वैज्ञानिक सोंचसहितको इमान्दार नेता

कमरेड पोष्टबहादुर बोगटी ‘दिवाकर’ले आफू विरामी पर्नु तीन दिनअघि पार्टी कार्यालय पेरिसडाँडामा पार्टीभित्रको अन्तरसंघर्ष र पार्टी एकताका बारेमा गम्भीर धारणा राख्नुभएको थियो । उहाँले नेताहरुलाई प्रश्न गर्दै भन्नुभएको थियो, ‘के साँच्चै यो बैठकबाट हामी जे बोल्छौं व्यवाहारमा त्यहीं उतार्छौं ? बोलाई र गराई एउटै हुने हो कि होइन ?’
बैठकपछि हामी हात मिलाएर छुट्टिएका थियौं । उहाँले ‘स्वास्थ्य त ठीक छ नि पासाङजी ?’भन्नुभएको थियो । मैले ‘ठिकै छ । तपाईंको पनि ठीकै होला ?’ भने । त्यहीं कुराकानी नै उहाँसँगको अन्तिम कुराकानी भयो । मृत्युवरण गरिसकेको मान्छेको बारेमा इमान्दार बोल्न हमेसा गाह्रो हुन्छ । धेरैले जीवित हुँदासम्म निरन्तर गाली गरिराख्ने र मृत्युपछि उसैलाई महान भन्ने गर्छन् । तर,कमरेड दिवाकर त्यस्तो एकजना नेता हो जो बाँचुन्जेल पनि महान भइराख्नुभयो र मृत्युपछि पनि महान् हुनुहुन्छ । यो लेखमा दिवाकरसँगको सहकार्य र उहाँको सैन्य तथा राजनीतिक चेतना र नेतृत्वको बारेमा चर्चा गर्ने काेशिस गरिएको छ ।
०००
उहाँसँग ०४९ मा रोल्पाको जेल्बाङमा पहिलोपटक भेट भएको याद ताजै छ । जिल्ला कमिटिको बैठकमा उहाँ प्रशिक्षण दिन त्यहाँ पुग्नुभएको थियो । म जिल्ला सदस्यका हैसियतले बैठकमा सहभागी थिएँ । त्यो बैठकमा उहाँसँग व्यक्तिगत कुरा भएन । पार्टी,क्रान्ति र जनयुद्धको तयारीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा प्रशिक्षण दिनुभयो र त्यसैमा केन्द्रित भएर छलफल ग¥यौं ।
त्यसपछि मितेरी अभियान, सिस्ने जलजला (सिज) अभियानका दौरान उहाँसँग भेट भयो । उहाँ प्रशिक्षण दिन आउनुहुन्थ्यो । उहाँ त्यसबेला सरल र नरम स्वभाव, समान्य लवाईमा हुनुहुन्थ्यो । तर राजनीतिक लाईनमा भने खरो हुनुहुन्थ्यो । उहाँ त्यसैबेला भन्नुहुन्थ्यो ‘विचारले नेतृत्व निर्माण गर्छ, राजनीतिक कार्यदिशा सही वा गलतले सबै चीजको फैसला गर्छ । विचार र नेतृत्वले नै राजनीतिको कमाण्ड गर्छ ।’ उहाँ विचार र नेतृत्वलाई अलग गर्न नसकिनेमा जोड दिंदै ‘विचार, नेतृत्व र संगठन अभिभाज्य हुन्छ’भन्नुहुन्थ्यो ।

पार्टीले जनयुद्धमा जाने निर्णय गरेपछि अन्तिम तयारीको रुपमा रोल्पाको पाछाबाङमा प्रशिक्षण भएको थियो । त्यसलाई पश्चिम व्यूरोकै प्रशिक्षण भन्दा पनि हुन्छ । प्रशिक्षण दिन विभिन्न सेल्टर हुँदै विहानपख अध्यक्ष प्रचण्ड, मोहन वैद्य ‘किरण’, रामबहादुर थापा ‘बादल’ र दिवाकर मेरो घरमा आइपुग्नुभयो । बादलबाहेक सबै नेताहरु मेरो घरमा पहिलोपटक आउनुभएको थियो । माछा र मासुको परिकारसहितको खाना खुवायौं । अध्यक्षले ‘कस्तो भेराइटीको खाना खुवाउनु भयो’ भन्नुभयो । त्यसैमा दिवाकरले ‘ल,गजब खाना खुवाउनुभयो धन्यवाद छ’ भनेर थप्नुभयो ।
खाना खाएर म पनि उहाँहरुसँगै पाछाबाङतिर लागें । मेरो घरपछि आउने नजिकैको दुई खोलीमा पुगेर अध्यक्ष र दिवाकरले नुहाउनुभयो । पानी चिसो थियो । चिसै पानीमा नुहाउनुभयो । पाछाबाङ पुगेपछि प्रशिक्षण सुरु भयो । त्यहाँ अध्यक्ष,किरण,बादल,दिवाकर सबैले प्रशिक्षण दिनुभयो ।
०००
जनयुद्ध थालनीपछि पनि उहाँ पश्चिममै रहनुभयो । जनयुद्ध सुरु भएको केही महिनापछि भारतको लखिमपुरमा प्रशिक्षण भयो । हामी निकै कष्टपूर्ण अवस्थाबाट त्यहाँ पुग्यौं । दिवाकरले हामीलाई रुपैडियासम्म ल्याउन आउनुभएको थियो । त्यहाँ चार,पाँचदिनसम्म बस्दा ‘क्लोज’ भयौं । उहाँ र मेरो स्वभाव मिल्दो रहेछ । केही ठट्टा पनि सुरु भए । म उहाँसँग ठट्टा गर्न डराउँथें । उहाँ आफै सुरु गर्नुहुन्थ्यो ।
त्यो प्रशिक्षणमा रोल्पा,समग्र पश्चिम क्षेत्रको समस्याका बारेमा छलफल भयो । खासगरी छापामार युद्धलाई कसरी अगाडि बढाउने भन्ने विषयमा कुराकानी भए । बादल,दिवाकर र पम्फा भुषाल त्यहाँ हुनुहुन्थ्यो । हामीलाई उहाँहरुले रुपैडियासम्म आएर ‘राम्रोसँग काम गर्नुहोला’ भन्दै विदाई गर्नुभयो । त्यसको केही महिनापछि बादल कारबाहीमा परेपछि दिवाकर नै पश्चिम व्यूरो इन्चार्ज हुनुभयो ।
०००
बादल इन्चार्ज हुँदा नै छापामार युद्ध अगाडी बढाउन प्राविधिक र सैन्य नेतृत्वमा कसलाई अगाडि सार्ने भन्नेमा छलफल भइरहेको रहेछ । पहिले आइपी खरेल,चन्द्रप्रकाश खनाल ‘बलदेव’जीहरुलाई प्राविधिक तालिममा पठाइएछ । त्यसपछि रुकुमबाट कमरेड महानलाई पठाउनेमा छलफल भएछ । त्यसमा कुनै कुरा नमिलेपछि पार्टीले मलाई पठाउने निर्णय गरेछ ।
२०५३ को सुरुतिरै हो । दिवाकरले मलाई बोलाएर ‘तपाईंको यो जिम्मा प¥यो । तपाईंले खासगरी मिल्ट्रिसम्बन्धी अध्ययन बढाउनुप¥यो’ भन्नुभयो । मेरो स्वभाव लडाकु थियो । वर्गसंघर्षमा खरो उत्रिएको थिएँ । टाउको मुल्य तोकिएको थियो र गोलीको सामना गरिसकेको थिएँ । त्यसैले पनि उहाँहरुलाई ‘यो पाको छ गर्न सक्छ’ भन्ने परेको होला । मैले उहाँको प्रस्तावलाई स्वीकार गरें । र, म प्राविधिक तालिममा गएँ ।

मैले सैन्य कोर्श बनाएँ । फिल्डको जिम्मा लिएँ । स्क्वाड, प्लाटुन, कम्पनि, बटालियन निर्माण भए । मैले तालिम चलाएँ । ती सैन्य संरचनाहरुको कमाण्डर बनें । सैन्य संरचना बढ्दै गयो । दिवाकर कमाण्ड इन्चार्ज भएकाले हाम्रो सैन्य कमिसार स्वतः उहाँनै हुनुहुन्थ्यो । केन्द्रीय सैन्य आयोगको सदस्य भएकाले पनि उहाँ नै स्वतः कमिसार हुनु भाे । पश्चिम कमाण्डको संगठन र सैन्य क्षेत्र उहाँकै हातमा थियो । निश्चित कारबाहीमा जाँदा जिम्मेवारी बाँडफाँड गर्दा कोही कमीसार र कोही कमाण्डर तोकिन्थ्यो । तर होल कमिसार त उहाँ नै हुनुहुन्थ्यो । म कमाण्डर थिएँ । फिल्डमा कहिले अनन्त, कहिले प्रभावकर, कहिले म आफै कमिसार बन्थ्यौं । कसलाइ कमाण्डर र कसलाइ कमिसार बनाएर खटाउने भन्ने जिम्मा दिवाकरकै हुन्थ्यो ।
०००
उहाँसँग सैन्य ज्ञान थियो । व्यवाहारिक भन्दा उहाँलाई सिद्धान्तमा ज्ञान थियो । त्यसैले उहाँ सैन्य कारबाहीको लागि कहिल्यै प्रेसर गर्नु भएन । उहाँ के कुरामा प्रष्ट हुनुहुन्थ्यो भने सैन्य फिल्ड सम्हालेकाहरुलाई दबाब दिएर होइन विवेक प्रयोग गरेर कारबाहीको योजना बनाउन दिनुपर्छ । राजनीतिलाई नयाँ उचाई दिन पार्टीले सैन्य कारबाहीको आवश्यकता ठान्यो भने दिवाकरले ‘यो कमाण्ड, यो जिल्ला, यो क्षेत्रमा कारबाहीको आवश्यकता प¥यो । तपाईंले उचित स्थान छनोट गर्नुस् । नसक्ने ठाउँमा नजानुस् । तपाईंले अध्ययन गर्नुस्,’ भन्नुहुन्थ्यो । उहाँ पटकपटक भन्नुहुन्थ्यो, ‘नसक्ने ठाउँमा नजानुस् । तपाईंले जहाँ सक्नुहुन्छ त्यहीं हमला गर्नुस् ।’
उहाँले कहिल्यै यो ठाउँमा हमला गर्नैपर्छ भनेर प्रेसर गर्नुभएन । कारबाहीको लागि स्वतन्त्र अध्ययन गर्ने, नाप्ने र आक्रमण गर्ने स्वतन्त्रता दिनुभएको थियो । उहाँले भनेपछि म आक्रमणको लागि अध्ययन गर्थें । राम्रो अध्ययन गरेर आक्रमण गर्ने भएकाले मैले हात हालेको ठाउँमा प्रायः असफल भइएन । हाम्रो कोर टिम थियो । दिवाकर, कृष्णबहादुर महरा, वर्षमान पुन‘अनन्त’, जनार्दन शर्मा‘प्रभाकर’, शक्तिबहादुर बस्नेत, बलदेव र म त्यो टिममा थियौं । मैले अध्ययन पूर्व र अध्ययनपछि उहाँहरुसँग छलफल गर्थें । र,कारबाहीको लागि टुंगो लगाउँथ्यौं । दिवाकरले मेरो प्रस्ताव अस्वीकार गरेको मलाई याद छैन ।
घोराही कारबाहीपछि हामी रणनीतिक सन्तुलनमा गयौं । त्यसपछि मेरो जिम्मेवारी टेर्निङको क्षेत्रमा बढ्दै गयो । साथीहरुलाई कमाण्डको विकास गराऊ भन्ने पनि भयो । रुकुमको पहिलो पटककाे खारा आक्रमण, सल्यानको कपुरकोट र रातामाटा टावमारमाथि हमला भए । भालुबाङ,कुसुममाथि हमला भयो । ती कारबाहीहरुमा म थिएन । ती सबै कारबाही असफल भए । ठूलो क्षति भयो । दिवाकर कमरेड आक्रमण त गर्नुपर्छ तर अलि मिलाएर गर्नुपर्छ भन्नेमा हुनुहुन्थ्यो । ती आक्रमणहरुमा ठूलो क्षति र असफल भएपछि उहाँ तनावमा हुनुहुन्थ्यो ।
उहाँलाई नेतृत्वको हिसाबले ‘मेरो कारणले गर्दा, मैले कडाईपूर्वक आदेश गर्न नसक्दा कारबाही अगाडी बढ्यो र बढी क्षति भयो’ भन्ने लागेको हुनुपर्छ । अरु बेलामा भने उहाँमा अधिकतम धैर्यता थियो । धेरै सोंचेर योजना बनाउनुहुन्थ्यो ।
जब म कारबाही सफल गर्थें, सबैभन्दा पहिले दिवाकरलाई खबर गर्थें । त्यसपछि मात्र केन्द्रीय कार्यालयमा । केन्द्रीय कार्यलयमा सकभर दिवाकरले नै खबर गर्नुहुन्थ्यो । दिवाकर हामी मोर्चामा विजय बन्दा बधाई दिनुहुन्थ्यो र पराजय हुँदा नआत्तिन भन्नुहुन्थ्यो । आक्रमणपछि उहाँले वक्तव्य दिन भन्नुहुन्थ्यो । हामी कमाण्डर,कमिसारको नामबाट वक्तव्य दिन्थ्यौं । हामी दिवाकरमै केन्द्रित थियौं ।
०००
एकचरण पश्चिम कमाण्ड कार्यालय लखनउमा थियो । म उपचार, बैठक, प्रशिक्षणको बेलामा भारत गएको बेलामा दिवाकरसँगै बस्थें । त्यसपछि बढी अन्तरंग कुरा हुन थाल्यो । हामी जाँदा म्याडम निकै खुसी बन्नुहुन्थ्यो । उहाँले सबैलाई आफ्नै छोराजस्तो व्यवाहार गर्नुहुन्थ्यो । दिवाकर यति सरल की कमाण्ड इन्चार्जजस्तो नेता मलाई ‘पिकअप’ गर्न आफै आउनुहुन्थ्यो । आफै पुर्याउनुहुन्थ्यो । मलाई गाडी चढ्दा वान्ता आउने समस्या उहाँलाई थाहा थियो । रिक्सामा लैजाने ल्याउने गर्नुहुन्थ्यो ।

२०६० मा हेड्क्वार्टर् नेपाल आयो । दिवाकर पनि सँगै आउनुभयो । हेड्क्वार्टर नेपाल आएपछि उहाँहरुको सुरक्षाको जिम्मा मेरै थियो, मुख्य कमाण्डरको हिसाबले । त्यसपछि म लगातार उहाँहरुसँगै बसें । सँगै खाने सँगै बस्ने गर्यौं । मैले हेड्क्वार्टरलाई मेरै घर छेउछाउको क्षेत्रमा राखें । ममाथि नेतृत्वको सुरक्षाको चुनौती थियो । त्यसैले म जहाँ कन्फिडेन्स महसुस गर्थें त्यहीं राख्थें । ‘पासाङजीले भने पछि हामी ढुक्कै छौं’ भन्नुहुन्थ्यो उहाँहरु ।

मैले कमरेड दिवाकर त्यति तनाबमा भएको महसुस गर्दैन्थे तर,भालुबाङ र कुसुमको कारबाहीमा बढी क्षति भएकोले उहाँ बढी तनाबमा हुनुहुन्थ्यो । पहिलो खारामा पनि तनावमा हुनुहुन्थ्यो । ती सबै उहाँ र मेरो प्लानमा थिएनन् । ती ठाउँहरूमा कारबाही हुनुुपर्छ भन्ने त थियो तर,प्लानिङ गर्न नभ्याउँदै कारबाहीको प्रक्रिया अगाडी बढ्यो । उहाँले नेतृत्वको हिसाबले मेरो कारणले गर्दा मैले कडाईपूर्वक आदेश गर्न नसक्दा कारबाही अगाडी बढ्यो र बढी क्षति भयो भन्ने लागेको हुनुपर्छ । नत्र अरु बेलामा उहाँमा अधिकतम धैर्यता थियो । धेरै सोंचेर योजना बनाउनु हुन्थ्याे । आवश्यक कुरा निर्देशन दिनुहुन्थ्याे । अन्तरसंघर्षका बारेमा छोटोमा भन्नुहुन्थ्यो ।
०००
उहाँको जीवन शैली सुरुमा मैले जसरी देखें पछिसम्म उस्तै रह्यो । कसैको बोली र व्यवाहारमा भिन्नता आउँछ तर उहाँमा कहिल्यै त्यस्तो परिवर्तन भएको मैले पाइँन । जहिले पनि सदाबहार हुनुहुन्थ्यो । लवाई,खवाईमा विशेष रुची राख्नु हुन्नथ्यो । खानपीनमा भान्छामा जे तयार छ त्यो खानुहुन्थ्यो । कहिलै पनि ‘यस्तो खाने कुरा चाहियो’ भन्नुभएन । मासु बढी रुचाउनुहुन्थ्यो । अरुभन्दा बढी मासु म खान्थें । मभन्दा पनि बढी उहाँले रुचाउनुहुन्थ्यो । मासु जेको पनि खानुहुन्थ्यो ।
उहाँको मुख्य विशेषता भनेकाे असाध्यै सरल र सहज स्वभाव हुनु हाे । पार्टी र क्रान्तिप्रति सधैं इमान्दार । ढाँट,छल र बेइमानी नगर्ने । कम बोल्ने काम धेरै रुचाउने । सबैलाई समान ढंगले हेर्न सक्ने । राजनीतिमा दृढ र व्यवहारमा लचकता । एकप्रकारकाे इमान्दारिताको खानी । उहाँ वैज्ञानिक सोंचसहितको इमान्दार नेता हुनुहुन्थ्याे। हरेक विषयलाई अध्ययन गरेरमात्र निष्कर्षमा पुग्ने बौद्धिकता विशेषता उहाँमा थियाे ।
उहाँको अप्रत्यासित निधनले माओवादी पार्टीलार्ई ठूलो क्षति भएको छ । उहाँजस्तो कर्मठ, इमान्दार, मेहनती र दक्ष नेताको सायद हाम्रो पार्टीमा एकप्रकारले खडेरी हुन्छ । यसको अर्थ अरु नेता कर्मठ, इमान्दार, मेहनती छैनन् भन्ने होइन । तर, तत्काल त्यो लेबलमा पूर्ति हुने सम्भावना भने छैन । अहिले पार्टीभित्र तमाम समस्याहरु छन् । यी समस्याहरु समाधान गर्न कमरेड दिवाकरको आवश्यकता पर्नेछन् । हामीले भौतिक रुपमा उहाँको आवश्यकता पूर्ति गर्न नसके पनि उहाँले दिनुभएको पाठ, उहाँको जीवनशैली, उहाँको विचारबाट त्यसको परिपूर्ति गर्नुपर्छ । हामी माओवादीका आम नेता,कार्यकर्ताले दिवाकरबाट सिक्नुपर्ने भनेको जे बोल्छौं व्यवाहारमा त्यहीं लागु गर्नु हो । वैज्ञानिक सोंचसहितको इमान्दार बन्नु नै उहाँबाट सिक्नु हो । ढाँट, छल,
बेइमानी गर्ने र बोलीमा एउटा व्यवाहारमा अर्को गर्ने अहिलेको हाम्रा शैलीहरुलाई नसच्याउने हो भने दिवाकरबाट सिकेको हुने छैन । यसअर्थमा पार्टीलाई एकताबद्ध, सुदृढ, बलियो र विशाल बनाउनु नै दिवाकरबाट सिक्नु हो ।

 

प्रतिक्रिया