुस्तक ‘प्रकृतिको द्वन्द्ववाद’ मा बताएका छन् । उनी भन्छन्, “..dialectical thought……- is only possible…… for him only at a comparatively high stage of development (Buddhists..)अर्थात्, द्वन्द्वात्मक विचार तुलनात्मक रुपमा उच्च तहको विकासमा रहेका बौद्धहरुजस्तामा मात्र सम्भव छ ।

संसारको त्रिलक्षण दर्शनका अन्य अङ्गहरु दुःख र अनात्मा हुन् । बुद्धले अनित्यताकै कारणले जीवहरुमा दुःख हुने बताएका छन् । मार्क्सवादमा दुःखलाई दर्शनको पक्षको रुपमा नभई यसलाई वर्गविभेदको कारणले उत्पन्न हुने सामाजिक समस्याको रुपमा प्रस्तुत गरिन्छ । मार्क्सवादका अनुसार वर्गीय समाजमा बर्चश्वशाली वर्गले कमजोर वर्गमाथि गर्ने शोेषण, अन्याय अत्याचारका कारण दुःख उत्पन्न हुन्छ । वर्गसङ्घर्षको बाटोबाट अगाडि बढी समाजवाद र साम्यवादको स्थापनाले नै मानव समाजबाट दुःखको अन्त्य गर्न सकिने मार्क्सवादको बुझाइ छ ।
त्रिलक्षणको तेश्रो अङ्ग अनात्मा हो । यो अवधारणा द्वन्द्वात्मक भौतिकवादको दर्शनसँग मेल खान्छ । ईश्वर मान्ने,नमान्ने सबै खाले धार्मिक दर्शनहरु आत्माको अविनाशी र स्वतन्त्र अस्तित्व मान्दछन् । बुद्धवादको एक प्रमुख अङ्ग अनात्मा हो । अर्थात्, बुद्ध स्थिर, अविनाशी र स्वतन्त्र आत्माको अस्तित्वलाई स्वीकार्दैनन् । जीवको आत्मरहित अस्तित्व अनात्मवाद हो ।
वैदिक तथा पुराना उपनिषद्का दार्शनिक तथा अन्य कैयौँ आचार्यहरु नित्य, धु्र्व, अविनाशी तत्वलाई आत्मा बताउँछन् । बुद्धले हरेक धर्म प्रत्ययबाट उत्पन्न हुने भएकोले स्थिर र अविनाशी कुनै पनि धर्म नभएको बताउँछन् । कुनै पनि धर्म प्रत्ययबेगर उत्पन्न हुने, क्षणक्षणमा बद्लिरहने र नाशवान भएकोले आत्मको कुनै गुंजाइश नहुने उनी बताउँछन् । उनले विज्ञान (= जीव, जसलाई वैदिकहरु आत्मा ठान्छन्) पनि प्रतीत्य समुत्पन्न हो, अर्थात् त्यो प्रत्ययबाट नै उत्पन्न हुने धर्म हो भन्छन् । प्रत्ययबिना उत्पन्न हुन नसक्ने विज्ञान कसरी आत्मा हुन सक्छ भनी बुद्ध प्रश्न गर्छन् । बुद्ध भन्छन् ;
“भिक्षुहरु हो ! जुनजुन प्रत्ययबाट विज्ञान (=जीव) चेतना उत्पन्न हुन्छ, त्यहीत्यही उसको संज्ञा हुन्छ । चक्षुको निमित्तबाट (जुन) विज्ञान उत्पन्न हुन्छ, त्यसको चक्षुर्विज्ञान नै संज्ञा हुन्छ । (यसै प्रकार) श्रोत–घ्राण–रस–काया–मन–विज्ञान संज्ञा हुन्छ । जस्तै जुन–जुन निमित्त (प्रत्यय)ले आगो बल्छ, त्यहीत्यही उसको संज्ञा हुन्छ, काठ–अग्नि–तृण–अग्नि….तुष–अग्नि….”
“…..‘यी (पाँच स्कन्ध) उत्पन्न हुन्’– यसलाई राम्रो प्रकारले प्रज्ञाले देखेपछि (आत्मा हुनुको) सन्देह नष्ट हुन जान्छ, होइन र”?
बुद्ध अगाडि थप भन्छन् ;
“रुप अनात्मा हो ; वेदना अनात्मा हो, संज्ञा…संस्कार….विज्ञान…सारा धर्म अनात्मा हुन्” ।
तर, बुद्धवादले चित्त (जीवमा रहने चेतनाको पुञ्ज) को स्वतन्त्र अस्तित्वलाई मान्दछ । चित्त स्वतन्त्र रहन सक्ने भएपनि यो स्थिर भई निरन्तर बद्लिरहने धर्म भएको बुद्धवादको निष्कर्ष छ । बुद्धले महानिदानसुत्त मा प्रतीत्यसमुत्पाद सिद्धान्तलाई व्याख्या गर्ने क्रममा तृष्णाको कारण चित्तले पुनर्जन्म लिने बताएका छन् । यस अर्थमा बुद्धवादले तृष्णाको कारण चित्तले जीवको एउटा शरीर नष्ट भएपछि अर्को शरीरमा आफुलाई स्थानान्तर गरी पुनर्जन्म लिने अवधारणा राख्दछ । यो भनेको भौतिक शरीरबाट चित्त वा चेतना स्वतन्त्र रुपले रहन सक्ने भन्ने बुझाइ हो । त्यस सिद्धान्तले चित्तको विनाश गर्न सकिने कुराको वकालत पनि गर्दछ । चित्तको विनाश भएर नै दुःखको अन्त्य हुने र यो अवस्था निर्वाण प्राप्तिबाट आउन सक्ने बुद्धवादको ठहर छ । त्यसैले बुद्धवाद भौतिकवादबाट नजिक हो, तर भौतिकवाद नै चाहिँ होइन ।

     २. चर्तुआर्य सत्य (Four noble truths) ः–
चर्तुआर्य सत्य बुद्धको प्राथमिक सिद्धान्त हो । यो बुद्धवादको केन्द्रीय विषयवस्तु ‘दुःख’ को निरोध गर्ने सम्पूर्ण सिद्धान्त हो । अर्थात्, यो संसार फेर्ने सिद्धान्त हो ।
बुद्धले सारनाथको ऋषिपतन मृगदावनमा पञ्चवर्गीय भिक्षुहरु सामु प्रथम धर्मचक्र प्रवर्तन गर्दा चतुआर्य सत्यको देशना गरेका थिए । चर्तुआर्य सत्यको अर्थ चारवटा सार्वभौम सत्य हो । तिनीहरु दुःख, दुःख समुदय, दुःख निरोध र दुःख निरोधगामी मार्ग प्रतिपदा हुन् । पहिलो दुईले संसार दुःखमय भएको र त्यसको कारण रहेको बताउँछन् भने पछिल्लो दुईले दुःखनिरोध अर्थात् हटाउन सकिने र त्यसका लागि उपयुक्त मार्ग पनि भएको बताउँछन् ।
बुद्धका अनुसार सांसारिक वस्तुको अनित्य स्वभाव हुनुले नै दुःखको सार्वभौमिकता रहन्छ । अर्थात् संसारको एक सार्वभौम सत्य दुःख हो । कुनै पनि वस्तुको उदय, विकास एवं क्षय र अन्त्यमा विनाश हुनुले गर्दा नै दुःखसँग संसारको अन्योन्याश्रित सम्बन्ध रहन पुग्दछ । तर, त्यो दुःख कारण बिना आएको छैन । दुःखको कारण तृष्णा हो । अर्थात् तृष्णाले नै दुःख निम्तिएको हुन्छ । दुःख आर्यसत्य र दुःख समुदय आर्यसत्यले यही कुरा बताउँदछ ।
दुःख सत्य सार्वभौम भएपनि यो अकारण नआएको र कारण भएकैले यसलाई निरोध गर्न सकिने कुरा पनि सार्वभौम नै छ । दुःखनिरोध आर्यसत्यले यो कुरा बताउँदछ । अर्को कुरा दुःखनिरोध त्यत्तिकै हुन्न बरु यसको निरोधको पनि सार्वभौम मार्ग रहन्छ । यो भनेको दुःखनिरोधको आर्य अष्टाङ्गिक मार्ग हो । अष्टाङ्गिक मार्ग भनेको आठवटा बाटाहरु अर्थात् उपायहरु छन् भनिएको हो । यसरी चर्तुआर्य सत्य सिद्धान्तका पछिल्ला दुई सार्वभौम सत्यहरुले दुःखलाई सार्वभौम बाटाहरुबाट हटाउन सकिने व्याख्या गर्दछन् ।
चर्तुआर्य सत्यले सांसारिक दुःखको सार्वभौमिकता र त्यसको निषेधका लागि सार्वभौम उपायहरुको व्याख्या गर्दछ । त्यसैले चर्तुआर्य सत्यलाई बुद्धद्वारा प्रतिपादित दुःख निवारणको सिद्धान्त भन्न सकिन्छ ।
३. आर्य अष्टाङ्गिक मार्ग ः–
यो बुद्धको चर्तुआर्य सत्यको चौथो अङ्ग हो । यसले दुःखनिरोधका आठवटा सार्वभौम मार्गहरु प्रस्तुत गर्दछ ; १. सम्यक दृष्टि, २. सम्यक संकल्प, ३. सम्यक वचन, ४. सम्यक कर्म, ५. सम्यक आजीविका, ६. सम्यक व्यायाम, ७. सम्यक स्मृति, र ८. सम्यक समाधि । पालि शब्द सम्यकको अर्थ सही वा ठीक हो ।
दुःख खास कारणको पृष्ठभूमिमा उत्पन्न हुन्छ । त्यो कारण तृष्णा हो । तर, तृष्णालाई चिन्नका लागि दृष्टि अर्थात् बुझाइ सही हुनु जरुरी हुन्छ । यदि त्यो सही भएन भने तृष्णालाई चिन्न सकिन्न । तृष्णालाई चिन्न सकिएन भने दुःखनिरोधको मार्गमा पहिलो पाइला पनि चाल्न सकिन्न ।
बुद्धका अनुसार शरीर, वचन र मनले केके कर्म गर्दा ठीक हुन्छ केके गर्दा ठीक हुन्न यसबारेमा सही दृष्टि वा ज्ञान हुनु नै सम्यक दृष्टि हो । शरीरले गर्ने हिंसा, चोरी र यौन व्यभिचार गलत कर्म हो भने त्यसो नगर्नु सही कर्म हो । त्यस्तै गरी मिथ्या बोली बोल्नु, कसैको चुगली गर्नु र बकवास गर्नु वचनले गर्ने गलत कर्म हो भने त्यसो नगर्नु सही कर्म हो । मनले गर्ने कर्ममा लोभ, प्रतिहिंसा र झूठा धारणा गलत हुन् भने त्यसो नगर्नु सही कर्म हो । दुःख, दुःख समुदय, दुःखनिरोध र दुःखनिरोध सम्बन्धमा सही ज्ञान हुनु सम्यक दृष्टि हो ।
अर्को महत्वपूर्ण मार्ग सम्यक संकल्प हो । दृढ निश्चय लिनु नै संकल्प हो । संकल्पलाई विचारको रुपमा पनि लिइन्छ । बुद्धका अनुसार राग, हिंसा र प्रतिहिंसाले मुक्त संकल्प वा विचार नै सम्यक संकल्प हो ।
सम्यक दृष्टि र सम्यक संकल्प प्रज्ञाका अंशहरु हुन् । प्रज्ञा भनेको उन्नत ज्ञान हो ।
बुद्धले जीविकाका लागि गर्ने व्यवसायले अर्कालाई हानी हुनुहुन्न भनेका छन् । यस्तोलाई उनी सम्यक आजीविका भन्दछन् । उनका अनुसार हिंसाका साधन उत्पादन गर्ने, हिंसाकै व्यापार–व्यवसाय आदि गलत जीविका हुन् र तीबाहेक अरुलाई हानी नपुर्याउने व्यवसायहरु सम्यक आजीविका हुन् ।
इन्द्रीयहरुलाई संयममा राख्न नसक्दा नै गलत कर्म गर्न पुग्दछौं । त्यसैले इन्द्रीयहरुलाई संयममा राखी मनमा खराब भावनाहरुलाई छोड्ने तथा रोक्ने, असल भावनाहरुलाई उत्पन्न गर्ने र पहिले नै उत्पन्न भएका असल भावनाहरुलाई जोगाउनका लागि गर्ने प्रयत्न सम्यक व्यायाम हो ।
शरीरसँग सम्बन्धमा आउने वस्तु र वेदना, चित्त एवं मनमा उत्पन्न हुने मानसिक वस्तु सबैको उदय, विकास–क्षय र विनाश निश्चित भएको तथ्यबारे सधैँ स्मरणमा राख्नु नै सम्यक स्मृति हो । सम्यक स्मृतिले जीवलाई हरेक क्षणमा गलत मार्गमा जानबाट जोगाउन सजगता प्रदान गरिरहेको हुन्छ । यही मार्गमा रही मनलाई एक चित्त वा एकाग्रतामा राख्दा नै प्रज्ञाको ढोका खोलिने बुद्धवादको निष्कर्ष छ । प्रज्ञाको ढोका खोल्ने चित्त एकाग्रताको अभ्यास नै सम्यक समाधि हो ।
संसारको त्रिलक्षण बुद्धको विश्वदृष्टिकोण या दर्शन भएपनि चर्तुआर्य सत्य आफै पनि एक दर्शन हो । यो दर्शनको साथसाथै संसार फेर्ने विधि पनि हो ।
चर्तुआर्य सत्य सिद्धान्तले दुःख या समस्याको सार्वभौमिकता, यसको कारण एवं उपचारको वास्तविकतालाई प्रष्ट्याएर उपचारको उपायलाई निर्देश गर्दछ । समस्या, समस्याको कारण हुने, यसको समाधान (कारणको सम्वोधनपछि) हुने र समाधानका लागि उपाय सुझाउनुले चर्तुआर्य सत्यको सिद्धान्तले समस्यालाई भौतिकवादी कोणबाट हेर्न र समाधानका लागि वैज्ञानिक पद्धति प्रदान गर्न सक्दछ । तर यसले तृष्णा (एक्लोलाई) नै आधारभूत कारण बताएर दुःखको कारणलाई मानसिक धर्ममा सीमित बनाउँन पुग्दछ । किनकि, तृष्णा एक मानसिक धर्म हो । समाजको भौतिक पक्ष भनेको वर्गमा आधारित सामाजिक संरचना, वर्ग विभेद र त्यसमा आधारित वर्गीय शोषण, अन्याय एवं अत्याचार हो, जसको कारणले दुःख पैदा हुन्छ । माक्र्सवादले यही सिकाउँदछ । तसर्थ, बुद्धवादले दुःखको सन्दर्भमा मानसिक पक्षलाई समेटे पनि भौतिक पक्षलाई छोडेको छ । त्यस सिद्धान्तले दुःखलाई सामाजिक समस्याको रुपमा नभई व्यक्तिको निजी समस्याको रुपमा प्रस्तुत गर्दछ ।
४. प्रतीत्यसमुत्पाद
प्रतीत्यसमुत्पाद सिद्धान्त बुद्धवादको कुंजी नै मानिन्छ । चर्तुआर्य सत्यको पहिलो दुई सत्यले प्रतीत्यसमुत्पाद सिद्धान्तलाई जन्म दिन्छ । दुःख छ, किनकि दुःख समुदय छ । अर्थात्, दुःख छ मात्र होइन कि दुःखको कारण पनि छ । तसर्थ, प्रतीत्यसमुत्पाद कार्य–कारणको सिद्धान्त हो । यसले भन्छ, यो भएपछि यो हुन्छ । बाह्रवटा अङ्गहरु को चक्रीय श्रृङ्खलामा प्रस्तुत र व्याख्या गरिएको यस सिद्धान्तले कुनै पनि कार्य कुनै खास कारणको पृष्ठभूमिमा उत्पन्न हुने बताउँदछ ।
प्रत्यय (कारण) बाट नै कार्यको उत्पन्न हुने प्रतीत्यसमुत्पाद सिद्धान्तको मान्यता हो । अर्थात्, खास वस्तु वा घटनाको कारणबाट अर्को वस्तु वा घटना उत्पत्ति भएको हुन्छ । यस सिद्धान्तले नयाँ वस्तु वा घटनाको उत्पत्ति हुन पुरानो वस्तु वा घटनाको विनाश हुने बताउँदछ । अर्थात्, एकको विनाशबाट अर्कोको उत्पत्ति हुन्छ । एकको विनाशबाट अर्कोको उत्पत्तिलाई नै समुत्पन्न भनिएको हो । यसर्थ प्रत्ययबाट समुत्पन्न हुनु नै प्रतीत्यसमुत्पाद हो । यस सिद्धान्तले एकको विनाश (प्रत्यय) भएपछि अर्कोको समुत्पन्न (कार्य) हुँदा त्यो समुत्पन्न अर्को नयाँ समुत्पन्नका लागि प्रत्यय बन्ने बताउँदछ । विऊको विनाश (कारण वा प्रत्यय)बाट टुसा पलाउने (कार्य वा समुत्पन्न) हुन्छ भने त्यही टुसाको विनाशबाट सानो बोट उत्पन्न हुन्छ र पछि त्यही बोटको विनाशबाट वृक्ष उत्पन्न हुन्छ । यो प्रवाह निरन्तर अगाडि बढ्छ । बुद्धले प्रतीत्यसमुत्पाद (कार्य–कारण) नियमलाई विच्छिन्न प्रवाहको रुपमा लिएका छन् । यसको अर्थ यो प्रवाह एउटा बिन्दुमा गएर रोकिन्छ । त्यो बिन्दु निर्वाण हो, शून्य हो । बुद्धको यही सिद्धान्तलाई विकास गरी दोश्रो शताव्दीका महान् बौद्ध आचार्य नागार्जुनले शून्यताको दर्शन निर्माण गरे, जसबाट पछि महायान र बज्रयान बौद्ध दर्शनको विकास हुन्छ ।
प्रतीत्यसमुत्पादको सिद्धान्त द्वन्द्वात्मक भौतिकवादको एक महत्वपूर्ण अङ्गको रुपमा भएको ‘निषेधको निषेध’ नियमसँग धेरै मात्रामा मेल खान्छ । ‘निषेधको निषेध’ नियमलाई प्रष्ट्याउनका लागि फ्रेडरिक एङ्गेल्स उदाहरण दिएर लेख्छन् ः–”Let us take a grain of barley… If such a grain of barley meets with conditions which are normal for it, if it falls on suitable soil, then under the influence of heat and moisture it undergoes a specific change, it germinates; the grain as such ceases to exist, it is negated, and in its place appears the plant which has arisen from it, the negation of the grain”
“…जौको एक दाना लिऔं…यदि जौको त्यस्तो दानाले यसको लागि सामान्य हुने अवस्थाहरु (शर्तहरु) प्राप्त गर्छ भने, यदि यो उपयुक्त माटोमा खस्दछ भने, त्यसपछि ताप र आद्रताको प्रभावमा यसमा विशेष परिवर्तन हुन्छ, यो अङ्कुराउँछ, दानाको अस्तित्व मेटिन पुग्दछ, र यसको स्थानमा बिरुवा देखापर्न आउँछ, जुन दानाको निषेधबाट उत्पन्न भएको हुन्छ ।”
एङ्गेल्सले प्रतीत्यसमुत्पादमा भन्दा थप के कुरा राख्छन् भने एकको निषेध भई अर्कोको समुत्पन्न हुनका लागि कारणको रुपमा विपरित पक्षहरुको द्वन्द्व र एकता रहेको हुन्छ, जुन हरेक वस्तु तथा घटनामा अन्योन्याश्रित रुपमा समाविष्ट हुन्छन् । उनी भन्छन् ः–

“The true, natural, historical, and dialectical negation is (formally) the moving source of all development–the division into opposites, their struggle and resolution”

अर्थात्, सबै विकासको गतिशील स्रोत (औपचारिक रुपमा) भनेको सही, प्राकृतिक, ऐतिहासिक, र द्वन्द्वात्मक निषेध हो । त्यो भनेको विपरितहरुमा विभाजन, तिनीहरुबीच द्वन्द्व र समाधान हो । यहाँ समाधानको अर्थ एकता वा एकअर्कामा नछुट्टिने भन्ने हो ।
बाह्र अङ्गको प्रतीत्यसमुत्पादलाई प्रष्ट्याउन बुद्धले भिक्षु आनन्दलाई भन्छन्,
“Thus, Ananda, from name-and-form as a requisite condition comes consciousness. From consciousness as a requisite condition comes name-and-form. From name-and-form as a requisite condition comes contact. From contact as a requisite condition comes feeling. From feeling as a requisite condition comes craving. From craving as a requisite condition comes clinging. From clinging as a requisite condition comes becoming. From becoming as, a requisite condition comes birth. From birth as a requisite condition, aging, death, sorrow, lamentation, pain, distress, and despair come into play. Such is the origination of this entire mass of stress.”
“यसरी आनन्द, नाम र रुपबाट नभई नहुने शर्तको रुपमा विज्ञान (मन, चित्त) आउँदछ । विज्ञानबाट नभई नहुने शर्तको रुपमा नाम र रुप आउँदछ । नाम र रुपबाट नभई नहुने शर्तको रुपमा स्पर्श आउँछ । स्पर्शबाट नभई नहुने शर्तको रुपमा वेदना आउँदछ । वेदनाबाट नभई नहुने शर्तको रुपमा तृष्णा आउँदछ । तृष्णाबाट नभई नहुने शर्तको रुपमा उपदान (टाँसिने) बन्दछ । उपादानबाट नभई नहुने शर्तको रुपमा भव (हुनु वा अस्तित्व) आउँदछ । भवबाट नभई नहुने शर्तको रुपमा जन्म आउँदछ । जन्मबाट नभई नहुने शर्तको रुपमा बुढ्यौली, मृत्यु, शोक, विलाप, पीडा, कष्ट र निराशा खेल्न आउँछन् । यो सम्पूर्ण तनावको उत्पत्ति हो ।”
यसरी प्रतीत्यसमुत्पादमा बुद्धले तृष्णाको कारण बनेको उपादानबाट समुत्पन्न भव (हुनु ,being)नै जन्म अथवा पुनर्जन्मको कारक बन्ने बताउँदछन् । यहाँ पुनर्जन्मलाई स्वीकार्दै त्यसको जरो कारणको रुपमा तृष्णालाई मानिएको छ । तर, शरीरबिना विज्ञान (चेतना) रहन्न भनी मान्ने बुद्धवादले विज्ञान वा चित्तको स्थानान्तर भई पुनर्जन्म हुने बुझाइ राख्नु विरोधाभास छ, जुन मार्क्सवादसँग मेल खाँदैन र यसले बुद्धवादलाई भौतिकवादमा उक्लन अनुमति दिँदैन ।
५. कर्म र कर्मफलको सिद्धान्त
बुद्धवादमा भाग्यवाद अटाएको छैन, तर यसमा कर्म (कार्य) अनुसार जीवले फल प्राप्त गर्ने, त्यसले वर्तमानमा गरेको कर्मअनुसार भविष्यमा भोग गर्नुपर्ने अनिवार्यता रहने बुझाइ रहेको छ । यसलाई कर्मफल भनिन्छ । अर्थात्, जीवले कर्मको आधारमा कर्मफल प्राप्त गर्छ भन्ने अवधारणा बुद्धवादको रहेको छ । यसका लागि त्यसले उदाहरण के दिन्छ भने हामी जे विऊ रोप्दछौं फलचाहिँ त्यसअनुसार नै प्राप्त गर्दछौं । धानको बिऊ रोपेर धान नै प्राप्त हुन्छ भने गहुँको बिऊ राखेर गहुँकै फसल प्राप्त गर्दछौं । धानको विऊ रोपेर कहिल्यै गहुँको फसल प्राप्त हुन्न । त्यसै गरी गहुँको बिऊबाट कहिल्यै धानको फसल प्राप्त हुन्न । यही रुपले असल कर्मको असल नै कर्मफल प्राप्त हुन्छ र खराब कर्मको खराब नै कर्मफल प्राप्त हुन्छ । बुद्धवादले यही भन्दछ । कर्मफलको सवालमा बुद्धवादले अझ अगाडि बढी भन्छ कि यो जन्ममा जस्तो कर्म गरिन्छ त्यही अनुसार जीवको कुन लोकमा जन्म हुने र अर्को जन्ममा उसले कस्तो अवस्था भोग्ने भन्ने निर्धारण हुन्छ ।
बुद्ध भन्छन् ः–
“किनभने मैले कोही व्यक्तिले जीवित प्राणीहरुलाई मारेको देखेको छु…..ऊसँग गलत दृष्टिकोण थियो । उसको शरीर विनाशपछि, मृत्युपछि, दिनदुःखीको अवस्थामा बेखुशी गन्तव्यमा, नरकको आगोमा, नरकमा ऊ प्रकट भएको मैले देखेँ, उनका लागि यो अवस्था म स्वीकार गर्दछु ।”
“किनभने मैले कोही व्यक्तिले जीवित प्राणीहरुलाई मार्नबाट आफुलाई अलग राखेको देखेको छु,…….ऊसँग सही दृष्टिकोण थियो । मरेपछि, शरीर विनाश भएपछि उनी सुखमय गन्तव्य स्वर्गलोकमा देखापरेको देखेँ, उनका लागि यो अवस्था म स्वीकार गर्दछु” ।
कुनै पनि कर्म (कार्य)को नतिजाले पनि कार्य–कारणको सिद्धान्तलाई नै पछ्याउने कुरामा बुद्धवाद र माक्र्सवादमा केही साइनो भेटिन सक्ला । तर, यथार्थमा कुनै कार्यको नतिजा अपेक्षित हुन थुप्रै तत्वहरुले प्रभाव पारेको हुने भएकाले देखिनमा सकारात्मक कर्म गरेको भएतापनि सधैँ अपेक्षित सकारात्मक नतिजा अर्थात् फल प्राप्त हुन्छ नै भन्न सकिन्न । त्रिपिटकको एक अङ्गको रुपमा रहेको महाकम्मविभङ्ग सुत्तमा उल्लेख भएको ‘मरेपछि कर्मअनुसार स्वर्ग वा नर्कमा जाने’ कुरा बुद्धवादको अनात्मवादसँग मेल खाँदैन । यो द्वन्द्वात्मक भौतिकवादी दर्शनमा आधारित माक्र्सवादसँग मेल खाने त झन कुरै भएन ।
६. पञ्चस्कन्धको अवधारणा
निर्मित संसार (संस्कृत धर्म) रुप (पदार्थ), वेदना, संज्ञा, संस्कार र विज्ञान गरी पाँचवटा स्कन्धहरुको संयोजनमा बनेको बुद्धवादको मान्यता छ । यहाँ स्कन्धको अर्थ समूह हो । रुप स्कन्धमा पृथ्वी, जल, वायु र अग्नि पर्दछन् । यिनीहरुलाई चतुमहाभूत पनि भनिन्छ । पृथ्वीले ठोस, जलले तरल, वायुले ग्याँस र अग्निले ताप बुझाउँदछन् । भौतिक रुपमा जीवको शरीर यही चार वस्तुहरुबाट निर्मित हो । तर, यी चार वस्तुहरुको संयोजन हुँदैमा जीव जीवको रुपमा रहँदैन, जबसम्म उसमा वेदना, संज्ञा, संस्कार र विज्ञानको उपस्थिति हुँदैन । यिनीहरु मानसिक तत्वहरु हुन् । यी मानसिक तत्वहरुलाई नामले पनि चिनिन्छन् । त्यसैले सामान्य रुपमा भन्दा जीव रुप र नाम अथवा नाम र रुपको संयोजनबाट अस्तित्वमा रहने बुद्धवादको ठहर छ । यो अवधारणा चेतना र पदार्थको सम्बन्धबारे आधुनिक विज्ञानको अवधारणासँग मेल खान्छ ।
बुद्धवादमा पञ्चस्कन्ध या नाम–रुप सम्बन्धको अवधारणालाई तृष्णाको व्याख्या गर्नमा प्रयोग गरिएको पाइन्छ । त्यसअनुसार जब पञ्चस्कन्ध व्यक्तिमा तृष्णाको विषयको रुपमा उपस्थित हुन्छ, तब यिनीहरु उपादान स्कन्ध (टाँसिने धर्म) बन्न पुग्छन् । बुद्धले यी पाँचै उपादान स्कन्धलाई दुःख रुप भनी बताएका छन् ।
चेतना र शरीर (पदार्थ) को सन्दर्भमा फ्रेडरिक एङ्गेल्स भन्छन् ः–

“Consciousness…..can never be anything else than conscious being…..and the being of men is their actual life-process.”

“चेतना…..चेतन अस्तित्वबाहेक अरु केही हुन सक्दैन…..र मानिसको अस्तित्व नै तिनीहरुको वास्तविक जीवन प्रक्रिया हो ।”
त्यस्तै लेनिन भन्छन् ः–

“The world is the movement of…..objective reality reflected by our consciousness.”

“संसार हाम्रो चेतनाद्वारा प्रतिविम्बित वस्तुपरक यथार्थको संगठन हो ।”
यसर्थ मार्क्सवादले मानिसमा चेतनाको संयोजन रहेको मात्र नभई उनीहरुको सम्बन्धको सवालमा स्पष्ट विचार दिन्छ । त्यो हो–चेतना (विज्ञान, चित्त) वस्तुहरुको प्रतिबिम्ब । अर्थात् वस्तु प्राथमिक र त्यसको उपजको रुपमा चेतना हुन्छ ।

आचार (अभ्यास)
बुद्धवादले आफ्नो दर्शन, सिद्धान्त र विचारलाई कार्यान्वयन गर्ने क्रममा खास व्यवहार र जीवनशैलीलाई अभ्यासमा ल्यायो । यसका लागि बुद्धले शुरुबाट नै बुद्ध संघका लागि खास नीति,नियम नै बनाएर लागु गरे । त्यसलाई विनय भनियो । बुद्ध संघमा भिक्षु–भिक्षुणी तथा उपासक–उपासिकाहरु रहन्छन् । विनयलाई अभ्यास गर्दै जाँदा समयक्रममा आवश्यकताअनुसार परिमार्जन गर्दै लगिएको देखिन्छ । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्दै बुद्ध बनेदेखि उनको महापरिनिर्वाण हुँदासम्मको बौद्ध अभ्यासका लागि बनाइएका सम्पूर्ण विनयहरुलाई विनयपिटकमा समेटिएका छन् ।
आफ्ना सम्पूर्ण निजी सम्पत्तिलाई त्याग गरी आ–आफ्ना परिवार छाडेर आई प्रबज्या लिएकाहरु भिक्षु–भिक्षुणी बन्थे र त्यसपछाडि उनीहरुको बसाइ विहारमा हुन्थ्यो । भिक्षु–भिक्षुणीहरुको दैनिकीको सम्पूर्ण समय बुद्धले बनाएको विनयमा बसी बुद्ध दर्शनको शिक्षा लिनेदिने कार्यमा खर्च हुन्थ्यो । बुद्ध शिक्षालाई आत्मसात गर्दै आम जनतामा त्यसलाई प्रसार गर्नु नै भिक्षु–भिक्षुणीहरुको दैनिकी हुन्थ्यो । विहारको सम्पूर्ण अर्थतन्त्र उपासक–उपासिका र बुद्धधर्मप्रति आस्था राख्ने जनताहरुबाट प्राप्त दानबाट चल्दथ्यो । भिक्षु–भिक्षुणीहरु दैनिक रुपमा आम मानिसको घरघरमा गई भिक्षा लिन जान्थे र जनताले जे दिई पठाइन्थे त्यसैबाट उनीहरुको गुजारा चल्दथ्यो । उनीहरु हरेक दिन त्यही दिनका लागि मात्र भिक्षा लिन जान्थे, भोलि पर्सिको लागि भनेर जोगाड गर्ने गरी धेरै भिक्षा लिनु विनय विपरित हुन्थ्यो । त्यसैले कुनै दिन केही कारणले भिक्षा कहिँबाट पनि मिलेन भने भिक्षु–भिक्षुणीहरु भोकै पनि पर्थे ।
बुद्धको महापरिनिर्वाण हुनुपूर्वको समयसम्ममा विहारमा भिक्षुहरुले पालना गर्नुपर्ने २२७ र भिक्षुणीहरुले पालना गर्नुपर्ने ३११ विनय बनेका थिए । ती विनयहरु बुद्धद्वारा नै बनाइएकाको रुपमा विनयपिटकमा समेटिएका छन् । थेरवादी बौद्ध विहारहरुमा ती विनयहरु लागु हुन्छन् । तर, बुद्धको महापरिनिर्वाणपछि बौद्ध सम्प्रदाय विभाजित भई बनेको अर्को बौद्ध सम्प्रदाय सर्वास्तिवादमा भिक्षुहरुको लागि २६२ र भिक्षुणीहरुका लागि ३७१ विनयहरु बनेका छन् । तर, ती सम्पूर्ण विनयबारे यहाँ चर्चा गरिने छैन । मूलतः बौद्ध विचारलाई आत्मासात गर्न र त्यसलाई आम जनतामा प्रचार–प्रसार गर्न बुद्धकालीन विहारहरुमा अभ्यास भएका आचारहरुमध्ये मुख्य रुपमा आउने केहीको यहाँ चर्चा गर्ने प्रयत्न गरिन्छ ।
बुद्ध दर्शन अनात्मावादी हो, जुन यसअघि चर्चा भइसकेको छ । आत्मा भनेको स्वतन्त्र, स्थिर र अविनाशी धर्म हो, जुन बुद्धवाद अनुसार अस्तित्वमा छैन । अस्तित्वमा नै नभएको आत्मालाई मान्नु र त्यसप्रति मोह राख्नु अविद्या हो । त्यसैले बौद्धचर्या गर्न अनात्मवादी नबनी सम्भव छैन । आत्मावादले निजी भावलाई र निजी भावले आत्मावादलाई कायम राख्ने एवं विकास गर्ने हुँदा आत्मा एवं निजी भावको अन्त्यका लागि विहारहरुमा विशेष विनय र अभ्यास हुन्थे ।
भिक्षुहरु हरेक दिन भिक्षाटन गर्न जनताको दैलोमा पुग्थे । भिक्षा लिन्थे र धर्म देशना (बुद्धवचनको वाचन) गरी फर्कन्थे । भिक्षासँग बुद्धवचन साट्दथे । भिक्षा प्राप्त नहुँदा पनि बुद्धवचन दिएर आउँथे । यसरी हरेक दिन भिक्षाटनका लागि जनताको दैलोमा पुग्दा भिक्षुहरु निरन्तर जनतासँगको सम्पर्कमा रहन्थे र बुद्ध शिक्षाबाट जनतालाई प्रशिक्षित गर्ने अवसर प्राप्त गरिरहन्थे । यदि विनयले अन्नपात जोगाडको अनुमति दिन्थ्यो भने उनीहरुमा विहारको ढुकुटीमा अन्नपात बाँकी रहँदासम्म जनतामा गई बुद्धशिक्षा दिने जाँगर आउने सम्भावना कम हुन सक्थ्यो ।
कहिलेकाहिँ विहारमा रहने सबै भिक्षु–भिक्षुणीहरु भिक्षाटनका लागि जान नसक्ने अवस्था पनि आउँथ्यो । त्यस्तो अवस्थामा उनीहरुका लागि अरुहरुको भिक्षाबाट नै भोजनको बन्दोबस्त हुन्थ्यो । त्यसका लागि जतिजना भिक्षाटनका लागि जनताको दैलोमा जान्थे उनीहरु फर्किसकेपछि सबैले ल्याएको भिक्षा एकै ठाउँमा जम्मा गरी सबैलाई बराबरी भाग लगाई भोजनको व्यवस्था मिलाइन्थ्यो । लगाउने भित्री वस्त्र, चिवोर, भिक्षाटनको पात्र, फाटेको वस्त्र सिउने सियो र धागो, पानीको भाँडो, पानी छान्ने उपकरणजस्ता शरीरलाई जिउँदो बनाउन नभई नहुने केही वस्तुहरुबाहेक भिक्षुहरुको आफ्नो भन्ने केही वस्तु हुन्नन् । विहारमा निजी वस्तु केही पनि हुन्नन् । यसरी विहारलाई निजी सम्पत्ति रहित समाजको थलोको रुपमा विकास गरिएको हुन्थ्यो ।
मानिसमा शरीर र चित्त दुबै छन् । शरीरबिना चित्तको अस्तित्व रहन्न र चित्तबिनाको शरीरमा जीवन रहन्न । शरीर भौतिक धर्म हो भने चित्त मानसिक धर्म हो । भौतिक रुपमा निजी सम्पत्ति ग्रहण नगरेको भएपनि मानसिक रुपमा निजित्व रहिरहेको हुन्छ । किनकि, निजित्व संस्कार हो । बुद्धले चित्तलाई निजित्वरहित बनाउनका लागि मनमा भएका सम्पूर्ण क्लेशहरुलाई निर्मुल पार्ने विधिलाई अभ्यासमा ल्याए । त्यो विधि भनेको ध्यान हो । वास्तवमा दुःखनिरोधका लागि आविष्कार गरिएको अष्टाङ्गिक मार्ग नै भिक्षु तथा बौद्ध अनुयायीहरुको विनयका लागि आधारभूत तत्व हो । ध्यान त्यसभित्रको एक अत्यन्त महत्वपूर्ण अङ्ग हो, जसले आत्माको भ्रममा भट्किरहेको मनमा भएका सम्पूर्ण मयलहरुलाई हटाउन मद्धत गर्दछ । भिक्षु तथा बौद्ध अनुयायीहरुले अभ्यास गर्ने ध्यान विपस्सना हो । विपस्सना भनेको मनलाई एकाग्र बनाई सूक्ष्म रुपमा हेर्ने हो । त्यसरी ध्यानमा लीन भई मनलाई एकाग्र बनाउँदै सूक्ष्म रुपले हेर्ने अभ्यासबाट व्यक्तिले आत्मको अस्तित्व नभएको महसुस गर्दछ । यसैबाट व्यक्तिमा भएको निजीत्वको भाव हराउन पुग्दछ । यसैका लागि विहारहरुमा नियमित र अनिवार्य रुपमा ध्यान अभ्यास हुने गर्दथ्यो । भिक्षु–भिक्षुणीहरुको दैनिकीको एक अनिवार्य अभ्यास ध्यान हुने गर्दथ्यो ।
आचारमा बुद्धवादको अर्को महत्वपूर्ण सिद्धान्त र अभ्यास चतुब्रह्म विहार हो । चतु भनेको चार, ब्रह्म भनेको उच्च एवं विशिष्ट र विहार भनेको जीवनको अवस्था हो । त्यसैले चतुब्रह्म विहारले जीवनलाई सर्वोकृष्ट अवस्थामा पु¥याउन अभ्यास गरिने चारवटा आचारहरुको कुरा गर्दछ । ती हुन्– मैत्री, करुणा, मुदिता र उपेक्षा ।
मैत्रीले हरेक व्यक्ति (जीव)लाई साथीको भावमा हेर्ने र व्यवहार गर्ने बुझाउँदछ । करुणाले अर्काको दुःखलाई पनि आफ्नै महसुस गरी आत्मसात गर्ने र त्यो दुःख निवारणका लागि आपूmलाई क्रियाशील बनाउने बुझाउँदछ । यहाँ भ्रममा नपरौं कि करुणा भनेको दया होइन । दया हुनेले नहुनेलाई सहयोग गर्ने भाव र व्यवहार हो । मुदिता भनेको अर्काको उन्नति, प्रगति र सुखमा आफु खुशी हुने भाव हो । उपेक्षा भन्नाले सबै व्यक्तिलाई द्रष्टाभाव अर्थात् तटस्थ रुपमा हेर्ने र व्यवहार गर्ने हो । यस्तो अवस्थामा व्यक्तिमा कुनै आग्रह–पूर्वाग्रहको पर्खाल बन्दैन । आग्रह–पूर्वाग्रहको भावले सत्य जान्नका लागि असक्षम बनाइदिन्छ ।
चतुब्रह्म विहार एक यस्तो आचार विधि हो, जसले प्रेम र शान्तिका लागि बलियो आधार तयार गर्दछ । त्यसैले बौद्ध आचार विधिमा यसको स्थान उच्च छ । परिवार, संस्था र सङ्गठनमा यो आचार विधिलाई सबैले आत्मसात गर्ने अभ्यास गरिन्छ भने निजीत्वभावको कारणले हुने द्वन्द्व तथा झैझगडा क्रमशः न्यून भई समाप्त हुन जान्छन् ।

बुद्धवादबाट साम्यवादी क्रान्तिले के सिक्ने के नसिक्ने ?
साम्यवादी क्रान्तिको दर्शन द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद हो । समाज विकासको इतिहासलाई द्वन्द्वात्मक भौतिकवादी कोणबाट हेर्नु, बुझ्नु र व्याख्या गर्नु नै द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद हो । बुद्धको अस्तित्वको त्रिलक्षण दर्शन समाज विकासलाई ऐतिहासिक रुपमा हेर्ने कोणमा देखिन्न । तर, यसभित्रको अनित्यताको दर्शन भने द्वन्द्ववादसँग मेल खान खोज्दछ । अनित्यता बुद्ध दर्शनको नाभी हो । यसैले नै वास्तवमा बुद्धवादलाई अनीश्वरवादमा पुर्याएको हो । त्रिलक्षणको अर्को अङ्ग अनात्माको अवधारणा पनि अनित्यताकै विस्तार हो । अनित्यताले धर्म (वस्तु तथा घटना) को उदय, विकास–क्षय र विलय (विनाश)को सत्यतालाई स्थापित गर्दछ । धर्म अनित्य भएकोले नै आत्माको अस्तित्व नहुने हो । आत्मको अस्तित्व नभएपछि परमात्मा पनि रहने भएन । अर्थात्,यो विश्व ब्रह्माण्ड सञ्चालनका लागि कुनै कर्ताको जरुरी भएन । यसैको निष्कर्षले ईश्वरको अस्तित्वलाई समाप्त पारिदिन्छ । जब अनित्यता र अनात्मतालाई बुझ्न सकिन्न तब जीव (व्यक्ति) भ्रममा पर्दछ र दुःखको जन्म त्यहीँबाट हुन पुग्दछ । त्यसैले आजभन्दा २ हजार ५ सय वर्षअगाडि विकसित भएको बुद्धवाद (जुनबेला आधुनिक भौतिक विज्ञानको नामो निशान थिएन) दार्शनिक हिसाबले पूर्ण भौतिकवादको तहमा उठ्न नसके पनि यो धेरै हदसम्म द्वन्द्ववादी थियो ।
दार्शनिक कोणबाट मानव समाजको समस्यालाई हेर्ने हो भने अस्तित्वको त्रिलक्षण दर्शनले सही चित्रण दिन सक्दछ । तर, साम्यवादी क्रान्तिमा दुःख अवधारणालाई फरक कोणबाट व्याख्या गर्नु जरुरी पर्दछ । दुःख समाजमा विद्यमान रहेपनि बुद्धवादको त्रिलक्षण दर्शनमा दिएजस्तो यसको निरपेक्ष सत्यता रहन्न । मानव समाजमा दुःखको कारक मानसिक अवस्था मात्र होइन, भौतिक अवस्था पनि हो । त्यो भनेको वर्गीय शोषण हो । शोषणमूलक समाजमा हुने दुःख र शोषणरहित समाजमा हुने दुःख एकै हुन्न । यति हुँदाहुँदै पनि त्रिलक्षण दर्शनमा रहेका अनित्य र अनात्माको अवधारणा चाहिँ साम्यवादी क्रान्तिमा अत्यन्त महत्वपूर्ण छ । किनकि, अनित्य र अनात्माको सारलाई बुझ्न एवं आत्मसात गर्न नसक्दा नै व्यक्तिमा निजीत्वको मानसिकता अन्त्य हुन नसक्ने हो । निजीत्वको मानसिकता (निमेष नै सही) बाँकी रहँदासम्म व्यक्ति पुनः पुँजीवादको खाडलमा खस्ने सम्भावना रहिरहन्छ । ।।,,समाजवादी अहिलेसम्मको साम्यवादी क्रान्तिले अपेक्षित गति लिन नसकेको यसैले हो । जतिसुकै ठूला क्रान्तिकारी भएपनि, जतिसुकै ज्ञानमा धुरन्धर भएपनि र जतिसुकै कष्ट खेपेको एवं बहादुरी लडाईं लडेर आएको भएपनि, व्यक्तिमा अनित्यता र अनात्माको अवधारणामा अलमल छ र उसले त्यसलाई अभ्यासबाट आत्मसात गर्न बाँकी छ भने कुनै पनि समय त्यो पुँजीवादमा फर्कन सक्ने सम्भावना रही नै रहन्छ । त्यसैले साम्यवादीहरुले बुद्धवादको अस्तित्वको त्रिलक्षण दर्शनलाई विचार तथा अभ्यास दुबै तर्फबाट सिक्नु जरुरी छ ।
बुद्धवादको अर्को महत्वपूर्ण विचार चतुआर्य सत्य हो । यो बुद्धको दुःख निरोध विधिको सिद्धान्त हो । बुद्धत्व प्राप्तिको मुख्य कडीको रुपमा रहेको यो सिद्धान्त पहिलो पटक मृगदावनमा बुद्धले पञ्चवर्गीय भिक्षुहरु समक्ष देशना गरेका थिए । वास्तवमा बुद्धका अन्य सबै सिद्धान्तहरु यसैका विस्तारित रुपहरु मात्र हुन् । दुःख, दुःखको कारण, दुःखनिरोध र दुःख निरोधको मार्गलाई स्पष्ट रुपमा उल्लेख गरिएको यो सिद्धान्त वास्तवमा समस्या बुझ्ने विज्ञान तथा समस्या समाधानको वैज्ञानिक विधि हो । सारमा यस सिद्धान्तमा कुनै अवैज्ञानिकता भेटिन्न । साम्यवादी क्रान्तिकारीहरुले यसलाई भरपूर प्रयोग गर्न सकिन्छ । तर, समाज वर्गीय भएकाले आम समाजबाट दुःखनिरोध गर्नका लागि माक्र्सवादले देखाएको वर्गसङ्घर्षको बाटोको विकल्पको रुपमा चतुआर्य सत्यले देखाएको बाटो (अष्टाङ्गिक मार्ग) लाई निरपेक्ष प्रयोग गर्नु सही हुन सक्दैन ।
बुद्धवादको अर्को सिद्धान्त प्रतीत्यसमुत्पाद हो, जुन चतुआर्य सत्य सिद्धान्तको पहिलो दुई अवधारणाहरु दुःख सत्य र दुःख समुदय सत्यबाट विकास गरिएको हो । यो कार्यकारणको सिद्धान्त हो । कार्यकारण एक वैज्ञानिक सिद्धान्त हो । तर प्रतीत्यसमुत्पादमा तृष्णाको कारण चित्तले पुनर्जन्म लिने मान्यता रहँदा यो विज्ञानले अङ्गालेको कार्यकारण सिद्धान्तभन्दा अलि भिन्न रह्यो । साम्यवादी क्रान्तिले प्रतीत्यसमुत्पादलाई विज्ञानको कोणबाट परिमार्जन गरी चित्तको पुनर्जन्मको अवधारणालाई त्यागी अङ्गाल्नु सही हुन्छ । व्यक्तिको मनोविज्ञानको विकासलाई यति सुन्दर ढङ्गले व्याख्या र विश्लेषण गरिएको आधुनिक विज्ञानमा पनि भेटिन्न । प्रतीत्यसमुत्पादको अध्ययन र आत्मसातले साम्यवादी क्रान्तिलाई पछाडि फर्काउने तत्वको रुपमा रहेको निजीत्वको भूतलाई पन्छाउन मद्धत मिल्ने विश्वास गर्न सकिन्छ ।
बुद्धवादमा रहेको कर्म र कर्मफलको सिद्धान्त सही कर्म गरे सही नै प्रतिफल प्राप्त हुन्छ भन्ने विचारको हदसम्म सही हुन सक्दछ । प्रकृतिको नियममा यो सही देखिन्छ । धानको विऊ रोपेमा धान नै फल्छ, मकैंको विऊ रोपे मकै नै फल्छ भन्ने कुरा विज्ञानसम्मत छ । तर, मानव व्यवहारमा धेरै पक्षहरुको असर हुने भएकाले जे कर्म ग¥यो सधैँ शतप्रतिशत त्यही नै प्रतिफल प्राप्त हुन्छ भन्नु सही नहुन सक्छ । मानव व्यवहार भौतिक र मानसिक पक्ष दुबैको संयोगले निर्मित हुने भएकाले कर्मअनुसार सधैँ शतप्रतिशत अपेक्षित कर्मफल प्राप्त हुन्छ भन्न सकिन्न । अपेक्षित प्रतिफलका लागि वस्तु तथा घटना विकासको प्राकृतिक नियमलाई सही ढङ्गले पत्ता लगाउनु जरुरी पर्दछ । जति हदसम्म वस्तु तथा घटनाको अवस्था र विकासको नियमलाई सही ढङ्गले बुझी कर्म गर्न सकिन्छ, त्यही हदमा कर्मफल पनि प्राप्त गर्न सकिने हुन्छ । मन सफा र निर्मल हुँदैमा अपेक्षित कर्मफल प्राप्त हुन्छ नै भन्न सकिन्न ।
अर्को कुरा, कर्मफलको सिद्धान्तमा एउटा जन्ममा गरेको कर्मको भोगाइ अर्को जन्ममा गर्नुपर्ने उल्लेख हुँदा बुद्धवाद कहिँ अनिश्वरवादबाट बिचलन भएको हो कि भन्ने भान हुन्छ । किनकि, पूर्वजन्म तथा पुनर्जन्मको अवधारणा र अघिल्लो जन्मको कर्मको कर्मफल पछिल्लो जन्ममा भोग्ने अवधारणाले कोही कतै बसेर व्यक्तिको कर्मलाई हिसाबकिताब गरिरहेको मान्यता स्थापित हुन पुग्दछ । त्यो हिसाबकिताब राख्ने अरु कोही नभई कुनै ईश्वर नै हुनुपर्ने हुन्छ । ईश्वरको अस्तित्वको अवधारणा बुद्धवाद र माक्र्सवाद दुबैको होइन । त्यसैले साम्यवादी क्रान्तिमा बुद्धवादको कर्म र कर्मफलको सिद्धान्तलाई वस्तु तथा घटना विकासको अवस्था र नियमलाई सही ढङ्गले बुझ्न सके नतिजा सही निस्कने र गलत ढङ्गले बुझे नतिजा पनि गलत अर्थात् अनपेक्षित रुपमा प्राप्त हुने खालको विचारमा नै सीमित गर्नु जरुरी हुन्छ ।
बुद्धवादमा रहेको पञ्चस्कन्धको अवधारणा मनोविज्ञानको आधार हुन सक्दछ, यद्यपि रुपको सन्दर्भमा आधुनिक विज्ञानमा बुद्धवादमा उल्लेख भएभन्दा धेरै बढी विषयहरु समावेश भइसकेका छन् । सारमा पञ्चस्कन्धको अवधारणा आधुनिक विज्ञानभन्दा पर छैन । तसर्थ, यसको अध्ययन र आत्मसात साम्यवादी क्रान्तिमा उपयोगी नै देखिन्छ ।
आचारको सन्दर्भमा भन्नुपर्दा बुद्धवादमा अभ्यास गरिएको निजीत्वको अन्त्यका लागि गरिएका बिभिन्न विधि तथा व्यवहारहरु साम्यवादी क्रान्तिका लागि बढी महत्वपूर्ण देखिन्छ । किनकि, साम्यवादी क्रान्तिको लक्ष्य भनेको निजी सम्पत्तिविहीन साम्यवादी समाजको निर्माण हो । निजी सम्पत्तिविहीन समाज त समाजवादको स्थापनादेखि नै अभ्यास गरिन्छ । तर, अहिलेसम्मको क्रान्तिहरुलाई नियाल्दा समाजवाद स्थापना भएका मुलुकहरुमा निजी सम्पत्तिरहित समाजको निर्माण गरिएपनि त्यो दिगो हुन सकेन । निजी सम्पत्तिको लालसा क्रान्तिकारीहरुमै पुनः पलायो र समाजवाद ढल्नुमा त्यही नै खास कारण बन्न पुग्यो । त्यसैले भौतिक रुपमा निजी सम्पत्तिरहित गर्दैमा समाजमा निजी सम्पत्तिको मानसिकताको अन्त्य हुन नसक्ने रहेछ भन्ने व्यवहारबाट पुष्टि भयो । आखिर व्यक्ति त भौतिक र मानसिक दुबै धर्मको संयोग न हो । बुद्धवादको पञ्चस्कन्धको अवधारणाले यही कुरा भन्दछ । तसर्थ, निजीत्वको मानसिकतालाई समूल नष्ट गर्ने प्रक्रिया साम्यवादी क्रान्तिमा जरुरी छ । यो प्रक्रिया अनित्य र अनात्माको अवधारणालाई सैद्धान्तिक रुपमा बुझेर त्यसलाई आत्मसात गर्नका लागि व्यवहारिक अभ्यास गरिनुपर्दछ । त्यो अभ्यास भनेको व्यवस्थित रुपले विपस्सना ध्यान विधिलाई लागु गर्नु हो । अर्को, जसरी बुद्धको समयमा विहारहरु बुद्ध धर्मको अभियानको केन्द्र बने र त्यो केन्द्र पूर्ण रुपले भौतिक एवं मानसिक रुपले निजीत्वलाई समाप्त पार्ने विश्वविद्यालयको रुपमा रहे, त्यसरी नै अबको साम्यवादी क्रान्तिले निजीत्वलाई सम्पूर्ण रुपमा नै समाप्त पार्ने केन्द्रहरु बनाउनु जरुरी छ । साम्यवादी क्रान्तिमा कम्युनको अभ्यास त भयो, तर त्यहाँ भौतिक रुपमा सम्पत्तिलाई निजीकरणबाट मुक्त गरिएपनि मानसिक रुपमा निजीत्व समाप्त पार्ने कुनै प्रक्रिया नहुँदा कालान्तरमा ती कम्युनहरुले साम्यवाद ल्याउन सकेनन्, उनीहरु धराशायी बने र पुनः निजीत्व जागृत भई पुँजीवाद पुनस्र्थापना हुन पुग्यो । यो नियतिलाई नदोहो¥याउन बुद्धले आफ्नो समयमा विहारहरुमा बुद्ध समाजका अभियन्ताहरु (भिक्षुहरु) लाई जसरी निजी सम्पत्ति र मानसिकतारहित समाजमा प्रवेश गराएको हो त्यसबाट साम्यवादी क्रान्तिले सिक्नु जरुरी छ ।

 

प्रतिक्रिया