बुद्धका अन्तिम उपदेश

कुशीनगरमा साल वृक्षमुनि आफ्ना शिष्यहरूलाई अन्तिम उपदेश दिँदै बुद्धले भने ः
“स्वयमलाई  एक ज्योति बनाऊ । स्वयममाथि विश्वास गरः
   अरु कसैमाथि भर नपर । मेरो उपदेशलाई आफ्नो ज्योति बनाऊ । तिनमाथि भर पर, अन्य कुनै उपदेशमाथि भर नपर ।”
आफ्नो शरीरको विचार गर, यसको अपवित्रताको विचार गर, बेदना र आनन्द दुबै दुःखका कारण हुन् भन्ने थाहा पाउँदा पाउँदै तिमी त्यसको तृष्णामा कसरी आशक्त हुन सक्दछौ ?
    आफ्नो आत्माको  विचार गर ; यसको अनित्यतामाथि विचार गर ; सबैको अन्त्य अवश्यंभावी दुःखमा नै हुन्छ भन्ने थाहा पाउँदा पाउँदै किन यसको मोहमा परी गर्व तथा स्वार्थको उपासना गर्दछौ ? सबै तत्वहरूमाथि विचार गर ; के  तिमीले  तिनीहरूमा कुनै  चिरस्थायी “आत्मा” पाउनसक्दछौ ? के ती सबै त्यस्ता स्कन्धहरू होइनन् जो ढिलो अथवा चाँडो टुक्रा,टुक्रा भएर छरिन्छन् ? दुःखको सर्वव्यापकताप्रति भ्रममा नपर, मेरो मृत्युपछि पनि मेरा उपदेशहरू पालना गर अनि तिमी दुःखबाट मुक्त हुनेछौँ । यस्तो गर अनि तिमी निश्चय पनि मेरा शिष्य हुनेछौ ।
    “मेरा शिष्यहरू हो ! मैले  दिएको  उपदेशहरू कहिल्यै  बिर्सने अथवा परित्याग गर्ने छैनौ । तिनको सदैव संरक्षण गर्नुपर्दछ र तिनको मनन गरी अभ्यास गरिनु पर्दछ । यदि तिमीले यी उपदेशहरू पालना ग¥यौ भने तिमी सदैव सुखी रहने छौ ।
उपदेशको मुख्य आशय तिम्रो आफ्नै मनमाथि नियन्त्रण पाउनु हो ।  लोभबाट  मुक्त  हुन  सक्यौ  भने  तिमीले  आफ्नो  शरीरलाई
   सत्मार्गमा, मनलाई निर्मल अनि वचनलाई निष्ठावान राख्न सक्दछौ । जीवनको क्षणभंगुरतालाई  सदैव विचारमा राख्यौ भने, तिमी लोभ   र रीसको प्रतिरोध गर्न  सक्नेछौँ  अनि सम्पूर्ण पापहरूका परित्याग  गर्न सक्नेछौ । यदि तिमीले आफ्नो मन प्रलोभित भई लोभमा फसेको पायौ भने प्रलोभनको दमन र नियन्त्रण गर्नुपर्दछ ; आफ्नै मनको स्वामी बन ।
   मानिसको मनले उसलाई बुद्ध बनाउन सक्दछ र यसै मनले उसलाई पशु बनाउन सक्दछ । भ्रमले बाटो बिरायौ भने राक्षस   बन्न सक्नेछौ ; बोधिज्ञान प्राप्त गर्न सक्यौ भने बुद्ध हुन सक्नेछौ । तसर्थ, आफ्नो मनमाथि नियन्त्रण राख अनि कहिल्यै पनि सत्मार्गबाट यसलाई विमखु हुन नदेऊ ।”
    “ तिमीहरूले परस्परमा सम्मान गर्नु , मैले दिएको सत्मार्गमा लागी विवादबाट मुक्त हुनु ; पानी र तेल जस्तै एकअर्कामा वेमेल नभई पानी र दूध जस्तै गरी मिसिएर बस्नु पर्दछ । सँगसँगै अध्ययन गर, सँगसँगै सिकी सँगसँगै मैले दिएको उपदेशको अभ्यास गर । व्यर्थका कुरा अथवा कलहमा आफ्नो मन  र समय खेर जान नदेऊ । ज्ञानको फूल फुल्ने ऋतुुमा त्यसको आनन्द लेऊ र सत्मार्गको फल टिप ।
   जुन उपदेश मैले तिमीहरूलाई दिएको छु , त्यो मैले स्वयम्  त्यही मार्ग अनुसरण गरेर प्राप्त गरेको हुँ । तिमीहरूले यी  उपदेशहरू पालना गरी प्रत्येक अवसरमा तिनको भावना अनुक आचरण गर ।
   यदि तिमीहरूले तिनको उपेक्षा ग¥यौ भने यसको अर्थ तिमीहरूले मलाई कहिल्यै नभेटे सरह हुनेछ । यसको अर्थ वास्तवमा तिमीहरू मसँग भए पनि मभन्दा धेरै टाढा भए सरह हुनेछ ; तर यदि तिमीहरूले मेरो उपदेश स्वीकार गरी अभ्यास ग¥यौ भने तिमीहरु मभन्दा टाढा हुँदा पनि मेरो नजिकै हुनेछौँ ।”
    मेरो  शिष्यहरू, मेरो अन्त्य नजिकै  आइसकेको  छ । हामी छुट्टिने बेला नजिक आएको छ , तर विलाप नगर । जीवन सदैव परिवर्तनशील छ ; कोही पनि शरीरको विनाश हुनबाट उम्कन सक्दैन । अब म मेरै मृत्युबाट यो कुरा प्रकट गर्नेछु , एक सडेको गाडाजस्तै मेरो शरीर टुक्राटुक्रा हुनेछ ।
   व्यर्थमा विलाप नगर, तर कुनै कुरा पनि स्थायी छैन भन्ने यथार्थता बुझी यसबाट मानव जीवनको शुन्यताको  बारेमा  सिक्ने प्रयत्न गर ।  परिवर्तनीय कुरा अपरिवर्तनीय हुन सक्ने दुष्कामना नगर ।
सांसारिक तृष्णाको राक्षसले मनलाई भ्रममा पार्न सदैव अवसर खोजी राख्दछ । यदि एक विषालु सर्प तिम्रो कोठामा छ अनि तिमी शान्तिपूर्वक सुत्न चाहन्छौ भने सर्वप्रथम तिमीले त्यसलाई कोठा बाहिर धपाउनु पर्दछ ।
   तिमीहरूले विषालु सर्पलाई धपाएजस्तै सांसारिक रागको बन्धन तोडी तिनलाई धपाउनु पर्दछ । तिमीहरूले दृढतापूर्वक आफ्नै मनको रक्षा गर्नुपर्दछ ।”
    “मेरा शिष्यहरू,  मेरो  अन्तिम  घडी आइपुगेको  छ तर मृत्यु भनेको स्थूल शरीरको विनाश हुनु मात्र हो भन्ने कुरा तिमीहरूले बिर्सन हुन्न । शरीरको  जन्म आमाबाबुबाट भएको हुन्छ , त्यसको पोषण अन्नले गरेको हुन्छ ; त्यसरी नै रोग र मृत्यु अवश्यंभावी हुन् ।
     तर, साँचो बुद्ध मानव शरीर होइन ; यो त बोधिज्ञान हो । मनुष्य शरीर अवश्य विनष्ट हुनेछ , तर धर्मको सत्यमा र धर्मको पालनामा बोधिज्ञानको प्रज्ञा सदैव प्रवाहित भइरहने  छ । जसले  मेरो शरीर मात्र देख्दछ , उसले यथार्थमा मलाई देख्दैन । उसले मात्र देख्दछ जसले मेरो उपदेश स्वीकार गर्दछ ।
मेरो मृत्युपछि , धर्म नै तिमीहरूको गुरु हुनेछ । धर्मको पालना गर र तिमीहरू मप्रति निष्ठावान् हुनेछौ ।
मेरो जीवनको गत पैतालीस वर्षमा, मैले आफ्ना उपदेशहरूमा केही कुरा लुकाएको छैन । कुनै गोप्य उपदेश छैन, कुनै लुकेको अर्थ छैन ; सबै कुराको खुला एवं स्पष्ट रूपले उपदेश दिएको छु । मेरा प्रिय शिष्यहरू, यो अन्त्य हो । अब एकै छिनमा निर्वाण लिनेछु । यो मेरो उपदेश हो ।”
(संसारमा बुद्धका उपदेशहरुका अनेकौं संस्करणहरु पाइन्छ। प्रस्तुत सामाग्री बौद्धग्रन्थका संकलन र प्रचार गर्ने जापानी संस्थाका भिक्षु मुआन किजुले जापानी संस्करणलाई आधार मानी पहिलो पटक तयार पारिएको अंग्रेजी संस्करणको परिमार्जित अंश हो । यसको पहिलो जापानी संस्करण प्रो.स्युगाकु यामावे र प्रो चिजेन आकुनुमाले धेरै बौद्ध बिद्धानहरुको सहयोग लिई संकलन गरेका थिए । त्यसयता अनेकौ बिद्धानहरुको संलग्नतामा यो सामाग्री पटकपटक परिमार्जन गरिएको छ । पछिल्लो पटक बौद्ध धर्म प्रतिष्ठान ( बुक्क्यो देनदो क्योकाइ ) जापानद्वारा  ४०८ औं संस्करणको रुपमा  प्रकाशित अंग्रेजी भाषाबाट नुर्वु लामाद्वारा नेपालीमा अनुवाद गरिएको हो । बुद्ध दर्शनमा रुची राख्ने पाठकहरुका लागि पठनीय ठानी यो सामाग्री राखिएको हो  – सम्पादक ¬)

प्रतिक्रिया