यसरी मारिए भीमसेन थापा

 

(प्रस्तुत सामाग्री विख्यात इतिहासकार बाबुराम आचार्यद्वारा लिखित ‘अब कहिल्यै यस्तो नहोस्’ कृतिबाट शीर्षक आफ्नै राखी उद्धृत गरिएको हो । नेपालको राजनैतिक इतिहासमा एउटा छुट्टै पहिचान बनाउन सफल चर्चित व्यक्तित्व भीमसेन थापाको अन्त्यबारे लेखिएको यो अंश प्रबुद्ध पाठकहरूका लागि पठनीय ठानी प्रकाशित गरिएको छ । –सम्पादक)

भीमसेन थापालाई कुनै अपराधमा फसाइ यिनको राजनैतिक पतन गराउनको निमित्त उपयुक्त बहानाको खोजी हुँदैथियो । यसै अवस्थामा महारानी साम्राज्यलक्ष्मीका ६ महिनाका बालक छोरा राजकुमार देवेन्द्रविक्रम शाह (कान्छा साहेबज्यू) को अप्रत्याशित रूपमा निधन भयो । (वि.सं. १८९४ श्रावण ११ तदनुसार २४ जुलाई इ.सं. १८३७) । बिरामी हुँदा यिनलाई भानुमान वैद्यले “अगस्ति–वटी” नामक परम्परागत एक सामान्य औषधी खुवाएका थिए । यस औषधीमा थोरै मात्रामा भाङ परेको हुन्थ्यो र साना बच्चाहरूलाई अपच भएमा निद्रा पार्नका निमित्त यिनताक प्रायः सबै वैद्यहरू यस्तै औषधीहरूको नै प्रयोग गर्ने गर्दथे । तर महारानी साम्राज्यलक्ष्मीले पहिले–“भाङका साथ धतुरो मिसिएर विष बनेको औषधी खुवाइयो” भन्ने आरोप र भोलिपल्ट–“विष नै मिसिएको औषधी खुवाएको रहेछ” भन्ने आरोप लगाई भाजुमान वैद्यलाई पक्राउ गराइन् । पछि–“भीमसेन थापाले राजवैद्य सरदार एकदेव उपाध्यायलाई र एकदेव उपाध्यायले भाजुमान वैद्यलाई लगाई विष खुवाएर मेरो छोराको हत्या गराएका हुन्” भन्ने आरोप पनि यिनले खडा गरिन् ।
राजा राजेन्द्र स्वयम् पनि महारानीद्वारा लगाइएको यस आरोपमा सहमत भएका थिए । यसै अपराधमा हनुमान दल पल्टनका सैनिकहरूद्वारा राजभवननजिकै रहेको यिनी बसेको तलाबाटै कमाण्डर इन–चिफ भएका जनरल भीमसेन थापा पक्रिएर ल्याइए र यिनलाई हठात् त्यतिखेरै नेलसमेत ठोकियो । यसपछि यिनका भाइभतिजाहरूमा जनरल रणवीरसिंह थापा, जनरल माथवरसिंह थापा, कर्णेल शेरजंग थापा एवम् दलबहादुर थापा र वैद्यहरूमा राजवैद्य सर्दार एकदेव उपाध्याय र यिनका भाइ एकसूर्य उपाध्यायहरूसमेत पक्राउमा परे । सबैलाई नेल ठोकियो र कडाइका साथ सबैको सर्वस्व समेत भयो । पक्रिएकाहरू सबै कठोर यातनामा रहन समेत विवश भए ।

राजदरबारमा उक्त अभियोगको सम्बन्धमा पुर्पक्ष गर्ने अभिनय हुँदा अमानवीय यातनालाई खप्न नसकी भाजुमान वैद्यले–“सर्दार एकदेव उपाध्यायले दिनुभएको औषधी नै मैले खुवाएको हुँ, मैंले आफैंले बनाएको होइन” भनेर भनिदिए । एकदेव उपाध्याय भने गालामा तातो फलामले डाम्दा पनि “विष खुवाएको हुँ”भनी अपराध स्वीकार गर्न तैयार भएनन् । यसै अपराधमा जनरल माथवरसिंह थापालाई पनि एक सय कोर्रासम्म लगाइयो, तर यिनी “अ‍ैया” सम्म नभनी चूप नै रहे । एकदेव र एकसूर्य वैद्यहरू अवध्य ब्राम्हण भएकाले चारपाटे मुडिएर कठोर कैदमा मात्र राखिए, भाजुमान वैद्यलाई भने बिनाअपराध छाला काडी र आँखा निकाली नून–चुक लगाएर शूलीमा रोपियो ।
जुन दिन भीमसेन थापा पक्रिएका थिए त्यसै दिन नै काजी दलभञ्जन पाण्डेलाई “मुख्तियार” बनाउने भन्ने राजा राजेन्द्रको इच्छा रहेको थियो तर महारानी साम्राज्यलक्ष्मीका विशेष जोडले यिनैका पक्षका काजी रणजंग पाण्डे (काजी दामोदर पाण्डेका छोरा) “मुख्तियार” भइ “दिवान” कहलाए । रणजंग पाण्डेको परिवार “काला–पाण्डे” को नामले प्रसिद्ध रहँदै आएको थियो । काला–पाण्डेहरूको दल सानो थियो, यसैले राजेन्द्रका पक्षका भारदारहरूलाई आफ्नो नियन्त्रणमा ल्याउन नसक्दा रणजंग पाण्डे तीन महिनापछि मुख्तियारीको जिम्मेवारीबाट हट्न विवश भए । यसपछि एक पल्टनको तैनाथी दिई राजा राजेन्द्रले रंगनाथ पण्डितलाई “मुख्तियार” को पदमा नियुक्त गरे (१८९४ आश्विन) । अर्को एक पल्टनको तैनाथ दलभञ्जन पाण्डेले पाए र बाँकी सबै पल्टनहरू काजी रणजंग पाण्डेको नै तैनाथीमा रहे ।
कम्पू पल्टनका सबै अफिसर जवानहरूको खान्की घटाउने अधिकार पं. रंगनाथ पौडेलले अघिल्ला सालमा नै पाइसकेका थिए । यसैअनुसार अफिसरहरू जतिले पाउने वार्षिक खान्कीहरूमध्ये आधाजति मात्र जिन्सीको रूपमा थमौती गरी आधाजतिलाई नगदीमा परिणत गराएर खान्कीमा रहेका जमिनहरू खाली गराउँदा राजकोषमा निकै नै आम्दानीको वृद्धि हुन आएको थियो । सैनिक जवानहरूका खान्कीहरूलाई पनि घटाएर आधा जिन्सी र आधा नगदी गराउने भन्ने यिनको अग्रिम योजना रहेको थियो । तर काजी रणजंग पाण्डेले बडो जोड लगाएर यस योजनालाई बीचैमा रोकिदिएका थिए । जेहोस्, पं. रंगनाथको यस योजनाबाट थापापरिवारका ठूल्ठूला खान्कीहरू खारेज भएका हुनाले राजारानी दुवैजना पण्डित रंगनाथदेखि भने प्रसन्न नै रहेका थिए । यसै रंगनाथको विशेष आग्रहले गर्दा नै राजा र रानी दुवैजना थापाहरूलाई विष–मुद्दाबाट सफाई दिनमा सहमत भए (१८९४ चैत्र) । फलतः एकदेव र एकसूर्य उपाध्यायहरू कारागारबाट मुक्त गरिए । कैदबाट छुटेको केही दिनपछि नै रणवीरसिंह थापा सन्यासी भए, जनरल भीमसेन थापा बोर्लागको आफ्नै घरमा गइ बस्न थाले र “तराईमा सेतो बाघ आएको छ” भन्ने हल्ला फैलँदा त्यसलाई पक्रन जाने बहाना गरी तराईतिर लागेका माथविरसिंह थापा त्यतैबाट भारततर्फ विदेशिए ।

यस वर्ष भएको वार्षिक–पजनीमा महारानी साम्राज्यलक्ष्मीले कुलचन्द्र शाह र पुष्कर शाहलाई “चौतरिया” मा र दलबहादुर पाण्डे गोरा) लाई “काजी” को पदमा नियुक्त गरिन् । गुरु कृष्णराज मिश्र पनि आफ्नो पक्षमा आएका र सैनिक अफिसरहरूसँग रणजंग पाण्डेको हेलमेल बढ्दै आएकोले आफ्नो पक्ष मजबुत हुँदै आएको अनुभव गरी महारानीले काजी रणजंग पाण्डेलाई पुनः “मुख्तियार”को पदमा नियुक्त गरिन् ।
भीमसेन थापाले मूर्खतापूर्वक पहिले गुमाएका नेपाल अधिराज्यका पहाडी भुभागहरू युद्ध गरी अंग्रेजहरूबाट फिर्ता लिन सकिन्छ भन्ने उमेद रणजंग पाण्डेले अझैपनि राखी नै रहेका थिए । यसै उमेदअनुसार मुख्तियार हुनेबित्तिकै यिनले बर्मा, चीन, लाहोर र ग्वालियर राज्यहरूमा पनि राजा राजेन्द्रका नामबाट खलिता पत्रहरूका साथ राजदूतहरू पनि पठाइदिए । महाभारत–पर्वत श्रृंखलाका गढी र गौडाहरूको मर्मत सुधार गराई आवश्यक हातहतियारहरूका साथ सात हजार जति सैनिकहरूलाई भर्ती गराउन पनि यिनी यतिबेला सफल रहे । यिनका यस किसिमका गतिविधिहरूले गर्दा अंग्रेज राजदूत मि. हड्रसनले यिनलाई अग्रेजहरूका विरोधी सम्झनु स्वाभाविक नै थियो । उल्लेखित मित्र राष्ट्रहरूमा पठाइएका खलितापत्रहरूमा मित्रता तथा भलाकुसारीका सामान्य शिष्टाचारका कुराहरू मात्र लेखिएका थिए, तर अंग्रेजहरू खतरनाक छन्, यिनीहरूले यस क्षेत्रलाई नै खान आँटे, यसैले यिनीहरूदेखि सतर्क रहन विशेष अनुरोध गर्नु भन्ने राजदूतहरूलाई राजदरबारको तर्फबाट मौखिक निर्देशन भने अवश्य नै दिइएको थियो । उल्लेखित मित्र राष्ट्रहरूमा पठाइएका राजदूतहरूले यसैअनुसार आ–आफ्नो कर्तव्यहरू निर्वाह पनि गरेका थिए । तर ग्वालियर राज्यका राजा जनकोजी–राव शिन्दले भने अंग्रेजहरूलाई खुसी तुल्याउने उदेश्यअनुसार नेपालको राजदरबारको तर्फबाट पठाइएको मित्रताको यस पवित्र सन्देशलाई बंग्याएर बढाई–चढाई गरी आफ्ना देशमा रहेका अंग्रेज–राजदूतलाई चुक्ली लगाइदिँदा यिनै राजदूतको सल्लाहअनुसार भारतका गभर्नर–जनरल अकल्याण्डले केही सैनिकहरूका साथ कर्णेल ओग्लेण्डरलाई नेपाल अधिराज्यको सिमानासम्म पठाई नेपाल सरकारलाई धम्की दिँदा राजा र रानी दुवै अंग्रेजहरूदेखि झसंग भए ।
यस अप्रत्याशित घटनाले गर्दा अब अंग्रेज गभर्नर जनरललाई कसरी चित्त बुझाउने होला भन्ने राजदरबारको निमित्त ठूलो समस्या उपस्थित हुन आयो । अनेक छलफल गर्दा पनि अन्य कुनै उपाय सुझेन र अन्त्यमा भीमसेन थापालाई बोलाएर ल्याएमा नै यस समस्याको स्थायी समाधान हुनसक्छ भन्ने निष्कर्षमा राजदरबार पुग्यो । यसैअनुसार दरबारको तर्फबाट बोलावट हुँदा यिनी यथासमयमा काठमाडौंमा उपस्थित भएपनि (चैत्र, १८९५)
भीमसेन थापाको उपस्थितिबाट रणजंग पाण्डे आदि काला–पाण्डेहरू निस्तेज हुनु स्वाभाविक नै थियो । नेपालमा भएको उच्चस्तरीय प्रशासनिक परिवर्तनबाट अंग्रेज गभर्नर–जनरल पनि सन्तुष्ट नै भए । यसैले नेपालको सिमानामा आई बसेका अंग्रेज सैनिकहरूलाई उनले त्यहाँबाट फिर्ता समेत गराइदिए ।
भीमसेन थापा पनि यस्तै कुनै उपयुक्त मौका आउला र त्यसबाट अपेक्षित लाभ उठाउँला भनी प्रतीक्षा गरी बसिरहेका थिए । अंग्रेजहरूलाई भरोसा त दिलाउनै पर्दछ भन्ने तर्क दिई यिनले काजी रणजंंग पाण्डेका तैनाथीमा रहेका पल्टनहरूमध्ये दुई पल्टनलाई झिकेर एक–एक पल्टन चौतरिया फत्तेजंग शाह र काजी प्रसादसिंह बस्न्यातको तैनाथीमा राख्ने राय–सुझाव प्रस्तुत गर्दा राजा राजेन्द्र पनि यस कुरामा सहमत नै भए । रणजंग पाण्डेका तैनाथीमा रहेका दुई पल्टनहरू पहिले नै झिकिसकेका थिए । अहिले थप दुई पल्टनहरू पनि झिकिँदा यिनको शक्ति अत्यन्त नै क्षीण हुन आयो । हुन पनि रणजंग पाण्डेको राजनैतिक शक्तिलाई क्षीण गराउनका निमित्त नै भीमसेन थापाले यो चाल चालेका थिए ।
भीमसेन थापाको यस चालबाजीलाई महारानी साम्राज्यलक्ष्मीले पनि राम्ररी नै नियालिरहेकी थिइन् । यसैले यसको प्रतिशोधको रूपमा भीमसेन थापाको दमनको निम्ति यिनले अन्तिमपटक फेरिपनि कम्मर कसिन् । रणजंग पाण्डेका पक्षका भारदारहरू यिनका पक्षमा छँदै थिए । पुरानो विषमुद्दा पुनः बल्झियो र अन्य दुई विष–मुद्दाहरू पनि थपिए । प्रमाणका निमित्त एउटा कल्पित कागत पनि पेश गरियो । प्रस्तुत कागत सद्दे हो वा नक्कली हो भन्ने ठीक–ठीक पहिचान गर्ने शक्ति राजा राजेन्द्रमा थिएन । यसैले प्रस्तुत कागत सद्दे नै हो भन्नेमा उनी विश्वस्त थिए । यसै मुद्दामा पहिले एकपटक सफाई पाइसकेका भएपनि यसै कागतको आधारमा दोषी प्रमाणित हुन आएकाले एकदेव वैद्य र एकसूर्य वैद्यहरू पुनः चारपाटे मुडिए र कठोर यातनाका साथ कारागारमा राखिए । जनरल भीमसेन थापा पनि बागको आफ्नै महलमा छिंडीको कोठामा कडाइका साथ पुनः नजरबन्दमा राखिए । भीमसेन थापाका आफ्ना कुनै छोरा थिएनन्, छोरीहरू मात्र थिए । भाइ रणवीरसिंह थापा सन्यासी बसिसकेका र भतिजा माथवरसिंह थापा अंग्रेजी राज सिमलामा पुगिरहेका हुनाले यी दुवैैजना यसपटकको नजरबन्दीबाट बच्न सकेका थिए । काठमाडौंमा रहेका शेरजंग थापा आदि अन्य सबै थापा बन्धुहरू सपरिवार कडाइका साथ कैदमा राखिए । सबैको सर्वस्वसमेत जफत भयो । कैदमा परेका सबैको जनै निकाली जात–पतित गराइयो र “यिनका सात पुस्तासम्मका परिवारहरूलाई सरकारी नोकरी दिइने छैन” भन्ने राजदरबारको तर्फबाट औपचारिक घोषणा पनि गरियो ।

यत्तिकैमा आफ्नौ निवास स्थानमा नजरबन्दमा राखिएकी भीमसेन थापाकी कान्छी मुखिनीले महारानी साम्राज्यलक्ष्मीदेवीको अनपेक्षित रूपमा निन्दा गरिन् । यो खबर कानैकान राजदरबारसम्म आइपुग्दा यिनलाई अझै कडाइका साथ कैदमा राख्ने भन्ने निर्देशन भयो र यिनी जेलखानातर्फ चलान गरिइन् । यसपछि–“अब यिनको हुर्मत लिइन्छ” भन्ने हल्ला काठमाडौंमा व्यापक रूपमा चल्न थाल्यो । कर्ण परम्पराद्वारा यो हल्ला नजरबन्दीमा रहेका भीमसेन थापाको कानसम्म पनि आइपुगिहाल्यो । यसबाट अब आफ्नो बदनामी हुन्छ भन्ने शोक र तापले गर्दा यिनी अत्यन्त नै विव्हल भए । बेइज्जतीबाट बच्ने अन्य कुनै उपाय नदेखी एक दिन साँझ, कम्मरमा भिरेको खुकुरीद्वारा निगरानीमा राखिएकै कोठामा यिनी आफ्नै हातबाट सेरिए (वि.सं. १८९६ श्रावण ८ गते तदनुसार २२ जुलाई इ.सं. १८३९) ।
वास्तवमा जनु नृशंसताको मार्गलाई यिनले प्रारम्भदेखि नै अपनाएका थिए, त्यसै दलदलमा यिनी यतिबेला यसरी स्वयम् नै फसे ।
भीमसेन थापाले आत्महत्या गर्ने प्रयास गरेको खबर तत्कालै राजदरबारमा पुगिहाल्यो । यसबाट महारानी साम्राज्यलक्ष्मीका साथसाथै राजा राजेन्द्र पनि यिनीदेखि अत्यन्त नै क्रुद्ध भए । आत्महत्याको प्रयासमा खुकुरीद्वारा यिनको गर्धन आंशिक रूपमा मात्र सेरिएको थियो । समुचित उपचार गर्न पाएको भए यिनी सहजै बाच्न सक्दथे, तर अफशोच, यतिखेर यिनीमाथि सहानुभूति राख्ने भारदारहरू कोही पनि बाँकी रहेका थिएनन् । न त यिनले संगठन गरेका सैनिकहरू नै यिनीप्रति सहानुभूति राख्न सक्ने परिस्थितिमा रहेका थिए । राजा–रानीकै निर्देशनअनुसार रगतले लथपथ भएको यिनको अर्धचेत शरीर त्यसै दिन विष्णुमती नदीको त्यसै बगरमा लावारिस फ्याँकियो । जुन बगरमा तेत्तीस वर्षजति अघि चौतरिया विदुर शाही, चौतरिया शेरबहादुर शाही र राजा पृथ्वीपाल सेन आदि पैंतालीस जना व्यक्तिका लासहरू अमानुषिक रूपमा स्याल, कुकुर र गिद्धहरूलाई निर्दयतापूर्वक लुछाइएका थिए । मध्य–वर्षाको झरी र हुरीमा भिज्दै जीवन र मरणको दोसाँधमा रहेर घुर्र–घुर्र गर्दै स्याल, कुकुर र गिद्धकै बीचमा नौ दिनसम्म जीवित रही अन्त्यमा ६४ वर्षको उमेरमा त्यसै बगरमा यिनले आफ्नाे जीवनलीला समाप्त गरे (श्रावण १६ गते तदनुसार ३० जुलाई) ।
आत्महत्या गर्ने प्रयास गरेको अभियोगमा यिनको दाहसंस्कारसम्म पनि गर्न दिइएन र यिनको पार्थिव–शरीर त्यही नै स्याल, कुकुर एवम् गिद्धहरूलाई खुवाइयो । यतिमात्र होइन, यिनको लासलाई त्यहाँबाट कसैले उठाएर लैजान नसकोस् भनी त्यहाँ कडा पहरा समेत राखियो । यिनका मुखेनीहरू पहाडतर्फ पठाइए र त्यहीँ नै कडा कैदमा राखिए ।
भीमसेन थापाले आत्महत्याको प्रयास किन गरे र यिनले यसरी आत्महत्याको प्रयास गर्नु उचित थियो वा थिएन ? यस सम्बन्धमा लामो समयदेखि अनेक तर्क–वितर्कहरू चल्दै आइरहेका छन् । पछि, यस घटनाको चार वर्षपछि माथवरसिंह थापाले पाएको जितापत्रमा–“काला–पाण्डेले लज्जा र बेहुर्मतीको भय देखाई जनरल कमाण्डर–इनचीफ भीमसेन थापाको देहत्याग गराए” भन्ने उल्लेख भएको पाइन्छ । हुन पनि पूर्व विचार गर्दा मुख्य रूपमा बेइज्जती हुन्छ भन्ने भयले गर्दा नै यिनले यसरी आत्महत्या गर्ने प्रयास गरेको देखिन्छ ।
आफ्नो प्रशासनकालमा यिनले अनेकौं महत्वपूर्ण व्यक्तिहरू र उनका परिवारहरूको पनि निर्दयतापूर्वक हत्या गराइ सर्वस्वसमेत अपहरण गरेर उनका असहाय छोरी–बुहारीहरूलाई पनि पोडेहरूका हातमा सुम्पिदिएका थिए । यति मात्र होइन, हत्याकाण्डमा मारिने सबै भाइ–भारदारका लासहरू स्याल, कुकुर, गिद्धहरूद्वारा अमानुषिक रूपमा लुछाइदिएका थिए । यस्ता अमानवीय कामहरू गरी वास्तवमा यिनले आफ्नो पतनको निमित्त खाडल आफैंले उसैबेला नै खनिसकेको देखिन्छ ।
आत्महत्याको प्रयास गर्नु भीमसेन थापाको मानसिक कमजोरीसिवाय अरू केही होइन । चढ्दो उमेरमा दिलका दरिला भएपनि बढ्दो उमेरले गर्दा यस बेलासम्म यिनको आत्मबल निकै नै क्षीण भइसकेको थियो र हण्डर पनि यतिञ्जेलसम्म यिनले निकै नै भोगिसकेका थिए । यसै कमजोरीले गर्दा नै यिनले आत्महत्याको प्रयास गरेको देखिन्छ । विपत्तिकालमा धैर्यधारण गर्न नसक्नु नै यिनमा रहेको मुख्य कमजोरी देखिन आएको छ ।

जनरल भीमसेन थापाले विष्णुमती नदीको जुन बगरमा अन्तिमपटक आफ्नो सास फेरेका थिए, त्यसै ठाउँमा पछि माथवरसिंह थापाले “भीम–मुक्तेश्वर” शिवालय बनाइदिएका छन् । यस शिवालयले त्यहाँ रहेर अभसम्म पनि यिनको हृदयविदारक आत्मघात र अमानुषिक यातनाको सम्झना गराउँदै रहेको पाइन्छ ।

 

प्रतिक्रिया