अँध्यारोमा जुनकिरी बन्ने प्रयत्न

केही समययता नेपाली समाजको परिवर्तनको प्रवाह झण्डैजसो रोकिएको छ । पछिल्लो राजनीतिक परिवर्तनले शासकीय संरचना बदले पनि समाजका अन्य अवयवहरु बदल्न सकेन । प्रशासनिक जिम्मेवारीमा रहेकाहरुको सोच्ने तरिका बदलिएन । सत्ताको नेतृत्व गर्ने नेतृत्वकर्ताको कार्यशैली फेरिएन । परिवर्तनको नेतृत्व गरेर आएकाहरुले पनि क्रमशः आफ्नो रङ र पहिचान गुमाउँदै गए । एकप्रकारले भन्ने हो भने उनीहरु पनि पुरानै शासकहरुको पदचापमा हिंडन सुरु गरे ।

संघर्षका अनेकौ भूमरीहरु पार गरेर आएका राजनीतिक दलहरुले यतिबेला जनताका एजेण्डाहरु ठीक ढङ्गले बोक्न सकेका छैनन् । हिजो आन्दोलनरत रहँदा तिनै एजेण्डाको बलमा आफूहरु स्थापित भएको कुरासमेत तिनको स्मृतिपटमा आउनसकेको छैन । त्यसैले आज भूमिहिनहरुको समस्या यथावत छ तर भूमि व्यवस्थापनको मुद्धा राजनीतिक मुद्धा हुनछाडेको छ । शिक्षा क्षेत्रमा भइरहेको बेथिति विद्यार्थी संगठनको सरोकारको बिषय बन्दैन । किसानहरुले आफ्नो समस्या सुनाउने निकायसमेत भेट्टाउँदैनन । मजदुर संगठनहरु एनजिओ,आइएनजिओको आवाज बोलिदिने इकाइको रुपमा बदलिएको छ ।

जात व्यवस्थाले निर्माण गरेको चेतनाको आगेनामा मान्छेहरुको आत्मासम्मान जलिरहेको छ । आफ्नो माटोप्रतिको अनुरागलाई छातीभित्र लुकाएर जीवनको ज्योति खोज्न लाखौं युवायुवतिहरु विदेसिरहेका छन । तिनलाई आफ्नै देशमा आफ्ना प्रियजनहरुसँग बसेर जीवनको फूल फुलाउन सकिन्छ भन्ने आत्माबिश्वाश जगाउन कसैले प्रयत्न गरेन ।

राजनैतिक दलहरुको यिनै कमजोरीलाई समातेर अस्थिरताको खेल खेल्न खोज्ने शक्तिहरु सल्बलाउन थालेका छन । ठूलो वलिदानबाट प्राप्त भएको संघीय व्यवस्थासहितको उपलव्धीहरुलाई कमजोर बनाएर इतिहासको अग्रगामी रथलाई पछाडि धकेल्ने योजनावद्ध षड्यन्त्रहरु यतिबेला निकै पेचिलो बन्दै गइरहेको छ ।

राजनीतिक नेपथ्यमा नदेखिने गरी प्रतिक्रान्तिकारी मोर्चा फराकिलो बन्दै जानथालेको छ । सुधारवादी शक्ति आफ्नो मध्यमार्गी चरित्रअनुरुप दोबाटोमा नराम्ररी अलमलिएको छ । अग्रगामी शक्ति विभाजनको घाउ बोकेर रक्षात्मक अवस्थामा पुगेको छ ।

प्रत्येक समाजको परिवर्तनको आफ्नै सिलसिला हुन्छ । सामाजिक गति र लयको आफ्नै मौलिकता र श्रृङ्खला हुन्छ । यो सिलसिला र श्रृङ्खला खलबलिदा सिंगो समाज अराजक हुँदै विघटनतिर जाने खतरा हुन्छ । अहिले मुलुकमा त्यस्तै सोचहरुको प्रवद्र्धन गर्न खोजिदै छ । इतिहास बिर्स, भविष्यको पनि चिन्ता नगर केवल वर्तमानमा रमाउन सिक भन्ने बिषालु चिन्तन नेपाली समाजमा बिस्तार हुँदै जानथालेको छ । विचारविहिनता र एजेण्डारहित मनोविज्ञानमार्फत नेपाली समाजलाई मृत समाजमा बदल्ने प्रतिगामी षड्यन्त्रको सामु युगान्तकारी परिवर्तनका नेतृत्वकर्ताहरु स्वयं निरीह सावित हुनथालेका छन ।

यही कमजोर धरातलमा टेकेर हजारौको वलिदानबाट प्राप्त व्यवस्थामाथि प्रश्नचिन्ह उठाउन खोजिदै छ । व्यवस्था सञ्चालनको सही पद्धति र कार्यशैलिको खोजीभन्दा संघीय व्यवस्था नै बेठीक भन्ने भाष्य निर्माण गर्ने कोसिस भइरहेको छ ।

संविधान निर्माणको चरण सकिएपछि अग्रगामी र पश्चगामी शक्तिबीचको संघर्ष निरन्तर सम्झौतामा बदलिएको छ । अर्थतन्त्र प्रतिस्पर्धाको उदारवादी सुरुङ्गभित्र छिरेको छ । यसको चरित्र बदलेर उत्पादनमुखी अर्थतन्त्रको जग हाल्ने प्रयत्नका लागि बहससमेत हुनछाडेको छ । सीमा समस्यालाई राष्ट्रियताको पोसक बनाइएको छ । राष्ट्रियताजस्तो संवेदनशील विषय निरन्तर सत्ता आरोहणको भ¥याङ्ग बनिरहेको छ । शिक्षा र स्वस्थ्यजस्तो जनतासँग जोडिएको आधारभूत विषय निजीकरणको राजमार्गमा बेलगाम अघि बढिरहेको छ ।
यसरी सामाजिक गति अवरुद्ध भएको हाम्रो समाजमा आशाको दीयो बालेर समाजलाई सपना देखाउने वैकल्पिक राजनीतिक कार्यदिशा अनिवार्य शर्त बन्नपुगेको छ । तर, टाढा क्षितिजसम्म पनि कतै उज्यालोको संकेत अझै देखिएको छैन । मानौ, नेपाली समाजको परिवर्तनको रथ इतिहासले यहीँ रोकिदिएको छ ।

नेपालको सामाजिक परिवर्तनको यात्रामा यो एउटा भयावह समय हो । यही भयावह सन्नटाभित्र लुकेको पश्चगामी ज्वाभाटाका विरुद्ध जुध्ने तयारी गर्नु अग्रगमनका पक्षधर शक्तिहरुको आम दायित्व बन्न पुग्दछ । युगधाराको विद्युतीय स्वरुपको जन्म त्यही दायित्वबोधको परिणाममात्र हो । हामीलाई थाहा छ, समाजमा हुने प्रत्येक संघर्षले विजयमात्र प्राप्त गर्दैन । नेपालमा पनि आजसम्म भएका सबै संघर्षहरु कुनै न कुनै सम्झौतामार्फत टुङ्गिदा सामाजिक परिवर्तनका एजेण्डाहरु पनि स्थगित भएका छन् । त्यही सम्झौतासँगै समाज परिवर्तनका यात्रा रोकिएकोझैं लाग्नथालेको छ । भरोसायोग्य वैकल्पिक राजनैतिक शक्तिको अभावमा निरासाका हुरीहरु चलेको छ र आसाका दीयोहरु निभाइदिएको छ । जनताका विश्वाश नराम्रोसँग धर्मराएको छ । मानौ, अब नेपाली समाज सधैं अँध्यारो रहनेछ र कहिल्यै उज्यालो हुनेछैन ।

युगधाराको सुरुवात नेपाली समाजको चेतनालाई निरासाका यही हुरीहरुबाट जोगाउने प्रयत्नको सुरुवात मात्र हो । अँध्यारो सुरुङ्गमा हिँडिरहेको यात्रीहरुको लागि जुनकिरीको जत्तिकै भएपनि उज्यालो छर्ने हुटहुटीले यसको जन्म भएको हो । इतिहासको गौरवमय जमिनमा टेकेर सुनौलो भविष्यका लागि आज संघर्ष गरिरहेका लाखौ नेपालीहरुको अग्रगामी परिवर्तनको संकल्पलाई मुखरित गर्न हामी प्रयत्नशील रहनेछौ । हाम्रो उद्देश्यलाई व्यवसायिक सफलता वा असफलताले मापन गर्न सक्दैन । आजको दुनियाँमा विश्वव्यापी रुपमा भइरहेको वैचारिक हस्तक्षेप र एकल साँस्कृतिक वर्चस्वका विरुद्ध जति सकिन्छ त्यति आवाज उठाएर प्रतिरोधी चेतको निर्माण गर्ने प्रयत्नलाई हामीले इतिहासको अभिभाराको रुपमा लिएका छौं ।

चारैतिर कर्पोरेट जन्जालले घेरिएको संसारमा आलोचनात्मक चेत प्रवाह गर्ने वैकल्पिक मिडिया चलाउन कठिन हुने कुराको हामीलाई राम्रो बोध छ । तर,सबै पाठक, श्रोता र दर्शकहरुको माया पाउन सकियो भने आसाका दीयो निभ्न नदिने हाम्रो सानो प्रयत्नले सार्थकता पाउने कुरामा हामी विश्वस्त छौं ।

प्रतिक्रिया