आगतको सङ्घारमा पुष्पलालको पदचाप पछ्याएर

नेपाल कम्युुनिष्ट पार्टीको स्थापना कतिसम्म प्रभावकारी घटना थियो भने नेकपाको पाक्षिक प्रकाशनको संक्षिप्त विवरण अनुवाद गरेर सिआईएले आफ्नो केन्द्रीय कार्यालय पठाउँथ्यो । सिआईएले तत्कालीन समयमा पठाएका रिपोर्टहरूको छानिएका केही अंशहरू पछिल्ला केही वर्षदेखि सार्वजनिक भएका छन् । सार्वजनिक विवरणहरूमा पनि नेपालमा कम्युनिष्ट पार्टी फैलिन थालेको र नेपाली काँग्रेसले राणा विरुद्ध संघर्ष गर्ने नाममा कम्युनिष्ट फैलावट नरोकेको भन्ने उल्लेख छ ।

 

व्यक्तिले इतिहासको निर्माण गर्छ कि इतिहासले व्यक्ति जन्माउँछ ? व्यक्ति र इतिहासको सम्बन्ध मार्क्सवादी अध्ययन पद्धतिमा अविभाजित छ । व्यक्ति इतिहासका घटना, भौतिक परिस्थिति, निश्चित उत्पादन सम्बन्ध र त्यसको जगमा सिर्जित संस्कृतिको उपज हो । तर, त्यहीं व्यक्ति इतिहास परिवर्तनको संवाहक पनि हुनसक्छ । एक व्यक्तिका सीमाहरू हुन्छन् । दन्त्य कथाका वीरहरूले जस्तो उसले इतिहासलाई उलटपलट पारिहाल्न त सक्दैन । तर, समाजको बदलिँदो गतिलाई पक्रेर सही दिशा दिने प्रयत्न भने गर्न सक्छ । परिवर्तनको लयलाई नेतृत्व गर्न सक्छ । त्यसैले इतिहास पनि व्यक्तिको भूमिकाबाट विमुख भएर स्वतस्फुर्त निर्मित हुने होइन ।

जब हामी ऐतिहासिक व्यक्तित्वको चर्चा गर्न थाल्छौं दुई अतिको जोखिमबाट गुुज्रिन्छौ । एकातिर हामी व्यक्तिको देवत्करणको अतिमा फस्न सक्छौं । अर्कोतर्फ व्यक्तिका योगदानको न्यून मूल्याङ्कनको गल्ती गर्न सक्छौं । अझै त्यसमाथि पनि यस्तो व्यक्तित्व जो आफैंमा आन्दोलन हो, जो आफैंमा अनेक नागबेलीपूूर्ण जीवनकथा हो, जो कहिले पूजिएको छ भने कहिले निन्दित छ, जसका कर्महरूलाई अनेकौं कोणहरूबाट विवेचना गरिएका छन् भने मूल्याङ्कन जटिल र चुनौतीपूर्ण बनिदिन्छ । अनेकौं सूचनाहरूको बाढीमा सही सूचना पहिचान गर्न मुस्किल परेजस्तै ऐतिहासिक व्यक्तित्वको चर्चा गर्दा न्यायपूर्ण हुन सक्ला वा नसक्ला भन्ने भय रहिरहन्छ । त्यसैले म पुुष्पलालको मूूल्याङ्कन गर्दै छैन । पुुष्पलालको मूल्याङ्कन मेरा लागि हतार हुन जान्छ । त्यसैले मैले यो विचारपत्र पुुष्पलालको अध्ययनमा केन्द्रित गर्दैछु ।

पुुष्पलालको निर्माण

पौने पच्चीस वर्षको उमेरमा कम्युनिष्ट घोषणापत्र नेपालीमा अनुवाद गर्नु, फरक विचारधाराको पार्टीबाटै विपरीत धारको पार्टी निर्माण गर्नु, आफुभन्दा ज्येष्ठदेखि समकालीन तथा कनिष्ठहरूसँग जीवनपर्यन्त सैद्धान्तिक,व्यावहारिक बहसमा उत्रनु, औपचारिक अध्ययनको सीमालाई तोडेर समाज अध्ययन र दर्शनको क्षेत्रमा उल्लेखनीय योगदान गर्नु र सिङ्गो जीवन परिवर्तनको लागि होमिदिनु । आफैमा क्रान्तीका पर्याय बनेको पुुष्पलालको निर्माण कसरी भयो ?

माल अड्डाका हाकिमी खरिदार भक्तलाल र आमा तुल्सीमायाको तेस्रो सन्तान र माइला छोराको रूपमा १९८१ असार १५ गते रामेछापको भँगेरी गाउँमा जन्मिएका पुुष्पलाल मध्यमवर्गीय परिवारका हुनुहुन्थ्यो । सरकारी कर्मचारी भएका कारण बुवाको कार्यक्षेत्र रामेछाप भएको बखत जन्मिए पनि उनको परिवार काठमाडौंको थियो । उहाँका बुवामात्र नभई बाजे पनि सरकारी जागिरे थिए भने मावली पनि सम्पन्न परिवारमै लिइन्थ्यो । राणा शासनको त्यो अँध्यारो युुगमा नेपालका दुरदराजका ‘रैती’हरू शिक्षाबाट बञ्चित थिए । त्यो समयमा पनि पुष्पलालको आमा साक्षर हुनुहुन्थ्यो (भुसाल र अन्यः२०७८, पृ.४)।

पुष्पलाल १६ वर्षको हुँदा नेपालको शान्तप्रायः समाजलाई तरंगित गर्ने घटना घट्यो । दैवी शक्ति सम्पन्न ठानिएका राणासाहेबहरूको गाथलाई ताक्ने असाध्य साहस गर्ने युवाहरू यो धर्तीमा पर्दापण भएका थिए । त्यसमध्ये एक पुुष्पलालको दाजु गंगालाल थिए जसले २२ वर्षे जवान छातीमा निरकुंशताको तातो गोली थापिदियो। दाजुको शहादत, शहादतपूर्व दाजु र उहाँका साथीहरूको राजनीतिक जमघट र गतिविधि किशोर पुुष्पलालका लागि प्रेरक घटना थिए । त्यसमाथि शहादतको अघिल्लो दिनको अन्तिम भेटमा ‘माइला भाइ, यस जन्मभूमिमा प्रजातन्त्रको स्थापनाको लागि मैले बालेर गएको सानु दियोलाई तिमीले प्रज्वलित गरी नेपालको कुनाकाप्चामा समेत पुर्याउनेछौ’ भन्ने वचनले उहाँको हृदयलाई पक्कै उद्वेलित गरेको हुनुपर्छ । दाजुले सुम्पेको राजनीतिक कार्यभारलाई दाजुुको चितासामुु उहाँले सपथ खाएर स्वीकार्नु भएको थियो । र, त्यो सपथ जीवनपर्यन्त निभाउनुुभयो । एक प्रतिबद्ध राजनीतिज्ञ बनेर ।

जीवनमा पुुष्पलालको संघर्ष स्थापित नामहरूसँग भएको छ । नेकपा गठन गर्नुअघि आफैँले मार्क्सवादी ज्ञानका लागि भेट गर्न चाहेका महापण्डित राहुल सांकृत्यायनलाई नेपाललाई हेर्ने दोष औलाउँदै नेहरूको परम्परावादी विचारबाट प्रभावित रहेको र ‘ठूलो राष्ट्र अहंकारवाद’ स्वीकारेको आलोचना गर्न पनि छोड्नुुभएको छैन (भुुसाल (सं.):२०७३, पृ.१५८–५९) । स्कुल जीवनमात्र पुरा गर्नुभएका पुुष्पलालले परिष्कृत अंग्रेजीमा समाज विज्ञानको गहकिलो निबन्ध लेख्नुुभएको छ । अथक अध्ययन, स्वपठन र स्वंयप्रशिक्षणले ज्ञानको उचाई छुनुभएका पुुष्पलाललाई प्रेरित गर्ने घटना २००४ सालमा भएको थियो । राणाशासनको विरोधमा सत्याग्रहमा सहभागी भएका पुुष्पलाललाई राणाशासकले सोधेको थियो, “के हो नागरिक अधिकार ? के हो राजनीतिक अधिकार ?” तत्काल उत्तर दिन नसकेका पुुष्पलालले पछि डिल्लीरमण रेग्मीसँग यहीं प्रश्न दोहोर्याउनुुभयो । रेग्मीको तीतो उत्तर पुुष्पलालको जीवनको प्रेरक घटना बन्न पुुग्यो । डिल्लीरमण रेग्मीले भनेका रहेछन्, “त्यो कुरा बुुुझ्नका निम्ति ठूलो दिमाग चाहिन्छ एम.ए,बी.ए हुनुुपर्दछ ।” (पुुष्पलालः२०५९, पृ. १९)

रेग्मीको रुखो उत्तरले छटपटिनुुभएको पुुष्पलाल औपचारिक अध्ययनलाई अगाडि बढाउने प्रयत्न पनि गर्नुभयो तर राजनीतिको कष्टसाध्य यात्रामा कहाँ क्याम्पसे वातावरणको विद्यार्थी जीवन पाउनु ! विश्वविद्यालयको दैलो टेक्ने अवसरबाट वञ्चित भए पनि पुुष्पलालको लागि मार्क्स–एंगेल्स र लेनिनले कक्षा पर्खिरहेका थिए । मार्क्स–एंगेल्सको कम्युनिष्ट घोषणापत्र र लेनिनको ‘गाउँका गरीबहरूसँग’बाट उहाँले राणाशासकले सोधेको प्रश्नको भरपर्दो उत्तर फेला पार्नुभयो (पुष्पलालः२०५३, पृ.१९)।

कम्युनिष्ट पुुष्पलाल

पुष्पलालको राजनीतिक जीवनमा ध्यान दिनुपर्ने पक्ष हो— उनको राजनीतिक हुर्काई काठमाडौंमा भएको हो । यसको नेपाली राजनीतिमा विशेष अर्थ छ । १९९७ सालपछि २००३ सालमा बनारसमा नेपाली राष्ट्रिय कांग्रेस गठन हुनुअघिसम्म काठमाडौं शान्त थिएन । भारतीय स्वतन्त्रता संग्रामबाट वैचारिक रूपमा प्रभावित भए पनि काठमाडौंका युवाहरूमा आफ्नै बलमा प्रजातन्त्रको स्थापना गर्ने हुटहुटी थियो । त्यहीकारण २००३ सालमा बनारसमा ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’को सम्मेलनबाट नेपाली राष्ट्रिय कांग्रेस स्थापना हुँदा काठमाडौंका युवाहरू सशंकित थिए । गोपालप्रसाद रिमाल नेतृत्वको नेपाल नेशनल लिग त्यसैको परिणाम थियो । काठमाडौं उद्गम र बनारस उद्गमबीचको यो टकरावमा बनारस उद्गम कांग्रेस हावी भए पनि यसले नेपाली राजनीतिमा राष्ट्रवादी मान्यताको जन्म गरायो । रेग्मी नेतृत्वको नेपाल प्रजातन्त्र कांग्रेसमा संलग्नतादेखि ‘दिल्ली सम्झौता’को विरोधसम्मको पुष्पलालले तय गरेको राजनीतिक यात्रामा यो पक्षले खेलेको भूमिका विचारणीय छ ।

पुुष्पलालको कम्युनिष्ट यात्रा १९९७ सालको नेपाल प्रजा परिषद्को पर्चा काण्ड र दमन लगत्तै शुरु भएको देखिन्छ । रुसको नाम सुनेको र आमा पढेको प्रसंगबारे पुुष्पलालले लेख्नुुभएको छः– १९९७ सालको काण्डपछि म पनि नेपालको राजनीतिक विचार–गोष्ठीहरूमा सरिक हुन थालें । यस्तै गोष्ठीमध्ये जोर गणेश प्रेसमा गोपालप्रसाद रिमाल, विजयबहादुर मल्ल आदिका बीचमा अन्तर्राष्ट्रिय राजनीतिको बहस हुँदा दोस्रोचोटि मैले रुसको नाम सुनें । (पहिलोचोटि उहाँले गंगालालले साथीहरूसँग बहस गर्दा सुनेको उल्लेख गर्नुभएको छ ।) …त्यसै दौरान मैले एक मित्र सूूर्यबहादुर भारद्वाजमार्फत् विश्वप्रसिद्ध समाजवादी साहित्य ‘आमा’ नामक उपन्यास पढें । यसरी क्रमिक रूपबाट कम्युनिष्ट विचारधाराले मलाई प्रभावित र उत्साहित गर्दै लगेको थियो । (पुष्पलालः२०५९, पृृ.८)

राजनीतिक चेतको विकास हुँदै गर्दा केही गर्ने हुटहुटीकै कारण पुुष्पलालले ‘नेपाल प्रजातन्त्र संघ’को पनि गठन गर्नुभएको थियो । तर ती सबै प्रयासहरू राजनीतिक गतिविधिका शुरुवात थिए । ती कैयौं हिसाबले अपरिपक्व थिए । त्यसैले पुुष्पलालको राजनीतिक यात्रा ‘नेपाली राष्ट्रिय काँग्रेस’बाट थालनी भयो । नेपाली राष्ट्रिय काँग्रेसको सम्मेलनको लागि भारत जाँदा पुुष्पलालको संगत मार्क्सवादी साहित्यसँग हुन गयो । उहाँले कम्युुनिष्ट साहित्य अध्ययन मात्र नगरी काठमाडौंमा लगेर प्रचार गर्न पनि थाल्नुुभयो । नेपाली राष्ट्रिय काँग्रेसमा कार्यालय सचिवको हिसाबले पनि काम गर्न थाल्नुुभयो । त्यसक्रममा उहाँले रेग्मी र कोइराला गुटबीचको फुट र मनमुुटावलाई प्रत्यक्ष अवलोकन गर्नुुभयो । दैनिक व्यावहारिक राजनीतिक संघर्षको क्रममा उहाँले राणाहरूले काँग्रेसका नेताहरूलाई किन्न खोजेको र नेपाली काँग्रेसको नेतृत्वबाट जनवादी आन्दोलन तल्लो वर्गसम्म पुुग्न नसक्ने बोध गर्नुभयो ।

पुुष्पलाल इतिहासको निकै असल विद्यार्थी हुनुहुन्थ्यो । इतिहासप्रतिको अभिरुचिकै कारण हुनुुपर्छ उहाँले शुुरुवातमै प्रजातान्त्रिक आन्दोलनको वर्गीय स्वरूपलाई ठम्याउने क्षमता राख्नुुभयो । शायद फ्रान्सेली राज्यक्रान्ति अध्ययनले उहाँलाई त्यो निचोडमा पुुर्याएको हुनुुपर्छ ।
नेपाली राष्ट्रिय काँग्रेसमा भएको नेतृत्वको झगडा र त्यसको वर्गीय दृष्टिकोणको बोध हुन थालेपछि पुष्पलाल काँग्रेसबाट टाढिन शुरु गर्नुुभयो । उहाँले मार्क्सवादी साहित्यको अध्ययन थाल्नुुभयो । अध्ययनसँगै उहाँले केही साहित्यको नेपाली भाषामा अनुवाद पनि गर्न थाल्नुुभयो । तर, ती अनुवाद प्रकाशन गर्ने आर्थिक सामार्थ्य उहाँसँग थिएन ।
एकातर्फ काँग्रेससँग बढेको दुरी, अर्कोतर्फ आर्थिक अभाव अनि राजनीतिक रिक्तताको छटपटी । यहीं समयमा उहाँले सम्पर्कलाई व्यापक बनाउने कोशिस गरेको देखिन्छ । सम्पर्क विस्तारको क्रममा उनको भेट भारतीय कम्युनिष्ट पार्टीका नृपेन्द्र चक्रवर्तीसँग भयो । उक्त भेटलाई पुुष्पलालले निकै महत्त्वका साथ उल्लेख गर्नुभएको छ । भेटबारे उहाँले लेख्नुुभएको छ, “अब मेरो अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीसँग विधिवत सम्पर्क भयो । यो मेरो निम्ति एउटा सन्तोषको कुरा थियो ।”

त्यतिबेला पुुष्पलालमा नेपाली भाषामा कम्युनिष्ट साहित्यको प्रचार गर्ने यति भोक जागेको थियो कि उहाँले सुवर्ण शमशेरले बर्मामा गएर गुरिल्ला तालिम लिन गरेको प्रस्तावको स्वीकारोक्तीको लागि आफुले अनुवाद गरेका कम्युनिष्ट साहित्य प्रकाशन गरिदिनुपर्ने शर्त तेर्स्याउनु भएकाे थियो । तर,राणाविरोधी संघर्षको लागि पैसाको खोलो बगाएका सी क्लास राणाले उनका केही कम्युनिष्ट साहित्य प्रकाशन गर्ने उत्साह देखाएनन् । यो घटनाले पनि पुष्पलालले वर्गीय दृष्टिकोण व्यवहारमा नै अनुुभुुत गर्न थालेको हुनुुपर्छ । पछि अन्य स्रोत जुुटाएर २००५ चैत २३ गते कम्युुनिष्ट घोषणापत्रको नेपाली अनुवाद प्रकाशित भयो (पुुष्पलालः उही, पृ.२९) ।

कम्युनिष्ट घोषणापत्रको अनुवादसँगै पुुष्पलालको भूमिका रहेको छ । उक्त भूमिकामा पुुष्पलालले कम्युुनिष्ट घोषणापत्र प्रकाशन हुनुको पृष्ठभूमि, फ्रान्सेली राज्यक्रान्ति र औद्योगिक क्रान्ति, युरोपको मजदूर आन्दोलनदेखि लिएर दोस्रो विश्वयुद्धपश्चात विकसित राजनीतिक घटनाक्रमकाे चर्चा गर्नुुभएको छ ।

पुष्पलाल राणाविरोधी संघर्षलाई वर्गीय दृष्टिकोणले पनि परिभाषित गर्दै हुनुहुन्थ्यो भन्ने तथ्य उहाँले उक्त भूमिकामा गरेको यो विश्लेषणले इंगित गर्छः– आज चालीस राणाको आजादीलाई नेपाली जनताको आजादी भन्न सकिन्न, त्यस्तै भोलि दुइसय नेपाली जमीन्दार र पूँजीपतिको आजादीलाई नेपाली जनताको आजादी भन्न सकिन्न । नेपाल तबैमात्र पूर्णरूपले आजाद हुन सक्दछ, जब यो कम्युनिष्ट घोषणापत्र नेपालमा कार्यरूपले परिणत हुनेछ । (भुसालः२०७३, पृ.६)

नेकपा गठन र विकासक्रम

कम्युनिष्ट घोषणापत्रको नेपाली अनुवादसँगै पुुष्पलाल नेपाल कम्युनिष्ट पार्टीको स्थापनातर्फ सक्रिय हुन थाल्नुुभयो । कम्युनिष्ट साहित्यको नेपाली अनुवाद गर्ने र प्रचारप्रसारमा लागिपरेका पुुष्पलाललाई छिटो भन्दा छिटो कम्युुनिष्ट पार्टीको स्थापना गरी सांगठनिक गतिविधिमा लाग्ने सल्लाह नृपेन्द्र चक्रवर्तीले दिएका थिए ।
राणाशासन विरुद्ध संघर्ष गरिरहेका नेपालीहरू मध्ये केही कम्युनिष्ट विचारधाराबाट प्रभावित भईरहेका थिए । जस्तो कि मनमोहन अधिकारी भारतीय कम्युुनिष्ट पार्टीको बनारस शाखाको सदस्य भइसकेका थिए । सन् १९४७ तिर कलकत्तामा ‘मार्क्स्सिस्ट स्टडी ग्रुप’ गठन भएको थियो जसमा केशरजंग रायमाझी, हिक्मत सिंह भण्डारी, डि.पी.अधिकारी, नरबहादुर कर्माचार्यसहित पुुष्पलाल पनि थिए ।

यी सबै वातावरणको माझबाट फरक ढंगले पुुष्पलालले सोचिरहनुुभएको थियो । उहाँले यो बीच धेरैजनासँग भेटघाट र बहस गर्नुभएको पाइन्छ । कैयौंसँग उहाँको मत बाझिएको छ । कम्युनिष्ट पार्टी स्थापनाको पुर्वाद्धमा भएका यस्ता जमघट र छलफलबारे पुुष्पलालले यसरी लेख्नुुभएको छः
मलाई भेट्न भनी दोस्रोपटक गंगालाल पनि आइपुुगे । उनी काठमाडौं जेलमा कुुटपिट मुद्दामा पर्दा अमर शहीद शुक्रराजकाे संगतमा परी राजनीतिप्रति झुक्दै गएका थिए । तर उनको स्वभाव उग्रवादी र व्यक्तिवादी थियो । …सुवर्णका गुमस्ता सुन्दरराज चालिसेसँग पनि उनको भेट भएछ । …सुन्दरराज चालिसेसँग उनको भेटघाट भएपछि उहाँले नेपालमा कम्युनिष्ट पार्टीको गठनको साटो मजदुर–किसान या श्रमिक पार्टी गठन गर्ने कुरामा जोड दिन थाले । यो कुरा दार्जेलिङ्गमा उनको र मेरो सल्लाह भएको विपरीत कुरो थियो ।

दार्जेलिङ्गमा गणेशलाल सुुब्बासँग भेट भएपछि उनको र मेरो बीच पनि नेपालको राजनीतिलाई लिएर धेरै नै छलफल भयो । नेपालमा कम्युनिष्ट पार्टीको गठनका सम्बन्धमा उनको र मेरो तीव्र र कटु विवाद भयो । …नेपालमा कम्युनिष्ट पार्टीको गठनका सम्बन्धमा उनको त्यसबखत भनाइ थियो कि नेपाली कम्युनिष्टहरूले छुुट्टै कम्युनिष्ट पार्टी गठन नगरी नेपाली काँग्रेसभित्रै वामपन्थीदलको रूपमा काम गर्दै लाने र पछि उपयुक्त समयमा कम्युनिष्ट पार्टीको गठन गर्ने । (पुुुष्पलालः उही, पृ.३३–३४)

यो सबै उतारचढावका बीच पुुष्पलाल कम्युुनिष्ट पार्टी स्थापना गर्न आतुर हुनुुहुन्थ्यो । अन्ततः नेपालको राजनीतिक इतिहासमा एउटा नयाँ मोडले जन्म लियो । २२ अप्रिल १९४९ (२००६ वैशाख १०) गते कोलकताको श्यामबजारस्थित नवीन सरकार लेनको २८ नं. घरमा पुुष्पलालसहित निरञ्जन गोविन्द वैद्य, नारायणविलाश जोशी, नरबहादुर कर्माचार्य र दुुर्गादेवी (मोतीदेवी) सहित नेपाल कम्युनिष्ट पार्टी स्थापना भयो ।

नेपाल कम्युनिष्ट स्थापना हुँदै गर्दा दोस्रो विश्व युद्ध अन्त्य भएर शीतयुद्ध शुरु भइसकेको थियो । शीतयुद्धका बाछिटा संसारभर पर्न थालिसकेका थिए । अर्कोतर्फ औपनिवेशिक देशहरूमा मुक्ति संघर्षको लहर आएको थियो । चीनको नौलो जनवादी क्रान्ति विजयको नजिक थियो । भियतनाम, कोरियालगायतका देशमा कम्युनिष्ट नेतृत्वको राष्ट्रिय मुक्ति संघर्ष चलिरहेको थियो । भारतमा भर्खर भर्खर तेभागा–तेलंगाना किसान आन्दोलन भएको थियो । पूर्वी युरोप तथा एसियाली देशहरूमा कम्युनिष्ट पार्टी स्थापनाको लहर चलेको थियो । नेपालको कम्युुनिष्ट पार्टी त्यतिबेला एसियाको कान्छो कम्युनिष्ट पार्टी थियो ।

स्थापनासँगै ‘नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई अत्यावश्यक अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ’ शीर्षकको अपील जारी भयो । उक्त अपिलमा नेपालको प्रजातान्त्रिक आन्दोलनलाई विश्व समाजवादी आन्दोलनसँग जोड्ने प्रयत्न गरिएको छ । अपीलमा मजूदर, किसान,विद्यार्थी, महिला सबैलाई आ–आफ्नो अधिकारको लागि सङ्घर्ष गर्न आह्वान गरिएको छ । त्यस्तै अपीलमा ‘काँग्रेसी नेताहरूको मेलमिलापको बाटो त्यागी अविराम युद्धनीति अपनाउने’ उल्लेख गरिएको छ । नेकपाले स्थापनादेखि नै आफ्नो वर्गीय दृष्टिकोण प्रष्ट पारेको देखिन्छ । काँग्रेसको प्रजातन्त्रभन्दा फरक अपीलको अन्त्यमा ‘नवप्रजातन्त्र’लाई उल्लेख गरिएको छ । यो चीनमा माओत्सेतुङले अगाडि सारेको ‘नौलो जनवाद’को अवधारणा नै थियो ।

नेपाल कम्युुनिष्ट पार्टीको स्थापना र अपील प्रकाशन लगत्तै यसको संगठन विस्तार पनि फैलिँदै गयो । प्रवासमा र देशभित्र पार्टीको सम्पर्क बढ्न थाल्यो । यसैक्रममा पार्टीमा हिक्मतसिंह, केशरजंग रायमाझी, तुल्सीलाल अमात्य, डि.पी.भण्डारीलगायत पनि जोडिन आइपुुगे । सांगठनिक गतिविधि र सैद्धान्तिक दृष्टिकोण प्रष्ट पार्न पार्टीको मुखपत्र प्रकाशनको आवश्यकता भयो । त्यस्तै नेपाल कम्युनिष्ट पार्टीको सैद्धान्तिक दृष्टिकोण र राजनीतिक कार्यक्रम प्रष्ट पार्न घोषणापत्रको आवश्यकता पनि बोध भयो । फलस्वरूपः ‘कम्युनिष्ट पाक्षिक पत्र’ प्रकाशन गर्ने निर्णय भयो । त्यसको पहिलो अंक १५ सेप्टेम्बर १९४९ (३० भदौ २००६) मा प्रकाशित भयो । पहिलो अंकमा नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र प्रकाशित भयो ।

चार भागमा विभाजित घोषणापत्रमा पुुष्पलालले सोभियत संघसहित कम्युनिष्ट देशहरू र ‘अंग्रेज–अमेरिकी’ साम्राज्यवादमा विभाजित तत्कालीन विश्वपरिस्थिति, बेलायत–भारत–नेपाल बीच भएको गोर्खा फौजलाई कायम राख्ने सम्झौता, काँग्रेस पार्टीका दुवै गुटको वैचारिक दृष्टिकोण आदिको विश्लेषण गर्नुभएको छ । सबैभन्दा महत्त्वपूर्ण घोषणापत्रमा पुुष्पलालले नेपाली समाजको विश्लेषण गर्ने कोशिस गर्नुभएको छ र नेपाली कम्युनिष्ट आन्दोलनको राजनीतिक कार्यक्रम अगाडि सार्नुभएको छ । ‘जनताको जनतन्त्र’ शब्दावली प्रयोग गरेर खासमा पुुष्पलालले नेपाली क्रान्तिकाे कार्यक्रम ‘नौलो जनवाद’ रहेको ठम्याएका छन् । घोषणापत्रमा लेखिएको छः ‘…नेपाल आज त्यस पूँजीवादी आर्थिक–प्रथातिर लाग्दैछ, जुन यस आर्थिक संकटमा खल्बलिएर भताभुंग भएको छ ।

नेपाली जनताको मुक्तिको बाटो यो होइन, पतनको बाटो हो । यसकारण नेपाली जनताले अर्कै बाटो लिनुपर्दछ । यो बाटो हो– वर्तमान सामन्तवादी प्रथा र नेपालमा फैलिएको साम्राज्यवादी तथा पूँजीवादी शोषणको जुआलाई सफाचट गर्ने बाटो ! हामीले विश्व–प्रजातन्त्रीय गुटहरूसँग काँधमा–काँध मिलाएर अगाडि बढ्नुपर्दछ । अनि मात्र हामी मजदूर–वर्गको नेतृत्वमा पसीना चुहाउने जनताको प्रजातन्त्रीय राष्ट्र खडा गर्न सक्नेछौं । यस (राष्ट्रको) शासन–व्यवस्थामा देशको धन–जनको मालिक जनता हुनेछन् । जनताकै हितको निम्ति सरकारले यस्ता धन–जनहरूको प्रयोग गर्नेछ । अतः नेपाली जनताले आखिरी साससम्म जनताको जनतन्त्र र समाजवादको निम्ति लड्नु पर्दछ ।’ (भुुसाल, २०७३, पृ. ४०)

कम्युुनिष्ट पार्टी स्थापना र घोषणापत्र प्रकाशनमात्र होइन सांगठनिक गतिविधि पनि जोडतोड साथ चल्न थाले । पार्टी केन्द्रमा ‘नियमित पार्टी क्लास’ सञ्चालन हुन थाल्यो । पार्टी क्लासको लागि भारतीय कम्युनिष्ट पार्टीसँग सहयोग लिइएको थियो र अयोध्या सिंह (भाइसाहेब नामबाट चिनिने) प्रशिक्षक भएका थिए । पार्टीलाई जनतामाझ पुुर्याउन र संगठित गर्न जनवर्गीय संगठनहरू स्थापना गरिए । त्यस्तै काठमाडौं, पाल्पा, धरान, विराटनगर, बारा, पर्सा, रौतहट आदि ठाउँमा पार्टी कमिटिहरू निर्माण भए ।

स्थापनाको निकै छोटो अवधिमा कम्युनिष्ट पार्टीको लोकप्रियता र प्रभाव फैलिएको देखिन्छ । शीत युद्धको आक्रामक विस्तारका कारण पनि नेपालको कम्युनिष्ट आन्दोलनप्रति चासो बढेको हुनुपर्छ । अर्कोतर्फ एक शताब्दीदेखि निरकुंश शासन भोगिरहेको र प्रजातान्त्रिक आन्दोलन पनि नभएको देशमा कम्युनिष्ट पार्टी स्थापना भएको थियो । अन्य औपनिवेशिक देशहरूमा कम्युनिष्ट पार्टीहरूले राष्ट्रिय मुक्ति युद्ध गरिरहेका थिए भने नेपालमा कम्युनिष्ट पार्टीले निरंकुश सामन्ती राज्यव्यवस्थासँग संघर्ष गर्नु थियो ।

नेपाल कम्युुनिष्ट पार्टीको स्थापना कतिसम्म प्रभावकारी घटना थियो भने नेकपाको पाक्षिक प्रकाशनको संक्षिप्त विवरण अनुवाद गरेर सिआईएले आफ्नो केन्द्रीय कार्यालय पठाउँथ्यो । सिआईएले तत्कालीन समयमा पठाएका रिपोर्टहरूको छानिएका केही अंशहरू पछिल्ला केही वर्षदेखि सार्वजनिक भएका छन् । सार्वजनिक विवरणहरूमा पनि नेपालमा कम्युनिष्ट पार्टी फैलिन थालेको र नेपाली काँग्रेसले राणा विरुद्ध संघर्ष गर्ने नाममा कम्युनिष्ट फैलावट नरोकेको भन्ने उल्लेख छ । त्यसैले पुुष्पलालबाट थालनी भएको यो कम्युनिष्ट यात्रा शुुरुवातबाटै प्रभावशाली घटनाको रूपमा देखापरेको थियो ।

सातसालको आन्दोलनमा नेकपा

नेपाली काँग्रेसले जहाँनिया राणा शासनको विरोधमा सशस्त्र संघर्ष घोषणा गरेपछि नेपाल कम्युनिष्ट पार्टी पनि उक्त संघर्षमा सामेल भयो । नेकपा राणाविरोधी आन्दोलनलाई सामन्तवाद विरोधी संघर्षको उचाईमा उठाउन चाहन्थ्यो । पुुष्पलालले लेख्नुुभएको छः
वास्तवमा नेपाल कम्युनिष्ट पार्टीले आफ्नो विज्ञप्ति प्रकाशित गरी राणाविरोधी २००७ सालको क्रान्तिलाइ समर्थन मात्र नगरी सफलताको मंजिलमा पुर्याउने नीति पनि स्पष्ट रूपमा लिइएको थियो । त्यसका निम्ति नेपाल कम्युनिष्ट पार्टीले सशस्त्र संघर्षलाई भित्री पहाडी इलाकामा फैलाउने र क्रान्तिकाे दौरानमा नै आमजनतालाई सशस्त्र गरी फटाहाहरूको तमसुक च्यात्ने र किसानलाई जमिनको मालिक बनाउने र त्यसको रक्षाको निम्ति ठाउँ–ठाउँमा जनताले रोजेको सरकार गठन गर्ने नीति लिएको थियो । नेपाल कम्युनिष्ट पार्टी उक्त संघर्षलाई दीर्घकालीन सशस्त्र कृषि क्रान्तिमा परिवर्तन गर्न चाहन्थ्यो । (पुुष्पलालः२०५३, पृ.६२)

तर, नेपाली काँग्रेसले आफ्नो वर्गीय अनुहार पर्दाफास गरिहाल्यो । नेकपाका कार्यकर्ताहरू पक्राउ पर्न थाले । मोरंग कब्जा गरेपछि बनेको विद्रोही सरकारले मनमोहन अधिकारी, डी.पी. अधिकारी, नरबहादुरलगायतलाई कैद गर्यो । काँग्रेसलाई पुरै सहयोग गरिरहेको भारतको नेहरू सरकारले रक्सौलमा तुलसीलाल अमात्य, केदार उपाध्याय लगायतलाई पक्राउ गर्यो । पुुष्पलाल पनि भारतमा भूमिगत हुन बाध्य हुनुुभयो ।

नेहरू सरकारले नेपाली कांग्रेसकै आन्दोलनलाई पनि आफ्नो नियन्त्रणमा राख्यो । राजा त्रिभुवनलाई पाल्पा पुर्याएर समानान्तर सरकार गठन गरी देशैभर राणाविरुद्ध सशस्त्र संघर्ष गर्ने कांग्रेसको योजना असफल भयो जसको मुखय कारक थियो दिल्ली । राजा त्रिभुवनलाई भगाएर दिल्ली लैजान सफल भएको नेहरू सरकार राणालाई दबाबका लागि उनको उपयोग गर्न चाहन्थ्यो । खासमा नेहरूको शुरुवाती नीति थियो, ‘मध्य मार्ग’ । प्रजातान्त्रिक सुधार गरेर राणाहरूलाई नै शासनमा राखिरहने उद्देश्यले त्यो नीति तय गरिएको थियो ।

चिनियाँ कम्युनिष्ट शक्तिलाई नेपालसम्म आउनबाट रोक्न त्यो आवश्यक छ भन्ने ठम्याइमा थिए नेहरू । तर, ज्ञानेन्द्रलाई राजा बनाएर बेलायत र अमेरिकाबाट त्यसप्रति सम्मति (रिकगनिसन) लिन राणाहरू लागेपछि नेहरू सरकार अत्तालियो । उसले नेपाली कांग्रेसको सशस्त्र संघर्षलाई छुट दियो ।

जब सशस्त्र संघर्षको क्रममा काँग्रेस भित्रकै वामपन्थी नेताहरूले स्थानीय सामन्तीविरुद्ध क्रान्तिकारी कदम चाल्न थालेपछि भने क्रान्तिलाइ सम्झौतामा टुुङ्ग्याउने हतार हुन थाल्यो । भारतले राजा र कांग्रेसको शक्तिको भरमा राणा शासकलाई आफ्नो प्रस्तावमा सहमत हुन बाध्य गरायो । जसको प्रतिफल थियो, दिल्ली सम्झौता । त्रिपक्षीय सम्झौता भनिए पनि नेहरू सरकारले तय गरेर सबैलाई स्वीकार्न बाध्य गराइएको सम्झौता थियो त्यो । दिल्ली सम्झौतालाई नेकपाले विरोध गर्याे । दिल्ली सम्झौताको विरोधमा काँग्रेसका वामपन्थी नेताहरूले चालु राखेको संघर्षलाई भारतीय सेनासमेतको प्रयोगले दमन गर्न थालियो । नेकपाले उक्त दमनको डटेर विरोध गर्याे ।

प्रथम सम्मेलनः एउटा महत्त्वपूर्ण मोड

दिल्ली सम्झौता र परिवर्तित राजनीतिक घटनाक्रमलाइ मूल्याङ्कन गरी स्पष्ट दिशानिर्देश गर्न नेकपाको प्रथम सम्मेलन सन् १९५१ सेप्टेम्बर २७ देखि अक्टोबर २ (आश्विन २००८) सम्म ६ दिन चल्यो । सम्मेलन भाारतको कलकत्तामा भएको थियो जसमा एक महिला सहित ५० जना प्रतिनिधिहरू उपस्थित थिए । सम्मेलनमा पुुष्पलालले ‘जातिय आन्दोलनमा नेपाल कम्युनिष्ट पार्टी’ र ‘नयाँ जनवादको निम्ति नेपाली जनताको बाटो’ शीर्षकका दुुई राजनीतिक दस्तावेज पेश गर्नुभएको थियो । सम्मेलनले पार्टीको विधान पनि पारित गरेको थियो । पुुष्पलालको भाषामा यो ‘पार्टीको जीवनमा पहिलो चोटि पार्टीको कार्यक्रम, नीति तथा संगठनात्मक समस्यामा आमपार्टीका प्रतिनिधिहरू बसी छलफल भएको यो पहिलो पटक थियो ।’(पुष्पलालः२०५३, पृ.६५)

सम्मेलनले पार्टीको सांगठनिक ढाँचा र जनवादी केन्द्रीयताको प्रणालीलाई प्रष्ट पार्याे । त्यस्तै पार्टीको महामन्त्रीमा पुुष्पलाललाई चयन गर्यो र ५ सदस्यीय राजनीतिक समिति निर्माण गर्यो । राजनीतिक समितिमा भाइसाहेब (अयोध्या सिंह), मनमोहन अधिकारी, तुलसीलाल अमात्य र शैलेन्द्रकुमार उपाध्याय थिए । राजनीतिक कार्यक्रमकाे हिसाबले सम्मेलनले प्रष्ट भाषामा नयाँ जनवादलाई पारित गर्यो । त्यस्तै अधुरो क्रान्ति पूरा गर्ने बाटोतिर अग्रसर हुने, त्यसका लागि राष्ट्रिय स्तरमा संयुक्त मोर्चा गठन गर्ने निर्णय गर्यो । सम्मेलनले सामन्ती शोषण विरुद्ध किसान आन्दोलनलाई तेज गर्ने फैसला गर्यो ।

नेपाली कम्युनिष्ट आन्दोलनलाई एउटा निश्चित दिशा प्रदान गरेकाले यो प्रथम सम्मेलन ऐतिहासिक मोड थियो । सम्मेलनले सांगठनिक ढाँचालाई स्पष्ट गरेको थियो र किसान आन्दोलनलाई महत्त्वपूूर्ण जोड दिएको थियो ।

प्रथम सम्मेलनको दुुई महिनामै ‘जातीय जनतान्त्रिक संयुक्त मोर्चा’ को काठमाडौंमा उद्घाटन भएको थियो । मोर्चामा नेकपा, विभिन्न वर्गीय संगठनहरू र नेपाल प्रजापरिषद् सामेल थिए । संयुक्त मोर्चाको उद्देश्य साल सालको अधुरो क्रान्ति पुरा गर्ने थियो । तर पछि प्रजा परिषद्का नेताहरू मोर्चाबाट अलग भई मातृका मन्त्रीमण्डलमा सहभागी भए ।

सम्मेलनको अर्को उपलब्धि किसान आन्दोलनहरूको व्यापकता थियो । किसान आन्दोलन बाँके, बर्दियादेखि रामेछाप, भोजपुर, गोर्खा, तनहुँ, कास्की, पाल्पा, डोटी आदि क्षेत्रमा व्यापक भयो । सबैभन्दा लामो समय र सघन रूपमा सप्तरी, धनुसा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाहीमा किसान आन्दोलन चर्किएको थियो । ती किसान आन्दोलनबारे पुुष्पलालले लेखेका छन्, “बारा, पर्सा, रौतहट र सर्लाहीमा विशाल रूपमा ‘तमसुक फुक्का’ आन्दोलन उठ्यो । १०/१५ दिनसम्म त्यहाँ सरकारको राज्य खतम भई किसानको राज कायम भएको थियो । ५० सौ लाखका जाली तमसुकहरू आगो फुकिए । जमिन्दारहरूको कचहरीको साटो किसानको अदालत कायम भयो र किसान संघले आफ्नो घुम्ती जेलसम्म पनि खडा गरेको थियो ।” (पुुष्पलालः२०५७, पृ. ७७)

तत्कालीन किसान संघर्षका दुुई पक्ष थिए । एक, नेपाली काँग्रेसभित्रका वामपन्थी नेताहरूको नेतृत्वमा सञ्चालित । दुुई, नेकपाको जनवर्गीय संगठन अखिल नेपाल किसान सङ्घको नेतृत्वमा सञ्चालित । यसमध्ये भीमदत्त पन्त नेतृत्वको सङ्घर्षलाई भारतीय सेना प्रयोग गरेर दमन गरियो । अन्य किसान आन्दोलनहरू सरकारी दमन, आन्दोलनभित्रकै कमजोरी र कम्युनिष्ट पार्टीले राष्ट्रिय स्तरमा उठाउन प्रयत्न नगरेकै कारणले पनि निस्तेज हुँदै गयो । तर, किसान आन्दोलनकै कारण आजपर्यन्त भूमिसुधार नेपाली राजनीतिको एउटा प्रमुख मुद्दा बनिरहेको छ ।

अल्पमतमा पुुष्पलाल

नेपालको कम्युनिष्ट आन्दोलनमा २००९ जेठ,असार (१९५२ जुन–जुलाई) मा अप्रत्याशित र अस्वाभाविक घटना भएको थियो । कुनै पनि पार्टीको नेतृत्व परिवर्तनको आवश्यकता नै पर्यो भने पनि महाधिवेशन वा कुनै राष्ट्रिय सम्मेलनले निर्णय लिन्छ । तर, उक्त मितिमा पार्टीको पोलिटब्युरोको बैठक भयो । बैठकमा अनायास महासचिव परिवर्तनको प्रस्ताव आयो । ५ सदस्यीय पोलिटब्युरोमा ४ जनाले पुुष्पलाललाई महासचिवबाट हटाएर मनमोहनलाई स्थापित गरियो । नेकपा नेतृत्व हत्याउने यो षड्यन्त्र २००७ चैत्रतिरबाटै शुरु भएको महेशमणि दीक्षितले उल्लेख गरेका छन् । दीक्षित लेख्छन्ः– शैलेन्द्रकुुमार उपाध्यायले २००७ चैतको अन्तिमतिर नै वीरगञ्जमा दक्षिण गण्डक प्रान्तीय समितिका सदस्यहरूको बीच पुुष्पलाल श्रेष्ठको विरुद्ध र मनमोहन अधिकारीको पक्षमा प्रचार शुरु गरिसकेका थिए । पुुष्पलालको विरुद्ध क्रमशः शैलैन्द्रकुमार उपाध्याय, डी.पी. अधिकारी सधैंको षड्यन्त्रकारी, केशरजंग रायमाझी, शम्भुराम श्रेष्ठ र मनमोहन अधिकारीको गुट खडा गरियो । जुन गुटले २००९ जेठ–असारमा बटेश्वरको बैठकमा पुुष्पलाल श्रेष्ठलाई महासचिव पदबाट हटाएर मनमोहन अधिकारीलाई महासचिव पदमा नियुक्त गर्यो । बटेश्वरको केन्द्रीय समितिको बैठकले ‘जसको जोत उसको पोत’को नाराको ठाउँमा जग्गा स्वामित्वको हदबन्दी लगाउने र दरबारको बढ्दो शक्ति प्रभाव र षड्यन्त्रको विरुद्ध कम्युनिष्ट–काँग्रेस एकतालाई कायम गर्नु पर्ने कुरालाई प्राथमिक महत्त्व दियो । (उपाध्याय र अन्यः२०५२, पृ.८५)

दीक्षितले पुुष्पलाल विरुद्धको यो कदमलाई भारतीय कम्युनिष्ट आन्दोलनको प्रभावसँग जोडेका छन् । त्यतिबेला भाकपामा राजेश्वर रायको सशस्त्र किसान क्रान्तिकाे प्रस्थापनाको विरुद्ध अजय घोष र श्रीपाद अमृत डाँगेको डाग दस्तावेज पारित भएको थियो र अजय घोष महासचिव भइसकेका थिए । भारतीय कम्युनिष्ट आन्दोलनको स्थापना र विकासमा बेलायती कम्युनिष्ट पार्टीको प्रत्यक्ष र परोक्ष सम्बन्ध रहेको छ । बेलायती कम्युनिष्ट पार्टी क्रान्तिमाफर्त राज्य व्यवस्थाको परिवर्तन भन्दा पनि चुनावमार्फत् संसदमा सहभागिता, संसदबाटै सरकारमा हस्तक्षेपलाई बढी जोड दिन्थ्यो । भारतीय कम्युनिष्ट पार्टीमा अजय घोष र डाँगेले बेलायती कम्युनिष्टकै लाइनलाई अगाडि बढाइरहेका थिए । खासमा भारतीय कम्युनिष्ट आन्दोलनमा देखापरेको संशोधनवाद नेपाली कम्युनिष्ट आन्दोलनमा घुसिसकेको थियो । नेतृत्वबाट हटाइएको यो कदमबारे पुुष्पलालले त्यति खुलेर कतै लेख्नुुभएको पाइँदैन । नेतृत्वबाट हटाइए पनि पुुष्पलाल नेपाली कम्युुनिष्ट आन्दोलनलाई सही दिशा दिन सँधै अग्रसर हुनुहुन्थ्यो ।
२००८ माघ ८ गते भएको डा. के.आई.सिंह काण्डपछि नेकपालाई तत्कालीन मातृका कोइराला सरकारले माघ १० गतेदेखि प्रतिबन्ध लगायो । यो प्रतिबन्ध २०१४ वैशाख ४ गतेसम्म रह्यो । प्रतिबन्धित अवस्थामा नेकपाको प्रभाव झनै बिस्तार भयो । यहीं अवधिमा पूर्वी तराईमा किसान आन्दोलन चल्यो । राष्ट्रव्यापी र राजनीतिक उचाईमा उठ्ने सम्भावना बोकेका यी किसान आन्दोलनहरू अनुभवको कमी र पार्टी नेतृत्वका उदासिनताको शिकार बने । सम्भवतः पुुष्पलालको नेतृत्वको कमीको यहाँ झल्कियो ।

प्रतिबन्धित अवस्थामा नै नेकपा २०१० भदौमा भएको काठमाडौं नगरपालिकाको प्रथम स्थानीय निर्वाचनमा भाग लियो । उक्त निर्वाचनमा १८ वडामध्ये ६ वडामा विजयी भएर काठमाडौंमा आफ्नो उपस्थिति बलियो रहेको पुष्टि गर्याे ।

प्रथम महाधिवेशनः

प्रतिबन्धित अवस्थामा नै नेकपाको प्रथम महाधिवेशन २०१० माघ १३ देखि १७ सम्म पाटनको व्वावहालमा भूमिगत अवस्थामा सम्पन्न भयो । महाधिवेशनले मनमोहन अधिकारीले प्रस्तुत गरेको ‘केन्द्रीय कमिटिको रिपोर्ट’ र ‘नेपाल कम्युनिष्ट पार्टीको कार्यक्रम’ एकमतले पारीत गर्यो । महाधिवेशनले १३ सदस्यीय केन्द्रीय नेतृत्व र ५ जनाको पोलिटब्यूरोको गठन गर्यो । पोलिटब्यूूरोमा मनमोहन अधिकारी, पुुष्पलाल, शैलेन्द्रकुुमार उपाध्याय, डी.पी.रायमाझी र शम्भुराम श्रेष्ठलाई चयन ग¥यो भने मनमोहन अधिकारीलाई महासचिवमा चयन गर्यो । २०१२ सालमा भएको पार्टीको दोस्रो सम्मेलनले डा. केशरजंग रायमाझीलाई पोलिटब्युरो सदस्य बनाएको थियो । (के.सी.: २०६५, पृृ.१७२)

प्रथम महाधिवेशनले पार्टी स्थापनाको समयमा जारी गरिएको नेकपाको घोषणापत्रलाई संशोधन गर्यो । घोषणापत्रले एकातर्फ सात सालको उपलब्धि रक्षा गर्नको लागि सर्वदलीय सम्मेलन र त्यसबाट अन्तरिम मन्त्रीमण्डल निर्माण गर्ने र उक्त मन्त्रीमण्डलले विधान परिषद्को निर्वाचन गर्ने माग राख्यो । तर, महाधिवेशनले पार्टीको प्रथम घोषणापत्रको विपरीत “राज्यको प्रधानलाई कुनै विशेषाधिकार नदिइयोस्” उल्लेख गर्यो । यसको अर्थ संवैधानिक राजतन्त्रको स्वीकारोक्ति पनि हुन सक्थ्यो । यसरी प्रथम महाधिवेशनले गणतन्त्र वा नौलो जनवादको प्रष्ट राजनीतिक कार्यक्रम पारित गरेन । पुुष्पलालको शब्दमा ‘कार्यक्रममा रहेको यो कमजोरी पछि गएर समस्त पार्टीमा राजतन्त्र पट्टी भ्रम फैलाउने ठूलो सैद्धान्तिक आधार सिद्ध हुन गयो ।’ (पुुष्पलाल, छानिएका रचना ३, पृृ.१७)

दोस्रो महाधिवेशनः

दोस्रो महाधिवेशन २०१४ जेठ १४ देखि २५ गतेसम्म काठमाडौंमा भएको थियो । महाधिवेशनको उद्घाटन फोहोरा दरबारस्थित प्रभा सिनेमा हलमा भएको थियो । महाधिवेशनको समयमा महासचिव मनमोहन अधिकारी चीनमा उपचाररत थिए भने कार्यवाहक महासचिव डा.केशरजंग रायमाझी थिए । दोस्रो महाधिवेशमा पोलिटब्युरोको चारजनाको बहुमतको तर्फबाट डी.पी.अधिकारीले प्रस्तुत गरेको दस्तावेज ‘पार्टी कार्यक्रममा परिवर्तन किन ?’ अस्वीकृत भयो । उक्त दस्तावेजले संसदीय व्यवस्था, संवैधानिक राजतन्त्र र शान्तिपूर्ण संक्रमण लाइन पेश भएको थियो । महाधिवेशनले भने पुुष्पलालको लाइन नीति पारित गर्यो । पुुष्पलालको नीति थियो— “गणतन्त्रको नारालाई सुरक्षित गर्दै तत्काल विधानसभाका लागि संघर्ष गर्ने ।” सात सालमा दिल्ली सम्झौताका क्रममा विधानसभाको चुनावबाट नयाँ संविधानको निर्माण गर्ने निर्णय गरिएको थियो । तर, राजाले विधान सभाको निर्वाचन गराउन ढिला गरिरहेका थिए । महाधिवेशनले १७ सदस्यीय केन्द्रीय समिति चयन गर्यो । महासचिवको लागि केशरजंग र पुुष्पलालको उम्मेदवारी परेकोमा १२ मतले केशरजंग निर्वाचित भए । यसरी दोस्रो महाधिवेशनले नीति पुुष्पलालको पारित गर्यो तर नेता भने केशरजंगलाई चयन गर्यो (के.सी.ः२०६५, पृृ.१७६)। यो नेपाली कम्युनिष्ट आन्दोलनमा संशोधनवादको प्रवेश थियो । संशोधनवादको प्रवेश प्रथम महाधिवेशनबाटै भएको थियो र दोस्रो महाधिवेशनमा नेतृत्व हत्याएको थियो ।

चुनावमा पुुष्पलाल

अन्तरिम संविधान विपरीत राजा महेन्द्रले संसद्को निर्वाचनको घोषणा गर्दा शुरुमा पुुष्पलालकोे विरोध रह्यो । नेपाली काँग्रेसले पनि संसद्को निर्वाचन स्वीकारेको हुनाले काँग्रेसको सम्झौतावादी विचारको विरोध गर्दै संविधानसभाको लागि संघर्ष गर्नुपर्नेमा पुुष्पलाल अडिग हुुनुहुन्थ्यो । पछि राजाको कदमको विरोध गर्दै निर्वाचनमा भाग लिने पार्टी निर्णय भएपछि पुुष्पलाल चुनावमा होमिनुुभयो । चुनावको लागि बनाइएको केन्द्रीय बोर्डको सचिव रहेर पार्टीलाई चुनावमा परिचालन गर्नेदेखि आफैँ काठमाडौं निर्वाचन क्षेत्र नं. १ को उम्मेदवार बन्नुुभयो । निर्वाचन परिणाममा गणेशमान सिंह विजयी हुँदा उल्लेखनीय मत सहित उपविजेता बन्नुुभयो । देशको पहिलो आमनिर्वाचनमा नेकपा ४ स्थानमा विजयी भएको थियो ।

चुनाव पछि बी.पी.कोइराला नेतृत्वको सरकार बन्यो । बी.पी.कोइराला सरकारप्रति तुलनात्मक समर्थन हुँदाहुँदै पनि गण्डक सम्झौताको बने नेकपाले डटेर विरोध गर्यो । २०१७ वैशाख १० गते गण्डक सम्झौताको विरोधमा आयोजित सभालाई पुष्पलालले सम्बोधन गर्नुभयो ।

२०१७ साल, दरभङ्गा प्लेनम र तेस्रो महाधिवेशन

२०१७ पुस १ गते राजा महेन्द्रले सैनिक ‘कु’ मार्फत् शासन कब्जा गरेपछि नेपालको कम्युनिष्ट आन्दोलन पुनःगठन र विचलनको गम्भीर मोडमा पुुग्यो । नेकपाका कैयौं नेता, कार्यकर्ता पक्राउ परे भने पुुष्पलाल भूमिगत हुनुुभयो । शाही कुु हुँदा नेकपा महासचिव डा. केशरजंग रायमाझी मस्कोमा थिए । त्यतिबेला पोलिटब्युरोको ३ सदस्यमात्र काठमाडौंमा थिए । पुुष्पलालको पहलमा पोलिटब्युुरोको बैठक बसेर राजाको कदमको विरोध गर्दै जतनाको मौलिक अधिकार संरक्षण हुनुुपर्ने, गिरफ्तार व्यक्ति रिहा हुनुपर्ने माग राखेर वक्तत्व जारी भयो ।

डा. माझी मस्कोबाट काठमाडौं नआई दरभंगा आएर त्यहीँबाट राजाको समर्थनमा वक्तत्व जारी गरे । बहुमत पोलिटब्युरो सदस्यले राजाको कदमको विरोध गरिसकेको अवस्थामा पार्टी महासचिवको कदमले नेकपा फुटतर्फ जान थाल्यो ।

पार्टी नीति तय गर्न भारतको दरभंगामा पार्टीको केन्द्रीय प्लेनम (केन्द्रीय समितिको विस्तारित बैठक) आयोजना भयो । उक्त प्लेनमा ५ पोलिटब्युरो सदस्यसहित २४ जिल्लाको प्रतिनिधित्व गर्ने ५४ केन्द्रीय सदस्यहरूको उपस्थिति थियो । प्लेनममा तीन राजनीतिक कार्यदिशा प्रस्तुत भए — केशरजंग रायमाझीद्वारा संसदीय व्यवस्थाको पुनःस्थापनाको निम्ति सङघर्ष गर्ने, पुुष्पलालद्वारा विघटित संसदको पुनःस्थापनाको लागि सङ्घर्ष गर्ने र मोहनविक्रम सिंहद्वारा संविधानसभाको निर्वाचनको लागि सङ्घर्ष गर्ने । कुनै राजनीतिक लाइन निक्र्यौल गर्न नसके पनि प्लेनमले डा. रायमाझीको राजावादी रुझानको कारण उनलाई महासचिवबाट हटायो । तीनजनाको सचिवालय गठन भयो । सचिवालयमा केशरजंग रायमाझी, शम्भुुराम श्रेष्ठ र डीपी अधिकारी रहने निर्णय भयो प्लेनमले ९ महिनाभित्र तेस्रो महाधिवेशन बोलाउने निर्णय गर्यो ।

प्लेनमले निर्णय गरे अनुसार सचिवालय चलेन । महाधिवेशनको कुनै संकेत देखापरेन । बरु डा. रायमाझी दरबारको निकट हुन थाले ।

पार्टीलाई निश्चित राजनीतिक दिशामा अगाडि बढाउन अन्तर जोन सामन्जस्य समितिको आयोजनामा २०१९ वैशााख ४–१५ (१९६२ अप्रिल १६–२७)मा भारतको बनारसमा तेस्रो महाधिवेशन सम्पन्न भयो । महाधिवेशनमा तुुलसीलाल अमात्यले ‘सर्वसत्ता सम्पन्न संसद्’, पुुष्पलालले ‘विघटित संसदको पुनःस्थापना’ र मोहनविक्रम सिंहको तर्फबाट बलराम उपाध्यायले ‘संविधान सभा’को राजनीतिक कार्यदिशा प्रस्तुुत गरे । महाधिवेशनले ‘राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम’ पारित गरी तत्काल संघर्षका लागि ‘सर्वशक्ति सम्पन्न सार्वभौम संसद्को स्थापना निम्ति संघर्ष गर’ भन्ने नीति पास गरेको थियो ।

यसरी स्थापनाको समयमा नौलो जनवादको कार्यक्रम बोकेको पार्टी ‘राष्ट्रिय प्रजातन्त्र’मा पुुगेको थियो । ‘राष्ट्रिय प्रजातन्त्र’ सोभियत संघले औपनिवेशबाट मुक्त नव स्वाधीन देशका लागि निर्माण गरेको राजनीतिक प्रस्ताव थियो । वास्तवमा ‘राष्ट्रिय प्रजातन्त्र’को अवधारणा निर्देशित प्रजातन्त्रको समर्थन नै थियो, तेस्रो विश्वमा प्रजातन्त्रका लागि आधार तयार नभइसकेकाले शक्तिशाली शासकले निर्देशन गरेको प्रजातन्त्र हुनुपर्छ भन्ने अवधारणा थियो । पुुष्पलालले ‘नौलो जनवाद’को पक्षमा तुलसीलालसँग सङ्घर्ष गरिरहनुुभयो । तत्कालीन परिवेशमा सोभियत संघ र चीनबीच शुरु भएको ‘महान् बहस’ले पनि ‘नौलो जनवाद’ र ‘राष्ट्रिय प्रजातन्त्र’बीचको बहसलाई झनै घनीभूूत पार्दैैै थियो । अर्कोतर्फ, डा. केशरजंग रायमाझी पक्षधरले २०२३ सालमा काठमाडाैंमा तेस्रो सम्मेलन गरेपछि नेकपा विधिवत रूपमा विभाजित भयो ।

पुनः नयाँ जनवाद

तुलसीलाल नेतृत्वमा नेकपाले खासै गतिविधि गर्न सकेन । तत्कालीन अवस्था नेपाली कम्युनिष्ट आन्दोलन अनेकौ फुट वा अलमलमा गुज्रेको देखिन्छ । पार्टीका केन्द्रीय बैठकहरू हुन छाडेका थिए । केन्द्रीय नेताहरूले पार्टीसँग सम्बन्ध तोडेका थिए । देशभित्र फरक–फरक क्षेत्रमा फरक फरक तरिकाले गतिविधि भइरहेका थिए । पार्टी महासचिव रहेका तुलसीलाल बनारस छोडेर दरभंगा गएर बसेका थिए ।

यस्तो विषमकम्युनिष्ट आन्दोललाई पुनः सही दिशामा डोर्याउन पुुष्पलाल प्रयत्नशील हुनुहुन्थ्यो । पुुष्पलाल पार्टीलाई नयाँ ढंगले गति दिने सोचमा हुनुहुन्थ्यो । त्यसका लागि सैद्धान्तिक आधार निर्माण गर्न सैद्धान्तिक कामलाई बढी जोड दिनुुभयो । यहीं क्रममा उहाँले आफ्नै सम्पादनमा ‘नेपालपत्र’ र ‘नेपाल ट्रिब्युन’ सम्पादन गरिरहनुुभएको पनि थियो । पुुष्पलालसहित केन्द्रीय कार्यालयमा उपलब्ध ६ जना केन्द्रीय सदस्यहरू सहित ‘नेपाली जनआन्दोलन एक समीक्षा’ र ‘नेपाल कम्युनिष्ट पार्टीको अठार वर्षको क्रान्तिकारी सङ्घर्षको सिँहावलोकन एवम् शिक्षा’ शीर्षकका दस्तावेजहरू तयार पार्नुभयो ।

२०२४ भदौमा पुुष्पलालले कन्भेन्सनको आयोजना गर्नुुभयो । कन्भेन्सनले ‘पार्टी सिंहावलोकन’ मस्यौदाको रूपमा पारित गर्‍यो र सम्मेलन आयोजना गर्ने निर्णय गर्‍यो । (रावलः२०४७, पृृ.६८)

कन्भेन्सनको निर्णयअनुसार २०२५ जेठमा भारतको गोरखपुरमा नेपाल कम्युनिष्ट पार्टीको तेस्रो ऐतिहासिक सम्मेलन आयोजना भयो । सम्मेलनमा गुल्मीदेखि रौतहट सर्लाहीसम्मका जिल्लाहरूका प्रतिनिधित्व थियो । सम्मेलनमा ४० जना सहभागी थिए । सम्मेलनले पुुष्पलाललाई महासचिवमा पुनःस्थापित गर्यो । सम्मेलनले ‘नेपाल कम्युनिष्ट पार्टीको अठार वर्षको क्रन्तिकारी सङ्घर्षको सिंहावलोकन एवम् शिक्षा’, ‘राजनीतिक प्रतिवेदन’, ‘सङ्गठनात्मक प्रस्ताव’ र ‘नयाँ जनवादी कार्यक्रम’ शीर्षकका चारवटा दस्तावेज पारित गर्यो ।

तेस्रो सम्मेलनले पारित गरेको दस्तावेजमा नेपाली समाजलाई अर्धउपनिवेशिक र अर्धसामन्ती विश्लेषण गर्दै नेपाली क्रान्तिकाे लक्ष्यबारे यस्तो लेखिएको छः– दरबारद्वारा नेतृत्व गरिएको नेपालको सामन्त वर्ग तथा अन्तर्राष्ट्रिय पूँजीवाद खास गरेर भारतीय एकाधिकार पूँजीवाद र अमेरिकी साम्राज्यवादद्वारा भैरहेको शोषणले गर्दा हाम्रो देशको सामाजिक स्थिति आज पनि अर्धऔपनिवेशिक तथा अर्धसामन्ती छ । जबसम्म नेपालको माटोबाट सामन्ती शोषण व्यवस्था र यसलाई आड तथा भरोसा दिई शोषण कार्यमा हिस्सेदार भइरहेको विदेशी पूँजीवाद खास गरेर भारतीय एकाधिकार पूूँजीवाद तथा अमेरिकी साम्राज्यवादर्ला समूल नष्ट गरिदैन तबसम्म नेपालको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक स्थिति पनि खतम हुन सक्दैन । अतः आजको हाम्रो क्रान्तिकाे लक्ष्य १) नेपालबाट सम्पूर्ण सामन्ती शोषण र यसको रक्षा गर्ने किल्लाको रूपमा काम गरिरहेको शाही पञ्चायती राज्ययन्त्रलाई समूल नष्ट गर्नु तथा २) विदेशी एकाधिकार पूँजीवाद, खास गरी भारतीय एकाधिकार पूँजीवाद तथा अमेरिकी साम्राज्यवादलाई खतम पार्नुु हो । (भुुसाल (सं.)ः२०७३, पृ. ११२)

त्यस्तै सम्मेलनले संयुक्त आन्दोलनलाई कार्यनीतिको रूपमा पारित गर्यो । दस्तावेजमा यस्तो लेखिएको छः– सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्थासँग अन्तर्विरोध राख्ने समस्त वर्ग तथा वर्गीय स्तरहरूसँग एकता कायम गर्ने र मुख्य रूपले आफ्नो सम्पूर्ण शक्ति पञ्चायती व्यवस्थाको विरोधमा आन्दोलन उठाउनमा लगाउने कार्यनीति हुनुुपर्दछ । किनकि सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्था विरोधी आन्दोलननै आजको स्थितिमा मुख्य मिलनको बिन्दु हो । (भुुसाल (सं.): २०७३, पृ. १४७)

केही विश्लेषकहरूले २०२५ सालको यो सम्मेलनलाई पुष्पलाल विचलनबाट पुनः क्रान्तिकारी धारमा आएको विश्लेषण गर्छन् । पुष्पलालमा विचलन आएको थियो वा उहाँ तत्कालीन राजनीतिक परिवेशमा निकास खोज्दै हुनुुहुन्थ्यो बहसकै पाटो हो । चर्चित वामपन्थी नेता तथा विश्लेषक कृष्णदास श्रेष्ठले लेखेका छन्ः
पुुष्पलाल सैद्धान्तिक–राजनैतिक दृष्टिले विचलनवादीबाट पूर्ण अवसरवादीमा विकसित हुनुभएन । …नयाँ जनवादी दिशातर्फ पुुष्पलालको पुनरागमन २०२५ सालतिर भयो र त्यसपछि आफ्ना बाँकी जीवनभर उहाँ उक्त कार्यदिशामा अविचलरूपमा डटेर रहनुुभयो । जब उहाँ नयाँ जनवादी बाटोमा फर्कनुुभयोे, उहाँले विचलन–स्थितिको बोलको आफ्नो राजनैतिक अडानलाई छोडेर त्यसको विपरीत अडान लिनुुभयो । (श्रेष्ठः२०६१, पृ.३७)

यो सम्मेलनले मार्क्सवाद, लेनिनवाद र माओविचारधारालाई आफ्नो मार्गदर्शक सिद्धान्त बनायो । त्यस्तै राजतन्त्रको विरोध, नयाँ जनवादी प्रजातन्त्र प्रति प्रतिबद्धता, खु्रश्चेवको संशोधनवादको विरोध जनायो ।

यो सम्मलेन पछि पुष्पालको नेतृत्वमा संघर्षहरू तीव्र गतिमा बढेको देखिन्छ । अनुभवको कमीका कारण केही संघर्षहरूमा भने अराजकता पनि हावी भएको पाइन्छ । खास गरी लुम्बिनी र गण्डकीका भएका संघर्षहरू त्यस्ता देखिन्छन् । यस्तै यस्तै घटनाहरूले भने पुष्पलालसँग युवा कार्यकर्ताको तिक्तता बढेको देखिन्छ । बिस्तारै पुष्पलालबाट टाढिएर आ–आफ्नो बाटो खोज्ने जमर्को शुरु हुन्छ । यहीं क्रममा मदन भण्डारी, जीवराज आश्रित, मोदनाथ प्रश्रित अलग्गिएका छन् । यहीं क्रममा पछि नारायणमान बिजेक्छु ‘रोहित’ले नयाँ पार्टी स्थापना गरेका छन् ।

जेलबाट निस्किएपछि मनमोहन, शम्भुराम, मोहनविक्रम, जयगोविन्द साह, निर्मल लामा, भरतमोहन अधिकारी लगायतले ‘केन्द्रीय न्युक्लियस’ गठन गरे । २०३१ सालमा मोहनविक्रमलगायतले ‘चौथो महाधिवेशन’ गरे । यहीं क्रममा माेहनिवक्रमले ‘गद्दार पुष्पलाल’ प्रकाशन गरे । नेपाली कम्युनिष्ट आन्दोलन वैचारिक र कार्यनीतिक मतभेदहरूलाई असहिष्णुको चरमको उदाहरण बनेको छ यो घटना ।

समाज अध्येता पुुष्पलाल

आफ्ना समकालीन नेताहरूभन्दा फरक पुुष्पलाल राजनीतिक कर्महरूमा मात्र सीमित हुनुुभएन । उहाँ नेपाली समाजको अध्ययन गर्ने, नेपाली इतिहासलाई मार्क्सवादी दृष्टिकोणले केलाउने र त्यसको आधारमा नेपाली क्रान्तिकाे कार्यक्रम तय गर्ने ऐतिहासिक जिम्मेवारी वहन गर्नुभयो । कम्युनिष्ट घोषणापत्रको अनुवाद प्रकाशनको क्रममा लेखेको भूमिकामा पुुष्पलालले नेपालको सामन्तवाद बेलायती साम्राज्यवादको गठजोडले नै कायम रहेको औल्याउनुुभयो । उहाँले लेख्नुुभयोः– भारतमा अंग्रेजी साम्राज्यवाद भारत र वरपरका देशहरूमा सामन्तवाद मात्रै कायम गरेर बाँच्न सक्दथ्यो । यसकारण अंग्रेजी साम्राज्यवादले भारतमा सामन्तवादलाई कायम गुर्नका साथसाथै नेपाल र तिब्बतमा पपिन सामन्तवादलाई नै कायम राख्यो । (भुुसाल (सं.): २०७३, पृ.४)

नेपाली समाजको विश्लेषणको क्रममा पुुष्पलाल नेपाली समाज अर्धसामन्ती र अर्धऔपनिवेशिक रहेको निष्कर्षमा पुुग्नुभयो । २०२५ को तेस्रो सम्मेलनबाट नयाँ जनवादी कार्यक्रम पारित गर्दा उहाँ दीर्घकालीन सशस्त्र संघर्षमार्फत् नयाँ जनवाद स्थापना गर्नुपर्ने निष्कर्षमा पुुग्नुुभयो ।

‘नेपालमा मातृसत्तात्मक समाज’ जस्तो गहन निबन्धमा पुुष्पलालले नेपाली इतिहासको सन्दर्भमा रहेका मिथकहरूमाथि प्रश्न गर्नुभयो । निबन्धमा उहाँले लेख्नुुभएको छः– नेपाल उपत्यकामा मानव जातिको बसोबासको शुरुवात क्रमशः चीन अथवा भारतबाट मञ्जुुश्री तथा ने मुुनिहरू आई बसालिएको हो भन्ने गलत सावित गर्दछ । हाम्रो पूूर्वज मञ्जुुश्री तथा नेमुनि नभई अब बज्रयोगिनी हुन आउँदछ । बज्रयोगिनीका सन्तान भन्नाले हाम्रो पूर्वजको रेखा पितृसत्तात्मक नभई मातृसत्तात्मक समाजमा जान्छ । (भुुसाल (सं.): २०७३, पृ. ३१५)

‘नेपालमा राजतन्त्रको उत्पत्ति, विकास र त्यसको भविष्य (अन्त)’ २०३३ सालमा प्रकाशित पुुष्पलालको निकै गहन निबन्ध हो । पञ्चायती व्यवस्थाले स्थापित गर्न कोशिस गरेको ‘राजतन्त्र अनादि कालदेखि चल्दै आएको र चलिरहने’ भन्ने अवधारणा र बि.पी.कोइराला पनि ‘राजाको यश कीर्ति नओइलाउने’ निष्कर्षमा पुुगेको सन्दर्भमा पुुष्पलालले समाजमा राजतन्त्रको उदयको पृष्ठभूमि, त्यसको विकासक्रम र समाज विज्ञानको नियमअनुसार हुने अनिवार्य पतनलाई स्पष्ट पार्नुुभयो ।

पुुष्पलाल नेपाली समाजको गहन अध्ययनको क्रममा हुनुुहुन्थ्यो भन्ने तथ्य विभिन्न कृतिहरूको अध्ययनबाट तयार गर्नुभएको नोटहरूबाट देखिन्छ । अध्ययनको क्रममा नेपाली समाजलाई भौतिकवादी दृृष्टिकोणबाट सर्वेक्षण गर्नुुपर्ने निष्कर्षमा पुुगेर पुुष्पलालले निकै गहन र भविष्यसम्मलाई मार्गदर्शन हुने निबन्ध ‘नेपाली समाजको ऐतिहासिक सर्वेक्षणको आवश्यकता’ लेख्नुुभएको छ । उक्त निबन्धमा इतिहास र समाज विकासको नियमबारे आफ्नो समझदारी यसरी लेख्नुुहुन्छः– इतिहास मुख्यतः सप्राण सामाजिक संगठन हो, जसमा कुनै निश्चित नियम अनुसार संघटन र विघटनको कृया चालुनै भैरहेको हुन्छ । यो सामाजिक कृया एक अन्तहीन रचनात्मक कृया हो, त्यहीं संघटन र विघटनको कृयाले गर्दा समाजमा हमेशा एक शक्तिको नाश र अर्को शक्तिको विकास भैरहेको हुन्छ । कुनै पनि समाजको उत्पादनको व्यवस्थामा परिवर्तन आउनका साथै समाजको अन्य सम्पूर्ण ढाँचामा त्यसको छाप पर्न थाल्दछ, र तिनमा पनि परिवर्तनको लक्षण देखापर्दछ । उत्पादनको व्यवस्थाबाट उत्पन्न हुने संघटन र विघटनको कृया नै समाज विकासको नियम हो ।(भुुसाल (सं.): २०७३, पृ.३५७)

समालोचनाका केही विषयहरू

पुुष्पलालको राजनीतिक जीवन र वैचारिक योगदानहरूको संक्षेपमा चर्चा गरिसकेपछि म बुँदागत रूपमा समालोचनका लागि केही विषयहरू यहाँ राख्दछु ।

१. पुष्पलालको राजनीतिक जीवनबारे विवेचना गर्दा ध्यान दिनुपर्ने पक्ष भनेको उनको व्यक्तित्वको विनिर्माण हो । शीतयुद्ध प्रारम्भ भइसकेको र स्वतन्त्रता संग्रामहरूले विजय प्राप्त गरी स्वाधीन राष्ट्रहरू बनिरहेको त्यो समय नेतृत्वदायी छविको निर्माणको पनि थियो । हरेक देश र हरेकजस्तो विचारधारामा एउटा एउटा आइकन स्थापित भइरहेका,गराइरहेका थिए । भारतीय राष्ट्रिय आन्दोलनमा गान्धी, नेहरू, चीनमा माओ, भियतनाममा हो चि मिन्हमात्र नभई नेपालमै पनि बीपी कोइराला एउटा नायकको रूपमा स्थापित गराइएका थिए । महेन्द्रको निरंकुश शासनमा जेलमा बन्दी भए पनि वा निर्वासित भए पनि उनी आफ्ना कार्यकर्ता र समर्थकमाझ एउटा नायकका रूपमा स्थापित भए । तर, नेपाली कम्युनिष्ट आन्दोलनको संस्थापक नेता भइकन पनि पुष्पलाल त्यो तहमा स्थापित भएनन् वा गराइएनन् । किन ? यसका केही निश्चित कारण छन् । पहिलो, नेपाली कम्युनिष्ट आन्दोलनको पहिलो चरणमै केन्द्रीय तहका नेताहरू अधिकांश उच्च मध्यम वर्गीय परिवारबाट आएका थिए । उनीहरू पुष्पलालजस्तो कम पठित र निम्न मध्यमवर्गीय परिवारबाट आएका व्यक्तिलाई नेता मानिरहन चाहँदैनथे । उनलाई चीन जान रोकेको र उनको कार्यक्रम पारित हुँदा पनि महासचिव नबनाएकोबाट यो पुष्टि हुन्छ । अर्कोतर्फ, आज पुष्पलालको चर्चा गर्नेमध्ये अधिकांश वा सबैजसोको पृष्ठभूमीमा कुनै न कुनैबेला पुष्पलालको विरोधको इतिहास छ । चाहे त्यो झापाली समूहको पृष्ठभूमीमबाट आएको होस् वा पुष्पलालबाट विभाजित भएकाहरू नै । यस्तो किन भयो त ? ०१७ सालपछि रायमाझी भंगालोमा नजाने कम्युनिष्टहरू पनि पुष्पलालको विरोधी किन बने र किन ‘गद्दार’जस्तो उपमा उहाँलाई लगाइयो ?‘क्रान्तिकारी रुमानी’ले नेपाली कम्युनिष्ट आन्दोलनमा पारेको प्रभावबारे गहिरो, निर्भिक र स्वतन्त्र समीक्षा जरुरी छ । हामीलाई नायक चाहिन्छ कि चाहिँदैन ? यो प्रश्नको विषय हो तर पुष्पलालको नायकत्वलाई स्थापित हुन नदिएको हामीले नै हो ।

२. बीपी कोइरालाका जस्ता डायरी, संस्मरण, साहित्य लगायतका पुष्पलालका सिर्जना हामीसँग उपलब्ध छैन् । त्यसैले उहाँको मानवीय स्वभावबारे विस्तृत थाहा पाउन सकेका छैनौँ । २००९ सालमा प्रगतिशील लेखक संघ गठनमा योगदान गरेका पुुष्पलालका साहित्यिक रचनाहरू पनि छन् कि ? जीवनको अन्त्यतिर बनारसमा सबै पुराना साथी, कमरेडबाट दुत्कारिएका वा परित्यक्त, आर्थिक अभावले पिरोलिएका, परिवारबाट टाढा रहेका पुष्पलाल आफ्नो जीवनलाई कसरी सिंहावलोकन गर्नुहुन्थ्यो होला? जीवनको अन्तिम क्षणमा पुष्पलालले आफ्नी पत्नी सहाना प्रधानलाई ‘तिम्रो निमित्त केही गर्न सकिन । अब अगाडिका कामहरू पक्कै पनि तिमीले गछ्र्याै होला’ भन्नुुभएको थियो(श्रेष्ठ, २०६०, पृ. ८६) । एकातिर वैयक्तिक सुख दिन नसकेको पीडाबोध र अर्कोतिर बाँकी काम अर्थात् क्रान्तिकाे अधुरो कार्यभार पूरा गर्ने आशाले पुष्पलालको व्यक्तित्व एउटा महत्त्वपूर्ण पक्ष उजागर गर्छ ।

३.भारतीय कम्युनिष्ट आन्दोलनमा कमिन्टर्नको प्रभाव बढी भएकाले नेपालमा पनि रुसी क्रान्तिको सफलताको प्रभाव परेकै थियो । तर, पुष्पलालको वैचारिकी निर्माणमा भने रुसी पद्दति भन्दा बढी चिनियाँ क्रान्तिकाे सफलता र माओको शैलीको प्रभाव परेको देखिन्छ । माओ विचारधाराबाट प्रभावित नृपेन्द्र चक्रवर्तीलगायतका बंगाली कम्युनिष्टहरूको सरसंगतबाट उहाँमा कम्युनिष्ट विश्लेषण पद्दतिको निर्माण भएकाले त्यसको प्रभाव प्रष्ट देखिन्छ जसको उदाहरण हो, उहाँले गरेको समाज विश्लेषण । माओको ‘चिनियाँ समाजमा वर्गहरूको विश्लेषण’ सरह नै नेपाली समाजको वर्ग–विश्लेषण । यसले नेपाली कम्युनिष्ट आन्दोलनलाई एउटा जगमात्र प्रदान गरेन दीर्घकालसम्म प्रभाव पार्ने राजनीतिक कार्यक्रम पनि दिइरह्यो । नेपाल ‘अर्धसामन्ती र अर्धऔपनिवेशिक’ भएको र यसको क्रान्तिको लक्ष्य ‘नौलो जनवाद’ हुनुपर्ने निष्कर्षले नेपाली कम्युनिष्ट आन्दोलनलाई आज पर्यन्त प्रभाव पारिरहेको छ । आजको नेपाली समाजको विश्लेषण पुुष्पलालबाट कति नजिक वा कति टाढा हुन्छ ?

४. पुुष्पलालले आफ्नो समयको नेपाली समाजको अध्ययन गर्ने कोशिस गर्नुभयो । हरेक व्यक्तिका जस्तै उहाँका पनि सीमाहरू थिए । विश्वविद्यालयको लामो पृष्ठभूमि पनि नभएको र अर्कोतर्फ आफुभन्दा अगाडि नेपाली समाजलाई माक्र्सवादी दृष्टिकोणले विश्लेषणको कुनै पनि प्रयत्न नभएको अवस्थामा नेपाली क्रान्तिकाे कार्यक्रम निर्माण गरेर दिशानिर्देश गर्नु घनघोर अँध्यारोमा दियो बालेसरह नै थियो । तर पनि अर्थराजनीतिको अध्ययनको कमी भने पुुष्पलाल र सिँगो नेपाली कम्युनिष्ट आन्दोलनमा खट्किरहेको पक्ष हो । नेकपाको घोषणापत्रको क्रममा देशको २५ प्रतिशत जनसङ्ख्या देश बाहिर छ भनी पुुष्पलालले उल्लेख गर्नुभएको थियो । अहिले देशको कूल ग्रार्हस्थ उत्पादनको २५ प्रतिशत विप्रेषणले धानिरहेको छ । पुुष्पलालको समयभन्दा निकै फरक विश्व परिवेशमा छौ हामी । विश्वभर नै औसत आयु बढेको छ, मातृ तथा शिशु मृत्युदर ह्वात्तै घटेको छ, विद्यालय शिक्षामा पहुँच बढेको छ । नेपालकै हकमा हिजोजस्तो चरम गरिबी र अभाव छैन । पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र लेख्दा आधारभुत आवश्यकता नै ठूलो विषय थियो । अहिले त्यो अवस्था छैन । तर, असमानताका नयाँ रूपहरू छन् । देश विश्व पूँजीवादी प्रणालीको अभिन्न अंग भइसकेको छ । परिधिमा धकेलिएको नेपालले विश्व एकाधिकार पूँजीवादको लागि सस्तो श्रम उपलब्ध गराइरहेको छ । विश्वव्यापीकरणसँगै नेपाली युवाहरू विश्व पूँजीवादका मजदूर भएका छन् जसले उनीहरूको वैयक्तिक जीवनस्तर उकासिदिएको छ । हरेक तेस्रो मानिसको खुट्टामा जुत्ता नहुने अवस्था अब छैन । तर, श्रम प्रवासन चुलिँदो छ ।हातमा स्मार्ट फोन बोकेर डिजिटल प्रविधिको उपयोग गरिरहेको आजको मजदूर वर्ग विश्व पूँजीवादको सपना देखिरहेछ । असिमित आकांक्षाले थिचिएको युवा पुस्ता एक्लो र व्यक्तिवादी बनेको छ । स्पष्टतः अब पुष्पलालको निष्ठा र प्रतिबद्धताले मात्रै हामीलाई पुग्दैन । त्यो भाष्यले मात्रै हामीलाई पुग्दैन । वैयक्तिक स्वतन्त्रतालाई केन्द्रमा राखेको र त्यो स्वतन्त्रताको धेरथोर उपयोग गरिरहेको युवाका निम्ति हिजोको समाजवादी अवधारणाले कत्तिको उद्वेलित गर्ला ? यो प्रश्न किन पनि आवश्यक छ भने, नेपालमा कम्युनिष्ट आन्दोलन अवसानउन्मुखमात्र छैन असन्तोषको कारक पनि भएको छ । एकपछि अर्को आन्दोलनको पतन, नेतृत्वको विघटन, सत्तापासोमा अल्झिएको यथार्थले जुन निराशा पैदा गरेको त्यो निराशालाई चिर्ने आशाको स्रोत हामीसँग के छ ? पुष्पलाल हाम्रा निम्ति आदर्श हुनसक्छन् तर त्यो आदर्शलाई हामी आफैँले सत्ता स्वार्थको भर्याङ बनाएको तितो यथार्थ बिर्सन सकिँदैन ।

५. कम्युनिष्ट घोषणापत्र प्रकाशन लगत्तै नेकपा गठन गर्ने क्रममा पुुष्पलालले नृपेन्द्र चक्रवर्तीसँग आर्थिक सहयोगको अपेक्षा गर्नुभएको थिए । चक्रवर्तीको भनाई थियो— नेपाली कम्युनिष्ट आन्दोलन नेपाली जनताको खुुट्टामा उभिनुपर्छ । चक्रवर्तीको जवाफले पुुष्पलाल औधी प्रभावित हुनुुभएको थियो । आन्दोलन आफ्नै खुुट्टामा उभिएको हुनुपर्छ भन्नेमा पुुष्पलाल जीवनपर्यन्त सचेत हुनुहुन्थ्यो । यहीं कोणबाट आजको कम्युनिष्ट आन्दोलनको विमर्श गरौं । नेपाली कम्युनिष्ट आन्दोलन कति नेपाली जनताको भरमा छन् ? कतिपय कम्युनिष्ट नामधारी पार्टीहरूबाट आइएनजिओ÷एनजिओ हटाइदिने हो भने के बाँकी रहँला भन्ने प्रश्न नाजायज नहोला । के नेपाली कम्युुनिष्ट आन्दोलनले नेपाली समाजको खास अन्तरविरोधहरूलाई पहिचान गर्न सकेको छ ? वा ‘थोपरिएको’ ज्ञानलाई शिरोधार्य गरिरहेको छ ?

६. पुुष्पलालले कम्युनिष्ट घोषणापत्रको अनुवाद प्रकाशन गर्दै गर्दा सोभियत संघ विश्व कम्युनिष्ट आन्दोलनको स्तम्भको रूपमा खडा थियो भने चिनियाँ कम्युनिष्ट आन्दोलन विजयको सम्मुख थियो । पुुष्पलालको जीवनकालमै सोभियत संशोधनवाद शुरु भयो र महान बहसको थालनी भयो । सोभियत संघको २० औं महाधिवेशनमा सहभागी भएका पुुष्पलालले स्टालिनको निन्दाप्रति असन्तुुष्टि जनाएका अपुुष्ट भनाईहरू पनि छन् । तर, अहिले संसारभरि नै वाम आन्दोलन रक्षात्मक अवस्थामा पुगेको छ । सोभियत संघको विघटनपश्चात यो अवस्था सिर्जना भएको विश्लेषण गरिने गरिएता पनि सोभियत अभ्यासबाटै यसको मूल्याङ्कन आवश्यक छ । राज्यको विलोपीकरणको परिकल्पना गर्ने माक्र्सवादी दर्शनको राज्य अभ्यास किन राज्य केन्द्रित र बलियो राज्य निर्माणमै केन्द्रित भयो ? कर्मचारीतन्त्रमा आधारित शासन व्यवस्थाको वेबर मोडललाई नै किन जोड दिइयो ? र, के त्यो अभ्यास सोभियत संघमा मात्रै सिमित भयो त ? चीनसहित पूर्वी एशियाली अभ्यासहरू किन भिन्नै हुन सकेनन् ? सोभियत संघको विघटनका जगहरू कहाँ थिए ? र, सोभियतको विघटन लगत्तै किन रुस ओलीगार्चीमा विकसित हुनसक्यो ? त्यसका बीजहरू सोभियत समाजवादमै कसरी रोपिए ? यी यस्ता केही प्रश्नहरू हुन् जसले हामीलाई माक्र्सवादको सोभियत र चिनियाँ अभ्यासभन्दा पर उभिएर विश्व कम्युनिष्ट आन्दोलनको विवेचना गर्नुपर्ने बिन्दुमा पुर्याउँछ ।

७. पुुष्पलालले थालनी गर्नुभएको नेपाल कम्युनिष्ट आन्दोलन अनेकौ पार्टीमा विभाजित भयो । अनेकौ धार समातेर अगाडि बढ्यो । पुुष्पलालले सारेको तत्कालीन कार्यक्रममा जस्तै दुुई–दुई पटक संयुक्त जनआन्दोलन भयो । पुुष्पलालले ‘सशस्त्र किसान संघर्ष’ भनेजस्तै ‘सशस्त्र संघर्ष’ पनि भयो । नेपालबाट राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना पनि भयो । नेपाली कम्युनिष्टको एउटा धारा संसदीय अभ्यासलाई नै जोड दिन पुुग्यो र पटक–पटक सरकारको नेतृत्व गर्‍यो । पुुष्पलाल यसरी ‘बुुर्जुुवा स्थायी राज्यसत्ता’ विद्यमान भएको सरकारमा सहभागिता र नेतृत्वबारे के सोच्नुहुन्थ्यो होला ? के यो पुुष्पलालको ‘नयाँ जनवाद’को कार्यक्रम थियो वा पहिलो महाधिवेशनबाटै देखापरेको मनमोहनको लाइनको विकसित रूप हो ? अर्कोतर्फ, सरकारको नेतृत्व गरेका कम्युनिष्ट पार्टीहरूले साँच्चै मार्क्सवादी सिद्धान्तअनुसार कति योगदान गर्न सके ? ‘नौलो जनवाद’को कार्यक्रमअनुसार नै सरकारको नेतृत्व गरेको स्वीकार्ने हो भने पनि ‘राष्ट्रिय पूँजी’को विकास गर्दै समाजवादको आधार तयार गर्न के कति योगदान गरे ?

८. नेपाली कम्युनिष्टहरूको विभिन्न तहको शासन अभ्यास हेर्दा खट्किने महत्त्वपूर्ण पक्ष हो— कम्युनिष्ट ढंगको शासन अभ्यास नहुनु । कुनै बुुर्जुुवा सरकार र ‘कम्युुनिष्ट सरकार’बीचमा आधारभूूत भिन्नता देखिदैन । उदाहरणको लागि, सशस्त्र संघर्ष गरेर आएको माओवादीले नेतृत्व गरेको, माओवादी गढको रूपमा चिनिएको, युद्धकालमा ‘कम्युन’को अभ्यास गरिएको भनिएको रोल्पमा पनि ‘विकास’को परिभाषा र मोडेल ‘भ्युु टावर’ बनाउने नै छ । यो नेपाली कम्युनिष्ट आन्दोलनको सैद्धान्तिक विचलन, प्रवृतिगत समस्या वा ज्ञानको कमी के हो ? नेपाली समाजको गहन अध्ययन र ज्ञान उत्पादनमा अरुचि नेपाली कम्युनिष्ट आन्दोलनको सबैभन्दा कमजोर पक्ष हो ।

९. भारतीय भूमिमा निर्वासन बसेर नेपाली कम्युनिष्ट आन्दोलन अगाडि बढाउनु पुष्पलालको लागि सहज थिएन । भारतीय भूमिमा आश्रय लिँदालिँदै पनि उहाँले भारतीय शासक वर्गको औपनिवशिक सोचको सँधै विरोध गर्नुभयो । बंगलादेशको प्रसंगमा उहाँको धारणा एकखालको भए पनि सिक्किमको प्रसंगमा उहाँले विरोध गर्नुुभएको थियो । यो पुुष्पलालको वैचारिक प्रतिबद्धता र व्यक्तित्वको एउटा विशेष पाटो हो । उहाँ ‘संयुक्त आन्दोलन’को कार्यनीति अगाडि सार्नुभएको थियो तर बि.पी. र सुवर्णको ‘राजासँगको झुुकाव’ र बिपीको ‘राष्ट्रिय मेलमिलापको नीति’को आलोचना पनि गर्नुभएको थियो । जीवनको अन्तिम क्षणमा पनि उहाँले भारतीय सहयोगलाई प्राथमिकता दिनुुभएन । आफ्नो विचारको लागि जीवनको अन्तिमसम्मको त्यो ढृढता र समर्पण उदाहरणीय र शिक्षाप्रद छ। तर, अहिले नेपाली कम्युनिष्ट आन्दोलन र नेतृत्वको जीवनशैली र सम्पर्कका दायराहरू पुष्पलाललाई लज्जित गराउने खालको छैनन् र ?

१०. दक्षिण एसियामा जबरजस्ता फैलिरहेको मोदी नेतृत्वको ‘फासिवादी’ हिन्दुवादबाट नेपाली कम्युनिष्ट नेताहरू अप्रभावित भइरहन सक्लान् ? यदि पुष्पलाल भएको भए छिमेकमा भईरहेको वितण्डा र अल्पसङ्ख्यमाथिको दमन विरुद्ध आवाज उठाउथे वा मौन बस्थे ? ‘फासिवादी’ पार्टीसँग ‘कम्युनिष्ट’ पार्टीको सम्बन्ध कुन दर्शनमा आधारित छ ?

२०३५ साउन ७ गते उपचारका क्रममा नै प्रवासमा पुुष्पलालको निधन भयो । उहाँको निधनसमयमा पनि उहाँका कैयौं समकक्षी, उहाँबाट टाढिएका कम्युनिष्ट नेताहरूको उपस्थितिको अभावले नेपाली कम्युनिष्ट आन्दोलनमा रहेको असहिष्णुता, सद्भाव र सांस्कृतिक कमजोरी प्रकट गर्दछ । नेपाली कम्युुनिष्ट आन्दोलन यी समस्याहरूबाट माथि उठ्नु आवश्यक छ । पुुष्पलालले थालनी गरेको कम्युनिष्ट आन्दोलनको मसाल कहिले तेज र कहिले मन्द भएको छ । वर्तमान परिवेशमा यो मसाललाई अझै तेजिलो बनाउने कैयौं कठिनाईहरू सामुुन्ने छन् । चुनौतीपूर्ण समयमा आन्दोलनको कार्यक्रम पहिल्याउन प्रयत्न गर्ने र मार्क्सवादी दर्शनको आलोकमा नेपाली समाजको अध्ययन गर्न प्रयत्न गर्ने पुुष्पलाल हाम्रो मार्गदर्शक हुनुहुन्छ । नेपाली कम्युनिष्ट आन्दोलन पुुष्पलालभन्दा धेरै पर आइसकेको छ यद्यपि पुुष्पलालको जस्तो समर्पण र जुुझारु स्वभाव अझै आवश्यक छ । वर्तमान नेपाली समाजको गहन विश्लेषण गरेर नेपाली कम्युनिष्ट आन्दोलनलाई दिशा प्रदान गर्ने हजारौं हजार पुुष्पलाल अहिलेका आवश्यकता हो ।

सन्दर्भ सामग्री
१) उपाध्याय, बलराम र अन्य (सं.) । २०५२ । क. पुुष्पलाल स्मृति अंक । काठमाडौंः पुष्पलाल स्मृति प्रतिष्ठान ।
२) के.सी. सुरेन्द्र । २०६५ । नेपालमा कम्युुनिष्ट आन्दोलनको इतिहास । काठमाडौंः विद्यार्थी पुुस्तक भण्डार ।
३) पुुष्पलाल । मिति नखुलेको । पुुष्पलाल । छानिएका रचनाहरू ३ । काठमाडौंः पुुष्पलाल स्मृति प्रतिष्ठान ।
४) पुुष्पलाल । २०५३ । नेपालमा कम्युुनिष्ट आन्दोलनको संक्षिप्त इतिहास । काठमाडौंः पुुष्पलाल स्मृति प्रतिष्ठान ।
५) भुसाल, बेदुराम (सं.) । २०७३ । पुुष्पलाल छानिएका रचनाहरू–भाग १ । काठमाडौंः पुुष्पलाल स्मृति प्रतिष्ठान ।
६) भुसाल, डा. बेदुराम, पन्थी, डा. माधवराज, सापकोटा, डा.ढाकाराम । २०७८ । नेपाल रत्न पुुष्पलाल । काठमाडौंः पुुष्पलाल स्मृति प्रतिष्ठान ।
७) रावल, भीमबहादुर । २०४७ । नेपालमा साम्यवादी आन्दोलन उद्भव र विकास । काठमाडौंः पैरवी प्रकाशन ।
८) श्रेष्ठ, कृष्णदास । २०६१ । पुुष्पलालः विचार र व्यक्तित्व । काठमाडौंः पैरवी प्रकाशन ।
९) श्रेष्ठ, सुशिला । २०६० । सहाना प्रधानः स्मृतिको आँखिझ्यालबाट । काठमाडौंः स्वप्नवाटिका प्रकाशन

(प्रस्तुत सामाग्री कमरेड पुष्पलालको पैंतालीसौँ स्मृति दिवसको अवसरमा तयार पारिएको हो । नेपाल वैकल्पिक अध्ययन समाज (नार्स ) द्वारा काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा आयोजित उक्त कार्यक्रममा विचारपत्रको रुपमा लेखिएको उक्त सामाग्री पठनीय ठानी प्रसारण गरिएको छ ।)

 

प्रतिक्रिया