मुक्तिका ज्योतिपुञ्ज कमरेड सुरेश वाग्ले

प्रत्यक्ष युद्ध मैदानमा सहादत प्राप्त गरेर उहाँले ‘माओवादी नेतृत्वले आफू शहर वा विदेशमा लुकेर कार्यकर्ताहरुको मात्र सहिदको खेती गर्छ’ भन्ने प्रतिक्रियावादी र संशोधनवादी पाखण्डीहरुलाई बज्रमुक्का चखाउदै नेतृत्व,कार्यकर्ता र जनताबीचको विश्वासपूर्ण क्रान्तिकारी सम्बन्धलाई अझैं स्पातिलो बनाएर जानुभयो ।

प्रारम्भिक जीवन
नेपालको एक ऐतिहासिक जिल्ला गोरखाको आँपपिपल गा.वि.स.को रातडाँडा गाउँमा पिता भोजराज वाग्ले र माता दुर्गादेवी वाग्लेको कोखबाट कमरेड सुरेश वाग्ले (वासु, साँगा, जयबहादुर) को जन्म २०१० सालमा भएको थियो । क. सुरेश वाग्लेको एक दिदी, दुई भाइहरु र विमातृ पट्टिबाट तीन बहिनीहरु हुनुहुन्छ । उहाँको श्रीमती चीजमाया वाग्ले, दुई छोरा दीपक र विकास वाग्ले, एक छोरी मञ्जु वाग्ले गरी चारजनाको परिवार छ ।
क.सुरेश वाग्ले निम्नमध्यम किसान परिवारमा जन्मनुभएको हो । परम्परागत पूरोहित परिवारमा जन्मनु भएता पनि उहाँको पिताले पूरोहित्याइँ गर्नु भएन । सुरेश वाग्लेको शिक्षारम्भ भने संस्कृतबाटै भयो । प्रारम्भिक शिक्षा उहाँले आफ्नै मावली गाउँ वक्राङमा लिनुभयो । त्यसपछि तीनधारा संस्कृत पाठशालामा भर्ना हुनुभयो । उहाँले काठमाडौंबाट शास्त्री तहको अध्ययन पूरा गर्नुभयो । निम्न मध्यम किसान वर्गबाट उहाँको परिवार तल गिर्दै गएको थियो । परम्परागत कृषि व्यवसायले उहाँको बढ्दो परिवार संख्याको भरणपोषण खर्च थेग्न नसक्ने हुँदै गयो । पिताले कर्जा लिएर परिवारको बढ्दो खर्च चलाउनु हुन्थ्यो । क.वाग्लेले विभिन्न कठिनाइसँग जुध्दै बल्लतल्ल शास्त्री तहको अध्ययन पुरा गर्नुभयो ।

तीक्ष्ण बुद्धि र साहसले भरिपूर्ण विलक्षण प्रतिभाका धनी क.सुरेश वाग्ले सानो उमेरदेखि स्वाभिमानी हुनुहुन्थ्यो । काठमाडौंमा संस्कृतको छात्र रहँदा उहाँले आफूलाई केवल औपचारिक शिक्षामा मात्र सीमित राख्नुभएन । ०२७,०२८ देखि ०३१,०३२ ताकाका देशभक्तिपूर्ण विद्यार्थी आन्दोलनहरुमा सक्रिय रुपमा भाग लिने गर्नुहुन्थ्यो । निम्नमध्यम वर्गबाट तल गिर्दै गरेको पारिवारिक आर्थिक वर्ग आधार, शोषण, अन्याय, अत्याचारविरोधी भावना, विद्रोही स्वभावले उहाँलाई वामपन्थी राजनीतितर्फ आकर्षित गरायो । ०२९ सालमा सम्पन्न अ.ने.रा.स्व.वि.यु. को चौथो राष्ट्रिय सम्मेलन सफल बनाउन उहाँ निक्कै सक्रिय हुनुहुन्थ्यो । त्यही ताका काठमाडौंमा अध्ययनरत गण्डकी अञ्चलका वामपन्थी विद्यार्थीहरुको संगठन गण्डकी विद्यार्थी परिषद्मा संगठित हुनुहुन्थ्यो । परिषद्को मुखपत्र ‘लालुपाते’ को सम्पादक मण्डलमा रही काम गर्नुभएबाट आफ्ना अन्य सहयोगी साथीहरु भन्दा कम उमेरको भए पनि विचार र क्षमतामा परिपक्व भइसक्नुभएको रहेछ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

निरकुंश पञ्चायती शासनका चरम दमनका ती दिनहरुमा राजनैतिक पार्टीका विचार र कार्यक्रमहरु विद्यार्थी संगठनका माध्यमबाट विद्यार्थी आन्दोलनका रुपबाट व्यक्त हुने गर्दथे । २०२६ सालताका विद्यार्थी युनियनबाट ने.वि. संघको फुट, २०३० ताका कम्युनिष्ट पार्टीहरुमा चलेको जनवर्गीय संगठनको औचित्यताबारेका बहसहरुमा क.सुरेश विशेष अभिरुचीका साथ भाग लिने गर्नुहुन्थ्यो । यिनै दिनहरुमा देशको राजनैतिक अवस्थाबारे गहिरो अध्ययन गर्नुभयो । निरंकुश पञ्चायती शासनको दमन, अन्याय,अत्याचारले उहाँमा पञ्चायती व्यवस्थाप्रति तीव्र घृणा पैदा भयो ।
विद्यार्थी आन्दोलनमा सक्रिय रुपमा भाग लिने क्रममा उहाँले मार्क्सवादकाे अध्ययन गर्ने अवसर पाउनु भयो । मार्क्सवादको अध्ययनले उहाँको चिन्तन प्रक्रियामा गुणात्मक परिवर्तन ल्यायो । विषयवस्तुलाई गहिराइका साथ बुझेर मात्र आफ्ना धारणा व्यक्त गर्ने वहाँको स्वभावमा झनै परिपक्वता आयो । द्वन्द्वात्मक भौतिकवादलाई जीवन दर्शनका रुपमा आत्मसात् गर्नुभयो । विद्यार्थी जीवनका पछिल्ला दिनहरुमा उहाँले राजनैतिक इतिहासको अध्ययनमा लगाउनुभयो, जुन आफ्नो भावी राजनीतिक जीवनका लागि सौद्धान्तिक आधार बने ।

परिवारको बढ्दो ऋणको भारबाट पिता चिन्तिन हुनुहुन्थ्यो । आफूपछिका माइलो भाइ अपाङ्ग छन् । परिवारमा उत्पादक जनशक्ति हुर्किसकेको थिएन । परिवारप्रतिको दायित्वबोध एकातिर र अर्काेतिर आफ्ना क्रान्तिकारी आकांक्षा बीचको अन्तरविरोध उहाँको सामने देखा परे । शिक्षण पेशाबाट पारिवारिक स्थितिलाई सन्तुलनमा ल्याउन र क्रान्तिकारी विचारलाई निरन्तरता दिन सकिने विचार गरेर उहाँले आफ्नै गाउँ आँपपिपल मा.वि.मा अध्यापन शुरु गर्नुभयो । क्रान्तिकारी विचारलाई शिक्षण पेशाका कभरमा राखेर समाजका अन्याय, अत्याचार र शोषण, उत्पीडनका विरुद्ध संघर्र्षरत रहनुभयो । उहाँका यिनै क्रियाकलापले कम्युनिष्ट पार्टीसँग छिट्टै सम्पर्क भयो । ०३४ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभयो । जिल्ला पार्टी, गोरखाका विभिन्न तहका पार्टी कमिटीहरुमा रहेर आफ्ना जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्दै आउनु भयो । ०३५ को हिउँदमा आँपपिपलबाट लप्सीबोट मा.वि.मा सरुवा हुनुभयो । करीब ९ महिना त्यहाँ अध्यापन गरी पुनः आँपपिपलमै सरुवा हुनुभयो । लप्सीबोट बसाइकै क्रममा उहाँले त्यस भेकको पार्टी कमिटी, जुन तिनताका पूर्वी लमजुङको पार्टी कमिटीको सम्पर्कमा ल्याउनु भयो । ०३६,०३७ बाट पार्टीले उहाँलाई ने.रा.शि. संगठनको निर्माणको निम्ति विशेष जिम्मेवारी सुम्पियो । शिक्षक संगठनको निर्माण प्रक्रियादेखि ०४७ सालको अन्त्यसम्म शिक्षक संगठनका विभिन्न तहका जिम्मेवारी सम्हाल्नु भयो । बौद्धिकहरुको संगठन–शिक्षक संगठनमा विभिन्नखाले अवसरवादी प्रवृत्तिका विरुद्ध दृढतापूर्वक संघर्ष गर्दै तीनताकाका शिक्षक संगठनका माध्यमबाट सञ्चालन गरिएका संघर्षको कुशलतापूर्वक नेतृत्व गर्नुभयो । शिक्षक संगठनका माध्यमबाट सञ्चालित संघर्षमा नेतृत्वदायी भूमिका निर्वाह गरेकै कारण पञ्चायती सरकारले उहाँलाई १७ वर्ष लामो शिक्षण सेवा गरेर पनि स्थायी नियुक्ति दिएन । १७ वर्ष लामो उहाँको शिक्षण पेशा वास्तवमा उहाँको जटिल अन्तरविरोधहरुले जेलिएका संघर्षका जीवन रहे । संयुक्त परिवारवाट अलग हुनु, जीवनसंगीनीको मानसिक रोगको समस्या, तीनवटा साना नानीहरुको रेखदेख गर्नुजस्ता पारिवारिक समस्या, शिक्षक संगठनका फुट र विवाद, कम्युनिष्ट क्रान्तिकारीहरुका (आफ्नै पार्टी) फुटजस्ता विषयले उहाँलाई धेरै गम्भीर बनाए । द्वन्द्वात्मक भौतिकवादको सही समझदारी र हरेक घटना, विषयवस्तुहरुमा त्यसलाई कुशलतापूर्वक लागू गर्ने अभ्यासहरुले उहाँलाई झनझन क्रान्तिकारी बनाउँदै लग्यो ।

पछिल्लो चरण
संगठनका हितहरुलाई सँधै अग्रस्थानमा राख्ने सर्वहारावर्गीय दृष्टिकोणका कारण उहाँले लामो समय शिक्षण पेशा अपनाए पनि उहाँको पारिवारिक आर्थिक वर्ग आधार उकासिएन । बरु संयुक्त परिवारबाट अलग भएपछि त उहाँको परिवार गरीव किसानको स्तरमा गिर्न पुग्यो । २०४६,०४७ को जनआन्दोलनमा एक स्वाभिमानी शिक्षकका हैसियतले संयुक्त राष्ट्रिय जनआन्दोलनले तय गरेका संघर्षका कार्यक्रमलाई समर्थन गर्दै विभिन्न तरिकाले सहयोग पुर्याउनु हुन्थ्यो । पञ्चायती कालरात्रीका पछिल्ला वर्षहरुमा उहाँ ने.रा.शि.संगठन गोर्खाको सचिव र त्यसपछि केन्द्रीय प्रतिनिधिको भूमिका निर्वाह गर्दै हुनुहुन्थ्यो । २०४७ को अन्त्यमा पार्टीले उहाँलाई पूर्णकालीन कार्यकर्ताको रुपमा काम गर्ने निर्णय गरेपछि उहाँले शिक्षण पेशाबाट राजीनामा दिई गोर्खा जिल्ला पार्टीको जिल्ला सेक्रेटरी सदस्यको जिम्मेवारी लिई नेतृत्वदायी भूमिका निर्वाह गर्न थाल्नुभयो । २०४८ को संसदीय आम निर्वाचनमा पार्टीको तत्कालीन नीति ‘संसदीय निर्वाचनको कार्यनीतिक उपयोग’ अनुसार सं.ज.मो.नेपालका तर्फबाट गोर्खा क्षेत्र नं. २ को संसद उम्मेद्वार बन्नुभयो । ने.का.को गुण्डागर्दी, धाँधलीका बाबजुद झिनो मतले उहाँ पराजित हुनुभयो । २०४८ को वर्षातमा गोर्खा जिल्ला पार्टीको तेस्रो जिल्ला सम्मेलन (एकता सम्मेलन) सम्पन्न भयो । निकट भविष्यमा हुन गइरहेको एकता महाधिवेशनको पूर्व सन्ध्यामा हुन गइरहेको उक्त जिल्ला सम्मेलनबाट उहाँ जिल्ला पार्टी सेक्रेटरी चुनिनुभयो । २०४८ मंसीरमा सम्पन्न एकता महाधिवेशनमा उहाँले गोर्खा जिल्ला पार्टीको सेक्रेटरीको हैसियतले प्रतिनिधित्व गर्नुभयो । महाधिवेशनको लामो अन्तरसंघर्षमा उहाँले अवसरवादी कार्यदिशाका विरुद्ध दृढतापूर्वक संघर्ष गर्दै क्रान्तिकारी कार्यदिशाका पक्षमा मत दिनुभयो ।
एकता महाधिवेशनको केही समय पछिदेखि उहाँ क्षेत्रीय व्युरोको सदस्य बन्नुभयो र त्यसपछि उहाँले क्षेत्रीय व्युरोको सदस्यको साथसाथै गोर्खा जिल्ला सेक्रेटरीको दोहोरो भूमिका (२०५३ भदौ सम्म) कुशलतापूर्वक निर्वाह गर्नुभयो । २०४९ देखि ०५१ सम्म उहाँ सं.ज.मो.को केन्द्रीय सदस्य पनि रहनुभयो । त्यस अवधिमा जनयुद्धको तयारी र थालनीको क्रममा विशेषतः गोर्खामा पार्टीको क्रान्तिकारी रुपान्तरण र वर्गसंघर्षको गुणात्मक विकासमा उहाँले असाध्यै महत्वपूर्ण भूमिका निभाउनु भयो । लामो समयदेखि शान्तिपूर्ण जनसंघर्षमा मात्र अभ्यस्त रहेका र मूलतः निम्न पुँजीवादी वर्गीय धरातलमा उभिएको गोर्खाको पार्टीलाई विना कुनै ठूलो क्षति क्रान्तिकारी ढंगले रुपान्तरित गर्न र जनयुद्धको नेतृत्व गर्न लायक संयन्त्रमा बदल्न उहाँले खेल्नुभएको निर्णायक भूमिका सम्पूर्ण पार्टीका निम्ति विशेष स्मरणयोग्छ छ । त्यसैक्रममा उहाँमा पहिलेदेखि अन्तरनिहित सिद्धान्तनिष्ठता र व्यवहार कुशलताका गुणहरु राम्ररी मुखरित हुँदै गए । उहाँका विलक्षण क्रान्तिकारी क्षमता र गुणहरुको सदुपयोग जिल्ला भन्दा व्यापक र उच्च तहमा हुनुपर्ने बोध पार्टीको केन्द्रीय नेतृत्वलाई हुन थाल्यो । फलस्वरुप जनयुद्धको दोस्रो योजनाकालको अर्थात् ०५३ भदौदेखि उहाँ मध्यमाञ्चल क्षेत्रीय व्युरोको सदस्य साथसाथै मुख्य उपक्षेत्रको इन्चार्ज बन्नुभयो । जुन व्यवहारतः केन्द्रीय सदस्यको सरहको जिम्मेवारी थियो ।

जनयुद्धको तेस्रो योजनाको शुरुवात अर्थात ०५४ असारदेखि वहाँ पार्टीको केन्द्रीय समितिको सदस्य बन्नुभयो । औपचारिक हिसाबले कनिष्ठ सदस्य भएपनि आफ्नो विलक्षण क्रान्तिकारी क्षमता र सर्वाङ्गिण परिपक्वताका गुणहरुले उहाँले शुरुकै दिनदेखि पार्टीको केन्द्रीय समितिमा नयाँ छाप छोड्ने केन्द्रीयस्तरमा विशेष योगदान गर्न थाल्नुभयो । तेस्रो योजनाकालमा मध्यमाञ्चल क्षेत्रले फौजी र गैरफौजी दुवै क्षेत्रमा सन्तुलित ढंगले गरेका विकासमा उहाँको महत्वपूर्ण भूमिका रहेको तथ्यले पूरै पार्टीमा उहाँको क्रान्तिकारी र परिपक्व छविलाई राम्ररी स्थापित गरिदियो । त्यसै पृष्ठभूमिकामा २०५५ भाद्रमा सम्पन्न केन्द्रिय समितिको चौथो विस्तारित बैठकपछि उहाँ वैकल्पिक पोलिटव्यूरो सदस्य बन्नुभयो । त्यसपछि पार्टी केन्द्रका प्रत्येक महत्वपूर्ण निर्णयहरुमा उहाँको भूमिका अत्यन्तै महत्वपूर्ण र कतिपय अवस्थामा त निर्णयात्मक समेत रहने ग¥यो । उहाँको प्रत्येक वस्तु घटना र व्यक्तिको मूल्याङकनमा क्रान्तिकारी द्वन्द्ववादको सही प्रयोग गर्ने र वस्तुसंगत तथा सन्तुलित निर्णय गर्नसक्ने, सधै दाहिने र देब्रो अतिबाट बचेर क्रान्तिकारी मालेमावादसंगत अडान लिन सक्ने क्षमता र इमान्दार, सरल, विनम्र, मृदुभाषी चरित्रले पार्टीको सर्वोच्च नेतृत्वसहित सम्पूर्ण पार्टी पंक्तिलाई प्रभावित नगरी रहन सकेन । त्यसैले छोटो अवधिमा नै उहाँ पार्टीको शीर्षस्थ नेतृत्व पंंक्तिमा सर्वाधिक प्रभावशाली र सम्मानित नेताहरुमध्ये एक बन्न पुग्नुभयो । ‘वासु’को नाउँले उहाँले लेख्नुहुने वैचारिक र राजनीतिक लेखहरुले देशभरका पार्टी तथा कार्यकर्ता र आम समर्थक जनसमुदायलाई मार्गनिर्देशकको काम गरिरहेका छन् ।

ओजपूर्ण सहादत
उहाँको जीवनझै मृत्यु पनि असाध्यै ओजपूर्ण र गौरवशाली रह्यो । २०५६ भदौ २३ गते महत्वपूर्ण पार्टी कामको सिलसिलामा गोरखाको गाँखुमा पुगेको बेला विशेष कमान्डो फोर्स नाउँ गरेको प्रतिक्रियावादी हत्यारा डफ्फाले उहाँलाई आफ्नो कब्जामा लिएपछि गोली हानेर कायरतापूर्ण हत्या गर्यो । सर्वप्रथम महान् जनयुद्धको सुरुवातपछि वैकल्पिक पोलिटव्यूरो स्तरको उच्च बलिदान दिएर जनयुद्धलाई गुणात्मक रुपले नयाँ ऊर्जा थप्ने श्रेय उहाँले प्राप्त गर्नुभयो । दोस्रो दुस्मनको कब्जामा परिसकेपछि कायरतापूर्ण ढंगले आत्मसमर्पण गर्नुभन्दा ‘हिम्मत भए गोली हान’ भनेर दुत्कार्दै उहाँले अन्तर्राष्ट्रिय सर्वहारावर्गीय साहस र बलिदानको उच्च परम्परालाई नयाँ उचाईमा उठाउनुभयो र आफू मरेर हजारौं,लाखौं क्रान्तिकारी उत्तराधिकारीहरु जन्माएर जानु भयो । तेस्रो, प्रत्यक्ष युद्ध मैदानमा सहादत प्राप्त गरेर उहाँले ‘माओवादी नेतृत्वले आफू शहर वा विदेशमा लुकेर कार्यकर्ताहरुको मात्र सहिदको खेती गर्छ’ भन्ने प्रतिक्रियावादी र संशोधनवादी पाखण्डीहरुलाई बज्रमुक्का चखाउदै नेतृत्व,कार्यकर्ता र जनताबीचको विश्वासपूर्ण क्रान्तिकारी सम्बन्धलाई अझैं स्पातिलो बनाएर जानुभयो ।

उहाँको सहादतमा साच्चै नै दरौँदीमात्र रोकिएन र मनास्लु मात्र झुकेन सम्पूर्ण देश नै ठप्प भयो र सगरमाथा समेत झुक्यो । उहाँको पहाडझैं गहु्रंगो सहादतको कम्पन विश्वका कुनाकुनामा पुग्यो । देश र विदेशका क्रान्तिकारीहरुको आक्रोशको बाँध फुट्यो भने प्रतिक्रियावादी कायरहरु आफ्नो अपराधबोधले कयौंदिनसम्म मुसाको दुलोमा लुके । उहाँको सहादतको लगत्तै गोर्खा र देशैभर भएका फौजी कारवाहीहरु विशेषः असोज ५ गते रुकुमको महतमा भएको ऐतिहासिक कारवाहीले समग्र जनयुद्धलाई नयाँ उचाईमा उठायो भने असोज २० गते सम्पूर्ण देशले ‘नेपाल बन्द’ गरेर उहाँप्रति क्रान्तिकारी सम्मान प्रकट ग¥यो । यसरी अन्तर्राष्ट्रिय सर्वहारावर्गका महान् योद्धा नेपाल आमाका विलक्षण सपूत, जनताका महान नेता क.सुरेश वाग्ले शोषित–पीडित जनताको मुक्तिको जोतिपुन्ज बनेर युगयुगसम्म अमर बन्नुभयो । उहाँलाई सतत् लालसलाम ।

प्रतिक्रिया