नेपाली क्रान्तिका मायालु, खेमराज मायालु

     क्युबाली नेता अर्नेष्टो चेग्वेभारा र फिडेल कयाष्ट्रोबाट प्रभावित मायालु नेकाको राजतन्त्रसँगको सम्झौतापरस्त विचारबाट मोहभंग भई क्रान्तिको बाटो खोज्दै जाने क्रममा रामराजाप्रसाद सिंहसहित युवाहरुसँग मिलेर जनवादी मोर्चा गठन गर्न पुग्नुभएको थियो ।

मायालु दाइ अब रहनु भएन । हामी सबैले मायालु दाई भनेर संबोधन गर्दथ्यौँ। तत्कालिन जनवादी मोर्चाका केन्द्रिय उपाध्यक्ष , २०४२ साल असार ५,६७मा भएको बम काण्डका नायक, माओवादी केन्द्रका केन्द्रिय सल्लाहाकार आदरणिय खेमराज भट्ट मायालुु प्राणघातक फोक्सोको क्यान्सरका कारण २०८० असोेज ४ गते राति १०ः२५ बजे निधन हुन पुग्यो। । आदरणिय मायालु दाइप्रति भावपूर्ण श्रद्धासुमन, भतिज प्रतिक र आकाशलगायत परिवारजनमा हार्दिक संवेदना व्यक्त गर्दछु ।
               खेमराज मायालुका दुइ भाइर छोराहरु प्रतिक भट्ट र आकाश भट्ट हुनुहुन्छ । श्रीमती बुनु भट्टको केही वर्ष अगाडि निधन भएको थियो ।२००७ सालमा डडलेघुरामा जन्मिनुभएका ’ मायालु’ वर्दियाको राजापुरमा स्थापी रूपमा बसोबास गर्दै आउनुभएको थियो । मध्यमवर्गीय परिवारमा जन्मेका मायालु सानै उमेरदेखि क्रान्तीकारी गणतन्त्रवादी चेतबाट अ‍ोतप्रोत हुनुहुन्थ्यो । नेपाली काँंग्रेसका नेता विपी कोइरालाबाट प्रभावित भएर नेपाली कांग्रेसमा लाग्नुभएका उहाँ तीसको दशकसम्म आइपुग्दा वि.पी. कोइरालाको राष्ट्रिय मेलवमलापको नीतिबाट मोहभंग भई पंचायति व्यवस्थाको जेलमा रहेको अवस्थामा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिहसँग जेलमा भेट हुन पुग्यो र नेपालवाट राजतन्त्रात्मक व्यवस्था फालेर गणतन्त्र ल्याउन शसस्त्र संघर्षको विकल्प छैन भन्ने टुङगोमा पुगेपछि रामराज प्रसाद सिंह, खेमराज भट्ट , मायालु, अनार सिंह कार्की, शोभाखर धनन्जय (भुषाल), दिनेश श्रेष्ठ, केशव भेटवालसहित मिलेर जनवादी मोर्चा नामक पार्टी जेलमै गठन गरेका थिए। यसको संस्थापक अध्यक्ष रामराजाप्रसाद सिंह र महत्वपूर्ण संगठनकर्ता खेमराज मायालु हुनुहुन्थ्यो ।
     क्युबाली नेता अर्नेष्टो चेग्वेभारा र फिडेल कयाष्ट्रोबाट प्रभावित मायालु नेकाको राजतन्त्रसँगको सम्झौतापरस्त विचारबाट मोहभंग भई क्रान्तिकोको बाटो खोज्दै जाने क्रममा रामराजाप्रसाद सिंहसहित युवाहरु मिलेर जनवादी मोर्चा गठन गर्न पुग्नुभएको थियो । जनवादी मोर्चाको गठन वि.सं २०३४ सालमा काठमाण्डौको भद्रगोल जेलमा भएको थियो। पार्टी गठनसँगै उहाँहरुले नेपालमा शसस्त्र क्रान्तिकाे माध्यमद्वारा प्राप्त सत्ताको संरचना मार्क्सवादी अर्थतन्त्र र प्रखर प्रजातन्त्र हुनेछ भन्ने अवधारणा अघि सार्नुभएको थिया।  त्यसको लागि क्रान्तिको पहिलो विकल्पको रुपमा संवैधानिक ढंगले राजतन्त्र अन्त्य गर्ने, अर्थात देशको सर्वोच्च विधायिकामा गणतन्त्रवादीहरुलाइ बहुमतमा जिताइ राजतन्त्रको अन्त्यको घोषणा सदनबाट गर्न सकिन्छ भन्ने अवधारणा अघि सार्नुभएको थियो। दोस्रो छापामार शसस्त्र युद्धको माध्यम (क्युबाको जस्तो) द्वारा राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गर्ने उद्देश्य थियो। यसैको तयारी स्वरूप २०३६/२०३७ सालमा भएको जनआन्दोलनको अगाडी राजाले घुडा टेकेर जनमत संग्रह घोषणा गरेका थिए। जनमतको घोषणासंगै जेलमा रहनुभएका मायालुलगायत साथीहरु रिहा हुनुभयो । र, बदलिएको राजनीतिक परिवेशलाई उपयोग गर्न बहुदल निर्दलको निर्वाचनमा बहुदलको पक्षमा जनमत निर्माण गर्न र पार्टीको विचारको प्रचार गर्दै संगठन निर्माणको तयारीको रूपमा जनमत संग्रहवाट प्राप्त वाक तथा प्रकाशन स्वतन्त्रता र सभासम्मेलनको स्वतन्त्रतालाई उपयोग गर्दै खेमराज मायालुसहित पार्टीको ठुलो टिम आमसभहरुमा केन्द्रित हुनथाल्यो। विराटनगरबाट सुरु भएको आमसभाको कार्यक्रम भद्रपुर, धरान, राजविराज, जनकपुरधाम, धनुषाको धबौली, विरगंज हुँदै नेपालगंजमा गएर समापन भयो। ती सबै सभाहरुमा अध्यक्ष रामराजा र मायालु र जनवादी मोर्चा सर्मिर्थत नेपाल राष्टिय विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष राम कार्की आकर्षणको केन्द्र हुन्थे । सयौं प्राज्ञिक व्यक्तिहरु , यूवाहरुको जमात पार्टीको नीति, कार्यक्रमप्रति आकर्षित हुँदै जान थाले। नेपालगंजको आमसभाको कार्यक्रममा रामराजा, खेमराज मायालु, दिनेश श्रेष्ठ, राम कार्की र कटक मल्लले संबोधन गर्नु भयो । आमसभामा मायालुलगायत वक्ताहरूले नेपालको राजतन्त्र अवैधानिक र भगौडा हो, भगौडाहरूले चलाएको शासनसत्ता समाप्त पारेर जनवादी गणतन्त्र स्थापना गर्नुपर्ने, शाही घोषणावाट देशको भाग्य बदलिन सक्दैन, देशको भाग्य बदल्न जनघोषणा हुनुपर्छ। यसको लागि संभव हुँदासम्म संवैधानिक माध्यमद्वारा सदनमा बहुमत पु¥याएर राजतन्त्र फाल्ने  त्यो संभब नभए ससस्त्र छापामार संघर्षको माध्यमवाट बल प्रयोग. गरी फाल्नु पर्दछ भन्ने उद्घोष वक्ताहरुले गरेका थिए। आमसभामा बोलिएका भाषालाई  निँहु बनाएर  कार्यक्रमको भोलीपल्ट विहान रामराज प्रसाद सिंह, खेमराज मायाालु, दिनेशप्रसाद, श्रेष्ठलाई प्रहरीले गिरफ्तार गर्यो । राम कार्की, कटक हादुर मल्ल, मलगायत साथी सिमापारी भारतको रूपैडिया भाग्न सफल भयौं। नेताहरुको मुख्य टिम गिरफ्तार भएपछि वातावरण अन्योलपुर्ण बन्यो। सभामा वाहिरबाट गएका साथीहरुको टिम आ–आफ्नो गन्तब्यतर्फ लाग्यो। रुपैडियामा जनवादी मोर्चाको फौजी, प्रशिक्षक मानबहादुर सिंहकोमा हामीहरू करिव १ हप्ता बसेका थियौ । गिफ्तारपछि नेताहरूलाई नेपालगंज जेल पठायो।  जनमत संग्रहमा कथित निर्दलिय पंचायती व्यवस्थालाई धाँधली गरेर जिताइयो । जनमत संग्रहको परिणामपछि उहाँहरुलाइ नेपालगंजबाट काठमाण्डौको सेन्टर जेल सरुवा गरियो। सेन्टर जेलको केही महिनाको बसाईपछि मायालुजीहरुको टिमलाई रिहा गरियो । निर्दलले जितेपछि राजाको निरंकुश व्यवस्थालाई वैधानिक त्राण मिल्न पुग्यो । राजा झन निरंकुश बन्न थाले । त्यसपछि नेताहरू एकाएक भूमिगत हुन थाले र ससस्त्र संघर्षको तयारीको लागी युवाहरुको ठूलो जत्था नेपालका सप्तरी, उदयपुर, धनुषा, सिराहा, काठमाण्डौं, कास्की, झापा, सर्लाही, बर्दियालगायत जिल्लाहरुबाट भारतका चम्बलको घाँटी, वैधनाथ धामलगायत क्षेत्रमा तालिम शुरु हुन थाल्यो । रामराजा , मायालु, अनारसिंह कार्की, शोभाखर धनन्जय र राम कार्कीहरु प्रमुख वैचारिक प्रशिक्षक थिए भने मानबहादुर सिंहलगायत अन्य फौजी प्रशिक्षक थिए। करिब छ महिनाको फौजी तालिम सकेर युवाहरु क्रन्तिकाे तयारीको लागी टार्जेट छनौट गर्न स्वदेश फर्के।
       पंचायती सत्ता यसबाट वेखवर थिएन। उसका जासुसी संयन्त्रले भारतको कुनै ठाउँमा रामराजा र खेमराज मायालुको फौजी दस्ताले छापामार तालिम गर्दैछ भन्ने सुँइको पाएको थियो, सत्ता अत्यन्त शसंकित थियो। युवाहरु स्वदेश फर्केको थाहा पाएपछि ब्यापक गिरफ्तारी शुरु भयो, कतिपय साथीहरु गल्न पुगे। योजना सफल हुन सकेन र फेरी अर्को तालिमको तयारीको लागि दर्जनौ युवाहरु फेरी भारतका विभिन्न ठाउँमा पुगे, निरन्तर वैचरिक, राजनीतिक र फौजी ) प्रशिक्षण चल्दै गयो । नेपालका सैन्य अड्डाहरु निरंकुुसताको संवेदनशिल ठाउँहरुमा कसरी छापामार आक्रमण गर्ने, सुरक्षित कसरी हुने भन्ने तयारी चल्दै थिए। राजाको निरंकुश सत्ता वेचैनीमा थियो, रामराजा र खेमराज मायालु आर्थिक सैन्य सामाग्रीको जोहो गर्न जानुभयो। आफ्नो व्यक्तिगत सम्पति सम्भवभएसम्म बेचेर फौजी क्याम्पको खर्च चलाउनु भयो तर अन्त्यमा बिक्री गर्नसक्ने साधन आर्थिक व्यस्थापन गर्ने क्रममा लामो समयसम्म रामराजा र मायालुजी छापामारहरुको सम्पर्कबाट टुट्न  पुग्नुभयो। यता लामो समयसम्म नेताहरू सम्पर्कमा नआएपछि छापामारहरुले मजदूरी गरेर केही समय बिताए। अन्त्यमा केही नलागेर प्रशिक्षण स्तगित हुन पुग्यो र अनारसिह कार्की, शोभाखर धनन्जय,दिनेश श्रेष्ठ, केशव भेटवाल, राम कार्कीहरुले नयाँ वैचारिक सोचको साथ नयाँ ढंगको पार्टी निर्माणको बहस चलाउनु पर्ने महशुुस गर्न थाले र केही वैचारिक मान्यता अघि सार्दै विद्रोहको तयारी गरे । उनीहरुले (क)तालिमस्थल स्वदेशमै हुनुपर्ने  ख) भारतसँगको सम्बन्ध स्पष्ट हुनुपर्ने  ग) जन संगठनहरु बनाएर जानुपर्ने (घ) राजनितिक र आर्थिक पारदर्शीता हुनुपर्ने कुरा राख्दै शोभाखर धनन्जयको अध्यक्षतामा भारतको बिहार राज्यको वीरपुरमा भेला गरी जनवादी मोर्चालाई पुनर्गठन गर्ने काम भयो, पार्टीमा विभाजन हुनपुग्यो ।
          पार्टीमा विभाजन आएपनि मायालुजिहरूले बाँकी रहेको र थप युवा शक्तिलाई पुनर्गठित गरी छापामार तालिमको कार्यलाई निरन्तर अघि बढाउनु भयो । नेपालको खुनी राजतन्त्रको अन्त्य र गणतन्त्र प्राप्तिको अभियान रोकिएन र ससस्त्र क्रान्तिको तयारी स्वरुप २०४२ साल असार ५, ६ र ७ गते सिंहदरबार राष्ट्रिय पंचायत भवन, अन्नपूर्ण होटेल, राजदरवारको दक्षिण ढोका, पोखरा, भैरहवाका ठाँउहरुमा वम विस्फोट गराई शसस्त्र संघर्षको उद्घोष गर्नुभयो । बमकाण्डको घटनापछि देशव्यापी रुपमा ठूलो धरपकड र गिरफ्तारी गुरु भयो, मोर्चाका धेरै कार्यकर्ताहरु गिरफ्तारीमा परे, राष्टिय पंचायत सदस्य डम्बरजंग गुरुडलगायतका मानिसहरु घटनाक्रममा मारिए । पोखरामा वम विस्फोट गर्ने क्रममा मा्ेर्चाका  कार्यकर्ता आन्तरिक दुर्घटनामा परे । यसरी शसस्त्र संघर्षको तयारी स्वरूप जनवादी मोर्चाले आततायी र खुनी राजतन्त्र) को विरुद्ध  संघर्षको उद्घोष ग¥यो तर मायालुहरुले शसस्त्र  संघर्षलाई निरन्तर अघि लान सकेनन्।राज्यको तीव्र दमन, वैचारिक अन्योलता, भारतिय भूमीमा बसेर गरेको तयारीमा निगरानी र दमनको कारण, नयाँ योजना बन्न नसक्दा छापामार संघर्षले गन्तब्य प्राप्त गर्न सकेन ।
        राज्यको भीषण दमनपश्चात पार्टी निस्क्रिय बन्न पुग्यो। रामराजाप्रसाद सिंह, खेमराज  मायालु, लक्ष्मणप्रसाद सिंह, विश्वेश्वर मण्डललगायतलाई मृत्युदण्ड र दर्जनौँलाई अाजीबन काराबास घोषणा गरियो। पार्टीमाथि झन कठोर प्रतिवन्ध लाग्यो । २०४६ सालसम्म अँ्राउदा पार्टी पूर्णतः निस्क्रिय भैसकेको थियो । यही क्रममा निरंकुस पंचायती व्यबस्था विरुद्ध जनआन्दोलन भयो राजाको निरंकुश सत्ताले घँुडा टेक्न पुग्यो र बहुदलीय व्यवस्था घोषणा गर्न बाध्य भयो । बहुदलीय व्यवस्थाका प्रधानमंत्री गिरिजाप्रसाद कोइरालाले २०५० सालमा आएर पार्टीमाथि लागेको प्रतिबन्ध खुला गरे । पार्टीमाथि लागेका प्रतिबन्ध खुला भएपछि मोर्चाले कामाण्डौको टुँडिखेल खुलामंचमा आमसभा गरेर आफूलाई सार्वजनिक गरयो । मायालुको भाषण त्योबेला अत्यन्त चर्चित थियो । पार्टी खुला भएपछि केही समय पार्टीलाई पुर्नगठित गरी उहाँहरुले गतिविधि गर्न शुरु गर्नु भयो । पार्टी अध्यक्ष रामराजाकी श्रीमतीको स्वास्थ्यमा जटिल समस्या र ब्रेन ट्यूमरको कारण पार्टीलाई सक्रिय रुपमा लैजान समस्या पैदा भयो । पार्टी निस्क्रिय भएपछि २०५६ सालमा मायालु नेपाली कांग्रेसमा प्रवेश गर्नु भयो र वर्दियाबाट प्रतिनिधिसभाको निर्वाचनमा उठेर  विजय प्राप्त गर्नु भयो । गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वकालमा उहाँ सामान्य प्रशासनमन्त्री समेत बन्नुभएको थियो ।
       दश वर्षे जनयुद्ध र जनआन्दोलनको बलले २४० वर्ष पुरानो पारिवारिक, निरंकुश राजतन्त्र अन्त्य ग¥यो र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यो । गणतन्त्रिक नेपालको निर्माण गर्ने मायालुको सपना पुरा भयो । नेपाली काँग्रेसको २०१८ सालको शसस्त्र संघर्ष २०३१ सालको ओखलढुङ्गको शसस्त्र संघर्ष र अन्य थुप्रै जनआन्दोलनको अनुभव  संगाल्नुभएका मायालु गणतन्त्र नेपाल निर्माण भएपछि पार्टीका अध्यक्ष रामराजा प्रसाद सिंहको निधनपश्चात नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) मा प्रवेश गर्नु भयो र उहाँ पार्टी केन्द्रका सल्लाहकार समीतिका सदस्य समेत हुनुहुन्थ्यो । गणतन्त्र स्थापनार्थ उच्च चेतको साथमा लाग्नुभएका मायालु पंचायति व्यवस्थाको जेलनेल र हिरासतमा पटकपटक बस्नुभएको थियो। बमकाण्डपछि सर्वस्वहरण र राज्यले सबै सम्पति जफत गरेपछि ब्रेन ट्युमर हुँदा उहाँकाे उपचारसमेत राज्यले  गर्नु परेको थियो। यसरी एउटा गणतान्त्रिक योद्धा जीवनपर्यन्त गणतान्त्र प्राप्तिको बाटोमा अथक रूपमा लाग्नुभयो । आखिर प्राणघातक क्यान्सरले उहाँको जीवन लगि छाड्यो। राजनीतिमा थकान हुँदैंन भन्ने कुरा उहाँले गणतन्त्र प्राप्तिको लागी अनवरत संघर्ष गरेर प्रमाणित गर्नुभयो । गणतन्त्र प्राप्तिको यात्रामा निरन्तर लागेर उद्धेश्य प्राप्त गर्न सफल यी गणतन्त्रका सतिसालप्रति  हार्दिक श्रद्धासुमन ।
२०८०/०६/०८
पेप्सिकोला काठमाडौं

प्रतिक्रिया