म लेखक किन बनें ?

 

मेरो उपन्यास यथार्थ घटनाहरूमा आधारित छ, तर त्यो कुनै दस्तावेज भने होइन । यदि त्यसलाई दस्तावेज बनाउने अभिप्राय हुन्थ्यो भने अर्कै तरिकाद्वारा लेखिन्थ्यो । यो एउटा उपन्यास हो, युवा कम्युनिष्ट लिगको सदस्य, आस्त्रोभस्कीको जीवन–कथा होइन । मेरो लागि यो बताउनु आवश्यक छ, ताकि कसैले मेरो भर्त्सना नगरून कि ममा बोल्शेभिक विनम्रता छैन ।

 

साथीहरू, युवा कम्युनिस्ट लिगको केन्द्रीय समितिले सोभियत लेखकसँग आग्रह गरेको छ कि उनीहरूले आफ्ना रचनाहरूमा आजका युवा क्रान्तिकारीहरूको चित्रण गरून् । ‘अग्निदीक्षा’ सोही आदेशको परिणाम हो । मध्य युगदेखि आजसम्मको विश्व साहित्यमाथि अलिकति विचार गर्दा तपाईं देख्नुहुन्छ कि यस कालका उत्कृष्ट कृतिहरूमा जुन युवकहरूको चित्रण पाइन्छ ती सबै शासक वर्गका युवकहरू थिए ।पुँजीवादी साहित्यका महान् लेखकहरूले ज्यादै सजिव र सशक्त ढंगबाट आफ्नो वर्गका युवकहरूलाई चित्रण गरेका छन्ः उनीहरूको जीवन, चरित्र–निर्माण, तथा उनीहरूको आकांक्षाहरूलाई । कसरी उनीहरूको शिक्षा गौरव प्राप्तिको उद्देश्यबाट हुन्छ ! कसरी उनीहरूले पैतृक सम्पत्ति पाएर त्यसलाई अझ बढाउने प्रयास गर्दछन्, मजदुर वर्गको रगत चुस्ने साधनहरूलाई कसरी अझ विकसित गर्दछन् ।

सोभियत लेखकहरूका लागि यो ज्यादै गौरवको कुरा हो कि उनीहरूलाई आफ्नो रचनाहरूमा आजको, सर्वहारा क्रान्तिको समयका क्रान्तिकारीलाई चित्रित गर्ने सौभाग्य प्राप्त भएको छ, ती युवकहरूलाई जसले आफ्ना पिताहरूसँग सोभियत शासनको स्थापनाको लागि संघर्ष गरे, र जो आज समाजवादको निर्माणमा संलग्न छन् । यी वीर कति विलक्षण र साहसी छन् ! हाम्रो साहित्यमा यस्तो चरित्र (तरूण नायक) ज्यादै कम पाइन्छ । हाम्रो जीवन हाम्रो पुस्तकहरू भन्दा धेरै बढी वीरतापूर्ण छ ।

म लेखक किन बनें ? रोगले मलाई अरु काम गर्न असमर्थ बनाइदिएको थियो । म आफ्ना साथीहरूका बीच काम गर्न सक्दिनथें, हिंड्डुल गर्न सक्दिनथें, मेरो दृष्टि थिएन । जीवनले मेराेसामु चुनाैती दियाे कि म कुनै अन्य साधनहरू अपनाएर बढ्दो सर्वहाराको पंक्तिमा फेरि आफ्ना स्थान प्राप्त गर्न सकूूँ । लेख्नु एउटा यस्तो कार्य हो जुन त्यसबेला पनि गर्न सकिन्छ, जब मानिस हिँड्डुल गर्न वा देख्न समेत सक्दैन ।

लेख्ने त लेख्ने तर के लेख्ने ? मेरा साथीहरूले भनेः “तिमी स्वयंले जे देख्यौ, जे अनुभव गर्यौ, त्यसैको बारेमा लेख । ती मानिसहरूको बारेमा लेख जसलाई तिमीले चिन्दछौ, त्यस वातावरणलाई अनुमान गर, जसमा तिमी हुर्कियौ, ती मानिसहरूको बारेमा लेख जो पार्टीको झण्डामुनि सोभियत शासनको लागि लडे ।” यसप्रकार यो ‘अग्निदीक्षा’ को पहिलो र मुख्य विषय बन्यो । मैले चार वर्षसम्म (१९३०–१९३४) यस पुस्तकमा काम गरें । हाम्रा युवकहरूले यसलाई मन पराएका छन्, र मेरो लागि यो सबैभन्दा ठूलो खुसीको कुरा हो ।

म सोच्दछु कि मैले एउटा कुरा स्पष्ट गरिदिनु पर्दछ । पत्रिकाहरूमा जुन लेखहरू छापिन्छन् तिनीहरूमा मेरो उपन्यास ‘अग्निदीक्षा’ लाई आत्मकथा (आस्त्रोभस्कीको कथा) भनिन्छ । यो ठीक त हो तर पूर्णतया ठीक होइन । कुनै पनि उपन्यास मुख्यतया कलात्मक रचना हुन्छ । र, उपन्यासको रूपमा लेख्दै मैले लेखकको यस अधिकारलाई उपयोग गरेको छु कि उसले आफ्नो कल्पनाद्वारा मन लागेको कुरा लेख्न सक्दछ ।
मेरो उपन्यास यथार्थ घटनाहरूमा आधारित छ, तर त्यो कुनै दस्तावेज भने होइन । यदि त्यसलाई दस्तावेज बनाउने अभिप्राय हुन्थ्यो भने अर्कै तरिकाद्वारा लेखिन्थ्यो । यो एउटा उपन्यास हो, युवा कम्युनिष्ट लिगको सदस्य, आस्त्रोभस्कीको जीवन–कथा होइन । मेरो लागि यो बताउनु आवश्यक छ, ताकि कसैले मेरो भर्तसना नगरून कि ममा बोल्शेभिक विनम्रता छैन ।
म यहाँ कथाको बारेमा अरू कुरा केही बताउँदिन । तपाईंहरू सबैले यसलाई पढ्नु भएको छ ………

यो किताब रूसी,उक्राइनी, पोलिश तथा मर्दोवी भाषाहरूमा छापिइसकेको छ । अब यसको अंग्रेजी, फ्रान्सीसी र जर्मन भाषाहरूमा अन्तर्राष्ट्रिय क्रान्तिकारी लेखक संघद्वारा अनुवाद भइरहेको छ र यो ‘अन्तर्राष्ट्रिय साहित्य’ पत्रिकामा पनि छापिन्छ । यसको अनुवाद बेलोरूसी तथा सोभियत जातिहरूका अन्य कैयौं भाषाहरूमा भइरहेको छ । १९३२ देखि १९३४ सम्ममा कुल ७०,००० प्रति छापिइसकेको छ । १९३५ मा अनेकौं भाषाहरूमा यसको कुल १,५०,००० प्रति छापिनेछ ।

आजभोली म अर्को उपन्यास ‘आँधिको जन्म’ मा काम गरिरहेको छु, जसमा पोलिश साम्राज्यको विरूद्ध उक्राइनका सर्वहारा तथा किसानहरूको संघर्ष देखाइनेछ । समयः १९१८ को अन्तिम भाग तथा १९१९ को शुरूको भाग हुनेछ । यस पुस्तकमा मेरो लक्ष्य आफ्ना युवकहरूलाई शत्रुसँग परिचित गराउनु हो । अक्टोवर क्रान्तिपछि अब एउटा नयाँ पीँढी अगाडि आउँदैछ । यस पीँढीका मानिहरूले कहिल्यै कुनै जमिन्दार वा कारखाना मालिक वा जारशाहीलाई देखेका छैनन् । कहिल्यै ती मानिसहरूलाई देखेका छैनन् जसले गेलीशिया तथा उक्राइनी भूमिलाई मजदूरहरूको रगतले रंगाएका थिए ।

आफ्नो यस नयाँ कितावमा मैले यी अपराधीहरूलाई देखाउने छु, अतीतको यथार्थ चित्र प्रस्तुत गर्नेछु । मैले यो काम आफ्ना युवकहरूका लागि गरिरहेको छु, ताकि उनीहरू आगामी लडाईहरूमा (यदि लडाई हामीमाथि लादिन्छ भने) पछाडि नरहुन् । म यो किताव ती युवकहरूका लागि लेख्दैछु जसको भाग्यमा आफ्नो सोभियत मातृभूमिको रक्षाको लागि सायद लड्न लेखिएको छ ताकि उनीहरू सशस्त्र भएर ती सबै शत्रुहरूलाई लखेटुन जसले यसको सीमाहरूलाई पार गर्ने दुस्साहस गर्दछन् ।

‘आँधिको जन्म’ एउटा राजनीतिक उपन्यास हो ! यसकारण कठिनाइहरू अझ बढ्दछ । १९१८–१९१९ मा उक्राइन र पोल्याण्डको राजनीतिक स्थिति ज्यादै जटिल थियो, जनतन्त्रमा डढेलो लागेको थियो र युद्धक्षेत्र हजारौं माइलसम्म फैलिएको थियो, र यसलाई व्यक्त गर्नको लागि ज्यादै ठूलो मर्मज्ञता तथा सुक्ष्मताको आवश्यकता छ । यो काम सहज छैन । यसलाई ठीक किसिमले सम्पन्न गर्नको लागि गृहयुद्धकालीन ऐतिहासिक अभिलेखहरू पढ्नु आवश्यक छ ।

दुर्भाग्यवश, यहाँ सोचीमा म यी सामग्रीहरूको उपयोग गर्न सक्दिन । यी सामग्री केन्द्रीय अभिलेख–संग्रहालयमा रहेका छन् । यतिबेला मसँग केवल थोरै मात्र सामग्री छ, वा जे जति मैले पहिले कतै पढेको छु, त्यसैको आधारमा मैले काम गरिरहेको छु ।

उपन्यासको अन्तमा मेरो लक्ष्य पोलिश ह्वाइट्सहरूलाई कीयेवमा परास्त गर्नु तथा उक्राइनबाट तिनीहरूको निस्कासनको वर्णन गर्नु हो ।
र, उपन्यासको समाप्ति पहिलो घोडसवार फौजको विजय अभियानमा गएर हुनेछ ।

यो ठीक हो कि त्यसबेला पोल्याण्डका सामन्तहरू नामेट भएका थिएनन् । तिनीहरू भाग्न सफल भएका थिए र जसलाई उनीहरू स्वयंले “विस्तुलाको चमत्कार” भन्दछन्, त्यसले उनीहरूको रक्षा गरेको थियो । हामी बोल्शेभिकलाई थाहा छ कि चमत्कार हुने गर्दैन । र, यदि यी सामन्तहरूले फेरि कुनै गडबडी गरे भने पुनः कुनै चमत्कार हुँदैन । यो हामी विश्वासका साथ भन्न सक्दछौं ।
यो भन्नु आवश्यक छैन कि म पहिलेदेखि नै आफ्नो कामको खाका बनाउँदछु । यो सत्य हो कि यो कुनै पञ्चवर्षीय योजना हुँदैन । यति पछिसम्म हेर्ने ममा साहस छैन । म एक पटकमा आफ्नो जीवनको केवल एक वर्षको मात्रै कार्यक्रम बनाउन सक्दछु । मलाई आशा छ कि म यस वर्षको अन्त सम्ममा, आफ्नो नयाँ उपन्यासको पहिलो भाग पूरा गर्नेछु । त्यसपछि बाल प्रकाशन गृहको लागि ‘पाव्काको बाल्यकाल’ नामक किताब, जुन ‘अग्निदीक्षा’ को परिपुरक हुनेछ, लेख्ने अपेक्षा गरेको छु । बालकहरूका लागि यो किताब लेख्दा मलाई ज्यादै प्रशन्नता हुनेछ । तिनीहरूलाई नयाँनयाँ कितावहरू चाहिन्छ । तिनीहरूको यो आवश्यकतातर्फ ध्यान दिने गरिंदैन ।

तपाईंलाई थाहा छ युवा कम्युनिस्ट लिगको उक्राइनी केन्द्रीय समितिले ‘अग्नि–दीक्षा’ को एउटा आवाज सहितको चलचित्र बनाउने निश्चय गरेको छ । चाँडै नै उक्राइनी स्टुडियोका साथीहरूको एउटा टोली पटकथामाथि मसँग काम गर्नको लागि यहाँ आउनेछन् ।

आफ्नो वर्षभरिको कार्यक्रम पूरा गर्न म हरसम्भव कोशिस गर्नेछु । नयाँ उपन्यास ‘मोलोदाया ग्वार्दिया’ पत्रिकामा छापिन्छ, यदि त्यो स्वीकृत भयो भने । ‘मोलोदाया ग्वार्दिया’ को प्रोत्साहनबाटै मैले साहित्यिक क्षेत्रमा पदार्पण गरेको थिएँ । र, मेरो रचनात्मक कार्यमा त्यसले अहिले पनि निरन्तर सहायता गरिरहेको छ ।

पार्टी तथा युवा कम्युनिस्ट लिगको तर्फबाट मलाई जुन सहानुभूति प्राप्त भएको छ, म त्यसका लागि पनि आफ्नो आभार प्रकट गर्न चाहन्छु । मेरो कामलाई सरल बनाउनका लागि मलाई हरेक प्रकारको सहयोग गरिएको छ । यस सहानुभूतिबाट मलाई नयाँ शक्ति प्राप्त हुन्छ । यसलाई म पूर्णतया महसुस गर्न लाग्दछु कि म फेरि सैन्य पंक्तिमा आएर उभिएको छु । म सच्चा हृदयदेखि भनिरहेको छु कि म सुखी छु ।
यो ठीक हो कि डाक्टरहरू सोच्दछन् कि म चाँडै नै आफ्नो ‘आखिरी छुट्टी’ लिएर बिदा हुन्छु । तर तिनीहरूले यो कुरा पाँच वर्ष पहिले पनि भनेका थिए, तर आस्त्रोभस्कीले फेरि पनि पाँच वर्ष बिताएर देखायो, र उसको पक्का इरादा छ कि कम्तिमा पनि अरू तीन वर्ष त बित्ने नै छ …………
मलाई सयौं युवा कम्युनिस्ट लिगको देशव्यापी शाखाहरूका तर्फबाट आउँदछन् कि मैले आफ्नो संघर्ष जारी राखूू । तिनीहरूबाट मेरो आत्मालाई बल प्राप्त हुन्छ, र म आलश्यमा आफ्नो एकदिन पनि गुमाउनु पाप सम्झन थाल्दछु ।

२४ घण्टामा म दसबाह्र घण्टा काम गर्दछु । जीवनमा मैले चाँडोचाँडो काम गर्नुछ ।
मैले केवल यति भन्नु छ । अब म तपाईंहरूको प्रश्नको उत्तर दिन तयार छु ।
रचनात्मक मोर्चामा यस्तो समय आउँदछ । जब म गहन उत्तेजना तथा तीव्र गतिमा अघि बढ्दछु । त्यसबेला मेरो सम्पूर्ण ध्यान लेखनमा केन्द्रित हुनजान्छ, केही पनि नपढिकन कैयौं हप्ता बित्दछ, केवल पत्रिका हेर्दछु तर जब मेरो मनमा संगालिएको सामग्री कागजमा निस्किइसकेको हुन्छ तब मेरो कार्यक्रम यसको उल्टो चल्न थाल्दछ ।

जति पनि पत्रिकाहरू छापिन्छन्, सबै मकहाँ आउँदछन् । म ‘बोल्शेभिक’ लाई तथा साहित्यिक आलोचनालाई नियमित रूपमा पढ्दछु । म ती सबै उपन्यासलाई पढ्दछु, जसलाई कुनै पनि प्रकारको ख्याती प्राप्त हुन्छ । हरेक चीजहरू जुन छापिएर निस्कन्छन् ती सबै पढ्न असम्भव छ ।

आफ्नो नयाँ उपन्यास शुरू गर्नुभन्दा पहिले मैले आठ महिनासम्म अध्ययन गरें । मैले विश्व साहित्यको मौलिक पुस्तकहरू पढें । ‘युद्ध र शान्ति’, ‘अन्ना करेन्नीना’ र अन्य धेरै पुस्तकहरूलाई मैले पटक–पटक पढेको छु ।

लेखकहरूको कंग्रेसले मलाई बाटो देखायो । विशेषगरी गोर्की र कमरेड ज्दानोवको भाषणहरूले । यस कंग्रेसको पूरा विवरण मलाई प्राप्त भएको तीन हप्ता भयो । म यसलई दोहो¥याएर ज्यादै ध्यानपूर्वक, यसको एकएक विवरणलाई पढ्नेछु ।

म सबै प्रकारबाट खुसी छु । कमी छ त केवल स्वास्थ्यको । म प्रसन्न छु, मेरो मानस स्वच्छ छ, म सुखी छु । यसमा बनावटी कुनै कुरा छैन ।

(प्रस्तुत सामाग्री १६ मे, १९३५ मा सोभियत संघको कम्युनिष्ट पार्टी बोल्शेभिकको सोची नगर समितिसमक्ष प्रस्तुत गरिएको रिपोर्ट तथा सोधिएका प्रश्नहरूको उत्तरको अंश हो । अनुवादक देवेन्द्र तिम्लाद्वारा प्रकासनका लागि अनुदित निकोलाइ आस्त्रोभस्कीको जीवनी, लेख–रचनहरु र चिठीपत्रहरुको पूर्ण संकलन ‘जय जीवन’ बाट साभार गरिएकाे हाे । )

प्रतिक्रिया