शिक्षा र विद्यालय

विद्यालय र जीवनको कामको सबभन्दा महत्वपूर्ण लक्ष्य भनेको काममा आनन्द, त्यसको नतिजामा आनन्द र सामाजिक नतिजाको मूल्यबोध नै हो । एक कलिलो मान्छेमा ती मनोवैज्ञानिक शक्तिहरु विउँझाउनु र बलशाली बनाउनु मेरो विचारमा विद्यालयका लागि सबभन्दा महत्वपूर्ण कार्यभारहरु हुन् ।

एउटा पुस्ताबाट अर्कोमा परम्परागत ज्ञानको हस्तान्तरण गर्ने सबैभन्दा महत्वपूर्ण साधनका रुपमा विद्यालय रहँदै आएको छ । विगतका जीवन भन्दा आजकल, आर्थिक जीवनको आधुनिक विकास भएता पनि, यो विषय अझ उच्च रुपमा लागू भएको छ किनकी परम्परा र शिक्षाको तगारोका रुपमा रहने खालको परिवार कमजोर भएर गएको छ । मानव समाजको निरन्तरता र स्वास्थ्य त्यसकारण अझै उच्च रुपमा विगतमा भन्दा अझ बढी विद्यालयमा निर्भर हुन पुगेको छ ।

बढिरहेको पुस्तामा निश्चित ज्ञानको उच्चतम् हस्तान्तरण गर्ने साधनको रुपमा मात्र विद्यालयलाई लिनेहरु पनि छन् । तर त्यो सही होइन । ज्ञान मृत हुन्छ तर विद्यालयले त जीवितहरुको सेवा गर्दछ । युवाहरुमा यस्तो योग्यता र क्षमताको विकास गर्नुपर्दछ जो सबैको हितका लागि मूल्यवान होस् । तर, यसको अर्थ व्यक्तित्वको विनास होस भन्ने होइन, कमसेकम मौरी वा कमिला जस्तै सामूहिकताको एक साधन बन्न सकोस । व्यक्तिगत मौलिकता र व्यक्तिगत लक्ष्य नभएको भए सक्षम व्यक्तिहरु भएको समूदाय पनि विकासको सम्भावनै नभएको समूदाय हुने थियो । त्यसको ठीक विपरीत, सामाजिक सेवालाई आफ्नो जीवनको ठूलै व्यक्तिगत समस्या ठान्नेहरुलाई पनि स्वतन्त्र व्यक्ति भएर काम गर्ने र सोच्न सक्ने तालिम दिने लक्ष्य लिनु पर्दछ । जहाँसम्म म भन्न सक्छु, अंग्रेजी विद्यालय प्रणाली यो विचारधाराको एकदमै नजिक रहेको जस्तो मलाई लाग्दछ ।

तर, कसरी कसैले यो विचार लागू गर्न प्रयत्न गर्न सक्छ त ? नैतिक शिक्षा दिएर यो कुरा महसुस गराउने हो त ? वास्तवमा त्यसो होइन । शब्दहरु रित्ता आवाजहरु मात्र हुन र रहने छन् । र, आदर्शप्रतिको केवल ओठेभक्ति सदैव विध्वंशको सहयात्री हुने गर्दछ । तर, व्यक्तित्वको निर्माण भनेको वा सुनेको आधारमा होइन कि परिश्रम र कर्मशीलताको आधारमा हुने गर्दछ ।
विद्यार्थीहरुको वास्तविक क्षमता उजागर गर्न उत्प्रेरित गर्ने शिक्षण विधि सबैभन्दा महत्वपूर्ण हुन्छ । पहिलोपल्ट लेख्न खोजिरहेको एक प्राथमिक तहको बच्चादेखि विश्व विद्यालयबाट विद्यावारिधिको शोध गरिरहेका व्यक्तिसम्म, वा सानो कविता कण्ठ गरिरहेकोदेखि पुस्तक लेखन वा अनुवाद गरिरहेको व्यक्तिसम्म अथवा भनौं कुनै गणितीय समस्याको समाधान गरिरहेको वा भौतिक खेल अभ्यास गरिरहेको कुनै व्यक्तिसम्ममा यी कुराहरु लागू हुन्छन् ।

हरेक उपलव्धिका पछाडि लगावले काम गरेको हुन्छ जुन उपलब्धिको जग हो । बाचा वा लगाव पूरा गरेपछि त्यो जग थप बलियो र सक्षम हुन्छ । ठीक यहाँनेर विद्यालयको शैक्षिक मूल्यको ठूलो फरक र महत्व हुन्छ । यसको डर र अनिवार्यताको शुरुआत, नेतृत्व र प्रतिष्ठाका लागि महात्वाकांक्षी चाहना, अथवा वस्तुमाथिको प्रेमपूर्ण अभिरुची तथा सत्य र समझदारीले पनि त्यस्तै गरी ऋणी बनाउँछ । हरेक स्वस्थ बालकसँग हुने त्यस्तो उचित जिज्ञासाभावलाई प्रायजसो शैशव अवस्थामै कमजोर पारिन्छ । साना विद्यार्थीहरुलाई एउटै वा उस्तै प्रकारका कामहरु गराएर शैक्षिक प्रभावमा पार्नु एकदमै गलत कुरा हो किनकी त्यसमा सजायको डर, अहम्ताको भावना, सन्तोष र आनन्दको चाहना अन्तर्निहित रहेको हुन्छ । विद्यालयको प्रशासन र शिक्षकहरुको व्यावहारले साना नानीहरुको मनावैज्ञानिक आधार तयार पारिरहेको हुन्छ भन्ने कमैले ध्यान दिएको देखिन्छ ।

डर, रवाफ र कृत्रिम प्राधिकारको तरिकाबाट विद्यालय सञ्चालन गर्नु भनेको मेरा लागि सिद्धान्तकै रुपमा एकदमै खराव कुरा हो । त्यस्तो व्यावहारले साना विद्यार्थीहरुको निर्दोष भावना, संवेदनशीलता र आत्मविश्वासलाई ध्वस्त पार्दछ । यसले आज्ञाकारिता वा वफादारिता मात्र उत्पादन गर्दछ । यसमा कुनै शंका छैन कि यस्ता विद्यालयहरु रुस र जर्मनीमा पाइन्छन् । मलाई थाहा छ कि यस्तो तुच्छ खराबीबाट अमेरिकाका विद्यालयहरु मुक्त छन् । सम्भवतः स्विट्जरल्याण्डमा पनि यस्तै छ र प्रायः सबै प्रजातान्त्रिक मुलुकहरुमा यस्तै होला । यस्ता सबैखाले खराबीहरुबाट विद्यालयलाई मुक्त गर्न तुलनात्मक रुपमा सजिलै छ । शिक्षकलाई यथासम्भव कम बल प्रयोग गर्न सक्ने शक्ति दिनु पर्दछ ता कि शिक्षकप्रति विद्यार्थीहरुको सम्मानको स्रोत उसको बौद्धिक र मानवीय गुण मात्र होस, अरु होइन ।

दोश्रो चालक शक्ति– महत्वाकांक्षा अथवा नरम शब्दमा, मान्यता र विवेकको लक्ष्य– मानवीय प्रकृतीसँग अभिन्न रुपमा जोडिएको हुन्छ । यस्तो प्रकारको मानसिक प्रोत्साहनको अनुपस्थितिमा मानवीय सहकार्य विल्कूलै असम्भव हुने थियो किनकी मान्छेको अर्को जस्तै हुने चाहनाले निश्चय नै समाजको सबभन्दा महत्वपूर्ण रसायनकाे रुपमा काम गरेको हुन्छ । यस्तो जटिल अनुभूतिका बीचमा रचनात्मक र ध्वंसात्मक बलहरु एकदम नजिक रहेका हुन्छन् । मान्यता र विवेकको चाहना स्वस्थ चाहना हो तर सहकर्मी साथीभन्दा राम्रो, बलियो वा बढी जान्ने प्रमाणित हुन खोज्दा सम्पूर्ण रुपले अहंवादी मनोवैज्ञानिक स्तरमा पुगिन्छ जुन स्वयं व्यक्ति वा समुदायका लागि हानिकारक हुनसक्छ । त्यसकारण विद्यालय र शिक्षकहरुले साना नानीहरुलाई मोहित पार्दै परिश्रमी बनाउनका लागि व्यक्तिगत महत्वाकांक्षा मात्र पाल्ने सजिलो पेशा विरुद्ध रखवारी गर्नु पर्दछ ।

यससँग जोडेर डार्विनको अस्तित्वका लागि संघर्ष र छनौटको सिद्धान्तलाई धेरै मान्छेहरुले प्रतिस्पर्धाको मान्यतालाई पूर्ण उपयोगी भएको पनि ठान्दछन् । यस्तै तरिकाले केही मान्छेहरुले मान्छेहरुका बीचमा ध्वंसात्मक आर्थिक प्रतिस्पर्धायुक्त संघर्ष अति आवश्यक भएको नक्कली वैज्ञानिक तर्क पनि गर्ने गर्दछन् । तर, यो गलत छ किनकी अस्तित्वका लागि संघर्षमा मान्छे आफ्नो शक्तिप्रति आभारी छ यो तथ्यसहित कि ऊ सामाजिक प्राणी हो । एउटा कमिलाको गोलो अस्तित्वमा रहनका लागि एउटा मात्र कमिलाको संघर्ष जति आवश्यक छ, मानव समुदायमा पनि रहेका प्रत्येक सदस्यकाे ठीक त्यस्तै महत्व रहेको हुन्छ ।

युवाहरुलाई सफलतासम्बन्धी परम्परागत सोचलाई जीवनको लक्ष्य करार गर्ने वकिलहरुका विरुद्ध खडा हुन सक्नु पर्दछ । त्यो नै सफल मान्छे हो,जो आफ्ना समकक्षीहरुबाट उसले तिनीहरुका लागि गरेको सेवाभन्दा केही ज्यादा नै ठूलो मान पाउँछ । तथापि मान्छेको मूल्य भनेको जेमा ऊ केही प्राप्त गर्न सक्छ, त्यो दिन्छ वा दिँदैन भन्ने कुरामा हेर्नु पर्दछ ।

विद्यालय र जीवनको कामको सबभन्दा महत्वपूर्ण लक्ष्य भनेको काममा आनन्द, त्यसको नतिजामा आनन्द र सामाजिक नतिजाको मूल्यबोध नै हो । एक कलिलो मान्छेमा ती मनोवैज्ञानिक शक्तिहरु विउँझाउनु र बलशाली बनाउनु मेरो विचारमा विद्यालयका लागि सबभन्दा महत्वपूर्ण कार्यभारहरु हुन् । यस्तो मनोवैज्ञानिक आधारले मात्र मानव जातिलाई आनन्ददायक इच्छाहरुको उच्च विन्दुमा पुर्याउँछ, ज्ञान र कलात्मक कार्यकुशलतामा डोर्यारउँछ ।

यस्तोखाले उत्पादनमूलक मनोवैज्ञानिक शक्तिको विजारोपण गर्न त्यति सजिलो त हुँदैन, बरु बल प्रयोग गरिने अभ्यास वा व्यक्तिगत महत्वाकांक्षा मात्र बढाउने तरिका सजिला छन् । तर यिनको महत्व चाहिँ बेसरी बढी छ । महत्वपूर्ण कुरा हो– खेलप्रतिको बालसुलभ झुकाव र अरुबाट मान्यता प्राप्त गर्ने बालसुलभ चाहना, अनि त्यसमार्फत बच्चालाई समाजको महत्वपूर्ण क्षेत्रतर्फ डोर्याउनु । सफल काम गर्ने र त्यसमार्फत अगाडि बढ्ने आधारबिन्दु भनेको शिक्षा नै हो । यसप्रकारको दृष्टिकोणबाट काम गर्न विद्यालयलाई सफलता मिल्दछ भने बढिरेहको पुस्ताबाट जहिल्यै यसप्रति कृतज्ञता व्यक्त गरिने छ र विद्यालयबाट दिइने हरेक कामलाई उनीहरुले उपहारका रुपमा ग्रहण गर्ने छन् । म त्यस्ता विद्यार्थीहरु चिन्दछु जो विदामा पनि विद्यालय जान मन गर्छन् ।
यस्ता विद्यालयहरुले त्यस्ता शिक्षकहरु माग गर्दछन् जो आफ्नो क्षेत्रको कलाकार होस् । यस्तो आकांक्षा विद्यालयमा प्राप्त गर्न के गर्ने त ? यसको लागि विश्वव्यापी उपचार त्यति नै कम पाइन्छ,जति व्यक्तिगत तहबाट पाइन्छ । तर, यसका केही आवश्यक शर्तहरु छन्, जो पुरा गर्न सकिन्छ । पहिलो, स्वयं शिक्षक नै त्यस्ता विद्यालयहरुबाट हुर्किएर आउनु पर्दछ । दोश्रो, पढाइने तरिका र विषयवस्तुबारे सम्पूर्ण फैसला गर्ने स्वतन्त्रता शिक्षकलाई दिनु पर्दछ । शिक्षकका लागि पनि यो कुरा सत्य हो कि बाहिरको दवाव र बलले गर्दा आफ्नो काम गर्दाको उर्जालाई नष्ट गरिदिन सक्दछ ।
यदि यहाँसम्मको मेरो विचारलाई तपाईंले सचेतता पूर्वक पछ्याउनु भयो भने सम्भवतः एउटा कुराले तपाईंलाई आश्चर्य लाग्ने छ । मैंले खुल्ला रुपमा एउटा भावलाई, जुन मेरो विचार पनि हो, व्यक्त गरेको छु कि युवाहरुलाई निर्देशित गरिनु पर्दछ । तर अहिलेसम्म मैंले निर्देशनका लागि विषयको छनौटबारे भने केही पनि भनेको छैन, न त शिक्षण पद्दतिबारे नै बोलेको छु । विज्ञानलाई भाषाले कि प्राविधिक शिक्षाले बढी ओगट्दा ठीक होला त ?
यसमा मेरो उत्तर छ ः मेरो विचारमा यी सबै कम महत्वका कुरा हुन् । यदि एक युवाले आफ्ना मांसपेशीहरुलाई नियमित तालिम, जिम, दौड आदिबाट बलियो बनाउँछ भने पछि ऊ सबैखालका शारीरिक कामको लागि योग्य हुनसक्छ । त्यो प्रश्न पनि उस्तैगरि दिमागको तालिम र मानसिक तथा शारीरिक सीपसँग सम्बन्धित छ । यी बौद्धिक गलत थिएनन् जसले शिक्षालाई यसरी परिभाषित गरेका छन् ः ‘शिक्षा भनेको त्यो हो जुन कुनै व्यक्तिले विद्यालयमा सिकेका सप्पै कुरा बिर्सिसकेपछि बाँकी रहन्छ ।’ त्यसकारण ऐतिहासिक भाषाशास्त्रीय शिक्षा कि प्रकृति विज्ञानमा समर्पित शिक्षा भन्ने बहसमा एउटा पक्ष लिन मलाई कुनै जाँगर छैन ।
अर्कोतिर, विद्यालयले विद्यार्थीको आगामी जीवनमा कुनै प्रयोग नहुने खालको ज्ञान विशेष वितरण गर्ने विचारको म विरुद्धमा छु । विद्यालयमा सिकेका यस्ता ज्ञान विशेषले महत्व राख्न किन कम सम्भव छ भने मानव जीवनका मागहरु अचम्मैसँगले बहुआयामिक बहुरुपी छन् । अझ योभन्दा बढी, मान्छेलाई एक निर्जीव साधनलाई जस्तै व्यावहार गरिनु आपत्तिजनक छ । विद्यालय छाड्दा विद्यार्थीले एक समझदार व्यक्तित्वका रुपमा छाडोस्, एक विशेषज्ञका रुपमा होइन भन्ने ध्यान दिइनु पर्दछ । मेरो यो विचार केही हदसम्म प्राविधिक विद्यालयहरुका लागि पनि हो जसका विद्यार्थीहरुले आफ्नो जीवन कुनै एक निश्चित सीपमा लागेर बिताउने छन् । स्वतन्त्र विचार राख्ने र स्वतन्त्र निर्णय गर्न सक्ने आम क्षमताको विकासलाई जहिले पनि प्राथमिकतामा राख्नु पर्दछ, कुनै विशेष ज्ञान प्राप्तिलाई होइन । जब एक व्यक्तिले आफ्नो विषयको आधारभूत ज्ञानसहित स्वतन्त्र भएर सोच्न एवं काम गर्न सक्दछ, पक्कै पनि उसले आफैं आफ्नो अगाडिको बाटो बनाउन सक्दछ । यस्ता व्यक्तिहरुले विस्तारमा ज्ञान पाएका व्यक्तिहरुले भन्दा बढ्ता राम्रोसँग अग्रगति र परिवर्तनका लागि आफूलाई अनुकूल बनाउन सक्दछन् ।
अन्त्यमा, म एकपटक फेरि जोड दिएर के भन्न चाहन्छु भने केही निश्चित आकारमा यहाँ व्यक्त भएका मेरा विचारहरु एकजना मानिसका व्यक्तिगत विचारहरु भन्दा बढ्ता केही पनि होइनन् जो केहीबाट पैदा भएका होइनन बरु उसका व्यक्तिगत अनुभवहरुबाट निस्किएका हुन्, जो एक विद्यार्थी र एक शिक्षकका रुपमा संकलित गरिएका हुन् ।

(प्रस्तुत सामाग्री विश्वविख्यात वैज्ञानिक अल्वर्ट आइन्स्टाइनको शिक्षासम्बन्धी व्यक्त मन्तव्यको एउटा अंश हो । स्टेट यनिभर्सिटि अफ न्युयाेर्ककाे अल्वेनि,अमेरिकामा उच्च शिक्षा तीन सय वर्ष पुगेको उपलक्ष्यमा सन् १९३६ अक्टोवर १५ का दिन आइन्स्टाइनले यो मन्तव्य दिनुभएको थियो । ‘अल्वर्ट आइन्स्टाइनः आइडिएज एण्ड ओपिनियन्स’ संग्रहमा प्रकाशित पुस्तकको ‘अन एजुकेशन’ शीर्षकबाट लिइएको यो सामाग्री शिक्षासम्बन्धी गहिरो अभिरुची राख्नुहुने अध्येता युवराज चौलागाईले अनुवाद गर्नुभएको हो । नेपाली सरलताको लागि हामीले लेखको शीर्षक परिवर्तन गरेका छौं । सं.)

 

 

प्रतिक्रिया